~फुर्बान रायमाझी~
आखिर रोप्न र छोप्न मिल्ने
अनि रोपेको ओइलाउन थालेपछी
कहिकतै माटो चुहिन थालेपछि
धोइपखाली महँगो मुल्यको स्टिकर टाँसेर
कतै छोपिनुपर्ने नछोपिए पनि
कतै नच्यातिनुपर्ने ठाँउमा च्यातिएपनि
नयाँ फेसन भन्दै धमाधम बेचिनेछन
हाम्लाई मन पर्ने दामी पाईन्टहरु
हाम्रो शहरमा।
मलाई घुँडामा च्यातिएको लाउनुछ।
तिम्लाई धुजाधुजा परेको मन पर्छ।
टुक्राटाक्री टालटुल पारेको अझै राम्रो लाग्छ।
बर्खाको पानीले माख्खिएको
चुहिने घरको दलिनजस्तो
बिनारँगका थोत्रा बाउलाहरुलाई फेसन भन्दै
उसलाई त चोकतिर नयाँ पाईन्टको शो गर्नुछ।
पहिलो सिजन फुलेका बिरुवाहरुको जवानी हेरेपछि
दोस्रो सिजन मान्छेहरुका लाज छोप्न सजिदा
ठिङ्ग उभिएको दुईखुट्टे जिन्स
मख्ख पर्दो हो बर्खाले माख्खिएपनि
सायद चिसिएको छ कि माटोले
वा तातिएको छ जवानीहरुले
चिसिएनी,तातिएनी वा च्यातिएपनी
नयाँ फेसन बनेर सजिएको छ अन्तिम पल्ट।
माटोको भारी बोकेर हरियो उम्क्याएपछि
मासुको पिण्ड देखाउदै,मासुको पिण्ड लुकाउदैं
उस्तै च्यातिन्छन्-अनि लगाईन्छन्।
अझै च्यातिन्छन्-अझै मन पराईन्छन्।
उस्तै माख्खिनछन्-उस्तै सजाईन्छन्।
तैपनि फुरुङ्ग हुन्छन-फुर्बानहरु
जोश थप्छन महँगो फेसनवाला पाईन्टको
अनि मनभरी फुलाउँछन
दोस्रो सिजनका हरिया घ्युकुमारीहरु।
फुर्बान रायमाझी, काठमाडौं
हाल, पोर्चुगल