~यकिना अगाध~
‘ला तँलाई सुन्तला !’ माइली लुङगेलीले सुन्तला खान मागेर हैरान पारेको छोराको गालामा एक चड्कन लगाइन् र बरबराईन्– ‘चाखिस् सुन्तलाको स्वाद ?’
छोराको गालामा हानेको तिनको हात भुँइमा बेस्सरी बज्रिदा तिनी बेहोसी तन्द्राबाट ब्युँझिईन् । हिजो बेलुकी छोरी कर्निमाया र छोरो सहनलाई सम्झेर रुँदारुँदै तिनी त्यही बेहोस भएर ढलेकी थिईन् । अहिले होस खुल्दा बिहानीको सूर्यले गाउँभरी लालिमा छाइसकेको थियो । म्याम्या गर्दै बाख्रा र पाठापाठीहरु कराइरहेका थिए । कुकुरा भाले कुखुरी काँ, कुखुरी काँ गरी बास्दै थियो । कुखुरा माउ क्लक क्लक आवाज निकालेर चल्लाहरुलाई फाकाउँदै थियो सायद । अलिपर गोठमा आँइआँइ गर्दै भैंसीले कुँडो प्रतिक्षा गरिरहेको जानकारी दिइरहेको थियो । अरुबेला चारैबजेदेखि चुरा छनछन छुनछुन बजाउँदै यी बस्तुभाउको सेवामा समर्पित घरमूली आज अबेरसम्म पनि चालचुल नगरेको देखेर सायद बस्तुभाउहरुले कोकोहल मच्चाएका हुँदा हुन् ।
माइली सदाझैं न अगेनामा आगो फुक्न छिरिन्, न कुँडो पकाउन पँधेरामा पानी लिनलाई नै गईन् । रुँदारुँदा सुन्निएका आँखा डिललाई न एक आम्खोरा पानीले चिस्याउने कोशिस नै गरिन् । असरल्ल छरिएको कपालको झाँक्रो फिजाएर आक्रोशको ज्वालाले राता भएका आँखा पल्टाउँदै कुखुरा छोपी राखेको डोको उघारिन् । कुखुराहरु पखेटा फटफटाउँदै अँगेनाभरी कुद्यो । बाख्रा र भैंसीको डोरी खोली दिइन् । बाख्रा त म्याम्या र म्युम्यु गर्दै चरनतिर कुदिहाले, भैंसी भने अलमलमा पर्यो । योभन्दा अगाडि कहिल्यै यसरी डोरी खोल्ने गर्दैनथ्यो । आँइआँइ एकछिन अलमलिएर करायो, यसो सिङजुरो हल्लाएर हेर्यो । आफूलाई फुक्काफाल देखेपछि पुच्छर ठाडो पारेर भैंसी बाँदरे तेर्सोतिर गुटुटु कुद्यो । माईलीले आँगनमा उभेर लामो सास फेरिन् ।
आज मरिणठाकुरको भाकाल बुझाउनलाई तिनले अस्तिको दिन ल्याएकी रातो ध्वजापतका दलिनबाट झिकिन् । त्यो रातो ध्वजाको पतका टाउकोमा फेटाझैं बेस्सरी बाँधिन् । दाहिने हातले खुर्पालाई बेस्सरी पक्डिन् । पुलुक्क आँगनतिर हेरिन् । भाले कक कक गर्दै माउलाई छेकिरहेको थियो । माउ क्लक क्लक गर्दै चल्लाहरुलाई ओताउँदै आहरा पो दिन लाग्यो कि भन्ने सम्झेर होला माइलीको मुख ताक्दै थियो । बाख्रा पर बारीतिर मस्त चर्दै थियो । बाँधुवा भैंसी फुक्न पाएकोमा चर्नुको सट्टा आँइआँइ उँइउँइ गर्दै बाँदरे जाने तेर्सोमा खुब मच्चि मच्चि उफ्रँदै थियो ।
घाम आँगनमा आइसकेको थिएन । अलिपर स्कूलमा भने भखरै कलिलो घामले रातो अनुहार देखाउँदै थियो । पारीपट्टि हेरिन्, बुचुमचुली डाँडा रातै भइसकेको थियो । मास्तिर मधुवनी डाँडा भने खलङगा भेगमा उदाउने घामको ज्योतीलाई छेकेर ढसमस्स फुलिरहेको थियो । दक्षिणतिर तल मरिणखोला हुस्सुले ड्याम्मा छोपिएको थियो । हेर्दा लाग्थ्यो– सेतो भुवा नै भुवाले छोपी राखेको छ । हुस्सुले छेकेर निस्पष्ट रुवाजस्तो आकृति तेर्सिरहेको मरिणलाई तिनले दुई हात जोडेर नमस्कार गरिन् । खै मनमा के कुरा खेलाउँदै थिईन् कुन्नि, एक्कासी पहलमानले लाठी हल्लाएझैं दाहिने हातले पक्डिरहेको खुर्पालाई हावामा बेस्सरी फनफनी नच्चाईन् । देब्रेहातलाई बेस्सरी मुठ्ठि कसेर आकाशतिर उठाईन् र गगनभेदी स्वरमा चिच्याईन्– ‘म यो अन्याय सहन सक्तिन । म यस्तो अन्धकार युगमा बाँच्न सक्तिन । मलाई न्याय निशाफ चाहिन्छ । म न्याय लिएर आउँछु !’
माईलीको यो उग्रचण्डी स्वरुप देखेर चारोको पखाईमा मुख ताकिरहेको कुखुरा माउको सातोपुत्लो उड्यो र कोतेक तेक गर्दै घुर्यानतिर भुर्र उड्यो । हिजोसम्म यो घर, यो बारी, यो बस्तुभाउ, यी छरछिमेकी आफ्नो सम्पूर्ण जीवन ठान्ने माईली आज चटक्कै छाडेर न्याय लिन राजा बस्ने देश काठमाडौंको बाटो पक्डन मरिणखोलातिर गुटुटु कुदिन्, मानौ तिनको बधुवा भैंसीझैं तिनी पनि फुक्काफाल भईरहेकी छिन् ।
कातिके डाँडा पर्यटकीय दृष्टिले अति नै रमणीय स्थल हो । दक्षिणमा मरिणफाँट र चुरेडाँडा, उत्तरमा आफ्नो काखमा कोखाजोर खोलालाई सलल बगाइरहेको महाभारत डाँडा, पूर्वमा खलंगा र मधुवनी डाँडा, पश्चिममा बन्खु गाउँलाई दृष्यावलोकन गर्ने संगमस्थल हो यो । गर्मीयाममा न गर्मी नै हुन्छ, जाडोयाममा न त अचाक्ली जाडो नै हुन्छ । उहिले उहिले मरिणतिर औलो प्रकोप हुँदा सबैजना यता नै बसोबास गर्थे । अतिनै मलिलो माटो र बालीबिरुवा हुने भए पनि खानेपानी आधाकोश तल कोखाजोर छेऊबाट ओसार्नु पर्दथ्यो । खानेपानी अभावका कारण औलो उन्मुलनपछि यहाँका हुनेखाने प्रसाईं, मैनाली, उप्रेती परिवारहरु कोही हरिऔन बसाईं सरे, कोही बयलबासतिर । माईलीको आजको यो ठूलो बुर्जावाला घर तिनै उप्रेती बाजेको थियो कुनै बेला । उप्रेती बाजे यो गाउँको चल्ता पूजारी मात्र नभएर, गाउँमूली नै थियो । तीन दोबाटोको बीचमा पर्ने यो घर सबैको आकर्षणविन्दू थियो । भदौरे हुँदै बन्खु जाने हो या काभ्रेबाट बेतपानी, मधुवने हुँदै मरिणछाप, सिन्धुलीमाडीतिर झर्ने बटुवाहरु यहाँको बिसौनीमा सुस्ताउँथ्यो । टाढाको यात्रा त्यो पनि उकालो, यो भन्ज्याङमा चल्ने चिसो हावाको सियालमा पानी पिएर बिसाउन पाउँदा कुन बटुवाको मन आभारी हँुदैन थियो र ? उप्रेती बाजेले बेचेर गएपछि यो बिंडो लुङगेलीको परिवारले धानेको थियो । त्योबेला आजको जस्तो जातीय स्वतन्त्रता थिएन वा भए पनि गाउँलेलाई पत्तो थिएन । उप्रेती बाजे होईन्जेल डरले क्षेत्रीबाहुन बाहेक अरु बटुवाले यस घरमा पानी मागेर खाने आँट गर्दैनथ्यो । छोइछिटो प्रचलन यथावत थियो तर लुङगेली परिवारले यो घर किनेपछि भने सबै बटुवाको साझा चौतारो जस्तो थियो पानीको लागि यो घर ।
चिम्सा चिम्सा बाटुली आँखा, गोलो अनुहार, थेप्चो डल्लो डल्लो नाक, सधैं माईलीको मुस्कानयुक्त हाँसिलो अनुहार, हाँस्दा देखिने टम्म मिलेको सेतो दाँत र रातो गालाको डिम्पल देखेर ठट्टा मजाक गर्न उक्सन्थे बटुवाहरु । गाउँले सोझी माईली पनि के कम र ? मस्केर हाँस्दै उनीहरुसँग ठट्टा खेली दिंदा अघिको त्यत्रो कोश अग्लो डाँडा उक्लनु पर्दाको दुखेसो चटक्क बिर्सन्थे बटुवाहरु । भन्थे– ‘ए माईला हाउ ! तिमीले बुढी चाहिँ साक्षत देवी नै पाएछौं है ।’ माईला पनि हाहा हाँस्दै हौस्याई दिन्थे । गाउँको मनोरन्जन भन्नु यति नै त हो । मेला जात्रा बाहेक अरुबेला हाँस्ने फुर्सद नै यिनीहरुको निधारमा कहाँ लेखेको हुन्छ र ? लुङगेली माईलाले यो घर किनेदेखि बटुवालाई खानको लागि आधाकोश तलबाट ल्याएको पानी आँगनमा एउटा ठूलो घ्याम्पो राखेर भरेर राख्ने गथ्र्यो । उनीहरुको यो सेवाकारी कामको जताततै प्रशंसा थियो ।
०५२ फागुन दोस्रो हप्तातिर गाउँमा गाँइगुँइ हल्ला फिजियो– ‘माओवादीले युद्ध सुरु गर्यो अरे !’
‘गडीडाँडा चौकी त ध्वस्त पारे छन् रे !’ बटुवाहरु तुक मिलाई मिलाई कुरा सुनाउँथे ।
‘सुन्यौ माईला यिनीहरुले जित्यो भने त हामीजस्तो गरिबको दिन फिर्छ रे । काम जाबो त आठ घण्टा गरे पुग्ने…’ बटुवाको कुरा बिचैमा काटेर माईला बोल्थ्यो– ‘ए त्यसो भए मैले तपाईंहरुलाई पानी खुवाएर सेवा गर्ने दिन पनि गएछ ।’ ठट्टा मेसोसँगै हासोको हाहाहाको फोहरा छुट्थ्यो ।
केही दिनमा फेरी बटुवाहरुले अर्को सनसनीपूर्न खबर ल्यायो– ‘ए माईला हौ ! माओवादी भन्या कस्तो न होला भन्ठानेको त बेतपानीको सुब्बासिं घोले, सखौरीको तेजु लुङगेली, भुताहाको अर्जुन थापाहरु पो रहेछन् । यिनीहरुले नै पो जलाएका रहेछन् गडीचौकी ।’
‘होईन, होईन । अर्जुन त हाम्रो यहीका हवल्दार बाजेको नाति पो हो त । अहिले भुताहातिर बस्छन् । सुब्बासिं र तेजु अरे ? अहो ! यस्तो बकुम्फुसे कुरा तपाईंहरुलाई कस्ले सुनायौ हो हजुर ?’
माईलोले नपत्यकाएको देखेर बटुवा बोल्थ्यो– ‘आजै त उनीहरुलाई छापको चौकीले पक्डेर जिल्लातिर लगेका छन् ।’
‘सोझोसाझालाई बित्थामा फत्तुर लाएर दुःख दिएका…।’ यो सुनेर माईला फुसफुसायो । केहीबेरमा बटुवाहरु बाटो लाग्यो ।
उनको कान्छा भाइ बिमल पुलिसमा जागिरे थियो । ऊ वर्षमा कहिले काही छुट्टि मिलाएर घरपरिवार भेट्न आउँथ्यो । छुट्टिमा खुब रमाईलो गर्नुपथ्र्यो केटोलाई । गाउँका उसका दौतरीहरु ऊ भनेपछि भुतुक्कै हुन्थे । ऊ आएपछि लोकल कुखुरा, कोदोको लोकल रक्सी आहा ! मासु खान चाडबाड नै आउनुपर्ने दौतरीहरुको लागि कान्छो दशै नै बन्थ्यो । बढुवा हुँदै ऊ सईसा’ब भइसकेको थियो तर उसको सरल बानी ब्योहोरा दौतरीका लागि उही हिजोको कान्छा नै थियो । फागुनको तेस्रो हप्ता ऊ घर आईपुग्यो । केही दिन बस्यो । गाउँ डुल्यो पहिलाजस्तै रमाईलो गर्यो र फर्कियो ।
‘साथी हो बाँचे आईन्छ, मरे राईफल सिरानीमा’ सधैं छुट्टिने बेलामा ठट्टा गर्दै उनी भन्ने गथ्र्यो । यसपटक पनि यसरी नै ठट्टा गरेर छुटिए । उनको घर पर पिपल भन्ज्याङमा थियो । माइलो दाइको घर आईपुग्न आधाघन्टा जति हिंड्नुपर्ने भए तापनि यसपटक ऊ त्यता पसेन ।
भाइ चाहिँ फर्केको केही दिनपछि चार जनाको हुल आएर माईलालाई केरकार गर्यो । उसको भाइले के के भन्यो, के के गर्ने भयो जस्ता अनेक शब्दहरु सोधिए । आफूसँग भाइको भेट नै नभएको बताएपछि फर्केर गएका ती केटाहरु फेरि भोलिपल्ट बेलुकी आएर ‘कुरा गर्नु छ’ भनेर माईलालाई लिएर गयो । माईलीले बाटो छेकेर बिन्ति हाल्दा केटाहरुले केही घन्टामा नै पठाईदिने वाचा गरेका थिए तर माईला फर्केर कहिल्यै आएन, न ती केटाहरु नै फर्किए । माईला आउने आशामा माईली, छोरी र बालक छोरा बाटोभरी आँखा बिछ्याई रहन्थे ।
कहिले काँही बाटो हिंड्ने बटुवाहरुले हल्ला गरेको सुनिन्थ्यो, ‘माईलालाई त माओवादीहरुले जिउँदै गाड्यो रे !’ माईलीलाई भने उनकी श्रीमानलाई कसले किन लग्यो र के गर्दै छ केही थाहा पत्तो भएन ।
कातिकको मौसम थियो । जाडोले बस्तीलाई आफ्नो अंगालोमा कस्न खोज्दैथ्यो । माईली बिहानको धन्दा सकेर आँगन छेऊको ठूलो ढुङ्गामा टुसुक्क बसेर घाम ताप्दै बाख्रो चरेको हेर्दै थिइन् । स्कूल जान छोरा छोरी तयारी हुँदै थियो । स्कूल जाने झोला बोकेर छोरा तिनको छेउमै आयो र भन्यो, ‘आमा म एउटा सुन्तला खान्छु नि ।’
‘हुँदैन बाबु ।’ माईलीले निषेध जारी गरिन् । छोरो ढिपी गर्ने तिनी हुँदैन भन्ने क्रम लामै चल्यो ।
‘पूजा नगरी खानु हुँदैन छोरा ! मरिण ठाकुरलाई भाकाल बुझाउनु पर्छ । भोली भाकाल बुझाउनलाई पूजाको सामानहरु ल्याइसकेकी छु । पूजा गरेपछि खाना पाउलस् है बाबु ।’ तिनले छोरोलाई फेरि फकाउन खोजिन् ।
बालहठ न हो छोरो मान्दै मानेनन् ।
‘आज सुन्तला नखाई म स्कूलै जान्न ।’ छोरोले घुर्की देखायो ।
जति फकाए पनि नभएपछि जडङ्ग उठेको रिसको आवेगमा माईलीले एकथप्पड चड्कन छोराको गालामा चड्काएर चिच्याईन्– ‘ला तँलाई सुन्तला ! खाईस् कि ?’
कहिल्यै आमाको हातको चड्कन नखाएको केटो आज एक्कासी आमाले चड्कन लाएपछि एकछिन अलमलियो । परपराएको गाला सुमसुम्यायो । आमा साँच्चिकै रिसाएकी छिन् भन्ने लागेपछि आमातिर फर्केर हेर्दै नहेरी दिदी चाहिँको फ्रकको फेर समाएर रुँदै स्कूलतिर गयो ।
पहिला पहिला यो गाउँमा सुन्तला, आँप, ज्यामीर जस्ता बिरुवा रोप्ने चलन थिएन । जसले यी बिरुवा रोप्यो त्यो मान्छे फल फल्ने बेला मर्छ भन्ने किंवदन्ती थियो । नेपाल सरकारले कृषि कार्यक्रमअन्तरगत यहाँको माटो परिक्षण गर्यो । यहाँ सुन्तलाको लागि उचित वातावरण रहेको पत्ता लाएपछि सरकारले कृषि ऋण अनुदान दिई सुन्तला रोप्न उत्प्रेरित गर्यो ।
माईलाले पनि त्यहीबेला तालिम लिएर यी सुन्तलाका बिरुवाहरु ल्याई रोपेको थियो । केही वर्षपछि नै सुन्तला गज्जबले फल्न थाल्यो । सुन्तला फल्न थालेपछि सुन्तला खेतीमा हात हाल्नेहरुको मुटुमा ढ्याङ्ग्रो बज्यो । ‘भरे भतकै मरे भने के गर्ने ? यसै त मर्छ भनेनन् होला अघिकाहरुले’ उनीहरुको निद हराम भयो । अन्तमा यस विपतबाट बच्ने एउटा उपायो निकालियो– ‘मरिण ठाकुरलाई भाकाल बुझाउने ।’ त्यस बेलादेखि यस गाउँमा भाकाल बुझाएपछि मात्र सुन्तला खाने प्रचलन छ । सुन्तला रोप्ने मान्छे नै बेपत्ता भईरहेको अवस्थामा तिनले आफ्नो मनलाई ढुङ्गा बनाउन परेकी थिईन् ।
छोरीले चौध वर्ष पार गर्दै थिईन् । छोरो नौ वर्ष । पढाईमा दुबैजना तेज छन् । दिदी र भाइलाई सरहरुले आ–आफ्ना कक्षा कोठाको मुनिटर बनाएका थिए । अन्त्यमा सरल, मिलनसार र सहृदयी यी दिदी भाइको मुनिटरलाई लिएर आजसम्म सहकर्मीहरुले कही कतै गुनासो पोखेका छैनन् ।
