~सेरउड एन्डरसन~
अनुवादः बलराम अधिकारी
वाइन्जबर्ग नगरनजिकैको खोलाको किनारमा एउटा सानो घर उभिएको थियो । घरको आधा भत्केको बरन्डामा एउटा सानो गाँठीको पाको मान्छे यताउति गरिरहेको थियो । ऊ अधीर देखिन्थ्यो । घर अगाडि सोतो परेको खेत थियो । क्लोभरको बीउ छरेको त्यो खेत तोरी झारले पूरै ढाकेको थियो । उसले खेतपारिको राजमार्ग हेर्यो । स्ट्रबेरी टिपेर घर फर्किंदै गरेकाहरूले भरिएको एउटा ब्यागन अर्थात् मालगाडी गाउँ फर्किंदै थियो ।
गाडीका युवायुवती उत्ताउलो पाराले होहल्ला गर्दै थिए । नीलो कमिज लगाएको केटो गाडीबाट फुत्त हामफाल्यो र एउटी केटीलाई आफूतिर तान्न लाग्यो । केटी चिच्याउँदै उसको हातबाट फुत्कन खोजी । केटाले भुइँमा एक लात्ती हान्यो । उसको खुट्टाबाट उँडेको धुलो बिदावारी हुन लागेको साँझको घाममा टल्कियो । त्यो सोतो परेको खेतको पारिबाट कुनै केटीको आवाज आयो, ‘ए, विङ्ग बिडलबौम, कपाल कोर्ने गर । आँखैँ छोपिसक्यो ।’ त्यो आवाजले त्यस्तो मान्छेलाई कपाल कोर्ने सुझाव दिइरहेको थियो जो तालुखुइँले थियो । निधारमा झरेका लट्टा मिलाउन खोजेझैं उसले खिरिला चञ्चले औंलाहरूले आफ्नो मुडुलो टाउको मुसार्यो ।
विङ्ग बिडलबौम सदा त्रस्त र दोधारको बोझले थिचिएको देखिन्थ्यो । ऊ यस नगरमा बीस वर्षदेखि बस्दै आएको थियो । तर उसलाई आफू यहाँको कुनै अंश हुँ भन्ने कहिल्यै पनि लागेन । पूरै वाइन्जबर्ग क्षेत्रमा केवल एकजना उसकोमा आउने-जाने गर्दथ्यो । ऊ थियो जर्ज विल्लार्ड- टम विल्लार्डको छोरो, नयाँ विल्लार्ड भवनको मालिक । ऊ र बिडलबौम साथीजस्तै भइसकेका थिए । जर्ज विल्लार्ड ‘वाइन्जबर्ग इगल’ पत्रिकामा रिपोर्टरको काम गथ्र्यो । ऊ कहिलेकाहीँ साँझमा अगाडिको राजमार्ग हुँदै बिडलबौमकोमा आउँथ्यो ।
आफ्ना दुवै चञ्चल हात अघिपछि हल्लाउँदै वरन्डामा यताउति गरिरहेको यो पाको मान्छे यही रिपोर्टरको पर्खाइमा थियो । स्ट्रबेरीले भरिएको गाडी आँखाबाट कटिसकेपछि ऊ अगाडिको खेततिर लाग्यो । अग्लिएको तोरी-झार पन्छाउँदै पारिपट्टि गयो । खेतको बारमा चढ्यो र सहरतिर जाने बाटोलाई व्यग्र आँखाले हेरिरह्यो । एकछिन त्यहीँ उभिरह्यो । त्यसपछि हात मल्दै सडकको तलमाथि हेर्यो । एकाएक उसलाई भयले छोप्यो । हतासमा ऊ त्यहाँबाट फर्कियो र घरको पिँढीमा आएर फेरि यताउति हिँड्न थाल्यो ।
विङ्ग बिडलबौम २० वर्षदेखि यस सहरको एक रहस्य बनेको थियो । केवल जर्ज विलार्डको अगाडिमात्र ऊ सहज देखिन्थ्यो । उसको उपस्थितिमा बिडलबौमको डर हराउँथ्यो । सदा आशंका र दोधारको समुद्रमा डुबेको झैं देखिने त्यो चिन्तित अनुहार त्यस युवा रिपोर्टरको साथ पाएपछि भने दुनियाँ हेर्न कहिलेकाहीँ बाहिर निस्कन्थ्यो । छायाँझैं धुमिल यो व्यक्ति दिउँसोको उज्यालोमा मूल सडक निस्कने साहस गथ्र्यो । कहिले भने उत्साहपूर्वक कुरा गर्दै आफ्नै घरको जीर्ण पालीमा यताउति गर्दथ्यो । अरू बेलामा सानो र कापेको झैँ लाग्ने उसको स्वर ठूलो र चर्को सुनिन्थ्यो । कुप्रो शरीर तन्किन्थ्यो ।
अरू बेलामा मौन रहने बिडलबौम जिउ पूरै मर्काउँदै बोल्न थाल्थ्यो । ऊ मछुबारेको हातबाट खोलामा फर्किएको माछो झैं जीवन ऊर्जाले भरिएको देखिन्थ्यो । धेरै वर्षदेखि उसका मनमा खात लागेको विचारलाई शब्दमा व्यक्त बल गथ्र्यो ।
बिडलबौम आफ्ना मनका अधिकांश कुरा हातले व्यक्त गथ्र्यो । संवादमा हरपल सक्रिय आफ्ना हातका औंलालाई कहिले गोजीमा लुकाउने प्रयत्न गथ्र्यो भने कहिले पछाडि । तर ती खिरिला औंलाहरू मौका पाउनासाथ अगाडि आइहाल्थे र अर्थपूर्ण तरिकाले चल्मलाउन थाल्थे । ती वास्तवमा उसको अधिव्यक्त संयन्त्रका पिस्टोन रडहरू थिए ।
विङ्ग बिडलबौमको कथा भन्नु नै उसको हातको कथा हो । पिँजडामा थुनिएको चराले पखेटा फटफटाएझैं ती अधीर हातका कारणले नै उसले यो नाम पाएको थियो । यो नाम नगरको कुनै अपरिचित कविले जुराएझैं लाग्छ । बिडलबौम आफ्ना हातदेखि सधैं सजग रहन्थ्यो । ऊ सदा तिनलाई लुकाउने प्रयत्न गथ्र्यो । खेतमा काम गर्दा आडैका खेतालाका अभिव्यक्तविहीन हातहरू देखेर ऊ अचम्ममा पथ्र्यो । त्यस्तै, उङ्दै गरेका वस्तुभाउ अघि लगाएर घर फर्किरहेका गोठालाहरूका मौन हात देख्दा उसलाई उदेक लाग्थ्यो ।
जर्ज विलार्डसँग बात मार्न थालेपछि बिडलबौम मुठ्ठी कस्थ्यो । जोसले कहिले टेबलमा त कहिले भित्तामा मुड्की बजाथ्र्याे । यसो गर्दा उसको अनुहारमा एक प्रकारको सन्तुष्टि झल्कन्थ्यो । खेतखेतै टहल्दै गर्दा उसलाई केही भन्ने इच्छा भयो भने ऊ कुनै ठुटो या बारको घोचोतिर आँखा लगाउँथ्यो । नजिकमा जे भेटिन्थ्यो त्यसैमा मुड्की बजार्दै आफ्ना कुरा भन्न थाल्यो । हातको हाउभाउसँगै बोल्दा उसमा नयाँ ऊर्जा थपिन्थ्यो ।
विङ्ग बिडलबौमको हातको आफ्नै कथा छ । यसको एउटा किताब नै बन्छ । संवेदनशील हृदयले लेख्ने हो भने उसका हातको कथामा दुर्बोध मान्छेहरूका अनौठा, सुन्दर विशेषताहरू प्रकट हुन्छन् । यस्तो रहस्यभित्र छिर्न कवि हृदय नै चाहिन्छ । उसका यी चञ्चल हातले नगरवासीको ध्यान खिचेको थियो । विङ्ग बिडलबौमले आफ्ना यिनै हातले एक दिनमा एक सय चालीस क्वाटर्ससम्म स्ट्रबेरी टिप्न सक्थ्यो । हातका दु्रत चाल नै उसको विशेष खुबी बनेको थियो ।
