~श्रवणकुमार ढुंगना~
गरीबका त्यति ठुला सपना के नै हुन्छन र?
एकमुठ्ठी गास,
तीन हात बास
र एकसरो कपास !
कुरा सुनेर तिमी हास्छौ
मेरो त मन्दिरको देउता सँग भाक्ने पनि त्यहि
राजाको दरबारमा माग्ने पनि त्यहि ।
रह्यो प्रेम को कुरा ।
कहाँको प्रेम गर्नु र ?
परार साल भुइचालो जाँदा
भत्केका माटाका डल्लाहरू पन्छाउन्दै गर्दा
मेरो भारीको एक फेरो समाउन आएकी थिई
पहिलो पाली नजीकैबाट देखेको त्यति हो ।
गार्हो लगाउँदा बोकेका ढुङ्गाले थिचेर
उनको दाहिने खुट्टाको बुढी औंला चेपिएर
नङ नै उक्केर गयो
मेरो मन अमिलो भयो !
छानो छाउँदै गर्दा उठाएका टिनले काटेर
मेरो देब्रे हातको कान्छी औंला गयो
उनको आँखामा आँशु आयो ।
के को माया बस्नु र
ईश्वरको लेखा
दुखीलाई दुखी कै सहारा जुरे जस्तो लाग्यो
कुरा मिल्यो, घर बस्यो !
दैवले एकदिन उनलाई साह्रै मनपर्ने खाना जुरायो
केही दिनदेखि उ मसँग थिइन
पर्खदा पर्खदै त्यो
न मेरो पेटमा गयो
न उनको मुखमा पर्यो !
केहिदिन दैवले हामीलाई काम विहिन बनायो
दुई छाक हरायो
भोकले पेट करायो
गर्नै के सकिन्थ्यो र?
एक अर्कालाई हेर्यो
आँशुले कुल्ला गर्यो
मुस्कानले पेट भर्यो !
यस्तै हो हाम्रो कथा ।
सुन्दरताको दर्शनले जगाएको काउकुती
र आलिंगनमा तिर्खाएको आत्मीयताले तानेर होइन
न आकाशको तारा झार्ने सपनाले
न सागरको मोती ल्याउने वाचाले
न एकअर्काको सम्पन्नताको भरोसाले
जोडिएको यो घरबारमा
त्यति ठुला सपना केही हुँदैनन्।
फगत्
एकमुठ्ठी गास,
तीन हात बास
र एकसरो कपास !
कुरा सुनेर तिमी हास्छौ
मेरो त मन्दिरको देउता सँग भाक्ने पनि त्यहि
राजाको दरबारमा माग्ने पनि त्यहि ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )