~गोविन्दप्रसाद आचार्य ~
खुर्सानीको धुलो पनि विदेशको खाने
झरना र नदीनाला विदेशले लाने
बसन्तको ऋतु लाग्यो हरियाली पनि
हामीसँग पानी लाने हेर कति धनि ?
हाम्रो पानी गाग्रोभरि घामलाई पठाएको
हामी पानी खानु पर्ने उसले अड्कलेको
खडेरीको घामले ताते हाम्रा खेतबारी
कति राम्रो हरियाली हाम्रो खेत पारी !
खुर्सानीको धुलोसँग पानी साटेका छौँ
खुकुरीले आफ्नो घाँटी आफै काटेका छौँ
आफ्नो घर भत्काएर अर्को देख्ने राम्रो
राम्रो घर बनाएको काठपात हाम्रो ।
मन छैन, वन छैन, चित्त पनि सानो
खरबारीमा खर छैन केले छाउने छानो
खुर्सानीको धुलोसँग कलकारखाना साटे
यो देशका विरासद विरेनुनमा साटे ।
हिराभन्दा जिरा मिठो खुर्सानीको पिरो
बालुवामा पानी भयो हाम्ले तिर्या तिरो
दालचिनीका बोटमा पनि विदेशको टाँचा
बुझाइसके विदेशीलाई देशका तालासाँचा ।
मरिचसँग साटिएको कस्तुरीको बिना
भाग्य बाँझो पारिसके हुरी बस चिना
किन होला नबजेको बाँसुरीमा देश
होस्को फूल कहिले फुल्ने फुलिसक्यो केश ?
हिमालमुनि हरियाली हुनु पर्ने थियो
खुर्सानीको धुलो दियो पानी लगिदियो
जति खाउ विदेशीले चुरोट खान दिन्छन्
रसिलो र मिठो खाना खान हुन्न भन्छन् ।
पालुवालाई पानी छैन बालुवालाई गयो
हाम्रो खेत असारमा पनि बाँझो भयो
यो बारीको मकै घोगा हामी बाँच्नु पथ्र्यो
पोली भुटी पकाएर खाई बाँच्नु पथ्र्यो
रोपेपछि के खुसार्नी फल्दैन र यहाँ ?
पानी भए धानको बाला झुल्दैन र यहाँ ?
छेपारोले घर बनाउने विकासको नीति
खुर्सानीमा देश साटी खाने सुती सुती ।
कति मिठो लागेको हो विष हालेको आलु
हर्रो खान जाती होला नखाउँ विषको आलु
ढुङ्गा माटो बोल्छ यहाँ बोलाउँदै हिँड
सिर्जनाले गाउँ, सहर जगाएर हिँड ।
(स्रोत : हाँक विक्ली – वर्ष ३२, अङ्क ३१ – July 1, 2015 – २०७२ असार १६ गते, बुधबार)