~सुनील बाबु श्रेष्ठ~
चरा जस्तै फुत्रुक फुत्रुक रमाउदै उफ्रदै
भर्खरै घरबाट खेल्न निस्केकी निर्दोष कोपिलाहरू
आफ्नै घरको कान्लामुनि
लडिरहेका छन रक्ताम्य भएर
सोचौला तिमी यी कलिला मुनाहरु
भर्खरै रजस्वला भएकी छे
र, साक्षात्कार गर्दैछे जवानीसंग ।
ए भ्रमित शासकहरु !
वास्तवमा उ लुटिएकी वलात्कृत लाश हो ।
छोरीको खोजीमा
हिउँ झैँ चिसो शरीर बोकेर
वेहोसीमा बर्बराउदै भौतारीरहेकी
ती आमाको जिर्ण स्वरुपलाई हेर
हजारौ हजार ठक्कर खाएर
पहाडमा बहिरहेको हावा जस्तै
न्यायका आशातीत अनुहार बोकेर
ठक्कर खाइरहेको निसाह्य वावुलाई हेर
तिम्रो न्यायलय अगाडी उभिएर
न्यायको भिख मात्र मागीराख्नु पर्ने हो सधै ?
मैले त्यै न्यायको वकालत गर्दा
तिमी आफ्नो व्यवस्थाको विद्रोही देख्छौ भने
गर्वसाथ भन्छु, हो म विद्रोही हुँ ।
यो कहिले नविर्सिनु
हामी प्रतिको उत्तरदायित्व !
किनकि
हामी गधा झैँ जोतिएकोले
तिमी शासक बन्न पाईरहेका छौ
हामीले हाम्रो सपनाहरु बन्धकी राखिदिएकोले
तिमीले आफ्नो सपनाहरु पुरा गर्न पाईरहेको छौ ।
नत्र कहाँ पाउथ्यौ यो सौभाग्य?
दुरदराजदेखी हामीले
यहिँ व्यवस्थाको लागी भनेर
समाहित गरेका छौ छातीभित्र आगोहरु
खरानी बनाएका छौ हाम्रा चेलीका सिन्दुरहरु
अनि सुम्पेका छौ
कहिले नफर्कने गरी हाम्रा मुटुका टुक्राहरू !
यो बुझेरपनि जवर्जस्ती
व्यवस्थाको बिद्रोही बनाउछौ भने
म गर्वसाथ भन्छु, हो म विद्रोही हुँ ।
जव तिमी
सिकलसेलको औषधि खान नपाएर छटपटाईरहेका
दुखीराम थारुहरुको छट्पटी महशुस गर्दैनौ
सुत्केरी बेथाले मृत्युको दोसाँधमा पुगेकी
सुदुर गाँउकी मनकोईलीहरुको चित्कार सुन्दैनौ
कसैको संघारमा पाईला राख्न नपाउने
मनबिरहरुको पिडा बुझ्दैनौ
राजधानीभन्दा अलिपर गएर अरु कुनै गाउँ देख्दैनौ
अनि मैले यी पिडा र चित्कारहरु बारेमा बोल्दा
तिमी मलाई व्यवस्थाको बिद्रोही देख्छौ भने
म गर्वसाथ भन्छु, हो म विद्रोही हुँ ।
सावधान होऊ आवाजहरु आएको बेला
हातहरु आकाशतिर उठेको बेला हेर
ढिला हुनेछौ फेरी
जब, परिस्थितिहरु साच्चिकै विद्रोही बन्न पुग्छ
र, दुखीराम, मनकोईली, मनवीरहरुले
थालनी गर्नेछ, अर्को नयाँ विद्रोहको
जसरी हिजो तिमीले
गरेको थियौ नयाँ युगको लागि भनेर ।
२०७६/०६/१२
दिक्तेल खोटाङ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )