समीक्षा : फाटो कथामा अनुभूतिको संरचना

~प्रभा मरहट्टा (कोइराला)~

सार

पश्चिमी चिन्तक रेमन्ड विलियमले विकास गरेको साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने सैद्धान्तिक अवधारणा अनुभूतिको संरचनालाई मुख्य आधार बनाइ यस लेखमा फाटो कथामा संरचित अनुभूतिहरू खोजी गरिएको छ । फाटो कथामा प्रतिबिम्बित पिढीगत अनुभूतिहरू र प्रभुत्वको परिवेश, अधिनस्थ पिढीका अनुभूतिहरू, दवाबजन्य अनुभूतिहरू तथा तनावजन्य अनुभूति आदिका कोणकाट कथाको विश्लेषण गरिएको छ । यी विविध कोणबाट प्रस्तुत कथा विश्लेषण गर्दा फरक फरक पिढीगत अनुभूतिहरू संरचित भएको पाइन्छ ।

१. विषय परिचय

फाटो कथा (२०३८) का रचनाकार ध्रुव सापकोटा हुन् । उनको पहिलो कथा मृत्युसार २०२८ सालमा प्रतीक पत्रिकामा प्रकाशित भएको थियो । उनका कथाहरू प्रतिचक्रव्यूह (२०३०), उच्चारण (२०३५) र हामी हाँसिरहेका छौँ (२०५३), कथासङ्ग्रहहरूमा सङ्ग्रहित छन् । ध्रुव सापकोटाको फाटो कथा वर्तमान अर्थसङ्कट र त्यसले ल्याएको प्रशासनिक भ्रष्टाचार र पारिवारिक फाटालाई प्रस्ट पार्न सक्षम छ। सहरिया प्रवृत्ति र विकृति ग्रामीण सभ्यताका चापमा जन्मिएका दबाव र तनावजन्य परिवेशले सामाजिक जीवनयापनमा पारेका विविध अनुभूति र समस्यामूलक घटनाहरूलाई यस कथामा सफल चित्रण गरिएको छ । यस कथामा प्रमुख दुई पात्र म र बुढा (बा) रहेका छन् । यिनै पात्रका माध्यमबाट दुई पुस्ता बाबु र छोराको बीच उत्पन्न सोचाइगत फाटालाई अवलोकन गरी पाठकसामु ल्याइएको छ।

तीन दशक अगाडि नै रचना गरिएको भए तापनि फाटो कथाको सन्दर्भ वर्तमान नेपाली समाजका वैशिष्ट्यहरूसँग मिल्दो देखिन्छ । फाटो कथामा विभिन्न किसिमका मानवमनका अनुभूतिहरू अभिव्यक्त भएको देखिन्छ । फाटो कथामा कथाकारले पात्रहरूका माध्यमबाट भिन्दाभिन्दै अनुभूति, भावना, दबाव र तनावको परिस्थिति आदिको संरचना गरेका छन् । सामाजिक, आर्थिक र राजनैतिक विसङ्गतिका कारण दबाव र तनावजन्य स्थितिमा विसङ्गत जीवनयापन गर्न बाध्य निम्नवर्गीय परिवेशका व्यक्तिहरूको यथार्थ अनुभूतिहरू सफल चित्रण फाटो कथामा गरिएको छ । यसले नेपाली समाजको विकास प्रक्रियाका साथै साहित्य र संस्कृति बीचको सम्बन्धको ज्ञान पनि गराउँछ भन्ने मान्यताका आधारमा यहाँ फाटो कथामा निहित अनुभूतिगत संरचनालाई अध्ययन गर्ने प्रयास गरिएको छ । यस सन्दर्भमा रेमन्ड विलियम्सको साहित्यको समाजशास्त्रीय अध्ययन गर्ने मान्यता अनुभूतिको संरचनालाई मुख्य आधार बनाई यसै कोणबाट कथाको अध्ययन र विश्लेषण गरिएको छ।

१. अनुभूतिको संरचनाको सैद्धान्तिक स्वरूप

अनुभूतिको संरचना वेलायती चिन्तक रेमन्ड विलियम्स (१९२१-१९८८) को समग्र सांस्कृतिक चिन्तनमा पाइने केन्द्रीय पदावली र मान्यता समेत हो । उनले वेलायतको प्रभुत्वशाली अभिजात संस्कृति र विचारधारासँग सङ्घर्ष गर्दै आफ्नो अनुभूतिको संरचनासम्बन्धी मान्यताको विकास गरेका हुन् । कुनै पनि वस्तु तथा घटनालाई देखेर त्यस वस्तु तथा फाटो कथामा अनुभूतिको संरचना घटनाप्रति संवेदनशील भएर त्यसैमा लीन भएको अवस्थामा प्राप्त अनुभूतिबाट साहित्यको सिर्जना हुन्छ । साहित्य यथार्थ समाजको प्रभावमा कल्पनात्मक पुनर्निर्माणको क्षेत्र हो भन्ने विलियम्सको मान्यता हो । कुनै पनि विषयलाई सुन्दर र आकर्षक ढङ्गले विन्यास गर्नमा अनुभूतिको ठूलो हात हुन्छ । कुनै विषयलाई तत्काल अनुभूति गर्ने क्षमता साहित्यकारमा हुन्छ । अनुभूति एउटा यस्तो यन्त्र हो जसले कलाकारको अन्तर्दृष्टिको शक्तिलाई सक्रिय बनाउँछ । पात्रको चरित्र चित्रणमा अनुभूतिको अधिक महत्व हुन्छ । साहित्यकारले आफ्नो भाव वा विचारालई मूर्त रूप दिने क्रममा पात्रका रूपमा प्रस्तुत गरिएका चरित्रबाट समाजप्रति आफ्नो अनुभूति प्रकट गर्छ । पात्रको संवादमा लेखको अनुभूति संरचित हुन्छ भन्ने मान्यता साहित्यमा अनुभूतिको संरचनात्मक सिद्धान्तले राखेको हुन्छ । जड या निर्जीव वस्तुमा पनि अनुभूतिको प्रक्षेपण गरेर कथाकारले पात्रको चित्रण गर्दछन् ।

वस्तुवर्णन, चरित्रचित्रण, व्यक्तिवर्णन वा आलम्बनको रूप प्रतिष्ठान अनुभूतिको व्यापार नै हो । वस्तुलाई पूर्ण प्रभावोत्पादकको दृष्टिबाट उपयुक्त बनाउनामा अनुभूतिको भूमिका हुन्छ । वस्तुजगत्मा जुन कुरा हामी देख्दछौँ ती सबै कुरा हाम्रो भित्री अनुभूति तथा भावनाकै प्रतिबिम्ब हुन् (क्षेत्री, २०६४ : ४३) । कुनै घटना वा तथ्यलाई लेखकले कृतिमा अनुबन्धित गरेका हुन्छन् । लेखकको प्रतिभा र चेतना कृतिमा समावेश भएको हुन्छ । साहित्यकारले सामाजिक जीवनबाट घटना वा तथ्यहरू लिने भए पनि ती घटना वा तथ्यहरूलाई मानवीय संवेदना तथा अनुभूतिसँग पनि समायोजन गरेको हुन्छ । रेमन्ड विलियम्सका विचारमा संस्कृतिको दस्तावेजी रूप दार्शनिक चिन्तनका रूपमा सिर्जनात्मक अनुभूतिहरू हुँदै कृति प्रस्फुटित हुन्छ । मानवीय चिन्तन र अनुभव समाजको संस्कृतिबाट प्रभावित हुन्छ । मानव सुमदाय, वातावरण र व्यक्ति अनुभूतिबाट साहित्य सृजना हुन्छ (पाण्डेय, पृ. १७३) । समाजका जीवन्त संस्कृतिबाट अनुभूतिको संरचना हुन्छ र त्यही कृतिमा व्यक्त हुन्छ।

रेमन्ड विलियम्सले ग्राम्सीको प्रभुत्वको अवधारणाको सहयोग लिएर प्रभुत्वशाली र वैकल्पिक परम्पराहरूका साथै अवशिष्ट र उदेयमान परम्पराहरूको पनि चर्चा गरेका छन् । समाजमा उदेयमान संस्कृतिका नयाँ अर्थ र मूल्य साथै नयाँ व्यवहारहरू अनुभव र विचारहरूलाई आफूभित्र समाहित गर्ने प्रयास प्रभुत्वशाली परम्पराका तर्फबाट हुन्छ र विरोध वैकल्पिक परम्पराका तर्फबाट हुन्छ । रेमन्ड विलियम्सका विचारमा अनुभूतिको संरचना व्यावहारिक अनुभव र सैद्धान्तिक चेतनाबाट इतिहासलाई मूल्याङ्कन गर्ने साधन हो । वर्तमान वा अतीतको कुनै पनि समाजको साहित्य सामाजिक अवस्थाबाट बारिह हुँदैन ।

विलियम्सले तीन पिँढीको कुरा गर्छन् । उनका विचारमा पहिलो पिँढी : सासकतुल्य वा प्रभुत्वशाली हैसियतमा रहेको हुन्छ। दोस्रो पिँढीले : अघिल्लो पिँढीको प्रभुत्वका विकल्पमा आफ्नो अनुभूतिको संरचना निर्माण गर्छ । यस क्रममा दबाव र तनावको सृजना हुन्छ । तेस्रो पिँढीले त्यसको समाधान स्वरूप वैकल्पिक बाटो लिन्छ र नयाँ अनुभूतिको संरचना जन्माउँछ । रेमन्ड विलियम्सको यिनै सैद्धान्तिक मान्यताका आलोकमा ध्रुव सापकोटाको फाटो कथामा पाइने अनुभूतिका संरचनाहरूलाई अध्ययन गरिएको छ । यसमा पिँढीगत परिप्रेक्ष्यमा सिर्जित विविध अनुभूतिगत सन्दर्भहरूलाई अध्ययन गरिएको छ।

३. फाटो कथाको आख्यान सन्दर्भ

फाटो कथामा नेपालको पहाडी भू–भागमा बसोबास गर्ने निम्न वर्गीय परिवारको यथार्थ स्थिति चित्रण गरिएको छ । म पात्रको केन्द्रीयतामा कथाका घटनाक्रमहरू अगाडि बढेका छन् । निम्नवर्गीय स्थितिका बाबुआमाको एक्लो छोरो म पात्रलाई उनीहरूले खेतीपाती र दुःखजिलो गरेर सहरमा राखी पढाएका थिए । पढेपछि म पात्रले सहरमा नै जागिर खाएको छ र उसको परिवारलाई त्यहाँ राखेको छ जसले गर्दा उसलाई डेरामा बसी सहरिया परिवेशमा पत्नी र छोराछोरी पाल्न धौ धौ परेको देखिन्छ । म पात्रको बाबु वा बुढा यस्तो स्थितिमा ऊसँग पैसा माग्न पुगेका छन् । छोराले सहरमा जागिर पाउँदा नाक ठूलो पारेर हिँड्ने बुढाले म पात्र वा छोराबाट ठूलो आशा राखेका थिए । छोराले घरमा पैसा नपठाए पनि ऊ पढ्दाको ऋण छोराले दिएको भनी ढाकछोप पारेर पछि आफैले तिरेका थिए । गाउँमा नापी आउँदा तिर्ने पैसा म पात्रकी आमाले छोरासँग मागेर ल्याउन पठाएपछि बुढाले छोराकहाँ आएर पैसा माग्छन् तर म पात्रले दिन सक्दैन । बुढामा छोराले अन्य सरकारी कर्मचारीले जस्तै कमाएन भनेर असन्तोष बढेको छ । बुढाले गाउँमा जाने सरकारी कर्मचारीलाई खुव चाकरी गर्छन् तर त्यो प्रवृत्ति छोरालाई मन पर्दैन । भन्सारका कर्मचारी र अन्य घुस खाएर घरका सामान जोड्ने कर्मचारीको उदाहरण दिँदै बुढाले आफ्नो छोरासँग पनि त्यसरी भए पनि कमाउनु पर्छ भन्ने धारणा व्यक्त गर्छन् तर छोरालाई सिधा जागिरबाहेक दायाँबायाँ गरेर कमाएको मन पर्दैन । बुढाले छोराको स्थिति र डेराको बास देखेर पनि छैन भन्दा पत्याएनन् साथै म पात्रले पैसा दिन पनि सकेन । बुढा रित्तै घर फर्किए । एकातिर म पात्र सहरिया परिवेशमा बाँच्न निकै सङ्घर्ष गरिरहेका देखिन्छ भने अर्कातिर बुढाले छोराले बुढेसकालमा पाल्ला भन्ने जुन आशा बोकेर बसेका थिए त्यो पूर्ण रूपमा मारेर छोराको वास्ता नगरी गाउँमा बसेका छन् । यसरी यो कथा बाबु छोराको फाटोमा पुगेर टुङ्गिएको छ। यस कथामा पिँढीगत सोचाइमा भिन्नता आएको प्रस्ट रूपमा देख्न सकिन्छ । पढेर जागिर खाएपछि जसरी भए पनि छोराले धेरै कमाओस् भन्ने बुढा बाबुको आकाङ्क्षा देखिन्छ भने इमान्दार रहेर अर्थसङ्कटमा नै सङ्घर्ष गर्ने छोरोको धारणा सहज रूपमा कथामा व्यक्त भएको छ।

४. फाटो कथामा प्रतिबिम्बित पिंढीगत अनुभूतिहरू र प्रभुत्वको परिवेश

फाटो कथामा नेपाली समाजको निम्न वर्गीय सामाजिक परिवेशमा पहिलो पुस्ताले आफ्नो सन्तान वा दोस्रो पुस्ताप्रति गरेको माया, ममता र जिम्मेवारीपूर्ण कर्तव्य बोध र सङ्घर्षपूर्ण जीवन शैलीको चित्रण गरिएको छ । सन्तानको सहारा बुढेसकालमा पाइने र उनकै काखमा मर्ने अभिलाषा पहिलो पिँढीले राखेको देखिन्छ भने सीमित आय भएको निम्नवर्गीय परिवेशको व्यक्तिले सोझो जागिरको भरमा आफ्नो परिवार र बाबुआमालाई सहज रूपमा पाल्न नसक्ने स्थिति सिर्जना हँदा दई पस्ता बीचमा जन्मिएका सम्बन्धगत फाटो र सोचाइगत फाटोलाई फाटो कथामा चित्रण गरिएको छ । यस कथामा संरचित अनुभूति अनुसार प्रभुत्वशाली पिँढीमा अधिनस्त हुने प्रवृत्ति पहिलो पुस्तामा देखिन्छ तर दोस्रो पुस्ताबाट चेतनाको विकास भई सामन्तवादी प्रवृत्तिप्रति घृणा गर्ने भावात्मक अनुभूतिहरू व्यक्त भएका छन् । सामाजिक वस्तुबाट नै कला र साहित्यको विषयवस्तु प्राप्त हुने हुँदा साहित्यमा चित्रण गरिएका व्यक्तिगत जीवनको प्रत्येक पल समाजको सामान्य विशेषताबाट प्रभावित हुन्छ (विलियम्स, १९६५ : ३०५) । समाजका प्रत्येक पिँढीले भिन्दाभिन्दै अनुभूतिहरू अनुभव गरिरहेका हुन्छन् भन्ने विलियम्सको मान्यता जस्तै फाटो कथामा पनि नेपाली समाजमा विधेयमान सामाजिक, आर्थिक, राजनीतिक परिवेशबाट निस्किएका पिँढीगत अनुभूतिहरूलाई चित्रण गरिएको छ र उही परिवेशमा पनि बाबुको अनुभूति र छोराको अनुभूति भिन्दाभिन्दै रुपमा जन्मिएका छन्।

फाटो कथाको प्रमुख ‘म’ पात्रले जागिरे भएर पनि भोग्नु परेको आर्थिक दुरवस्था, सामाजिक उत्पीडन आदि नेपाली शासक वर्गको सामन्तवादी राजनीतिक परिवेशले निम्त्याएको आर्थिक र सामाजिक स्थिति संरचनाका परिणति नै हुन् । आर्थिक दृष्टिले हेर्दा भन्सारका कर्मचारी, मालपोतको हाकिम, खानेपानीको व्यवस्था गर्ने टोली आदि सामन्तवर्गको प्रतिनिधित्व गर्ने पात्रहरू हुन् । पिँढीगत दृष्टिले हेर्दा ती नेपाली समाजका प्रभुत्वशाली वर्गको प्रतिनिधित्व गर्ने पात्रहरू हुन् । व्यक्ति पात्र भएर पनि तिनले सिङ्गो पिँढीगत समुदायको चरित्रहरू र प्रवृत्तिहरूको प्रतिनिधित्व गरेका छन् । फाटो कथामा प्रमुख पात्र ‘म’ छोराका रूपमा र बुढा बाबुका रूपमा उपस्थित भई निम्नवर्गीय नेपाली समाजका आर्थिक, सामाजिक वर्चस्वबाट पछाडि परेका समुदायको प्रतिनिधित्व गरेका छन् । पिँढीगत दृष्टिले हेर्दा वर्तमान अवस्थाको वैकल्पिक अधिनस्थ पिँढीको प्रतिनिधित्व बुढाले गरेका छन् । बुढामार्फत सिङ्गो अधिनस्थ पिँढीको चित्रण फाटो कथामा गरिएको छ । ‘म’ पात्रले उदेयमान पिँढीको रूपमा कथामा प्रतिनिधित्व गरे तापनि खराब संस्कारको विरोध गरेर नयाँ परम्पराहरू स्थापित गर्न सकेको छैन बरु ऊ आफै दबाव र तनावमा बाँचेको देखिन्छ ।

४.१ फाटो कथामा संरचित अधिनस्थ पिढीका अनुभूतिहरू

नेपालको वर्तमान परिवेशमा पनि घुस खाने कर्मचारीहरूको पुरानो इतिहास कायमै छ । फाटो कथामा भन्सारका कर्मचारी, मालपोतको हाकिम जस्ता व्यक्तिहरूका चरित्रबाट यस्ता कुरा खुलेको छ । यिनीहरूले घुस खाने सरकारी कर्मचारीहरूका प्रवृत्तिहरुलाई संस्कारका रूपमा हुर्काएर आफ्नो प्रभुत्व समाजमा कायम राखी वैकल्पिक पिँढीलाई अधिनस्थ बनाउने प्रयासमा रहेका छन् । कथाको बीच भागतिर बुढाले मालपोतको हाकिमलाई गरेको चाकडीपूर्ण व्यवहार र उसले देखाएका चरित्रबाट यस कुराको अझै पुष्टि हुन्छ । कथाकारले एउटा अनौठो अनुभूतिको संरचना यहाँ गरेका छन् :

“मालपोत तिर्न जाँदा केही नपाएर तिनवटा याक चुरोट बुढाको खल्तीमा हुन्छ । त्यो चुरोट मालपोतका हाकिमलाई सल्काउन नदिएसम्म उनलाई सन्तोष हुँदैन । चुरोट दिन्छन्, सलाइ आफैले कोरिदिन्छन् । हाकिम फुईं फुईं चुरोट तान्छ। त्यो दृश्य बुढालाई स्वादिलो हुन्छ । त्यसबेला बुढा हाँसेर उभिन्छन्, तर आफू भने सधैं बिँडी तान्छन् ।” (शर्मा र सुवेदी, २०६० : १६८)

फाटो कथामा आएको यस सन्दर्भबाट रेमन्ड विलियम्सले भने जस्तै समाजको अधिनस्त पिँढीले प्रभुत्वशाली पिँढीको घुस खाने संस्कारलाई आफ्नै घुस दिने संस्कार जसरी स्वीकारेको कुरा प्रष्ट हुन्छ । बुढालाई हाकिमले चुरोट तानेको दृश्य रमाइलो लाग्नु र यसमा आनन्दको अनुभूति हुनु पनि त्यही कारणले गर्दा नै हो । निम्नवर्गीय व्यक्तिका रूपमा रहेका बुढाले आफूले बिँडी तानेर पनि हाकिमलाई चोट किनी तान्न दिने संस्कारबाट सामाजिक परिवेशमा नै त्यस्तो संस्कार रहेको कुरा प्रस्ट हुन्छ । यो एउटा व्यक्ति मनोविज्ञानको सन्दर्भ मात्र नभई समाजको संरचनासँग सम्बन्धित आम मानिसहरूका सामन्तवादी संस्कृतिको प्रभुत्वमुनि थिचिएर अवचेतन मनको स्तरबाटै जन्एिको अनुभूतिको संरचना भएको अवस्था हो । सामन्ती संस्कृतिमा आधारित प्रभुत्वशाली पिँढीको प्रवृत्तिलाई बुढा जस्ता गरीब र निमुखाले आफ्नै संस्कृति जसरी स्वीकारेको अवस्थाको अनुभूति यहाँ आएको छ ।

फाटो कथामा बुढाले छोरासँग पैसा मागेको सन्दर्भमा कथाकारले अर्को अनुभूति निकै मार्मिक ढंगबाट संरचना गरेका छन् । प्रभुत्वशाली पिँढीको संस्कृतिलाई आफ्नो संस्कार जसरी बुढाले स्थापित गर्दै छोरोकहाँ पैसा माग्न पुगेको प्रसङ्गलाई कथाकारले यसरी व्यक्त गरेका छन् :

“बुढा पनि अचम्मका छन् । उनको विश्वास के छ भने सरकारी कर्मचारी होस् या गाउँका नेता, तिनीहरूलाई केही नखुवाईकन कुनै पनि काम शुद्ध हुँदैन । उनीहरू भित्री तवरले नखुवाईकन कसैको काममा पनि हात हाल्दैनन् उल्टो बिगारिदिन्छन् । (…..) खुवाएपछि नमिल्ने काम छदैछैन र नखाने मान्छे पनि छैन । सो विश्वास उनको फलामे डन्डी. दरो छ अनि मनीप्लान्ट : झाङ्गिदो, फैलिँदो र लहराउँदो छ । यस्तो जावो नापीको काममा पनि खुवाउन बुढा उचालिएका छन् र म जस्तो हरिकङ्गालसँग मुख फोर्न सकेका छन् ।” (शर्मा र सुवेदी, २०६० : १६९)

फाटो कथामा आएको यस सन्दर्भबाट यस कथाको ‘म’ पात्रको अनुभूतिमा विरोधका भाव प्रकट भएको छ। आफ्नो बाबुको प्रवृत्ति छोरालाई मन पर्दैन । म पात्र वा बुढाको छोरो अर्द्धसहरिया परिवेश र विकृत ग्रामीण सभ्यताका चापमा आफूलाई कतै पनि स्थापित गर्न नसकेर रुमलिएको छ । उसले बाबुको घुस दिने संस्कारलाई छुटाउन पनि सकेको छैन र बुढालाई आफू जागिरे भए पनि आर्थिक सहयोग गर्न पनि सकेको छैन । घुस दिन हुन्न भन्ने चेतना हुँदाहुँदै पनि बुढाको मन दुख्ला भनेर खुलेर विरोध गर्न पनि सकेको छैन र आफै दबाब र तनावजन्य परिस्थितिमा सङ्घर्ष गरिरहेको देखिन्छ । यस कथामा शिक्षित छोरो र अशिक्षित बाबु हुँदा दुई पुस्ता बीच अनुभूतिगत सोचमा नै भिन्नता आएको छ । बाबुको पुरानो संस्कारलाई परिवर्तन गर्न नसक्दा फाटोको अवस्था सिर्जना भएको छ । विलियम्सले भनेजस्तै फाटो कथामा संरचित अनुभूतिहरूले पनि एउटा कालखण्डको सामाजिक संस्कार संस्कृतिलाई कथामा बन्दित बनाएको देखिन्छ ।

४.२ फाटो कथामा संरचित दबाबजन्य अनुभूतिहरु

फाटो कथामा प्रभुत्वशाली पिँढीले वैकल्पिक पिँढीलाई अधिनस्त बनाएको देखिन्छ भने उदेयमान पिँढी यी दुवै पिँढीबाट निस्किएका दबावजन्य परिवेशका अनुभूतिहरूको प्रतिपाद गर्दै अगाडि बढ्न प्रयासरत देखिन्छ । यस कथाको म पात्रले आफू बाँचेको सामाजिक संरचनाभित्र नयाँ सोच र बाटो खोजी समस्या समाधानका उपाय खोजेको देखिन्छ तर प्रभुत्वशाली पिँढीमा अधिनस्थ बनेका वैकल्पिक पिँढीका प्रतिनिधि उसका बा-आमाको प्रवृत्ति र संस्कारलाई परिवर्तन गर्न र समस्या समाधान गर्न सहजै सक्दैन । समय र परिस्थिति दुवै उसका प्रतिकूल देखिन्छन् । म पात्र वैकल्पिक पिँढीका विचारलाई परिवर्तन गर्न सक्दैन र आफै दबाव र तनावमा बाँचेको उसको अनुभूतिहरुलाई कथाकारले मार्मिक संरचना बनाएर यसरी व्यक्त गरेका छन् :

“सकेसम्म काम गछौँ, काम गर्न नसक्ने भएपछि कसैले हेरेन भने विष खाएर मछौं”, बाबुका यी कुरा सुनेपछि म आत्तिएँ यो समचारले मलाई कुटेभन्दा पनि बढी पीडा दियो ।” (शर्मा र सुवेदी, २०६० : १७०)

फाटो कथामा आएको यस सन्दर्भबाट म पात्रका पीडा बोधका अनभतिहरू प्रस्ट भएका छन । म पात्रले जागिर खाएको १०/१२ वर्ष भए पनि उसको चोखो जागिरबाट परिवार पाल्न सहरमा सङ्घर्ष गरिरहेको छ । यसले त्यहाँ अहिलेसम्म घर बनाएर स्थायी बसोबास गर्न सकेको छैन । आफ्ना बाबआमाको चाहना एकातिर अलपत्र छन् भने उसका चाहना अर्कोतिर छन । बढा बा-आमालाई पाल्न आफ्नो दायित्व ठान्दा ठान्दै पनि सहरिया परिवेशको विसङगतिपर्ण सामाजिक. आर्थिक समस्याले गर्दा सधैं डेरामा बस्न विवश भएको हुँदा उनीहरुलाई आफूसँगै राख्न पनि सक्दैन । उसले बुढा बाबुलाई पैसा माग्दा पनि कहिल्यै दिन नसकेर विश्वास गुमाएको देखिन्छ । बुढाले बुढेसकालमा छोराले पाल्छ भन्ने आशा मारेपछि छोरालाई भेट्न आउने काम पनि त्यागेका छन् जसले गर्दा म पात्रमा झन् बढी दबाव र तनाव सिर्जना भएको देखिन्छ । यस्तो स्थितिमा म पात्रका भावात्मक अनुभूतिहरू कथामा यसरी आएका छन् :

अन्ततोगत्वा के विचार गरें भने जे दुःख कष्ट भए पनि होस् अब बाबु-आमासँग नाता तोड्न राम्रो होइन, डेरा सर्दासर्दा काँध खुइलिसकेको भए पनि मलाई दुःख लागेको थिएन बाबुले विश्वास नगरेको र रिसाएकोमा मलाई चिन्ता थियो ।” (शर्मा र सुवेदी, २०६० : १७०)

यी अनुभूतिगत संरचनाका सन्दर्भबाट दुई पुस्ता बीचको द्वन्द्वात्मक विचार र परिस्थितिगत फाटोलाई सजिलै बुझ्न सकिन्छ । आर्थिक स्तर कमजोर हुनाले छोराले बाबुलाई सहयोग गर्न सकेन साथै बुढाले सरकारी जागिर भएर पनि छोराको यस्तो गतिलाई विश्वास गरेनन् । बुढालाई छोराले वास्ता नगरेको अनुभूति भयो भने छोरालाई आफ्नो निहिर्यताबाट बाबुको विश्वास र माया गुमाएको तीतो अनुभूति प्राप्त भयो । बाबुछोराको बीचमा फाटोको पर्खाल सिर्जना भयो । यसरी सामाजिक दबाव र आर्थिक दबावकै कारण समाजमा घट्ने घटनालाई फाटो कथामा यथार्थ रूपमा यस्तो चित्रण गरी पिँढीगत अनुभूतिलाई प्रष्ट पारिएको छ । वर्तमान समाजमा आर्थिक समस्याका कारण बाबु-छोराबीच द्वन्द्वात्मक परिस्थिति सिर्जना भई सोचाइगत फाटाहरू पैदा हुने क्रम बढिरहेको देखिन्छ । छोरा छोरीको सहयोगबाट वन्चित हुने बाबुआमा र बाबुआमाको राफिलो मायाबाट वन्चित हुने छोरा छोरीको परिस्थिति सामाजिक, आर्थिक तथा राजनीतिक परिवेशबाट सृजना भइरहेको छ । रेमन्ड विलियम्सले भनेजस्तै कथाकारले फाटो कथामा सामाजिक घटनालाई पात्र अनुभूति आरोपित गरेर समाजकै यथार्थलाई चित्रण गरेका छन् । सामान्य जागिरबाट परिवार पाल्न धौ धौ पर्ने स्थितिले गर्दा नै वर्तमान
शासकीय पद्धतिमा घुस खाने प्रवृत्ति बढेको देखिन्छ ।

फाटो कथामा बाबु र छोराको बीचमा विचारको फाटो आएपछि बाबु परिवर्तन हुन नसक्नु, छोरालाई भन्दा अन्यलाई विश्वास गर्नु, धाग र रवाफमा बाँच्न चाहनु, अन्य कर्मचारीले जस्तै छोराले पनि जसरी हुन्छ धेरै कमाउनु पर्छ भन्ने धारणा बनाउनु, आर्थिक अवस्था कमजोर हुँदा पनि घुस दिन तयार हुनुजस्ता कुराहरू बाबु बुढाका समस्याका रूपमा आएका छन् । यी सबै कुरा प्रभुत्वशाली पिँढीले थिचेर अवचेतन मनमा नै पारेको गहिरो प्रभावका कारण उत्पन्न भएका हुन् । रेमन्ड विलियम्सले भनेजस्तै यस कथाका बुढाले प्रभुत्वशाली पिँढीको दबावलाई आफ्नै संस्कार जसरी अगाडि बढाएको देखिन्छ भने उदेयमान पिँढीको उसको छोरो पनि उसकै दबावका कारण तनावग्रस्त जीवन जिउन बाध्य देखिन्छ ।

४.३ फाटो कथामा संरचित तनावजन्य अनुभूतिहरू

फाटो कथामा नेपाली समाजका सोझा र इमान्दारी व्यक्ति तथा कर्मचारीलाई नै सामाजिक, आर्थिक र राजनीतिक दबाव दिएर तनाव सिर्जना गराउने प्रवृत्ति रहेको र तिनैलाई सरकारी कारवाही समेत हुन सक्ने प्रवृत्तिलाई पनि सङ्केत गरेको देखिन्छ । आर्थिक स्तर कमजोर भएरै पारिवारिक फाटोमा फसेको फाटो कथाको म पात्रको जागिर सम्बन्धी तीतो तनावजन्य अनुभूतिलाई कथाकारले कथामा यसरी व्यक्त गरेका छन् :

“यहीँ आएर स्वप्नले आत्महत्या गयो । कहाँ थियो बुढाले नाक फुलाएर हिँडेको कुरा, छोराले सहरमा पाल्छ । त्यसमा पानी फेरियो । अझ यो कुरा सुने भने के ठान्लान्, यसबीच मेरो जागिर खोसिने कारवाही भइरहेछ । घर बनाएर बस्ने त कुरै छोडौँ ।” (शर्मा र सुवेदी, २०६० : १७१)

माथिको म पात्रको अनुभूतिगत सन्दर्भबाट वर्तमान समाज कति विसङ्गतिपूर्ण छ ? भन्ने कुरा प्रस्ट हुन्छ । आर्थिक, सामाजिक परिवेशले गर्दा दुवै पुस्ता असन्तोष र तनावमा बाँचेको देखिन्छ । फाटो कथामा न त म पात्रलाई सहज परिस्थिति सिर्जना भएको छ न त बुढालाई । दुवै पात्र आ-आफ्नै सामाजिक परिवेशमा दबाव र तनावबाट ग्रसित भई बाँच्न विवश छन् । नेपाली समाजमा हुर्किएको सामन्तवादी सोच र संस्कृतिले गर्दा इमान्दारी व्यक्ति वा कर्मचारीलाई बाँच्न निकै सङ्घर्ष गर्नु पर्ने स्थिति सिर्जना भएको देखिन्छ । इमान्दारी व्यक्ति वा कर्मचारी नै कारवाहीमा पर्छ र शोसक, फटाहा र खुस खाने भ्रष्ट कर्मचारीहरुले नै समाजमा अझै प्रभुत्व कायम गरिरहेका छन् भन्ने कुराको सफल चित्रण फाटो कथामा गरिएको छ । नेपाली समाजका इमान्दारी व्यक्ति तथा कर्मचारी र विपन्नवर्गका समुदाय प्रभुत्वशाली वर्गको दबावका चापमा तनाव र पीडा सहेर बाँच्न विवश छन् । त्यस्तै दवाव र चापको तनावयुक्त तीतो अनुभूति फाटो कथामा म पात्र मार्फत प्रकट भएको देखिन्छ । फाटो कथामा विपन्न वर्ग र सामान्य जागिरेका समस्या तथा पारिवारिक फाटालाई चित्रणगरी समाजको संस्कृतिलाई छर्लङ्ग पारिएको छ ।