उसको ख्यातिको कारण पनि यही थियो । तर यिनै हातका कारण उसको रहस्यमयी, दुर्बोध व्यक्तित्व अझ रहस्यमयी बनेको थियो । वाइन्जबर्ग नगरवासी उसका हातमा गर्व गर्दथे जसरी उनीहरू गर्व गर्दथे ब्यांकर ह्वाइट्सको ढुंगाको नयाँ महलमा र वस्ले मोएरको विजयी घोडामा ।
जर्ज विलार्डले धेरैचोटि उसका हातबारे सोध्ने मन गरेको थियो । एकपटक त उसको उत्सुकता झन्डै मुखबाट फुत्केकोे थियो । उसका हातका पारा देखेर विलार्ड एउटा निष्कर्षमा पुगेको थियो- यी हात यसरी चलमालाई रहनुको अवश्य कुनै कारण हुनुपर्दछ । कुनै रहस्य लुकेको हुनुपर्छ हरपल आफ्ना हात लुकाउन खोज्नुका पछाडि ।
ऊ बिडलबौमलाई आदर गथ्र्यो । त्यसैले आफ्ना मनमा उठ्का प्रश्नहरू मनैमा रहन दियो ।अर्को एक पटक पनि जर्ज विलार्डलाई उसका चञ्चल हातबारे सोधुँसोधुँ लागेको थियो । गर्मी महिनाको दिन थियो । ती दुईजना खेतको बाटो हुँदै खोलातिर गइरहेका थिए । केहीबेर हिँडेपछि उनीहरू घाँसे किनारमा बसे । दिनभर नै बिडलबौम निकै उत्साहका साथ बोलिरह्यो । हिँड्दै गर्दा खेतको बार नजिकै ऊ टक्क अडियो । अजंगको काठफोरा चराले रूखलाई ठुँगेझैं बारको किलोमा धेरैपटक मुड्की ठोक्यो ।
जर्ज विलार्डलाई हकार्यो, ‘तिमी अरूबाट अति प्रभावित हुन्छौ ।’ हकारेको स्वरमा उसले त्यस युवकलाई सम्झायो, ‘तिमी आफूलाई सिध्याउँदै छौ । तिम्रो वास्तविक स्वभाव भने एक्लो रहने खालको छ । सपना देख्ने खालको तर तिमी आफ्नै सपनादेखि भागिरहेको छौ । सहरका अन्य मान्छेजस्तै बन्न खोज्दैछौ । तिनका कुरा सुन्छौ, तिनकै अनुकरण गर्छौ ।’
एकछिन पछि फेरि खोलाको घाँसेकिनारामा बस्दै बिडलबौमले उसलाई सम्झाउने यत्न गर्यो । अब उसको स्वर नरम बन्दै गयो । उसको बोलीमा पुरानो स्मृति मिसिएको थियो । सन्तुष्टिको सास तान्दै ऊ दिनभर बहकिरह्यो । दूर सपनामा डुबेर बोलिरह्यो ।
उसले आफ्नो सपनामा जर्ज विलार्डको चित्र खिच्यो । उसको स्वप्नील दृश्यमा सुनौलो ग्रामीण युगका मानिसहरू आराम गरिरहेका थिए । खुला हरियाली गाउँ थियो । परबाट कञ्चन हातखुट्टा भएका एक जमात युवाहरू गाउँतिर आउँदै थिए । कोही पैदल हिँडेर त, कोही घोडामा । तिनीहरू सानो बगैंचाको एउटा रूखमुनि बसिरहेको बूढोमान्छेको खुट्टा नजिकै आए । उसको वरिपरि बसे । अनि बूढो मान्छे तिनीहरूसँग बात मार्न थाल्यो ।
त्यस स्वनील दृश्यले विङ्ग बिडलबौम निकै उत्साहित देखियो । केहीबेरका लागि उसले आफ्ना हात बिर्सियो । विस्तारै उसका दुवै हात बाहिर निस्किए र जर्ज विलार्डको काँधमा पुगे । उसको बोली नवीन ऊर्जाले भरिएको थियो ।
‘तिमीले आजसम्म जे जति सिक्यौ ती सबै बिर्सिदेऊ ।’ बूढो मान्छेले सम्झायो । ‘अब तिमीले आफ्नै सपना देख्नुपर्छ । आफ्नै सपना । बाहिरको कोलाहललाई आफ्ना कानमा पर्न नदेऊ ।’
