~टंक वनेम~
सगरमाथाको नाङ्गो शरीर
सिन्ध नदीको क्रोध
र
हाइड्रोजन साइनाइटको वारुदी गन्ध
विज्ञानको यथार्थ भूमिमा उमारिएको सभ्यता
जहाँ
कोपारिन्छ प्राकृतिको सुन्दरता
रमाउँदै मनाइन्छ
विनासको स्वतन्त्रता दिवस
दूरददेशमा
कमिलाहरुको जन्ति देख्न
हिँउद कुर्नु पर्दैन अव
भ्यागुताहरुले साइनो गाँस्न
न असारको बर्षे झरी पर्खनु पर्छ
चिम्नीका धूवाँहरु वादलको घोडा चढ्छ
र
मनुश्यहरुको मृत्युमाथि टाङ फार्छ ।
सिनाबुङ !
तिमी कहाँ त्यसै ज्वालामुखी भएर पड्केका हौ र ?
सिन्ध नदी !!
तिम्रो क्रोध कहाँ त्यसै भत्केको हो र ??
सगरमाथा !!!
मुक दर्शक भएर हेरि रहेछौ
तिमीलाई कस्ले नाङ्गो बनायो ???
जीवन र मृत्युको पैतालाहरुलाई
किन थाहा नहुनु
वादलको घोडा चढ्ने
ति चिम्नीका वादशाही कोर्रा ।
कोलाहल शहरको गल्लीबाट
खोलाको वैराग लाग्दो स्वर नसुनेर हैरान हुँदै
भुल गर्ने जोडी आँखाहरु
टोलाई रहेका छन्
आकाशतिर सोझिएका
तिनै चिम्नीका धूवाँहरु हेर्दै ।
अव
तिनै कालो धूवाँहरु
भेडा वादलहरुमाथि चढ्नेछ
र
विनासको स्वर निकाल्नेछ
अलाप्दै
प्राकृतिक प्रकोपको भैरवी स्वर
नाच्दै सुनामी नृत्य
सुकाउँदै घामको रापले भोकको रोटी
निस्कनेछन्
हिउँको पहाडहरुबाट
मृत्युका असंख्य धुनहरु ………………
– ताप्लेजुङ् ।