कविता : सडक, समय र सपना

~मनु आभास~

यिनै उपेक्षित सडकहरूमाथि
मनखुसी बुर्कुसी मार्दै
कोरिरहेछ समय
अन्धकार भविष्यको गर्भमा खण्डीकृत भाग्यरेखा ।
यी तिनै सडक हुन्
जहाँ पोखिएका छन् पसिना
टाँसिएका छन् मस्तिष्कका चोइटाहरू
र, लत्पतिएको छ रगत ।
००७ साल-
समय भञ्ज्याङमा बास बसेका –
एक झोला सपनाहरू बोकेर
खुसीको क्षेत्रफल नाप्छ सडकको ।
समय –
०४६ र ०६२ बनेर
झरेका सपनाका पातहरूमा टेक्दै-टेक्दै
ओर्लिन्छ फेरि सडकमा ।
चट्याङ बोकेर हिँड्ने आकाशझैँ समय
जड समय
र, पाषण समय ।
यस्तै समयका एम्बुसहरूमा
विस्फोटित छन् सडकका सपनाहरू ।
यही मस्तिष्कविहीन समय
गणतन्त्रको सपना देखिरहँदा
मझेरीभरि ओच्छ्याएर सहिदका सपनाहरू
संगीनको सिरानीमा मूच्छिर्त छ
विधान हराएको मेरो देश ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.