कविता : बाँच केबल अर्काका लागि

~कुबेर काका~


हाम्रा दुर्गन्धित शहर गाऊँ र बस्तीहरूका
हरेक गोरेटा,गल्ली र सडकहरूमा
दुर्योधनको अहमता र अहङ्कार मुछिएर
पाइला राख्ने ओभानो ठाउँ भेटिँदैन ।
विचार बोक्नेहरूका वादका पाप्रा उक्किएर
कसैको आकृति ठम्याउन सकिँदैन ।
आफन्त र पराई छुट्ट्याउन धृतराष्ट्रे दृष्ट्रिले
व्यवहार र सद्भाव देखिँदैन
नूनका ेगुनतिर्ने द्रोणाचार्यहरू नत मस्तकभई रहेछन् ।
गाउँका मुखियाहरूलाई पितृ छवि देख्ने भीष्महरू
चुपचाप अन्याय अत्याचार स्विकारी रहेछन् ।
धमिलो पानीमा माछा मार्नका लागि शकुनिहरू
षडयन्त्रका जालबुन्दै
पासा चलाई रहेछन् ।
तिनीहरूको दुष्चक्र निष्क्रिय पार्न
बाँच केबल अर्काका लागि


भित्रको स्वार्थको कालो ध्वाँसो
सफा गरेर लिपपोत गर्दै
मान्छे भित्रको मान्छेलाई जीवन्त गर्न
दिन दहाडै लुटिने अस्मिता रक्षा गर्न
दीनताका कारण लुछिने स्वाभिमानको सुरक्षा गर्न
बाँच केबल अर्काका लागि


अट्टालिका र महलमा बस्नेहरूलाई
पराले छाप्रोमा जीवन गुजारा गर्नेको झैँ
स्नेह,विश्वास र आँखाको नानी बन्दै
मानवीयताको स्पन्दन अनुभूति गराउँदै
अनुसरण गराउन
बाँच केवल अर्काको लागि


तिम्रा भित्रका आँखाले गन्तव्य पहिल्याउन सकेन भने
धुलाम्मे भएका ज्यामीहरूसँग गएर हाते मालो गर
हिलाम्य भएका बाउसे र हलीसँग अङ्कमाल गर
स्वार्थी सन्तानले हेला गरेर अनाथ भएका वृद्ध वृद्धाको सहारा बन
महँगी र गरिबीले चिथोरिएका अभिभावकको घाउमा मल्हम पट्टी गर
बेरोजगार भएर बहकिँदै गतिहीन दिशामा अग्रसर भएका
युवाहरूको छछपटी सुन
गाँस बास र कपास खोसिएकाहरूका लागि सङ्घर्ष गर
तिम्रो मार्ग आफै प्रशस्त हुनेछ ।
बाँच केबल अर्काका लागि


भीष्म द्रोण सल्य कृप हरेको पहिचान गर
उनीहरूको बाध्यतालाई हृदयङ्गम गरेर
उनीहरू सँगै आर्शिवचन लिँदै युद्ध गर ।


यदि
अझै तिमीलाई सफलतामा शङ्का छ भने
धुलामा पद्याशन कसेर बस
माकुराले बनाएका जाल हेरेर,
जीवन चक्र अध्ययन गर
बाहिर निस्कने बाटा पत्ता लगाउँदै
निली देऊ त्यो अरूलाई फसाउने जालो
जहाँ फेरि कोही नपरून्
बाँच केबल अर्काका लागि


सत्यलाई अनुसरण गर्न
असत्यलाई नामेट पार्नका लागि
युद्धभूमिमा उत्रिएका
कर्णहरूसँग युद्ध गर
अवश्य तिमी विजयी हुनेछौ ।
बाँच केबल अर्काका लागि


स्वार्थको क्लेश नराखी
अहङ्कार र अहमता बिर्सिएर
विगतका गल्तीलाई आत्मालोचना गर्दै
आगतका लागि माफी माग्दै
रगतका छिटा नपहिल्याई
छुवाछुत नगरी अगाडि बढ
आफूलाई मृत घोषित गर
संजिवनी ज्ञाता कचहरु
तिमीलाई बचाउन अवश्य आउने छन्
दानवी अत्याचारबाट त्रसित दधिचीहरु
बज्र बनाउन हाड दिन अवश्य तयार हुनेछन्


यो लडाई तिम्रो लागि मात्र होइन
स्वार्थलाई तिलाञ्जली गर
जन परिजन बिर्सिएर सन्यासी बन
युग युगसम्म बाँच
केवल अर्काका लागि
बाँच केबल अर्काका लागि

कुबेर काका
तित्री गाछी, जलजले उदयपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.