कविता : लाहुरी भैंसीको कथा

~रक्ष राई~

फनक्कै सिङ्ग घुमेको
लचक्कै ढाड लच्केको
गमक्कै चांक फुकेको
टमक्कै फाँचो कम्लाएको
यति न हो मेरो हुलिया
नाथे, म लाहुरी भैंसी!

मेरो मास फेरिनु कता हो कता !
तिमीलाई राँगोको हतारो हुन्छ
मैले पाडो ब्याउनु कहाँ हो कहाँ !
तिमीलाई बिगौतीको चटारो हुन्छ
मैले तिमीलाई दूध दिन हुन्छ
तर सुद लिन हुँदैन,
तिमी मेरो घिउ खाएर पोषिन्छौ
म आफ्नै नियति चपाएर सिद्दिन्छु
तिमीले मलाई घाँस(कूँडो हाल्न पर्दैन
म अर्काकै नांगीमा डुल्छु
अर्काकै खर्कीमा चर्छु
र तिम्रो गोठमा आएर उग्राउछु ।

मेरा दरसन्तान तिम्रा गाडा तान्छन
मेरो आँसुको ब्याडमा तिम्रो सपनाको सुन फुल्छ
मेरो पसिनाको खेतमा तिम्रो जिन्दगीको धान फल्छ
तिमी मेरो छालाको कोटमा सजिन्छौ
र गजक्किन्छौ, “चाइञ्जो केरे, म रकमसिङ्ग !“
तिमी मेरो छालाको जुतामा ठाँट्टीञ्छौ
र भन्छौ, “चाइञ्जो केरे, म ढाकमसिङ्ग !“
म त नाथे लाहुरी भैंसी !
महेशपालकी छोरी – महेश्वरी !”
कुनै हाट बजारमा लगेर
गोपालकी छोरी “गौरी“ संग साटे पनि हुन्छ
अथवा कतै भेजामा लगेर काटे पनि हुन्छ
म यहाँ नरहँदा तिम्रो के जान्छ ?
वा म जिन्दगीबाट तल खस्दा तिम्रो के झर्छ ?
बरु तिम्रो मांसाहारी भान्साको एउटा स्वादिलो छाक टर्छ
सुकुटी, म म छोयला र कचिला
वा तिम्रो जिब्रोले नयाँ स्वाद फेर्छ ।।

– बुइपा, खोटाङ
हाल : बेलायत, वेल्स

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.