कथा : अभिलाषा

~माया ठकुरी~Maya Thakuri

आमा नहुँदा त घर नै शून्य भएको छ । घरका केटाकेटी, छरछिमेक सबैले आमा कहिले आउनुहुन्छ ? भनेर सोधिरहन्छन् ।

हिजो बिहान साढे ८ बजे म अफिसतिर हिँड्न लाग्दा विराटनगरबाट मेरी ८२ वर्षीया आमाले मलाई फोनमा भन्नुभएको थियो ।

‘हुन्छ नि आमा म आइहाल्छु नि तपाईंलाई लिन । के तपाईंलाई सन्चो भएन ? ‘ मैले जिज्ञासा पोखेको थिएँ ।

‘अहँ ! मलाई केही भएको छैन । सन्चै छ । पेटले जति पचाउन सक्छ त्यति खाएकी पनि छु तर हिजोआज मलाई यहाँ बस्नै मन लाग्दैन । बसिहालेँ नि यतिका वर्षसम्म तेरो दाजु भाउजूसँग । मेरो शरीरमा बल र जाँगर हुँदासम्म आफ्नो हाड घोटेर भए पनि घरखेत सबै सम्हालेर बसेँ । अब त तेरो दाजु भाउजू आफैं सबै गर्ने भएका छन् । म बूढीको केही पनि काम छैन यहाँ… छिटो आइज बाबु, सके भोलि नै आइज ।’ आमाले बोल्नुभएको थियो ।

‘पीर नगर्नुस् आमा । म जतिसक्दो समय मिलाएर तपाईंलाइ लिन चाँडै घर आइपुग्छु’, मैले आमालाई सान्त्वना दिँदै भनेँ ।

‘किन, के भयो र आमालाई ? ‘ मैले फोनमा आमासँग फोन गर्दैगर्दा छेवैमा उभिइरहेकी वन्दनाले मैले मोबाइल अफ गर्नासाथ उत्सुकतापूर्वक प्रश्न गरेकी थिइन् ।

‘खोइ, के भयो कुन्नि । म पनि छक्क परेको छु । आमाले यसरी अपर्झट ‘फोनमा मलाई चाँडै लिन आइज’ भन्नुभयो । केही त अवश्य पनि भएको छ’, मैले भनेँ ।

‘दाइलाई फोन गरेर एकपटक सोध्नु नि, के कुरो रहेछ’, वन्दनाले भनेकी थिइन् ।

भरे घर फर्केपछि दाइसँग कुरा गर्ने मनःस्थिति बनाएर म अफिसतिर लागेँ ।

बेलुका अफिसबाट घर फर्केपछि बेलुकाको चियाखाजा खाएपछि मैले दाइलाई फोनमा सम्पर्क गरेँ र केही औपचारिकताका कुराकानी सिध्याएपछि भनेँ, ‘आमाले मलाई फोन गर्नुभएको थियो । उहाँले त म यहाँ बस्दिनँ, मलाई लिन आइज भन्नुभयो । किन होला दादा ? आमाले त जहिल्यै पनि मेरो सास जाने बेलामा मलाई घरको आँगनमा भएको तुलसीको मोठनिर गोबरले लिपेर त्यहीँ राख्नू र तुलसीको जल मेरो मुखमा राखिदिनू भन्नुहुन्थ्यो । अहिले एक्कासि आमाले कसरी मूल घर छोडेर हामीसँग बस्ने निर्णय गर्नुभयो दादा ? मैले त केही बुझ्नै सकिनँ ।’

‘खैै के भयो के भयो आमालाई ? पोहोरसम्म त सबै कुरो ठीकठीकैसँग चलिरहेको थियो । तँलाई थाहै छ, हामीले आमालाई सधैंभरि मानमर्यादा गरेरै राखेका छौं । तेरी भाउजूले पनि बिहे भएर यो घरमा प्रवेश गरेदेखि नै हाम्री आमा, हाम्रा नातागोता, छरछिमेकी सबैलाई रिझाएर घरगृहस्थी चलाएकी छ । तर, हिजोआजचाहिँ आमालाई के भो कुन्नि हामीसँग बिनासित्थैमा बाउँठिनुहुन्छ ।

हामीले गरेका हरेक काममा खोटमात्र देख्नुहुन्छ । अरू त भएन भएन, ठूला भइसकेका नातिनातिनाबाट उहाँलाई मन नपरेका केही काम हुन गयो भने ‘लौ तिमीहरू साँढे पल्टिएका, आफूखुसी काम गर्छौ, यो घरमा तिमीहरूलाई कसैको डर–भर छैन’ भनेर गनगन गर्न थाल्नुहुन्छ । सम्झाउन थाल्यौं भने उल्टो हामीमाथि नै आइलाग्नुहुन्छ । म त आजित भइसकेँ, आमाको यस्तो झर्कोलाग्दो बानीबेहोरा देखेर । यो घरमा रातदिन भएको रडाको देखेर मलाई पनि अन्तै कतै गएर एक्लै बस्न पाए हुन्थ्योजस्तो भएको छ ।’

मैले दादालाई गरेको छोटो प्रश्नको उत्तरमा दादाले आफूभित्र गुम्सिएका सारा गुनासाका पोका खोल्दै भन्नुभएको थियो ।

‘उसो भए म के गरौं त दादा ? केही दिनका लागि आमालाई यतै ल्याएर राख्दाउ हाँको रिस अलि मत्थर हुन्थ्यो कि…? ‘ मैले भनेको थिएँ ।

‘अँ, त्यसै गर्नुपर्छ होला । अहिलेलाई तँ आएर आमालाई लिएर जा । केही समय त्यहाँ बसेपछि आमालाई फेरि यतै आफ्नो मूल घरको मायामोहले तानिहाल्छ । तँ यहाँ आएपछि तैंले पनि उहाँलाई सोधेर हेर, उहाँलाई के कुरोमा हामीसँग चित्त दुखेको रहेछ । हाम्रो गल्ती रहेछ भने सकेसम्म सच्याउने प्रयास गरौंला, नभए पनि आमालाई हामीले के गर्दा खुसी लाग्छ त्यस्तै गरौंला ।’ दादाले भन्नुभएको थियो ।

त्यसपछि दादासँग भएको सबै कुराकानी मैले बिन्दुलाई पनि सुनाएँ ।

‘प्रकृतिमा जस्तै मानिसमा पनि कुनै खासखास मोडमा परिवर्तन आउनु स्वाभाविक हो । कहिलेकाहीँ यस्ता प्रक्रियाहरू जटिल हुनुको मूल जरो पत्तो लगाएर त्यसको निराकरणका निम्ति प्रयास गर्नुपर्छ ।’ कलेजका विद्यार्थीलाई पढाएकोझैं गरेर बोलेकी थिइन बिन्दु । ‘मलाई होइन, तिम्रो साइकोलोजिकल टेक्निक अब आमा आएपछि उहाँमाथि नै प्रयोग गर्ने’, मैले हाँस्दै बिन्दुलाई भनेँ ।

शुक्रबार राति म विराटनगरतिर उडेँ ।

‘आइस्… ! ल ठीकै भयो । भोलि बिहानै हिँड्ने है ।’ घरमा पुगेपछि मैले आमालाई ढोग्दै गर्दा उहाँले प्रफुल्ल स्वरमा भन्नुभएको थियो ।

‘बिहान होइन, आमा भोलि रातिको फ्लाइटमा जाने हो । बल्लबल्ल टिकट मिलाएको छु’, मैले भनेँ ।

‘आमा, म अझ पनि भन्दैछु, तपाईं काठमाडौं नजानुहोस् । जाडो महिना आउँदैछ । गर्मी दिन लागेपछि म आफैं जाऊँला तपाईंलाई पुर्‌याउन ।’ रातिको खानपिन गरिसकेपछि बैठक कोठामा बस्दा दादाले मायालु स्वरमा आमालाई भन्नुभएको थियो ।

