~एच सि एन्डरसन~
अनुवादकः शान्तदास
उहिले – उहिलेको कुरो, त्यस बेला एक बीस र पाँच गरी जम्मा पच्चीस जना सिपाहीहरू थिए । ती सबै एउटै टिनका पाताबाट बनाइएका थिए, भनौं तिनीहरू सहोदर दाजुभाइ थिए । प्रत्येक सिपाहीले बन्दुक बोकेको थियो । मुन्टो ठाडो पारेर उभिरहेका तिनीहरू सबैले रातो र नीलो रङ्गको बर्दी लगाएका थिए । जुन दिन तिनीहरू यस संसारमा देखा परे अर्थात् तिनीहरूलाई बट्टाबाट झिकेर बाहिर राखिए, तिनीहरूले सबभन्दा पहिलो “वाह रे सिपाही !” भनेर एक जना केटो ताली बजाउँदै कराएको सुनेथे । त्यो दिन त्यस केटाको जन्मदिन थियो र त्यस अवसरमा ती सिपाहीहरू उसलाई उपहारस्वरुप दिइएका थिए । त्यसपछि त्यस केटाले ती सिपाहीहरूलाई लाम लगाउँदै टेबलमाथि ठड्यायो ।
सबै सिपाहीहरू एकनासका थिए तर एउटा भने अलिकति अमिल्दो थियो किन भने उसको खुट्टा एउटा मात्र थियो । भएको के भने सबभन्दा पछि बनाइसिद्धिएको त्यस पच्चीसौं सिपाहीका लागि एउटा खुट्टा बनाइसकेर अर्को बनाउन टिन नै पुगेन । त्यसरी त्यो एकखुट्टे हुन गयो । तर एउटै मात्र खुट्टा भए पनि ऊ दरो गरी उभिन सक्थ्यो र साँचो कुरा भन्ने नै हो भने ती पच्चिस दाजुभाइ मध्ये नामी हुनेचाहिँ त आखिर उही नै भयो ।
टेबलमाथि अरु थुप्रै खेलौनाहरू थिए । तिनमा आकर्षक चाहिँ कागतको दरबार थियो । त्यस दरबारका ससाना झ्यालहरूबाट दरबारभित्रका कोठाहरू प्रस्ट देखिन्थे । दरबारका आँगनमा रुखहरू थिए र पोखरीका आकारमा त्यहाँ यौटा ऐना राखिएको थियो अनि त्यसमाथि ठिक्कका राजहंसहरू राखिएको थिए । यस्सो हेर्दा ती हाँसहरू साँच्चीकै पौडिरहेका जस्ता देखिन्थे । सब कुरो रहरलाग्दो देखिन्थ्यो र सबभन्दा राम्रो र झ्वाट्ट आँखा तानिहाल्ने चाँहि दरबारको खुला ढोकानिर उभिइरहेकी पातली आइमाई थिई । ऊ पनि कागतकै थिई । उसले पातलो मलमलको पोसाक लाएकी थिई । काँधसम्म छोपिने गरी हल्का नीलो स्कार्फजस्तो रिबन लाएकी उसले आफ्नो अनुहार जत्रै चम्किलो धातुको गहना पनि भिरेकी थिई । दुइटै हात माथि उठाएर नाचिरहेकी उसले एउटा खुट्टा माथि उचालिरहेकी थिई । टिनको सिपाहीले त्यस आइमाईलाई पनि आफूजस्तै एकखुट्टे सम्झ्यो किन भने उसले त्यस आइमाईको उचालिएको अर्को खुट्टा देखेकै थिएन ।
टिनका सिपाहीले विचार गर्यो – “यो आइमाई मेरा लागि सुहाउँछे तर म उल्लाई पाउन सक्दिनँ हुँला । ऊ उता दरबारमा बस्छे र म भने यता बट्टाभित्र बस्नुपर्छ । त्यसमा पनि पच्चीसैजना एकै ठाउँमा । मेरो ठाउँ उसका लागि सुहाउँदैन । मैले ऊ सँग बरु हिमचिम बढाउनुपर्छ ।” त्यसपछि ऊ टेबलमाथि राखिएको नसबट्टापछाडि उभियो किन भने त्यहाँबाट उसले नाच्ने मुद्रामा उभिइरहेकी त्यस आइमाईलाई राम्ररी हेर्न पाउँथ्यो ।
साँझ अँध्यारो भएपछि नसबट्टानिर उभिरहेको त्यस सिपाहीबाहेक अरु बाकसभित्र राखिए र घरका सबै मानिसहरू सुत्न गए । त्यसपछि भने खेलौनाहरूको खेल्ने बेला आयो । तिनीहरू एक आपसमा भेटघाट गर्न थाले, बाझ्न थाले र मिलेर नाच्न पनि थाले । बट्टाभित्रका सिपाहीहरू पनि खुब चलमलाए, तिनीहरू पनि खेलमा सामेल हुन चाहन्थे तर तिनीहरूले बट्टाको विर्को भने खोल्न सकेनन् । खेलौनाहरूले मच्चाएको हल्लीखल्लीले गर्दा क्यानरी चरा विउँझ्यो, ऊ पनि करायो तर उसको बोली भने सबै छन्दमा थियो । चलहल नगरी बसिरहेकाहरू त्यहाँ मात्र दुई जना थिए । ती हुन् टिनको सिपाही र राम्री पातली आइमाई । नाच्ने मुद्रामा रहेकी सानी आइमाई दुबै हात माथि उठाएर र एउटा खुट्टाका औलाले मात्र टेकेर उभिरहेकी थिई भने टिनको सिपाही पनि एक छिन पनि आँखा नझिम्क्याईकन उसलाई हेर्याहेर्यै गरेर एउटै खुट्टामा उभिइरहेको थियो ।
घडीले रातको दुई हान्यो र नसबट्टाको बिर्को आफसेआफ खोलियो त्यसभित्र नस थिएन बरु त्यसबाट एउटा अनौठो जीव बाहिर निस्क्यो । त्यसले टिनको सिपाहीलाई हपार्यो- “ए सिपाही, सुन्, आफूलाई हेर तँ, बुझिस् तैँले ? अन्त किन हेर्छस् तँ हँ ?”