सधैं उज्याला हंसमुखी अनुहार लिएर उपस्थित हुने गरेका सहनको अँध्यारो मुख देखेर त्यसदिन सहकर्मीहरु छक्क परे । अरुबेलामा झैं आज उसले साथीभाइसँग खेल्न पनि रुचि देखाएनन् । धुमधुम्ती जस्तो भएर स्कूलको पिरियड गुजार्यो । घर फर्केपछि सन्चो नभएको भन्दै ओछ्यानमा पल्टेको ऊ, खाना खाने बेलासम्ममा निदाइसकेको थियो ।
कुखुराले तेस्रो प्रहरको संकेत गर्दै बासेपछि आमासँगै दिदी भाइ पनि उठे । आमा बस्तुभाउलाई कुँडो पकाउन आगो फुक्न थालिन् भने दिदी भाइ सधैंझैं आज पनि पानी लिन डोकोमा गाग्री बोकेर कुवातिर हिंड्यो । पल्लो घरकी थापा कान्छी र बारीको पुच्छरतिर पुग्दा पिठागोटेकी छोरी पनि मिसिईन् । उनीहरु टर्चको ब्याट्री जोहो गर्न अप्ठ्यारो बाटोमा बाल्ने र सजिलो बाटोमा निभाएर हिंडिरहेको थियो ।
‘ठ्याङ ठ्याङ ठ्याङ’ लगातार केही पड्किएको आवाज आयो । सरकारले माओवादी बिद्रोहविरुद्धको किलोसेरा टु अप्रेशन सुरु गरेको थियो । अरु गाउँघरजस्तै कातिके गाउँ पनि यो खबरदेखि टाढा थियो । यो खबरको अनभिज्ञ लुङगेली माईलीको छोरा, छोरी, थापा कान्छी र पिठागोटेकी छोरीमाथि माओवादीको नाममा सुरक्षाकर्मीले निशाना दाग्यो । आफ्नो कमजोरी र दुस्कार्य लुकाउन उनीहरुले भोलीपल्ट आफ्नो संचारहरुमा दोहोरो भिडन्तमा आतंकवादी मारेको फर्जी समाचार सरकारलाई फुक्न लगायो । आतंकवादी दबाउने नाममा सुरक्षाकर्मीले गरेका यी करतुतपूर्ण ज्यादती लुकाएर सरकारले पनि आतंकवादी मारेको खुशीयालीमा देशभरी गोयबल्स डान्स गर्यो ।
न्याय लिनको लागि राजाको देश काठमाडौं जाने बाटो खोज्न मरिण झर्ने ओरालीहुँदै दौडेकी माईली लुङगेली त्यस दिनदेखि आजसम्म फर्केर आएकी छैनन् । उनको आफ्नो नामको केही थियो त उनकै बाटो कुरेर बसेको त्यही ठूलो बुर्जावाला घर थियो । त्यो पनि उनको सुसार नपाएर बिस्तारै खण्डहरमा परिणत भयो र भत्किएर नामनिशाना नै रहेन ।
माओवादी द्धन्द मात्र टुङ्गिएन, राजतन्त्रको समेत अन्त्य भएर गणतान्त्रिक मुलुकमा परिणत भएको यो देशले न्याय लिएर फर्कने आशामा माईली लुङगेलीलाई कुरिरहेको तिनको खण्डहर घरमाथि अहिले डोजर कुदाएको छ । सिन्धुलीको कातिके हुँदै काभ्रेको बन्खुबाट यो बाटोको कोरिडोर काठमाडौंसम्म खुलेको छ । यात्रुहरु गाडीमाथि चढेर न्यायका लागि चियाइरहेको खण्डहर घरको आँखालाई कुल्चदैं सिन्धुली, काभ्रे, काठमाडौं हुईकिरहेका छन् । आज यो ठाउँमा न त कोही बटुवाले पानी माग्छ न त विश्रामको सुसेली नै सुसेल्छ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )