~रेखा पन्त~
इन्बक्स
शुभकामनाले भरिभराऊ थियो l
फेसबुक र ट्विटरका भित्ताभरी
नयाँ बर्षका रंगीन पोस्टहरू !
पल्टाएर हेरे भित्तेपात्रो
आज वैशाख एक गते पक्कै थिएन
जनवरी एक तारिख पो रैछ !
निराशाका चैते खडेरीलाई
हराभरा बनाउन
आशाका कलिला मुना बोकी ल्याउने
बैशाखलाई भुलेर,
उजाड मनमा
बसन्तका पालुवाले
हरियाली पारिदिने
हाम्रो नयाँ बर्षलाई बिर्सेर
रित्तो पुष
रहर कठ्यांग्रीएर कक्रक्क पर्ने समय
सपना चिसिएर शून्य डिग्रिमा पुग्ने बखत
उत्साह जमेर बरफ झै बन्ने बेला
हामी किन यति आतुर छौ ?
के कारण यति तातिएका छौ ?
कसरी यति रन्किएका छौ ?
नयाँ बर्षको शुभकामना बाड्न,
पराइकी बेहूलिलाई आफ्नो घर भित्र्याउन !!
हाम्रा पूर्खा पहाड झै अचल थिए,
हामी किन यति चालु भएका छौ
अर्काको देखासिकी गर्न !
हाम्रो इतिहास सगरमाथा झै
अटल र स्वाभिमानी थियो
हामी किन यति पछौटे भएका छौ
अरूको नक्कल गरेर कृत्रिम बन्न !
तीज र तिहारमा
आफ्ना चेलिलाइ एक कल फोन गर्ने समय नपुग्ने हामीलाई
भ्यालेन्टाइनको दिन आफ्नी प्रेमिकालाई भेट्न नपाएकोमा
ठुलो अपसोच हुन्छ, किन ?
वैशाख एकको भन्दा
जनवरी वानको महत्व किन बढाएका छौ हामीले ?
प्रदेश पसेर
दुई चार ओटा नौला कुरा जान्दैमा
आधुनिक डिजाइनका बस्त्र पहिरिदैमा
वैज्ञानिक प्रबिधिको उपयोग गरेका छौ भन्दैमा
उठबस र खानपान बदलिदैमा
सामाजिक सन्जालको दुरुपयोग गरी
बिदेशी सस्कृतिलाइ
बाहुल्यता दिन थालियो भने
साच्चै एक दिन,
हाम्रो राष्ट्रियता हराउनेछ
कला, संस्कृति र आफ्नोपन बिलिन हुनेछ
हामी
बहादुरका सन्तान परजिबी बन्नु पर्नेछ
आफ्नो पहिचान र अस्तित्व गुमाएर
नपुंशक बन्नु पर्नेछ
अनि सहिदको रगतले पोल्नेछ
हिमाल रुदै बोल्नेछ
बचाऊँ मलाई !
बचाऊँ मलाई !!
बचाऊँ मलाई !!!
-रेखा पन्त, गोरखा
हाल:ईजरायल
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )
