कथा : गणेश टिओ

~छविलाल खड्का~

विभूति निजामती कर्मचारी सर्कलको आशा लाग्दो नाम हो । ऊबाट राज्यले धेरै आशा अनि भरोसा गरेको छ । कार्यालयको ईनर्जेटिक मेनपावरमा पर्छ ऊ । सूचना प्रविधिसंग पनि त्यतिकै अभ्यस्त छ । इमान्दार, अनुशासित, लगनशिल कर्मचारीको क्याटागोरीमा दर्ज भएको छ । ऊ सिस्टमले काम हुनुपर्छ भन्ने मान्यता राख्ने राष्ट्र सेवक । कानूनभन्दा बाहिर गएर कुनै काम गर्नु हुदैन । जनताका काम सिस्टमले छिटो छरितो सम्पादन हुनुपर्छ, यो उसको मान्यता  हो । साँझको खाना खाइवरी कार्यालयको सेवा प्रवाह नीति के कस्तो रहेछ जान्नलाई ल्यापटपमा सर्च गरी बसेको छ ।

मोवाइलमा घण्टी बज्यो– “टिरिङ टिरिङ … टिरिङ टिरिङ ..” मोवाइलतिर हेर्यो हाकिमको फोन रहेछ । छिटो छिटो रिसिभ गर्यो – “हेलो । हाकिम साप नमस्कार ।”

“नमस्कार के गर्दै हुनुहुन्छ रु”  हाकिम ।

“म कम्प्युटरमा हाम्रो कार्यालयको सेवा प्रवाह नीतिमा के के रहेछ भनी सर्च गरी बसेको सर ।” विभूतीले बेलिविस्तार लगायो ।

“हेर्नु न म भोलि बिहानै विभाग जानु पार्ने भयो । तपाईलाई निमित्त छोडि दिएको छु । अफिस राम्रोसंग चलाउनु होला ।”

“हजुर सर, सर कहिले फर्कनु हुन्छ रु” विभूतीको जिज्ञासा ।

“त्यस्तै ५–७ दिन लाग्ला ।” हाकिम ।

“हुन्छ सर, शुभयात्रा सर, गुड नाइट सर ।” विभूतीले औपचारिकता निर्वाह गर्यो ।

“धन्यवाद । ल गुड नाइट  ।” हाकिम ओझेल पर्यो ।

विभूतिले मनमनै सोच्यो के काम परेछ बुढाको रु अचानक जान थाले, केही कुरा खोलेनन् । फेरी उसको मोवाइलमा घण्टी बज्यो– टिरिङ टिरिङ … टिरिङ टिरिङ । मोवाइलतिर हेर्यो  मैयाको फोन रहेछ ।

“ हेलो ।” फोन रिसिभ गर्यो ।

“हेलो हाकिम साप नमस्कार । सुतिबक्स्यो । डिष्टर्व गरें है ।” मैयाले चिल्लो घसी ।

“छैन । तपाई नि रु“ औपचारिकता निभायो ।

“खाना खाएर पल्टेको निन्द्रा लागेन । हजुर त भोलिदेखि हाकिम हुनुभएछ । खुशी लाग्यो । त्यही भएर सम्झेको ।” चेपर्का पारी मैयाले ।

ए हो, ल ल । त्यति उत्सुकता देखाएन ।

“हवस् त हाकिम साप नमस्कार ।” मैया ।

नमस्कार ….. । विभूतिले मुक्ति पाए झै भावभंगीमा देखायो । रातको एघार बजेछ । ऊ पनि सुत्यो ।

सधैंको समय पालनासंगै आज त झन थप जिम्मेवारी बहन गर्नुपर्ने भएर होला विभूति पौने दश बजे नै अफिस पुग्यो । हाजिरी किताब  खोल्यो । निमित्तको चिठ्ठी हाजिरी किताबभित्रै रहेछ । कहिल्यै अरुको हाजिरी वास्ता नगर्ने विभूतिले आज सर्सर्ति सबैको हाजिरी पल्टायो । पल्टाउदै जादा मैयाको हाजिरीमा ५ दिनको स्वीकृत टिओ देख्यो । मनमनै सोच्यो बुढालाई मैयाको मन्त्र लागेछ ।

टक टक टक टक कोही आएको आवाज आयो । नभन्दै मैया झुल्किइन । “नमस्कार हाकिम साप । ढिला भएछ क्यारे ।” मैयाले नखरा पारी ।

नमस्कार… । छैन दश बज्न बाँकी छ । विभूतिले आश्वस्त पार्यो ।

मैया झाडु लाई, कुर्सी टेबुल पुछी । सरसफाईको काम सकेर सोधी “पानी तातो कि चिसो सर ”

तातो राख्नु न अलि रुघाखोकी लाग्ला जस्तो छ । विभूतिले सहज बनायो ।

स्टाफहरु क्रमशः आउँदै हाजिरी गर्दै सामान्य वार्तालापमा औपचाकिता निभाउदै आ–आफ्नो कार्यकक्षतिर लागे । मैया जगमा तातो पानी र गिलास लिएर हाकिमको टेबुलमा राखेर बाहिरी । दिनभरी सामान्य अवस्थामै बित्यो । खास उल्लेख गर्न लायक केही घटना घटेन ।

विभूति निमित्त हाकिम भएको आज सातौं दिन । मैया आफ्नो दैनिकी सकेर बाहिरिनु पर्ने तर कुनाको कुर्सीमा बसेर हात मुसार्दै भनी – “सरको हातबाट एउटा टिओ खान पाए हुन्थ्यो ।”

मलाई त बुढोले मार्छ त । कसैलाई टिओ नदिनु  । म आएर आफै मिलाउछु भन्नु भएको छ । पन्छिन खोज्यो । मैयाले कुनै प्रतिवाद गरिन । उठेर निन्न्याउरो मुख लाएर बाहिर गई ।

कोठामा चन्द्रमानको प्रवेश भयो । ऊ निजामति कर्मचारी संगठनको केन्द्रिय सदस्य हो । उसको जिल्लामा बेग्लै रवाफ छ ।

“ओ हो हाकिम साप नमस्कार ।” चन्द्रमान मुस्कुरायो ।

“नमस्कार के छ चन्द्र सर चालिमाली ” विभूति ।

चालिमाली अलि गड्बड भयो हजुर । हजुरको सहयोगले समाधान हुन्छ कि रु तानाबाना बुन्यो चन्द्रमानले ।

तपाई जस्ता लिडरहरु हामीबाट के अपेक्षा गर्नुहोला रु मजाक गर्नुहुन्छ । विभूतिले फुर्कायो ।

कहाँ मजाक हुनु सर नेता भएर समस्या आयो । संगठनको मिटिङ रहेछ, काठमाण्डौ जानु पर्ने भयो । एउटा टिओ दिएर संगठनलाई सहयोग गर्नु पर्यो हजुर । कुरा घुमायो ।

मलाई त बुढोले मार्ला त रु पन्छ्याउन खोज्यो ।

हाकिम साप आए पछि भनौला नि । आश्वस्त पार्न खोज्यो चन्द्रमानले ।

ठीक छ । उसको टिओ स्वीकत भयो ।

चन्द्रमानले टिओ पाएको कुरा धुवाँसरी फैलिएछ । साँझ पौने नौ बजेको थियो । फोनको घण्टी बज्यो । मैयाको फोन रहेछ ।

हेलो । विभूति बोल्यो ।

हाकिम साप नमस्कार । सुतिबक्स्यो सर । मैयाले चासो राखी ।

नमस्कार । छैन । विभूति छोट्टयाउन खोज्यो ।

भोलि बिहान मेरो कोठामा चिया पिउन आउनु होला है सर । निमन्त्रणा दिई ।

ए ल हुन्छ । फोन राख्यो ।

मैयाले फेरी किन चिया खान बोलाई त्यही टिओ नदिएकोमा  गुनासो पोख्न त होला विभूतिले लख काट्यो ।

विहान सात बज्दा नबज्दै चिया तयार भएको म्यासेज आयो । ऊ आज्ञाकारी झै मैयाको कोठातिर तानियो । कोठा चिटिक्क परेको, सफा नगिचै पूजा साग्री,भगवानको तस्वीर सवैतिर नियालेर सोफामा बस्यो । उसको कोठा सजावट हेर्दा लाग्छ कुनै हाकिमको भन्दा कम थिएन । टीका लगाऔं सर आज सोमबारे ब्रत हो मेरो । विभूतिले टीका ग्रहण ग–यो । टेबुलमा चिया आयो । चियाको चुस्कीसंगै उसले  मुख खोल्यो– मैया रिसाए जस्तो छ मसंग, टिओ दिएन भनेर हैन ।

हे भगवान किन रिसाउनु  हाकिमसंग । रिसाउदिन हजुर । दया माया भए दिईहाल्नु होला नत्र के मामाको बारीमा साग छ भान्जीको के लाग्छ ।

ल ल २–४ दिनको भरेर ल्याउनु । अहिले म लागें ।

खाना यतै खाए हुँदैन र सर

हैन हैन, मेरो खाना पाकी सकेको छ । विभूति उठेर गयो ।

कसलाई कसरी जालमा पार्न पर्छ , मैयालाई थाह छ ।

हात दिंदा कुहिनो निल्न खोज्ने मानवीय प्रवृत्ति न हो ५ दिनको टिओ भरेर ल्याइन मैयाले ।

अलि अप्ठ्यारो अप्ठ्यारो मान्दै भएनी केही नबोली स्वीकृत गर्यो, विभूतिले ।

साँझ साढे नौ बजेतिर घमण्ड बहादुरको फोन आयो । ऊ अफिसमा झगडिया/फटाहा/घमण्डी/कोक्ल्याटो आदि उपमाले चिनिन्थ्यो । सबै हाकिमहरुलाई धम्काएर आफ्नो दुनो सोझ्याउथ्यो ।

हेलो अं घमण्ड दाजु । –विभूति ।

हेलो सर नमस्कार । सञ्चै हो । अलि लर्बराएको बोलीमा घमण्ड बोल्यो ।

ठीक छ दाजु , तपाईंको नि ।

मेरो त के हुनु । कन्तविजोग छ । हाकिमहरु सुविधा आफै वा आफ्ना मन परेकालाई मात्रै दिन्छन् । यस्तै त हो नि सर ।

ए हे दाजु पनि कहाँ त्यस्तो हुन्छ ।

किन हुँदैन सर, त्यो चन्द्रेले टिओ पाउने । हमीलाई त केही मतलबै छैन । के हाम्रा बालबच्चा छैनन् र ।

ल ल दाजु भोलि गफ गरौंला । विभूतिले फोन काट्यो ।

घमण्ड साह्रै रिसायो । साले हाकिम बनेर यो घमण्डको फोन काट्ने । घमण्ड को हो चिनेको छ । यस्तालाई ठीक पार्न सकिन भने त मेरो नाम पनि घमण्ड होइन ।

भोलिपल्ट घमण्डको पनि ७ दिनको टिओ स्वीकृत भयो । कति जनाले टिओ मागे, कति जनाले आश गरे, कतिले धम्काए, कतिले फुल्याए । राज्यले आश गरेको कर्मचारी, निजामति प्रशासनभित्र बबुरो बनी निमोठियो । उसका आफ्ना मूल्य मान्यता पानीमा मिले । ऊ निरीह बन्यो ।

विभागबाट खबर आयो । हाकिम त मन्त्री ज्यूको कोपभाजनमा परेछन् । उनको सरुवा भयो रे नयाँ हाकिम आउदै छन् रे । यो खबरले सारा अफिसभरी  सन्सनी फैलायो । गाइँ गुइँ कुरा चल्यो । मन्त्रीको सालालाई अनुदान नदिएका कारण हाकिमको सरुवा भयो रे ।

नयाँ हाकिम आउने खबरले अफिसको वातावरण गर्मागर्मी थियो । यस्तैमा हाकिम सापको आगमन भयो । सबै स्टाफहरु खुशी भए । हाकिम सापलाई स्वागत गरियो । सामान्य परिचयात्मक कार्यक्रम भयो । हाकिमको निर्देशन आयो भोलि स्टाफ मिटिङ गरौं । सबैले टाउको हल्लाए । आ–आफ्ना शाखातिर लागे ।

स्टाफ मिटिङ बस्यो । स्टाफका समस्या, गुनासा सुन्नु भन्दा पनि हाकिम साप निर्देशात्मक पारामा अगाडि बढे । यहाँहरु सबै जानकार हुनुहुन्छ । नियम कानून अनुसार सबै चल्नुपर्छ । सबैले आफ्नो दायित्व निर्वाह गर्नुपर्छ । सेवा प्रवाह, प्रगति पुर्याउनुपर्ने आदि आदि । मिटिङ सकियो । सबै आ–आफ्ना कार्यकक्षतिर लागे ।