‘हो त नि आमा, अहिले नजानुस् । चाडबाडको मुखमा तपाईं जानुभयो भने घरै शून्य हुन्छ । हजुरको हातको टीका लगाएर आशीर्वाद लिनेहरूलाई पनि हजुर नहुँदा नियास्रो लाग्नेछ । अनि हजुरका नातिनातिनाहरूले पनि नरमाइलो मान्नेछन् । भाउजूले पनि कुरा थप्नुभएको थियो ।’

‘भो ! लोकाचार पार्नु पर्दैन । त्यहीनजिकै मावली छन् बर्गेल्ती उनीहरूका आफन्तहरू, उनीहरूसँगै रमाएर बस्छन् । म साउँ अक्षर नचिनेकी बूढी, मसँग के मिल्थे र उनीहरूका कुरा ।’ भाउजूको कुरो सुन्नासाथ झर्किंदै बोल्नुभएको थियो आमा ।

आमाले अनाहकमा आक्रोश पोखेको देखेर हामी सबै मौन भएका थियौं ।

‘आमालाई चिसोबाट जोगाएस् है ! अनि बीचबीचमा हामीलाई फोन गर्दै गर्नू’, घरबाट आमालाई लिएर हिँड्ने बेलामा दादाले कम्पित स्वरमा मलाई भन्नुभएको थियो । उता आमालाई ढोगीओरी कुनामा उभिएका भाउजू र १७ र १५ वर्षका भतिजाहरू अँध्यारो मुख लाएर एकतिर चुपचापै उभिएका थिए ।

सबैसँग बिदा भएर घरबाट बाहिरियौं, आमा र म । आमाले केही भन्नुभएको थिएन ।

‘आमालाई त्यत्रो फराकिलो आँगन र ठूलो बारी भएको घरमा बस्ने बानी लागेको छ यहाँ, यो सानो घरमा खै के मनलाग्दो हो ।’ घर आएपछि उहाँलाई चियानास्ता गराएर कोठामा पुर्‌याएपछि बिन्दुले मसँग भनेकी थिइन् ।
‘नयाँ घर बनाएपछि घरपैंचो गर्दा दादासँग आएर दुई दिनमात्र बस्नुभएकाले हामीले हजुरलाई डुलाउन नै पाएका थिएनौं । यसपटक भने सबै मठमन्दिर जानुपर्छ है आमा’, ओछ्यानमा बस्नुभएकी आमालाई हेरेर खुसी प्रकट गर्दै भनेको थिएँ मैले ।

‘हुन्छ ।’ मेरो कुरो सुनेपछि आमा गम्भीर मुद्रामा बोल्नुभएको थियो ।

मैले अलि सतर्क भएर बिन्दुको अनुहारमा हेरिरहेँ । मसँग आँखा जुध्नासाथ बिन्दुको ओठमा अर्थपूर्ण मुस्कान देखिएको थियो ।

‘अब हरेक बिदाका दिनमा, मन्दिरमा गएर पूजा गर्ने अनि वरपरका रमणीय स्थान हेर्न जाने ।’ निकै उत्साहित भएर बोलेकी थिइन बिन्दु ।

‘होइन, तिमीहरूका छरछिमेकीहरू यसो बिहानबेलुका एकअर्काको घरमा सन्चोबिसन्चो सोध्न आउने जाने चलन पनि छैन कि क्या हो ? ‘ शनिबार बिहानै हामी सबै पशुपति, गुह्येश्वरी आदि मन्दिर दर्शन गरेर घर फर्केपछि आमाले हामीसँग सोध्नुभएको थियो ।

‘किन र आमा ? ‘ मैले सोधेँ ।

‘होइन यसो उनीहरूलाई पनि प्रसाद दिऊँ भनेर’, सहज स्वरमा आमाले भन्नुभयो ।

‘आमा, यहाँ काठमाडौंमा वर्षौंसम्म सँगै भित्ता जोडिएर बसेका छिमेकीसँग आँखा जुद्धा त बोलचाल हुँदैन, आउजाउ गर्ने त कुरै छोडौं न । बिहान भएपछि सबै यहाँ चराचुरुंगीजस्तै बाहिरिन्छन् अनि बेलुका भएपछि मात्रै आआफ्नो गुँडमा फर्किन्छन् । अनि, यहाँ कसलाई फुर्सद हुन्छ र एकअर्काको हालखबर सोध्न जानु ? ‘ बिन्दुले आमाको अघि चिया र खाजा राखिदिँदै भनेकी थिइन् ।

– ‘बाबु, मलाई यहाँ बस्न पटक्कै मन छैन । एक दुई दिनभित्र तँ मलाई लिन आइज । अब म उतै गएर तिमीहरूसँगै बस्छु ।’

‘अनि घरमा कोही हुँदैनन् त ? ‘ आमाले छक्क पर्दै सोध्नुभएको थियो ।

‘हुन्छन् । अशक्त, रोगी, बूढाबूढी र घर कुरुवाहरू । घर छोड्नुअघि उनीहरूलाई ‘जो–कोही आए पनि गेट नखोल्नू । कसैसँग पनि कुरा नगर्नू । ढोका बन्द गरेर बस्नू’ भनेर गएका हुन्छन् घरकाहरूले । धेरै गाह्रो छ आमा, यहाँ त घर छोड्नै मिल्दैन, दिउँसो चोर पस्न बेर हुँदैन ।’ आमाको अघि सहरिया जीवनको दर्दनाक पाटो

थोरै भए पनि खुलाएर बोलेकी थिइन् बिन्दु ।

‘यहाँ कसरी जीवन बिताउन सकेका होलान् एक्लाएक्लै ? ‘ आमा आफैंसँग बात मारेझैं गरेर बोल्नुभएको थियो ।

‘आमा, तपाईं आउनुभएको हुनाले हामी तीन दिनसम्मको बिदा लिएर घर बसेका थियौं, अब सधैंभरि बिदा लिन पनि मिल्दैन । भोलिदेखि बिन्दु र हामी आआफ्नो काममा जानुपर्छ, त्यही भएर हामीले शर्मिलालाई १० बजेदेखि बेलुका ५ बजेसम्म यहीँ बस्ने भनेर मिलाएका छौं ।

हाम्रो घरको ठीकअगाडि पारिपट्टि जोशीको किराना पसल भएकाले हाम्रो गेटमा को आयो को गयो सबै उनीहरूको आँखा परेकै हुन्छ । फेरि, हामीले उनीहरूलाई ‘हाम्रो घरतिर पनि यसो ध्यान दिँदै गर्नुहोला है भाइ’ भनेका पनि छौं । हामी नआउन्जेलसम्म टीभी हेरेर बसे हुन्छ, सुत्न मन लागे सुत्नुस् नत्र बार्दलीमा बसेर यताउताको चहलपहल हेर्नुस्, बेलुका हामी आइहाल्छौं । बात मार्न मन भए शर्मिला छँदैछ । हुन्न, आमा ? ‘ मनमनै अलि दकस मान्दै मैले आमालाई भनेँ ।

‘हे… बरै ! उता आफ्नो गाउँठाउँमा जम्मै आफ्नो घरजस्तो छ । दुःख पर्दा, सुख हुँदा सबै एकजुट भएर एकअर्कालाई सहयोग गर्छन् । बारीमा सुन्तला, बिमिरो, भोगटे, कसरी लटरम्म परेका छन् । करेसाबारीको तरकारी आफूले मात्र खाने होइन, छरछिमेकमा पनि बाँडिन्छ । घरमा एउटो दुहुनो भैंसी भए दूध, दही, मोही, घिउ मनग्गे हुन्छ । घरमा मलाई नदेखेर कतिले ‘कहिले आउँछिन् आमा’ भनेर सोध्ने गरेका छन् होला ।’

