~राजेन्द्र चोथाले~
तिमीलाई धेरै झपार्नु छ । मिले गालामा दुई-चार थप्पड पनि हान्नु छ । तिमीलाई अरूसामु मेरोबारे बोल्नु के खाँचो, मैले त तिम्रो बारेमा कसैसँग कहिल्यै नराम्रो उच्चारण गरिन बरु तिम्रा गल्तीहरू छोप्दै, बदनामीहरूमा नामको पर्दा हाल्दै सधैँ नै तिम्रो तारिफ गरिरहेँ । तिमीले कहिले सुनेकी छौ मैले बदनाम गरेका शब्दहरू ? मेरो बदनामी र तिम्रो बदनामीलाई फरक देख्ने तिम्रो आँखा कस्तो ? हामी त जोडिएको घाँटी पो । हिलो छ्यापिए दुवै मैलिने, काटे दुवैलाई रगत आउने तर तिमी त छ्या, मान्छे भन्नै मन लागेन ।
छ-सात वर्ष अगाडि त हो नि तिमी हाम्रो टोलमा आएकी, मेरो घरमा डेरामा बसेकी । तिमी र तिम्रो श्रीमान् भनाउँदो दुवै रित्तो थियौँ, बुङ्गो थियौ । ओछ्याउने एउटा चटाई, एउटा डस्ना, एउटा सिरक, एउटा स्टोप, एउटा प्रेसरकुकर-तिमीहरू दुई भए पनि प्रायः सम्पूर्ण सामान थान एक मात्रै त थिए । यतिबेला मैले आफ्ना थन्किएका खाट, दराज, टेबल तिमीलाई राम्री देखेर दिएको थिइन । म स्वभावैले सहयोगी थिएँ र अद्यापि छु पनि तर तिमीले के अर्थ लगायौँ कुन्नि एक/दुई भेटमा नै मसँग लहसिन खोजेको मैले त्यति बेलैदेखि अनुमान लगाएको थिएँ । मेरी आमाले पनि के देखिन् कुन्नि उनी सकभर तिमीसँग टाढै बस्न र तिम्रो कोठामा तिमी एक्ली हुँदा नछिर्न सतर्क गराउँथिन् । त्यो सायद नारीको नारी चिनाई थियो । सर्पले देखेको सर्पको खुट्टा । तिमी राम्री थियौँ र फेसनेवल पनि थियौँ । तिमीलाई आफ्नो रूपमा घमण्ड पनि थियो तर म तिमीसँग जानाजानी टाढा हुन खोज्नुले तिम्रो रौपिक अहंकार चोटमा परेको थियो- अर्ध रेटिएको बलिझैँ थियो तिम्रो छट्पटी । हुन पनि म कुमार केटो, योग र कसरतले कस्सिएको मेरो मसल, उच्च पढाइ, समृद्ध घर, उच्च खानदान नारीलाई र्याल चुहाउन अमिलै मात्रै त चाहिने होइन नि । तिम्रो पोइ भनाउँदो दुब्लो, नसुहाउँदो अग्लो, हप्तौँ दाह्री नकाट्ने, तिम्रो फेसन पुर्याउँदा पैसाले नपुगेरै हो वा अलि छुच्चो स्वभावले हो राम्रो लगाएको पनि प्रायः देख्दै देखिन । मैले बुझेको थिएँ तिमी आफ्नो पोइ र मलाई प्रायः दाज्ने गथ्र्यौ । जाडोमा घाम तापेर बस्दा म माथि कौसीमा हुन्थे, तिमी र तिम्रो पोई आँगनमा हुन्थ्यौ । तिमी पोइको आँखा बचाएर मलाई हेरिरहन्थ्यौ र आँखा जुधेपिच्छे हाँसिदिन्थ्यौ तर तिम्रो पोइले केही बोले कि तिमी झर्केर जवाफ दिन्थ्यौ, हकार्न खोज्थ्यौ । तिम्रो यस्तो व्यवहारले मलाई कतिचोटि असजिलोमा पारेको छ त्यो मलाई नै थाहा छ ।
मैले यो पनि बुझेको छु कि तिम्रो पोइ भनाउँदो छँदाखाँदैको जागिर छोडेर कतार जानै चाहँदैन थियो तर सायद तिमी उसँग अघाइसकेकी थियौ । उसको व्यक्तित्व तिम्रो मनको भार बनिसकेको थियो । सायद तिमीलाई उसलाई लोग्ने मानेर मसामु उभिनुपर्दा अलिकति आत्मग्लानि पनि हुन्थ्यो त्यसैले तिमीले उसलाई अन्ततः विदेश्याई छोड्यौ । ऊ चाहन्थ्यो यतिविघ्न राम्री स्वास्नीलाई छोडेर अन्यत्र जानु नपरोस् । विवाहको वर्षौं बित्दा पनि बच्चा नहुँदाको अर्को पीडा पनि थियो उभित्र । तिमीले बच्चा नहुनुमा सधैँ उसैलाई दोषी देखायौ तर मैले तिमीले फालेका डयुलोटन र पि्रमोलट एनका खाली खोलहरू धेरैचोटि देखेको छु । मलाई अझै राम्रैसँग सम्झना छ उसँग भएका कुराहरू । हिँड्ने एक रात अगाडि ऊ मकहाँ आएको थियो । मुख निकै अँध्यारो थियो । कतारको बारेमा कुरा चल्यो, तिम्रो बारेमा कुरा चल्यो । राम्री छ अरूले पाप चिताउलान्, सोझी छ अरूले फाइदा उठाउलान्, बच्ची नै छ बाटो बिराउलीजस्ता पिरलोका गुन्द्रुकहरू उभित्र उम्लिरहेका थिएँ । तिम्रो रक्षाको पूर्णजिम्मेवारी ऊ मलाई सुम्पिन चाहन्थ्यो । मैले कोसिसका आश्वासन पस्केर उसलाई पन्छाएको थिएँ । उसले मलाई कति विश्वास गरेको थियो ।