टिनको सिपाहीले नसुनेझैँ गर्यो ।
खराब चित्तको त्यस जीवले फेरि भन्यो, “पख, भोलि त हुन दे, अनि देख्लास् तैँले !”
साँच्ची भोलिपल्ट बिहान केटाकेटीहरू उठेर टिनको सिपाहीलाई झ्यालको चौकोसमा ठड्याएका मात्र थिए त्यही बेला खराब चित्तको त्यस जीवले गर्दा हो वा केले हो झ्यालको खापा एक्कासL खोलियो र टिनको सिपाही तेस्रो तलादेखि उँधोमुन्टो गरी तल खस्यो र त्यसले समातेको बन्दुकको सङ्गीनको टुप्पो भुइँमा छापिएका दुई ढुंगाको विचको अन्तरमा धसिन पुग्यो । उत्निखेरै सानो केटो र नोकर्नी तल आएर त्यसलाई खोज्न थाले । तर झण्डै आफैले कुल्चिन लाग्दा पनि तिनीहरूले त्यसलाई देखेनन् । त्यस बेला त्यस सिपाहीले “म यहाँ छु” मात्र भनेको भए तिनीहरूले त्यसलाई सजिलै फेला पार्ने थिए तर बर्दीमा हुँदा सिपाहीले त्यस बेला कराउनु उचित सम्झेन ।
त्यसपछि पानी खुब दर्क्यो, मुसलधारे नै पर्यो । पानी रहेपछि त्यहाँ दुई जना केटा आए, तीमध्ये एक जना टिनको सिपाहीलाई देखेर करायो ” अहो, टिनको सिपाही, बाबै ! यसलाई त डुङ्गामा राखेर पानीमा तैरन लगाउनुपर्छ ।” यसरी तिनीहरूले कागतको डुङ्गा बनाए र त्यसमा टिनको सिपाहीलाई राखेर बगिरहेको ढलमा थपक्क राखिदिए । क्या गजब, ढलमा छालहरू उर्लिरहेका थिए र बेग पनि थियो । ढलको पानीले त्यस डुङ्गालाई नचाउँदै र घुमाउँदै आफूसित लग्यो । सिपाहीको मन त्यस बेला आत्तिएको जस्तो भयो । तर ऊ दरो गरी उभिएकै थियो । एक्कासी डुङ्गा काठको सुरुङ्गभित्र पस्यो । सुरुङ्गभित्र बट्टाभित्रजस्तै अध्याँरो थियो ।
“अव म कतातिर लगिँदै छु क्यारे ? अहो नाचिरहेकी त्यो आइमाई मसँग भइदिएको भए यस भन्दा दोब्बर अँध्यारो भए पनि म केही पर्वाह गर्दिन ।” उसले विचार गर्यो । त्यही बेला ढलको मुसा अगाडि आएर ऊ सँग सोध्यो – “खै, राहदानी देखाऊ त ?”
सिपाहीले केही बोलेन बन्दुक बेस्सरी समात्यो । त्यही बेला डुङ्गा अगाडि बढ्यो र मुसाले रिसाउँदै पानीमा तैरिरहेका छेस्काहरू टोक्यो । ऊ करायो , ” रोक् रोक् त्यल्लाई । त्यससँग राहदानी नै छैन, त्यल्ले कर पनि तिरेको छैन ।”
तर पानीको धारले एकखुट्टे सिपाही भएको डुङ्गालाई छिटछिटो पर बगायो । सुरुङ्ग छिचोलेर बाहिर पुग्दा त्यो सानो ढल ठूलो नहरसित मिसियो र वेग अझ चर्को भयो । तर पनि सिपाही डेग नचली उभिई नै रह्यो । त्यसपछि त डुङ्गा तीनचार पल्ट रिङिन थाल्यो । डुङ्गामा पानी पस्यो र भरिन थाल्यो र डुङ्गा डुब्न थाल्यो । सिपाही पनि विस्तारै पानी भित्र अललिअलि गर्दै डुब्न थाल्यो । त्यस बेला त्यस टिनको सिपाहीले नाचिरहेकी त्यस आइमाईलाई अब फेरि कहिल्यै देख्न पाउनेछैन भन्ने ठान्यो । उसका कान वरिपरि
“अघि बढ् सिपाही , अघि बढ्
मर्नै परे पनि पछि नहट् ।”
भन्ने गीत गुन्जिन थाल्यो ।
यसरी पानी भित्र डुबेको सिपाहीलाई यौटा माछाले निल्यो ।
माछाको पेट त सुरुङ्गभन्दा पनि अँध्यारो र असाध्य साँगुरो पनि थियो । तर त्यो टिनको सिपाही निडर थियो, त्यसैले ऊ अलिकति पनि खुम्चिएन र आफूले समातिराखेको बन्दुक पनि उसले छोडेन । माछा एकछिन सम्म त खुब चल्यो त्यसपछि चुप लागेर बस्यो अनि कहिले हो एकैचोटी बिजुली चम्केझैं उज्यालो भयो र सिपाहीले फेरि घाम देख्न पायो । त्यही बेला “टिनको सिपाही” भनेर कराएको सुनियो । भएको के रहेछ भने माछा समातेर बेचिएको रहेछ र भान्छेले माछा पकाउन काट्दा त्यसभित्र सिपाही फेला परेको रहेछ । अनि तिनीहरूले उसलाई टेबलमाथि ठड्याए । क्या गजब, त्यो त उही सिपाही अनि त्यो सिपाही पनि उही पहिलेकै घरमा आइपुगेको ! उसले उही केटाकेटीहरू, उही खेलौनाहरू, उही दरबार र उही नाच्ने मुद्रामा पातली आइमाईलाई देख्यो ।
त्यो आइमाई अहिले पनि पहिले जस्तै एउटै खुट्टाले टेकेर अर्को खुट्टा माथि उचाल्दै झुक्तैनझुकिन उभिरहेकी थिई । त्यो देखेर सिपाही विह्वल भयो र झन्डै उसले टिनको आँसु बहाउनै लागेको थियो तर एक जना सिपाहीले त्यसरी आँसु बहाउनु मुनासिब हुने नदेखिएकाले उसले त्यसो गरेन । उसले त्यस आइमाईलाई हेर्यो र त्यस आइमाईले पनि उसलाई हेरी तर दुबैले एक शब्द बोलेनन् । त्यसै बेला एक जना सानो केटाले टिनको सिपाहीलाई टप्प टिपेर किन हो किन त्यसै अगेनामा फ्याकिदियो । यो कुरा नसबट्टाभित्रको खराब चित्तको जीवले गर्दा नै भएको हुनुपर्छ । टिनको सिपाही आगाका लप्काहरूमा लपेटिदा पनि उभिई नै रह्यो । उसलाई त्यो तातो आगोको तातो हो वा उभित्र राँकिरहेका भावनाहरूको न्यानो हो, थाहा भएन । उसको बर्दीका चहकिला रङ्गहरू उड्न थाले, यो उसको दुःखपूर्ण यात्राले गर्दा भएको हो वा ऊभित्रको शोकले गर्दा कसले भन्न सक्छ र ? उसले नाच्ने मुद्रामा रहेकी आइमाईलाई हेर्यो र आइमाईले उसलाई हेरी र टिनको सिपाहीलाई आफू पग्लिँदै गइरहेको जस्तो लाग्यो तर पनि आफूलाई सम्हाल्दै ऊ बन्दुक समातेर उभिरहृयो ।
एक्कासी ढोका उघारियो र त्यस बेला आएको हावाको झोक्काले नाच्ने मुद्रामा रहेकी आइमाईलाई उडायो र ऊ पनि सोझै आगामा परी र सिपाही जस्तै दनदनती बलेर खाक भई ।
त्यस बेलासम्ममा टिनको सिपाही आगामा पल्गेर एक डल्लो भइसकेको थियो । भोलिपल्ट नोकर्नीले खरानी सोहोर्दा टिनको मुटुजस्तो एक डल्लो भेट्टाई । नाच्ने मुद्राकी आइमाईको गहनाबाहेक कुनै कुरो बाँकी रहेन । त्यो गहना पनि कोइलाजत्तिकै कालो भइसकेको थियो ।
(साभार : “कथाकोसेली ६ : हान्स एन्डरसनका कथाहरु” बाट)