मैया नयाँ हाकिमको सेवामा तल्लीन रही । पानी, चिया, सन्चो, विसन्चो सबै कुरामा ध्यान पुर्याउन थाली । मोरी हेर्दा पनि अप्सराभन्दा कम थिइन । बान्की परेको शरीर, घुर्मौला आँखीभौ, गोरो अनुहार, मिलेको नाक मुख, सेक्सी सेक्सी आँखा । हाकिम सापले नजानिंदो पाराले थुक निले ।

एक कान दुई कान, हाकिमसापको पारा पनि सबैले बुझे । चन्द्रमानले हाउगुजी देखाएरै टिओ लियो । घमण्डले थर्काएरै टिओ लियो । मैयाले लठ्याएरै टिओ लिई । तर अरुहरुको दिन उस्तै रहे । हाकिम फेरिए, दिन फेरिए, र पनि व्यवस्था भने फेरिएन । सुविधा नपाउनेहरु अहिले पनि चिल्लै भए । सल्किएको भुसको आगो विस्तारै दन्किन थाल्यो । अन्य कुनै अवसर नभेट्ने कार्यालय सहयोगीहरुको आशाको त्यान्द्रो टिओ पनि नपाए पछि विद्रोहका स्वरहरु निस्किन थाले ।

यो कुरो हाकिम सापको कानसम्म पुग्यो । भोलि स्टाफ मिटिङ बोलाइयो ।

स्टाफ मिटिङ शुरु भयो । चलाकीपूर्ण हो या संयोग, मैया आज अफिस आइन । हाकिमले मिटिङ शुरु भएको जानकारी गराउँदै आ–आफ्ना समस्या, गुनासा, पिरमर्का पालैपलो राख्न निर्देशन दिए ।

सबैले आ–आफ्ना गुनासा पोखे । कसैले कार्य विभाजनमा भेदभाव भएको भने, कसैले सुविधा नपाएको भने, कसैले काम गरेर पनि सुविधा नपाएको तर कसैले गणेश टिओ पाएको ……… आदि आदि गुनासा आए । हाकिमले गम्भीरपूर्वक सबैका कुरा सुने । निचोडमा टिओ नपाएको नै धेरै देखे । हाकिम सापले सुब्बा सापलाई औल्याउदै भने– सुब्बा साप, यहाँहरुको २–४ दिनको टिओ बनाइदिनु । गुनासाधारीहरु खुशी भए । सबै आ–आफ्ना कार्यकक्षतिर लागे ।

सुब्बा साप आफ्नो कार्यकक्षमा गएर कार्यालय सहयोगीहरुको ५ दिनका दरले टिओ भर्दै गयो । टिओ भर्दा भर्दै चन्द्रमानको फोन आयो हेलो सुब्बा साप मेरो पनि संगै छिराइदिनुहाला । घमण्डको फोन आयो सुब्बा साप, घमण्ड भन्ने पनि छ नबिर्सिनु होला । मैयाको फोन आयो– सुब्बा साप, नमस्कार ल न हजुर हातमा डाडु पन्यु भएको बेला यो मैयालाई नभुल्नु होला । सुब्बाले टिओ बनायो रामे, श्यामे, चामे,गोरी, नेप्टी, मैया, चन्द्रमान, घमण्ड र कृष्ण । सुब्बाले आफ्नो नाम पनि छिरायो । हाकिमको टेबलमा टिओको चाङ लाग्यो ।

हाकिम आफ्नो कार्यकक्षमा प्रवेश गरे । टेबुलमा रहेको चाङ देखे । सरसर्ती सबैको नाम हेरे । एक पटक घोत्लिएर बसे । खुरुखुरु सबैको टिओ स्वीकृत भयो । रामे, श्यामे, चामे, गोरी, नेप्टी यो गणेश टिओ पाएर मख्ख परे तर चन्द्रमान, घमण्ड र मैयालाई यो गणेश टिओले  खासै सन्तुष्टी दिएन ।

छविलाल खड्का
कोहलपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.