मेरो विवाहको कुरा छिनेको दिन तिम्रो अनुहारमा चूक घोप्टिएको थियो । सधैँ फर्याकफुरुक म अगाडि आउने तिमी नून खाएको कुखुराझैँ थियौ । त्यो दिन तिम्रो अनुहार र अवस्थाले गर्दा मलाई पहिलोचोटि तिम्रो माया लागेको थियो । कसैलाई मन पराउनु र माया गर्नु गल्ती होइन, अपराध होइन तर समाजले निर्धारण गरेको मापदण्ड र तगाराहरूलाई नाघ्नु भने सामाजिक अपराध नै हो । अरूको स्वास्नी ल्याउन मलाई मेरो नैतिकता र संस्कारले दिँदैनथ्यो, त्यसैले तिमी राम्री लागे पनि म तिम्रो नजिक हुनै चाहिन अथवा भनौँ हुनै सकिन र सधैँ पन्छिनै रहेँ । वस्तुतः तिमी मलाई राम्री भने राम्री नै लाग्थ्यौँ ।
त्यस दिन पनि मसँग मेरो नैतिकता र संस्कार नभएको होइन तर म निथ्रुकिएको थिएँ झोलले । बुद्धि डुबाउने झोलले, पशुत्व जन्माउने झोलले । लागेको पनि कस्तो, ढोका त तिमीले खोलिदियौँ तर म भर्याङ्ग चढ्नै सकिनँ, माथि जानै सकिनँ । आमाले थाहा पाउनु होला भन्ने डरले आखिर म तिम्रो कोठामा लुक्नलाई बाध्य नै भएँ । तिमीले सहारा दियौ, मलाई थाहा छैन त्यो तिम्रो परपुरुषसँगको कतिऔँ छुवाई थियो तर मेरो जिन्दगीको लागि राम्री र जवान स्त्रीको त्यो पहिलो छुवाई थियो । झोलको मार र तिम्रो मात आफ्नै नैतिकता, संस्कार र मान्यतामाथि अन्तर्घात । चुरोटझैँ, नशाझैँ शरीर पनि हाम्रो लत बन्यो तर हामी अपराधी, तैं चूप मै चूप ।
समय आयो मेरो विवाह भयो । मैले विगतलाई बिर्सी वर्तमानमा रमाउन चाहेँ र सकभर तिम्रो छायाँबाट पनि टाढा रहने प्रयास गरेँ । अवश्यै तिमीलाई मेरो त्यो उपेक्षा मन परेन र तिमी मेरो विवाहको महिना दिन जतिमै अर्कै टोलमा डेरा सर्यौ ।
मेरी श्रीमती निकै दिनदेखि मसँग खुलेर बोलेकी थिइन । मुख ज्यादै अँध्यारो थियो । मेरो यावत रहस्यबोधका प्रयास असफल भएका थिए । फकाउनुको पनि एउटा सीमा हुन्छ नि । हिजो राति त म एक्कासि रिसाइदिएँ । सायद बढी नै रिसाइदिएँ ऊ डरले झण्डै कामेकी । डरैडरमा आखिर उसले सत्य ओकली छोडी । आफ्नो अभीष्ट पूरा नभएको कुन्ठाले, मलाई फसाउन नसकेको आत्मपीडाले, आफ्नो चक्नाचुर भएको रौपिक अहंकारले तिमीले भनिछौ, म चरित्रहीन पुरुष हुँ यौनपिपासु हुँ, तिमीलाई सधैँ आँखा लगाएँ, तिमीले डेरा नछोडेको भए तिम्रो सतित्व सधैँ खतरामा रहिरहन्थ्यो । म शून्य भएँ, कर्तव्यविमुढ भएँ, निकै बेरसम्म बोली नै हरायो । तिमी मेरी श्रीमती र मबीच फाटो ल्याउन चाहन्थ्यौ । झण्डै सफल पनि भएकी थियौ तर ऊ मेरी श्रीमती थिई तिमीझैँ परपुरुषलाई आँखा नलाउने श्रीमती, त्यसैले तिमीलाई भन्दा आफ्नो श्रीमान्को कसमलाई (झूठो पनि बोल्न जाने साँचो हुन्छ) पत्याई र सम्भावित खतरा टर्यो । उसँग मेरो सम्बन्धविच्छेद भएकै भए पनि तिम्रो सपना भने पूरा हुने थिएन । किनकि म तिमीलाई भोग्न त सक्थेँ, स्वास्नी बनाउन सक्दिनथेँ । म अँध्यारोको मान्छे उज्यालोसँग सधैँ डराउँछु । मलाई दोष लगाउनुअघि एकचोटि ऐनासामु उभिएर आफूलाई नियाली हेरेको भए हुन्थ्यो । अरूको बदनामीले आफ्नो नग्नमा छोप्न खोज्नु पेटिकोटमाथि उचालेर मुख छोप्नुखोज्नुबाहेक अरू केही होइन । भन्न सक्छ्यौँ भने भनिदेऊ, म पनि तेरो पोइसँग सुतेकी छु, तेरो पोइलाई सुताएकी छु । सक्छ्यौ ? सक्छ्यौ भन्न ? बेअर्थको मान्छे । तिमीलाई त वास्तवमै राम्ररी झपार्नु छ । मिले गालामा दुईचार झापड पनि हान्नु छ ।
– मधुपर्क २०६५ पुस
(स्रोत : रचनाकारको ब्लगबाट सभार)