खुइय्य…! गर्दै भन्नुभएको थियो आमाले ।

‘दिनभरि आमासँग के कुरा गछ्र्यौ शर्मिला तिमीले ? ‘

अर्को दिन बिहान बिहानको भान्सा र दिउँसोको लागि खाजा तयार गर्ने तरखरमा लागेकी बिन्दुले हलुवा बनाउन कराईमा सुजी भुट्दै गरेकी शर्मिलासँग सोधेकी थिइन् ।

‘मैले के कुरा गर्ने र ? आमा त दिनभरि उतै आफ्नो घर, इष्टमित्र, छोराबुहारी, नातिनातिनाहरूका कुरा गरिराख्नुहुन्छ । यहाँभन्दा त उतै राम्रो छ अरे । भात दाल साग तरकारी उतैको स्वादिलो छ अरे । यहाँ त घरअगाडि आँगनमा तुलसीको मोठ पनि छैन अरे, फलफूलको बोट पनि छैन अरे । सबैथोक किनेर खानुपर्ने भनेर दिक्क मान्नु भएको थियो ।’ शर्मिलाले बेलीबिस्तार लाएर भनेकी थिई ।

‘हो त नि । आमाले ठीकै भन्नुभयो । त्यहाँ जस्तो राम्रो यहाँ कहाँ छ र ? त्यहाँ छोराछोरीपट्टिका नातिनातिनाको आउजाउ र होहल्लाले चाडबाडमा मात्र नभएर सधैं नै रमाइलो हुन्छ । हाम्रो त, हामीले रेखदेख गर्न नभ्याएर छोराछोरी दुवैलाई मेरो माइती ठाउँ पोखरामा होस्टलमा लगेर राखिदिएका छौं । चाडबाडमा मात्र भेटघाट हुन्छ । यतिका टाढा आएर पनि नातिनातिनासँग भेट नभएकाले होला, आमा बिरक्तिनुभएकी जस्तो देखिनुहुन्छ ।’ बिन्दुले तटस्थ भएर बोलेकी थिइन् ।

‘सक्नुभयो जप गरेर ? ‘ त्यही बेला आमा पनि भान्साकोठमा पसेको देखेर सोधेको थिएँ मैले ।

‘अँ सकेँ भनौं । यहाँ के गर्नु छ र मलाई ? खायो, बस्यो, सुत्यो, उठ्यो अनि मन परे पनि नपरे पनि कोठामा बसेर टीभी हेर्‌यो । घरमा भएको भए यसो झिनामसिना काममा अल्झिराखेकी हुन्थेँ । अनि कहिले कसैकहाँ पूजा, कसैकहाँ पास्नी भइरहन्छ । निम्त्याएपछि घरको मूली हुनाले जानै पर्‌यो ।

अरू त यस्तै हो, एकाबिहानै आँगनभरि परेवाको बथान आएर गुडगुड गर्न थाल्छन् । भाँडोभरि मकै र धान लगेर आँगनमा छरिदिएपछि कति खुसी भएर खान्छन् भने भनिसाध्य छैन । कहिलेकाहीँ कुनै काम विशेषले परेवालाई आहारा दिन ढिलो भयो भने मलाई देख्नासाथ छेवैमा आइपुग्छन् कि जस्तो गर्दै भुर्रर उड्दै यता र उता गर्छन् । कम्ता रमाइलो लाग्छ मलाई ती परेवालाई आहारा दिँदा ? ‘ त्यसो भनिरहँदा आमाको अनुहार भर्खर झुल्कन लागेको घामजस्तै देखिएको थियो ।

‘उसो भए हामी पनि परेवा पालौं यहाँ ? ‘ मैले आमाको अनुहारमा छाएको खुसीलाई सुरक्षित राख्ने मनशायले भनेको थिएँ ।