विङ्ग बिडलबौमको बोली बीचैमा रोकियो । उसले जर्ज विलार्डलाई निकैबेर हेर्यो । उसको हेराइमा एक प्रकारको व्यग्रता झल्कन्थ्यो । उसका आँखा धपक्क बले । केटालाई सुम्सुम्याउन फेरि उसले आफ्ना हात उठाएको मात्र के थियो अनुहारमा भय फैलियो ।
विङ्ग बिडलबौमको पुरै शरीर थर्थरायो । ऊ जुरुक्क उठ्यो र दुवै हात हतपत ट्राउजरको गोजीमा भित्रसम्म घुसार्यो । उसका आँखा आँसुले भरिएका थिए । ‘अब म घर जानुपर्छ । अब धेरै बोल्न सक्दिनँ ।’ उसले कापेको स्वरमा भन्यो ।
बूढो मान्छे पछाडि नफर्किइ हतारमा ओरालो लाग्यो । तल परको चउर काट्यो । यता जर्ज विलार्ड भने त्यही भिरालो ठाउँमा किंकर्तव्यविमूढ र भयभीत भएर बसिरहर्यो । डरले काप्दै ऊ त्यहाँबाट उठ्यो र अगाडिको बाटो हुँदै सहरतिर लाग्यो ।
‘अहँ, यो बूढाको हातबारेमा केही सोध्ने छैन ।’ बूढाको आँखामा देखेको भय सम्झेर उसले आफैंलाई सम्झायो । ‘पक्कै केही गडबड छ । तर मलाई यो थाहा पाउनु छैन । ऊ पक्कै पनि आफ्ना हातका कारण अरूसँग डराएको हुनुपर्दछ । ‘
जर्ज विलार्डको अनुमान सही थियो । विङ्ग बिडलबौमको हातको कथा संक्षेपमा सुनौं । हुनसक्छ यस कथाले कुनै कविलाई जगाउनेछ जसले सुनाउनेछ यी हातले छाडेका रहस्यमयी प्रभावको कथा । उसका हात सपना देखाउन सक्ने फर्फराउँदा पतका थिए ।
०००
युवा अवस्थामा विङ्ग बिडलबौम पेन्सिलभेनियाको एउटा सानो सहरको विद्यालयमा पढाउँथ्यो । उतिबेला ऊ विङ्ग बिडलबौम थिएन । ऊ अलि कम सुप्रिय नाउँले चिनिन्थ्यो- एडोल्फ मेयरर्ज । ऊ छात्रहरूले अधिक प्रिय शिक्षक थियो ।
एडोल्फ मेयरर्ज स्वभावले नै दुर्लभ युवा शिक्षक थियो । ऊ यस्तो दुर्लभ र दुर्र्बोध मान्छेहरूमध्ये एक थियो जो आफ्नो प्रेमको मन्द तापले अरूको हृदयमा शासन गर्न सक्दथे । उसले केटाहरूप्रति देखाउने माया कोमल हृदयकी महिलाले पुरुषप्रति देखाउने मायाभन्दा फरक थिएन ।
उसका हातबारे यस्तो टिप्पणी अलि सतही हुन सक्छ । यसका लागि कवि नै चाहिन्छ । एडोल्फ मेयरर्ज स्कुले केटाहरू लिएर साँझमा बाहिर निस्कन्थ्यो । कहिले भने विद्यालय भवनको सिँढीमा उनीहरूसँग साँझसम्म बसिरहन्थ्यो कुनै सपनामा डुबेझैँ । बोल्दा उसका हात यताउता चलमलाइरन्थे । ती हात कहिले केटाहरूको काँधमा पुग्थे भने कहिले तिनका खजमजिएका कपाल चलाउँथे । उसको स्वर मधुर सुनिन्थ्यो । ऊ आफ्नो स्वरले ती केटाहरूको हृदय सुम्मुमाउँथ्यो ।
त्यो स्कुले मास्टर आफ्नो बोलीको लयले, हातका चालले ती कोमल मस्तिष्कहरूमा सपना भर्ने यत्न गर्दथ्यो । आफ्ना औंलाका प्रेममयी स्पर्शका माध्यमबाट ऊ आफूलाई व्यक्त गर्दथ्यो । ऊ त्यस्ता मान्छेहरूमा पर्दथ्यो जसको जीवन-ऊर्जा एकै ठाउँमा केन्द्रित नभई विकेन्द्रित भई छरिएको हुन्छ ।
शिक्षकको प्रेममयी स्पर्श पाएका ती कलिला मस्तिष्कबाट द्विविधा, अविश्वास विस्तारै हराउन थाल्यो । उनीहरू सपना देख्न थाले ।त्यसपछि आइलाग्यो विपद् ।
विद्यालयको एउटा मन्दबुद्धिको केटो आफ्नो शिक्षकप्रति अति आकर्षित भयो । राति ओछ्यानमा उसले व्यक्त गर्नै नसकिने कामनाहरूको कल्पना गर्न थाल्यो र बिहान उठेपछि आफ्नो सपनालाई वास्तविक घटनाका रूपमा बताउन थाल्यो । झोलिएको उसको ओठबाट अनौठा, घिनलाग्दा आरोपहरू निस्कन थाल्यो । पेन्सिलभेनिया सहरमा एक प्रकारको कम्पन छुट्यो । एडोल्फ मेयरर्जका बारेमा मान्छेहरूका मनमा दबेर रहेका छायाँजस्तो धुमिल शंका विश्वासमा बदलिन थाल्यो ।
विपद् खस्न लामो समय लागेन ।
केटाहरू थरथर काप्दै ओछ्यानबाट जुरुक्जुरुक् उठ्न थाले । अर्धनिद्रामा तिनीहरू बर्बराउन थाले । ‘सरले मलाई अँगालो मार्नु भो । एउटाले भन्यो । सर सधैं मेरो कपाल खेलाउनु हुन्छ ।’ अर्को बर्बरायो ।
एक मध्यान्ह हेनरी ब्राडफोर्ड नाम गरेको मान्छे विद्यालयको ढोकामा आएर उभियो । ऊ तल टाउनमा सैलुन चलाउँथ्यो । उसले एडोल्फ मेयरर्जलाई चउरमा बोलायो र भकाभक मुड्याउन थाल्यो । उसका कडा आँख्ले मुड्की त्यस स्कुल मास्टरको भयभीत अनुहारमा बर्सिन थालेपछि क्रोधले ऊ झन्झन् भयानक बन्न थाल्यो । भयभीत केटाकेटीहरू आत्तिएका कीराझैं चिच्याउँदै यताउति कुद्न थाले । ‘मेरो छोरालाई कसरी छुने, तँ पशुलाई आज म बताउँछु ।’ सैलुनवाला गर्जियो । मुड्की हान्दाहान्दा थाकेपछि उसले लात्ती बर्साउन थाल्यो ।
एडोल्फ मेयरर्ज रातारात पेल्सिलभेनियाको त्यस नगरबाट लखेटियो । हातमा लाल्टिन बोकेका करिब बाह्रजनाको एक समूह ऊ एक्लै बस्दै आएको घरको ढोका अगाडि उभिए । तिनीहरूले उसलाई लुगा लगाएर तत्काल बाहिर आउन आदेश दिए । पानी परिरहेको थियो । एकजनाले हातमा डोरी बोकेको थियो । उनीहरू स्कुले मास्टरलाई झुन्ड्याउने आशयले आएका थिए । उसको त्यति सानो, गारो, टिठलाग्दो जीउ देखेर तिनीहरूको मन बदलियो । उसलाई भाग्ने मौका दिए ।
अँध्यारोमा ऊ भाग्न थालेपछि भने त्यो झुन्डलाई लाग्यो- ‘यसलाई जिउँदै छाड्नु हाम्रो भूल हो ।’ त्यसपछि गाली गर्दै, झटारो हान्दै, माटोको ठूलाठूला डल्ला फ्याँक्दै त्यस भयभीत आकृतिलाई खेद्न थाले । त्यो निःसहाय आकृति भने चिच्याउँदै बेतोडले अँध्यारोतिर कुदिरह्यो ।
०००