५. निष्कर्ष

फाटो कथा वर्तमान समाजको यथार्थ परिस्थितिको चित्रण गरी सामाजिक संस्कृतिलाई प्रस्ट देखाउन सफल कथा हो । यस कथामा समाजमा विकसित सांस्कृतिक परिवेशबाट सिर्जित पिँढीगत अनुभूतिहरू चित्रण गर्ने क्रममा अधिनस्त पिँढीका दवावजन्य तथा तनावजन्य अनुभूतिहरुको सफल प्रस्तुति दिइएको छ । यस कथामा पिँढीगत दृष्टिले दुई पुस्ता बीचको संस्कृतिगत व्यवहार, चेतना, सोच र मनोवैज्ञानिक धारणागत अनुभूतिका संरचनाहरू सफल रूपमा चित्रण गरिएको छ। फाटो कथामा नेपाली समाजमा निम्नवर्गीय समुदायलाई प्रभुत्वशाली वर्गले दिने दबाव, तनाव र पीडाजन्य परिवेशलाई प्रस्तुत गर्न म पात्रले भोगेका परिवेश, परिस्थिति र तनावजन्य वातावरणका अनुभूतिहरूको उपयोग गरिएको छ । यस कथालाई रेमन्ड विलियम्सको अनुभूतिको संरचनाका मान्यताअनुरूप अध्ययन गर्दा पिँढीगत अनुभूतिहरू, दबाव र तनावका कारण व्यक्तिका मनमा उत्पन्न तिता-मिठा अनुभूतिहरू प्रस्ट रूपमा संरचित भएको देखिन्छ । यस्ता अनुभूतिका संरचनाहरू अध्ययन गर्दा फाटो कथामा प्रतिबिम्बित समाज र सामाजिक परिवेश पनि छर्लङ भएको छ । फाटो कथाले वर्तमान समाजको सामाजिक-आर्थिक परिवेशको पनि सफल प्रतिनिधित्व गरेको छ । फाटो कथामा कथाकारले आफ्नो भाव वा विचारलाई मूर्तरूप दिने क्रममा पात्रहरूका चरित्रचित्रणबाट समाजप्रतिको आफ्नो अनुभूति प्रकट गरेका छन् । साथै पात्र मार्फत आफ्ना अनुभूतिलाई सफल प्रक्षेपण गरी पाठकसामु प्रस्तुत गरेका छन् । प्रस्तुत कथा अध्ययन गर्दा वर्तमान समाजको यथार्थ परिवेशलाई सरल र सरस भाषाशैलीमा मार्मिक अनुभूति बनाई प्रस्तुत गर्नु नै कथाकारको ध्येय रहेको अनुभूति हुन्छ।

सन्दर्भसूची
क्षेत्री, उदय (२०६४), समाजशास्त्रीय दृष्टिमा इन्द्रबहादुर राईका आख्यानहरूको अध्ययन, अप्रकाशित विद्यावारिधि शोधप्रबन्ध, त्रि.वि. ।
बराल, ऋषिराज (२०६४), साहित्य र समाज, ललितपुर : साझा प्रकाशन ।
बन्धु, चुडामणि (२०६५), अनुसन्धान तथा प्रतिवेदन लेखन, काठमाडौँ : रत्न पुस्तक भण्डार ।
शर्मा, मोहनराज, खगेन्द्र लुइटेल (२०५२), शोधविधि, ललितपुर : साझा प्रकाशन ।
सापकोटा, ध्रुव (२०६०), फाटो, समसामयिक साझा कथा, मोहनराज शर्मा र राजेन्द्र सुवदी (सम्पा.), ललितपुर : साझा प्रकाशन ।
शर्मा, मोहनराज र राजेन्द्र सुवेदी (२०६०) (सम्पा.), समसामयिक साझा कथा, ललितपुर : साझा प्रकाशन ।

(प्रभा मरहट्टा (कोइराला) सहायक प्राध्यापक, नेपाली विभाग, सप्तगण्डकी बहुमुखी क्याम्पस, भरतपुर, चितवन)

(Source : The Saptagandaki Journal. All Rights Reserved Vol. VIII February 2017)

This entry was posted in समीक्षा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.