‘पर्दैन ! तिमीहरूको सुकिलो घरमा जताततै बिस्ट्याइदेला ।’ आमाले भन्नुभयो ।

‘आमा, तपाईंलाई जे गर्दा खुसी लाग्छ, हामी त्यही गर्छौं । भन्नुस्मात्रै न ।’ ८२ वर्षीया वृद्ध आमाको अनुहारमा मायालु दृष्टिले हेर्दै मैले भनेँ ।

‘तेरो दाइले पनि पहिलेपहिले त्यसै भन्थ्यो तर हिजोआज मलाई नसोधेर घरभित्र र बाहिरको काम कुरो सबै आफैं लोग्नेस्वास्नी मिलेर छिनोफानो गर्छन् । ‘किन मलाई नसोधेर त्यो गरेको’ भनेर सोध्यो भने ‘अब तपाईं वृद्ध भइसक्नुभयो, आराम गरेर बस्नुस्’ भन्छन् ।

यतिका वर्षसम्म मैले तिमीहरूलाई आफू एक्लैले घरव्यवहार धानेर हुर्काएँ बढाएँ । आफू धेरै नपढे ता पनि आफूले भोगेको अनुभवले खेतबालीको उब्जनीबाट कमाएको पैसाले गाउँमा गतिलो घर बनाएँ । आफ्नोमात्र होइन, छरछिमेकसमेत केही ठूलो काम गर्नुपर्दा मसँगै सल्लाह गरेरमात्र गर्थे । अहिले त आफ्नै छोराबुहारीले मलाई पत्याउँदैनन् ।’ बोल्दाबोल्दै आमाको स्वर काँप्दै क्षीण बन्न पुगेको थियो ।

‘आमा, भो छोड्नुस् ती सानातिना कुरा । सुन्नुस् त…, दादा भाउजूहरूले तपाईंलाई माया गरेर ‘अब अरू भार नदिऊँ’ भनेर सबै व्यवहार आफैं गर्न लागेका हुन् भनेर बुझ्नुस् न आमा ।’ मैले, रुँदै गरेकी एउटी सानी बालिकाको हात समाएर फकाएझैं, आमाको हात समातेर भनेको थिएँ ।

‘अँ तैंले भनेर मैले पत्याउँछु र ? हिजोआज खेतको उब्जनीको बेचबिखन पनि मलाई नसोधेर उसैले गर्छ । यता बारीमा भएको फलफूल धरी मलाई नसोधेर जसलाई मन लाग्छ उसैलाई दिन्छे तेरी भाउजूले । अरू त अरू, अब त तेरा भतिजाहरूले पनि मसँग एक वचन नसोधर आँगनमा नै त्यो के हो जाति भलिबल हो कि क्या हो…, त्यो खेल्नलाई खम्बा गाडेर भएभरका साथी बटुलेर बेलुका अबेरसम्म त्यसैमा झुम्मिन थालेका छन् । एउटा कुरोले चित्त दुखेको भयो पो ?

‘यो किन गर्‌यौ’ भनेर सोध्दा मेरो चित्त दुखाउने कुरा कति गरेका छन् कति उनीहरूले’, आँखाभरि आँसु टिलपिल टिलपिल गराउँदै भन्नुभयो आमाले । कठैबरी, यो उमेरमा पुगेपछि ‘पाका व्यक्तिहरू पनि केटोकटीजस्ता हुँदा रहेछन्’ भनेको साँच्चै नै रहेछ । आमाको कुरो सुनेपछि मैले मनमनै सोधेको थिएँ ।
‘उति बेला ढुंगो चपाउन पनि सक्छिन् कि जस्ती मेरी आमा अहिले यो उमेर आएर पनि आफूलाई पहिलेकै जस्तो घरव्यवहारका अनेक कार्यमा संलग्न गराउन नसकेर त होला, मनमा अनेक प्रकारका कुण्ठा र रोष पालेर आफैं दुःखी हुनुभएको…’, मैले मनमनै सोचेँ ।

अर्को दिन मैले घरबाहिरबाटै विराटनगरमा दाजुलाई फोन गरेँ । निकै लामो कुराकानी भयो हामी दाजुभाइमाझ ।

‘आमा नहुँदा त घर नै शून्य भएको छ । घरका केटाकेटी, छरछिमेक सबैले आमा कहिले आउनुहुन्छ भनेर सोधिरहन्छन् । हामीलाई थाहा छ, आमालाई त्यहाँको वातावरणमा शान्ति छैन भनेर तर हामीलाई घुर्र्की लाउनलाई आमा त्यहाँ जानुभएको हो । अब म दुईचार दिनभित्रै आमालाई लिन आउँछु । तैंले म आउने कुरो थाहा नपाएझैं गर्नू ।’ कुराकानीको अन्त्यमा दाजुले भन्नुभएको थियो ।

दुईतीन दिनपछि बेलुका ६ बजेतिर हाम्रो घरको घन्टी बज्यो । ‘आमा खोइ…? ‘ मैले ढोका खोल्नासाथ दाजुले अलि ठूलो स्वरमा सोध्नुभएको थियो ।

त्यसपछि दादा र म सँगै सरासर बैठककोठामा पस्यौं । दादा सरासर सोफामा बसेर टीभी हेर्दै गरेकी आमाको अघि गएर, उहाँको अघि दुवै घुँडा टेकेर बस्नुभयो र आमाको हात समातेर करुण स्वरमा भन्नुभयो, ‘आमा, तपाईं घर फर्किनुभएन भने म पनि घर जान्नँ । तपाईंकी बुहारी र नातिनातिनाले हजुरलाई आफूसँग घर नफर्काउने हो भने आफू पनि उतै बस्ने भनेका छन् । जाऊँ आमा, घर जाऊँ’, अत्यन्त रुद्र कण्ठले दाजुले भन्नुभयो ।

‘छ्या ! यो केटो त कस्तो बच्चोजस्तो रुन खोज्छ । मैले जान्नँ भनेकी छु र…? ‘ दाजुको कुरो सुनेपछि आँखाभरि आँसु टिलपिल पार्दै दाजुको टाउको मुसार्दै आमाले भन्नुभयो ।

अर्को दिन बेलुका दाजु र आमालाई बिदा गर्ने बेलामा मेरो अनुहार अँध्यारो देखेर होला आमाले मेरो निहुरेको टाउकोमा हात राख्दै मायालु स्वरमा भन्नुभयो, ‘तिमीहरू पनि सबै उतै आएर दाजुभाइ सबै एकै ठाउँमा बसे त भइगयो नि, घर छँदैछ । मलाई उता बस्न मन लागेन भने तँलाई तुरुन्तै फोन गर्नेछु, पीर नगर ।’

‘फोनमात्र गर्नुस् न आमा, म लिन आइहाल्छु नि ।’ मैले दाजुतिर हेरेर हाँस्दै भनेँ ।

आमा गएपछि मलाई पनि घर शून्य लाग्यो । एकान्तमा भएको बेला, मैले हाम्रो मूलघरमा छँदा आफुले बिताएका अनेक घटना सम्झेँ ।

सम्झनाका ती अनेक परिदृश्यमा मेरी ममतामयी आमाका अनेक रूप मेरो मनमस्तिष्कमा सलबलाइरह्यो ।
आमा उता गएको हप्ता दिनपछि मैले दादासँग आमाको व्यवहार केही परिवर्तन आयो कि भनेर सोधेको थिएँ ।
‘परिवर्तन आमाले होइन, हामीले आफ्नो व्यवहारमा परिवर्तन ल्याएका छौं । घरमा सानोभन्दा सानो काम थालनी गर्दा पनि आमासँग सल्लाह लिन्छौं । त्यति भए आमालाई पुग्दो रहेछ । हिजोआज आमा खुसी हुनुहुन्छ । तैंले सम्झाएको कुरा ठीक रहेछ कान्छो’, दादाले भन्नुभयो ।

शनिवार, असोज १५, २०७३

(स्रोत : अन्नपूर्ण पोस्ट – फुर्सद)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.