छन्द कविता : आगो

~डा.मेघराज ढकाल~

आगाको घर हो कतातिर भनौँ हो माइती हो कता ?
बाबा सूर्य थिए र ताप उनको रन्किन्छ ज्वाला यता
पग्ल्यो झोल बन्यो छुट्यो नियतिले जो सौर्यपिण्डै भने
लप्का चट्ट खसी पदार्पित हुँदा पाखा र डाँडा बने ।

आगाकै भर बस्दछन् घरघरै प्राणी र मान्छेहरू
आगो छैन भने कतै जगतमा बाँच्दैन मान्छे अरू
आगैमा अडिएर दङ्ग छ यहाँ विज्ञानको खोज ता
जाने मित्र भयो नजाँनिरहँदा वैरी अनेकौँ यता ।

हिंसा युद्ध भए मरे कति जले खेलिन्छ आगो अझै
क्रोधै मात्र छ यो अझै जगतमा निभ्दैन आगो कतै
त्यस्तो वस्तु सदा यहाँ सहजमै राख्ने गरौँ यत्नले
आगाको महिमा बुझेर सबले धर्ती पुजौँ यत्नले ।

लोभै–पापसँगै त क्रोध, झगडा पे्रमान्ध रूपै भए
ग्यासै बल्न गए त काठ अझ झन् बिद्युत्तरङ्गै भए
बाल्ने तेलसँगै त झोल अझ झन् खानी अनेकौँ भए
यस्तै छन् त अझै अदृष्य कति छन् रूपै अनेकौँ भए ।

मान्छेका मनमा त लोभ भरियो, सम्पत्ति प्रेमान्ध नै
बोल्दा एक थरी गरे त मनले कैँची चलाए झनै
सोझा सज्जनमा विनाश अहिले पेलेर डस्दै गए
चर्को द्वन्द्व सधैँ छ आज घरमा कन्या खरानी भए ।

मान्छे स्वार्थ लिई खराव मनले रम्दै सधैँ बोल्दछ
आफ्नो मात्र हितै गरेर अझ झन् वैमानमै रम्दछ
होचो जो छ सधैँ छ हेपिन गई देखिन्न पैसा भने
आगो बल्छ अझै सदा पहुँचमा, ताप्तैन निभ्दा भने ।

आगाको उपयोग गर्न सकिए संसार नै बन्दछ
न्यानो ताप सदा छ स्वास्थ्य गतिलो मान्छे सधैँ रम्दछ
मान्छे आखिर मर्छ जल्छ, मलिलो माटो खरानी बनी
फल्ने अन्न हराभरा धरणिमा संसार बन्दै धनी ।

आगो, सर्पसँगै चिनाउन परे खोलाहरू पर्दछन्
जोरी खोज्न हुँदैन भो त यिनले अल्पायुमै मार्दछन्
त्यस्तै मानिसको छ राम मुखमा गोजी विषे छन् छुरा
सक्नै पर्दछ चिन्न मानिसहरू, जानेर बाँच्ने कुरा ।

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in छन्द कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.