संस्मरण : नाकमा आरूको फुली

~नरनाथ लुइटेल~

मेरो जन्मथलो भोजपुरको सिक्तेल । हाम्रो परिवार वि.सं. २०१९ सालमा भोजपुरबाट मधेस (झापा) बसाइसराई हुँदा म चार वर्षको फुच्चे थिएँ । मधेस झरेपछि ठ्याम्मै पचास वर्षको नेटो काटिसकियो । तर फेरि जन्मथलो भोजपुर पुग्ने अवसर मिलेको छैन । यस पटक मकालु साहित्य समाजले संखुवासभा साहित्यिक महोत्सवको निम्तो दिएर म खाँदबारी र चैनपुर पुगेको थिएँ । यो साहित्यिक यात्राबारे छुट्टै लेख्ने मन छ । लेख्दै गरुँला । खाँदबारीबाट भोजपुरको पूर्वी क्षेत्र सर्लक्कै देखिँदो रहेछ । चैनपुरबाटै पनि देखिने रहेछ । भौतिक रूपमा मैले त्यता पुग्ने अवसर नमिले पनि मनले भने डाँडाकाँडा ननाघी छोडेन । भोजपुरका मेरा बाल्यकालिन स्मृतिका केही किरिङमिरिङ दृश्यहरू संखुवासभा बसुन्जेल र बुद्ध एयरबाट तुम्लिङटार हुँदै काठमाडौं आइपुगुन्जेल सलबलाई रहे । तिनै मध्येको केस्रो यहाँ केलाउन खोज्दै छु ।

उमेरमा म भन्दा एक वर्षले जेठी दिदीको नाकमा टुपुक्क एउटा फुली थियो । दिदीका नाकमा टलक्क टल्किएको फुलीले मेरो मन बेला बेला तान्ने गथ्र्यो । मलाई चाहिँ किन नलाइदिएको हो यो फुली ? मनमा यस्तै लाग्दथ्यो । एक दिउँसो घरमा अरु कोही थिएनन् । दिदी र म खेल्दै घर पछाडिको कसेराबारीतिर पुगेछौँ । हामी जत्रै खुर्सानीका बोटमा फुलीजस्तै बाक्लै फूल फुलिराखेको देखेर मलाई औधी लोभ लागेछ । खुर्सानीको फूल टुपुक्क दिदीको नाकको फुली जस्तै । मैले दुई–चारवटा टिपेँ र नाकतिर लाइहेरेँ, विचरो नाकमा अडिए पो । अड्याउने कुरा पछि सोचौँला अहिलेचाहिँ टिपी राखौँन । दिदीले पनि देख्नुभयो उहाँ पनि टिप्न थाल्नुभयो । नजानिँदो किसिमले हामीमा प्रतिष्पर्धा सुरु भएछ– कसले बढी टिप्ने ? अब फूल हातमा अटाएन । त्यतै करेसामा प्रयोग गरिएर फालिएको टपरी फेला प¥यो । टिपेर म टपरीमा भर्न थालेँ, दिदी पनि त्यसै गर्न थाल्नुभयो । भएभरको फूल टिपेर टपरी भरियो । त्यो फूल टिप्दा खुर्सानी बिमाख भएको हामी दिदीभाइलाई के थाहा ?

एकएक टपरी खुर्सानीको फूल लिएर हामी घर अगाडिको आँगनतिर निस्कियौँ र खेल्न थाल्यौँ । मैले सम्झेसम्म आँगनको मास्तिरतिर अग्लो कान्लो थियो । कान्लामाथि डिलमा हाम्रो अँगालोभरीको फेद भएको आरूको रूख थियो । आरू फुलेको मलाई ख्याल छैन तर औँलाका टोप्रा जत्रा आरूका कलिला दाना आँगनमा बाक्लै झरेका थिए । खिरिला कलिला दाना टिपेँ, फुलीको धङधङीले मलाई छाडेको थिएन, एउटा दानो नाकतिर लगेँ तर अडिने कुरै भएन । यसोउसो गर्दागर्दै आरूको दाना नाकको प्वालमै पस्यो र अडियो । खुशीले बुरुक्क उफ्रँदै म कराएँ– “हेर दिदी, फुली !” दिदी पनि दङ्ग । नाकको प्वालमा आरूको दाना अड्काएर फुलीको फुर्ति लाउँदै अलिबेर अलमलिएँ तर बिस्तारै नाक भित्रैबाट पोल्न र दुख्न थाल्यो । झिक्ने कोसिस गरेँ, त्यो पनि बेकार ।

यसैबीच कताबाट हो दाइ आइपुग्नुभएछ र मेरो फुली प्रकरणलाई केहीबेर अघिदेखि नै निहाली रहनुभएको रहेछ । म भन्दा पाँच वर्ष जेठा दाइ प्रायः कुनै न कुनै निहुँ झिकेर मलाई रुवाउने गर्नुहुन्थ्यो । मेरो नाकमा पसेको आरू प्रकरणलाई पनि एउटा राम्रो निहुँका रुपमा लिनुभयो उहाँले । आरूको बोट भएको डिलको ठीक विपरित दिशामा आँगनको छेउतिर दुई तीनवटा चिप्लेटी ढुङ्गा थिए । तिनै ढुङ्गामध्ये एउटा ढुङ्गामा टुक्रुक्क बसेर दुवै हातमा च्युँडो टेकाई दाइ भन्न थाल्नुभयो– “अब त्यो आरू कसरी निस्कन्थ्यो र, जान्छ उँभै उभो र भित्रैबाट त्यो उम्रिन्छ टुप्पी छेडेर । अनि त्यो ठूलो हुँदै जान्छ । बडेमाको फेद भएको आरूको रूख मेरो भाइले टाउकामा बोकेर कसरी हिँड्छ होला । आरू लटरम्म फलिहाल्ने भो । म त अरु कसैलाई टिप्न कहाँ दिन्छु र । आफैँ चढेर टिप्नु पर्ला । कसैसैले मागे भने हाँगा हल्लाएर झारिदिउँला तर हाँगा हल्लाउँदा मेरो भाइको टुप्पी कति दुख्छ होला । त्यत्रो बडेमा आरूको रूख बोेकेर मेरो भाइ कसरी हिँड्छ होला, सुत्दा पनि कसरी सुत्छ होला ।”

दाइको यस्तो कुराले मेरो ब्रह्माण्ड नै हल्लियो । यसो फर्केर कान्लामाथि हेरेँ– अकाशै छोए जस्तो आरूको रूखका हाँगाबिँगा हावामा लर्किलर्की हल्लिरहेका थिए । साँच्ची नै त्यत्रो रूख बोकेर म कसरी हिँड्न सकुँला त । म कहालिएर रुन थालेँ । लेघ्रो तानी तानी दाइ अझ फलाक्दै हुनुहुन्छ– “लौन भाइ, त्यो टुप्पीमाथि पलाएको आरूको रूखमा मलाई बाहेक अरुलाई चाहिँ चढ्न नदिनु नि ! कठै मेरो सानो भाइले त्यत्रो यमानको आरूको रूख बोकेर कसरी हिँड्छ होला ।…..” दाइको कुरो अझै टुङ्गिएको थिएन र मेरा निम्ति सुनिसाध्य पनि भएन । म डाँको छाडेर गाउँ नै थर्किने गरी रुन थालेछु । घरबारीतिर खनखान गरिरहनु भएकी आमाले मेरो रुवाइ सुन्नुभएछ, के के न भयो भन्ठानी हस्याङफस्याङ गर्दै आइपुग्नुभयो । दाइले मेरो नाकमा अड्किएको आरू देखाउँदै आमालाई भन्नुभयो– “लौ आमा, भाइले त आरू रोपिहालेछ नि ।” “भाइ रोयो भने फुल्याउनुपर्ने दाइ भएको नाथे झन रुवाउँदो पो रहेछ भन्दै दाइलाई गाली गर्नुभयो आमाले । “नरौ, बाबु म झिकिदिई हाल्छु नि ।” उहाँले तत्कालै नाकमा अड्किएको आरूको दाना झिकिदिन खोज्नुभयो तर सजिलै आएन । मेरो नाक भने अब झन सहनै नसक्ने गरी दुख्न थाल्यो ।