उमेरले ऊ केवल ४० को थियो तर ६५ वर्षको बूढोजस्तै देखिन्थ्यो । बितेको २० वर्षदेखि ऊ वाइन्जबर्गमा एक्लै बस्दै आएको थियो । त्यहाँ उसको काकीको घर थियो । अगाडिको एउटा दाँत कालो भएको त्यो बुढीमाऊ कुखुरा पाल्ने गर्थी । काकीको सास रहुन्जेल ऊ पनि सँगै बस्यो । पेन्सिलभेनियाको त्यो घटनापश्चात् ऊ एक वर्ष बिरामी पर्यो । तङ्ग्रिएपछि खेतमा ज्यालादारी गर्न थाल्यो । डराइडराइ बाहिर निस्कन्थ्यो र सकेसम्म आफ्ना हात लुकाउने प्रयास गथ्र्यो । पिटिनु र लखेटिनुमा आफ्नो के दोष थियो भन्ने उसले अझै बुझ्न सकेको थिएन । तैपनि यसको मुख्य दोष आफ्नै हातहरू हुनपर्छ भन्ने उसको निष्कर्ष थियो । क्रोधले भाउन्निँदै सैलुनवाला गर्जेको थियो- ‘तेरा हात आफैंसँग राख । तेरा हात…।’
०००
त्यो साँझ खोला नजिकैको आफ्नो घरको बरन्डामा विङ्ग बिडलबौम तलमाथि गरिरह्यो । उसको यो क्रम घाम पश्चिममा नबिलाएसम्म र खेतपारिको बाटो धमिलो छायाँमा नडुबेसम्म चलिरह्यो । त्यसपछि ऊ घरभित्र पस्यो । चक्ला पारेर पाउरोटी काट्यो र मह दल्यो । स्ट्रबेरीले भरिभराउ डब्बाहरू बोकेको साँझको रेलगाडी गडगडाहट गर्दै सहरबाट परपर हुँदै गयो । गृ्रष्म यामको साँझको मौनता फर्किएपछि ऊ फेरि बरन्डामा निस्कियो र यताउति हिँड्न थाल्यो ।
अँध्यारोमा उसका हात अदृष्य थिए । शान्त पनि । ऊ अझै पनि त्यो युवा रिपोर्टर आउँछ कि भन्ने आशामा थियो । त्यो केटो उसको प्रेम व्यक्त गर्ने माध्यम थियो । यो आशा उसको एकांकीपन र पर्खाइको अभिन्न अंश बनेको थियो । उसले बत्ती बाल्यो र जुठाभाँडा माझ्न थाल्यो । बरन्डातिर फर्केको ढोकाको छेउमा दोबार्न फिल्ने चारपाई लगायो र सुत्ने तरखर गर्दै कपडा काड्यो । टेबलको खुट्टा नजिकै सफा गरी पुछेको भुइँमा पाउरोटीका झुर्काहरू छरिएका थिए ।
आडैको होचो स्टुलमा बत्ती राखेर ऊ ती झुर्काहरू एकएक गरी टिप्दै मुखमा हाल्न थाल्यो । उसका औंलाहरू अविश्वसनीय गतिमा चलिरहेका थिए । टेबलमुनिको सघन छायाँमा घुँडा मारेको त्यो आकृति चर्चको कुनै अनुष्ठानमा व्यस्त पादरी झैं देखिन्थ्यो । अर्थपूर्ण रूपले चलेका उसका औंलाहरू बत्तीको प्रकाशमा झल्याकझुलुक गरिरहेका थिए । ती औंला वर्षौंदेखि जपमालामा व्यस्त कुनै भक्तालुका औंला जस्ता लाग्दथे ।
अमेरिकी लेखक सेरउड एन्डरसन (१८७६-१९४१) आफ्ना स-साना कथाका कारण चर्चित छन् । उनका उपन्यास खासै सफल नभए पनि कथाले भने निकै प्रभाव जमाए । एन्डरसनको लेखन प्रभाव उनीपछिका लेखक अर्नेष्ट हेमिङ्वे, विलियम फल्कनरलगायतमा पाइन्छ । आख्यानको माहोलले ढाकिएको समकालीन नेपाली साहित्यमा एन्डरसनको लेखन कला छलफलको विषय बन्न सक्नेछ ।
(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)