आमाले मलाई घरभित्र लैजानुभयो र तोरीको तेल नाकमा हाल्दिनुभयो अनि ओछ्यानमा सुत्न लगाउनुभयो । मैले त्यसै गरेँ । तिमी सुतिराख म अहिले झिकिदिउँला । आमाको कुराले म अलि आश्वस्त भएकै थिएँ, एकैछिनमा झकाएछु र भुसुक्क निदाइ हालेछुु । मेरो निद्रा भने निकै जब्बरको थियो । अहिले पनि झन्डै–झन्डै त्यस्तै छ । म निदाएकै बेलामा आमाले कन्कर्नु र सानो चिम्टी प्रयोग गरेर नाकको आरू झिकिदिनुभएछ । अहँ, मैले भने चाल पाउँदै पाइनँ । आमा अब घरकै धन्दातिर लाग्नुभएछ ।

निकैबेरपछि मेरो पैतालामा नराम्रोसँग केही गुजगुजायो । त्यसैको तोडले म ब्युझिएँ । गोडामुनि दाइ अघि चिप्लेटी ढुङ्गामा बसे जसरी नै बसिराख्नु भएको थियो । पैतालामा काउकुती लाएर मलाई दाइले ब्युँझाउनु भएको रहेछ । म ब्युँझिएपछि दाइले मलाई आफ्नो नाक छाम्न लगाउनुभयो । नाक अलीअली दुखीरहेकै थियो तर त्यहाँ आरूको अड्किएको दाना थिएन । लेघ्रो तान्दै फेरि दाइ उसैगरी भन्न थाल्नुभयो– “भाइ, त्यो आरू त मैले हेर्दाहेर्दै भित्रै गयो नि । बरिलै त्यो पक्कै उम्रिने भयो । त्यो त अब टुप्पी छेडेरै उम्रिन्छ नि । ठूलो रूख हुनेछ आरूको । मेरो भाइले टाउकामा कसरी बोकेर हिँड्ला…. ।” दाइको कुरा सुनेर मलाई आरू नाकबाट उँभै गएछ भन्ने लाग्यो । अनि म उसैगरी कहालिएर रुन थार्लेँ । आमाले कुरा बुझिहाल्नुभयो । आँँगन बढार्दै गरेको खरेटोसँगै उहाँ भित्र पस्नुभयो । त्यही खरेटाले हान्दै दाइलाई आमाले बाहिर लखेट्नुभयो । मैले रुँदै भने– “आमा त्यो आरूको दाना खै त, नाकमा छैन नि ।” “तिमी निदाएका बेला मैले झिकेर फालिदिएँ ।” आमाले भन्नुभयो तर म आमाको कुरा पत्याउन तयार भइँन । दाइको हाउभाउपूर्ण कुराले मलाई एकोहो¥याई सकेको थियो । आखिर मलाई विश्वस्त बनाउन आमाले आँगनबाट अर्को आरूको दाना टिपेर ल्याउनुभएछ र मलाई देखाउँदै भन्नुभयो– “तिम्रो नाकमा अड्केको आरू यही त हो नि, तिमी निदाएको बेला मैले झिकेर फाली दिएको, लौ हेर ।” हातमा लिएर मैले ओल्टाइपल्टाई हेरेँ– दुरुस्त उही आरूको दाना जो मेरो नाकमा छिरेको थियो । बल्ल मलाई विश्वास भयो कि अड्केको आरूको दाना मास्तिर गएको होइन, आमाले झिकिदिनुभएकै रहेछ ।

आज पनि म जब दिदीलाई सम्झन्छु, दिदीको नाकको फुली मेरो आँखामा निकै चम्किलो भएर नाच्न आउँछ । अनि फुली सम्झने बित्तिकै खुर्सानीको फुल टपरीभरी टिपेको र आरूको दाना नाकमा अड्किएको, दाइले आरू अब टुप्पीबाट उम्रिने भो भनेको र म तीनतमाससँग रोएको दृश्यचित्र फनफनी घुम्दै आउँछ । म चार वर्षको फुच्चे हुँदाको यो घटना मैले आज पर्यन्त बिर्सनै सकेको छैन । अहिले भने जति सम्झँदै गयो उति हाँसो उठ्दै जान्छ ।

कलङ्की, काठमाडौं

(स्रोत : छलफलविक्ली डट कम)

This entry was posted in संस्मरण and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.