~प्रमोद अमात्य~
“सुन न, भरे पार्टी जानुपर्छ, मेरा लुगा निकाल्दिराख न है । जुत्ता पनि खोज्दिइराख है त ।”
“एक्लैएक्लै जाने केको पार्टी हो नि ?”
श्रीमतीजीले बिर्सिछ । अस्ति मात्र त्यत्रो रामकहानी सुनाएको; अफिसमा मास्टर डिग्री पढ्न जाने क्यानडाको सिट आएको छ भनेर । श्रीमतीजीले यति चाँडो बिर्सिई । हैन, बूढी भएपछि त मलाई पनि बिर्सन्छे कि के हो ! “अस्ति विवेकको पार्टीमा उसकी श्रीमतीले कस्तो गहना लगाएकी थिई, प्रकाशकी बूढीको साडीलाई कति पर्छ” भनेर सोध्न पर्छ, फ्याट्ट सम्झेर तुरून्तै भनिदिन्छे ।
नेपाल विद्युत् प्राधिकरणका लागि चार ओटा छात्रवृत्ति प्राप्त भएको थियो । त्यसमध्ये एउटा हाम्रा बडा हाकिम भट्ट सरको भागमा परेको गाइँगुइँ थियो । यो छात्रवृत्तिको गाइँगुइँसँगै यसबारे नानाथरी टीकाटिप्पणी पनि चुलिएका थिए, केही दिनदेखि अफिसमा ।
“भट्ट सरले भविष्यका ज्वाइँलाई पठाउने होला नि, क्यानडा… हा हा ।”
“घरज्वाइँ बनाउने भए आफू पनि लाइनमा लाग्न हुन्थ्यो ।”
“विस्तारै बोल, हाकिमको कानमा पर्ला नि ।”
“हा हा… ।”
“हैन, आफ्ना हनुमानलाई पो पठाउँछन् होला नि… ।”
भर्खरभर्खर स्थायी भएका, कुनै गतिलो काम नपाएका इन्जिनियरहरुको काम नै यस्तै बाह्रसत्ताइस गफ गर्नु भएको छ । यस्तै गफ गरेरै जागिर पाक्छ, यिनीहरुको । सुरूसुरूमा त यिनीहरुको बस्ने ठाउँ पनि थिएन । मेच पनि थिएन; काम र टेबलको त कुरै छोडौं । बस्ने ठाउँ नभएर प्राधिकरणको भ¥याङमा समेत बस्नुपरेको थियो यिनीहरुलाई केही दिन । सुन्दा पनि हाँसउठ्दो । यसरी दिन कटाउनेहरुमा म पनि सामेल थिएँ । दुई वर्ष जति भयो, कामको नाममा हाजिर कापीमा सही धस्काउने काम गरिराखेको ।
हाम्रा भट्ट सरको पहुँच मन्त्रालय मात्र होइन, दरबारसम्म पनि छ । त्यसैले त निर्देशनालय प्रमुख मात्र भएर पनि महाप्रबन्धकजत्तिकै धाक छ उनको । प्राधिकरणका तीन ओटा नयाँ गाडीमा यिनको रजाइँ छ । एउटा गाडी आफ्ना लागि, अर्को उनकी श्रीमतीजी यानि म्यामका लागि । र अर्को गाडीचाहिँ आफन्त र अपर्झट कामका लागि जगेडा । कृष्ण वर्णका, होचाहोचा र अलिकति फुकेको ज्यान भएका भट्ट सर प्राधिकरणको करिडोरमा टिलिक्क टल्कने जुत्ता लगाएर टकटक फूर्तिसाथ हिँड्दा जङ्गलका राजा सिंह नै हिँडिराखेझैं लाग्छ । यस्ता शक्तिशाली हाकिमले अस्ति क्यानडा पढ्न जाने सिटका लागि मेरा साथी बस्नेत काजीलाई मनोनयन गरेर सबलाई चकित पारे । चकित यस मानेमा कि, यी बस्नेत काजी न भविष्यका ज्वाइँवाला उम्मेदवार थिए, न उनका हनुमान सेनाका सदस्य । यो सिटमा को मनोनयन हुन्छ होला भनेर अनुमान गर्ने अफिसका अड्कलबाजहरुको अन्दाजिफिकेसनले हावा खायो यसपालि । अनुमानकारिताले हावा त खायो । तर यी होनहार अड्कलबाजहरुले हरेसचाहिँ खाएनन् । अन्ततः गहिरो अनुसन्धानपछि यिनीहरुले पत्ता लगाए— यी बस्नेत काजीका पिताश्री अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रधानका दाहिना हात हुन् । मतलब, अख्तियारका दह्रा व्यक्ति । हाम्रा भट्ट सर कम्ता दूरदर्शी छैनन्, त्यसै मोटो पावरवाला चस्मा लगाएका हुन् र !
हो, आज यिनै बस्नेत काजीले छात्रवृत्तिको सिट भेट्याएर क्यानडा उड्ने पक्का भएपछि अफिसका साथीभाइहरुसँग रमाइलो गर्न घरमा पार्टी बोलाएका हुन् । आज चिया होइन, चियर्सतिर लाग्ने हो । साथीको खुसीमा रम्नु र बस्नेत काजी जस्ता घरानियाँको पार्टीमा सरिक हुनुको मज्जै अर्को ।
“हैन, मेरो लुगा मिलाइदे’को हो भन्या ?”
“के लुगा मिलाइदिनु, धेरै लुगा भए पो ।”
“त्यही बिहेको सुट छ, अरु के छ र मिलाउनुपर्ने ?”
“त्यही भए पनि यसो मिलाउन न त प¥यो नि ।”
हुन पनि हो, यो चौध सयको तलबले घरखर्च चलाउनै धौधौ छ, अरु फर्माइस के नै गर्न सकिन्छ र ? धन्न बाबुबाजेको पुरानो भए पनि ओत लाग्न मिल्ने घर छ । अरुले हेर्दा यो इन्जिनियरले कुस्त कमाउँछ भन्ठान्छन् । आफ्नो भने अर्कै कथाव्यथा छ । कुस्त कमाउन आफू न कुनै आयोजनामा परियो, न परियोजनामा, अनि कहाँबाट कमाउनु ? कमाउने ठाउँसम्म घचेटिदिने न कुनै आफन्त भए, न बल पुगेका बाउ वा ससुरा बाउ ! त्यसैले बिहेकै सुट र बाटा जुत्तामै निस्केको छु । आज भने ट्याक्सीमै जानुपर्ला, सुट लगाएर बस चढ्नु सुहाउँदो कुरो भएन । लखरलखर हिँड्न त हुँदै भएन ।
“ट्याक्सी, ओ ट्याक्सी ।”
“हैन यो ट्याक्सीको कान पनि हुन्न कि के हो ? न हात हल्लाएको देख्छन् ! यी ट्याक्सीवाला हुन् कि नवाबजादा !” आफैं फतफताउँछु । यी ट्याक्सीवालाहरुले पनि हैरान खेलाउँछन् । उता हाकिम आइपुग्नुअघि पुगौं भनेको ट्याक्सी नै फेला परेको छैन ।
“ट्याक्सी, ओ ट्याक्सी, खुमलटार जाने हो ?”
“मन्डिखाटार भए जाने ।”
“खुमलटारचाहिँ किन नजाने नि ?”
“अर्कै खोज्नुस् ।”
“अलि थपिदिन्छु, जाऊँ न । अबेर हुन लागिसक्यो ।” हैन, कुरै पनि सुन्दैनन् यिनीहरु त ।
“ट्याक्सी, ओ ट्याक्सी ।”
“कता जानुहुन्छ ?”
“खुमलटार ।”
“खुमलटार कता ? भित्रभित्र भए जान्नँ ।”
“हैन मूल सडकमै हो ।”
बल्ल यसले चाहिँ लैजाने भयो, हत्तपत्त ढोका खोलेर पसें ।
“कति दिनुहुन्छ ?”
“केको कति ? मिटरमा चढे जति दिन्छु ।”
“मिटरमा लैजाने ट्याक्सी चढ्नुभएको छ कहिल्यै ? को जान्छ मिटरमा अचेल ?”
“अनि किन मिटर झुन्ड्याएको त ?”
“मिटर नझुन्ड्याई त कहाँ ट्याक्सी चलाउन पाइन्छ र ? त्यसै त ट्राफिकले घरिघरि सिठी फुक्छ, ट्राफिकले एक सिठी फुक्यो भने हाम्रो एक सय चैट् । आफ्नै मात्र सोचेर कहाँ हुन्छ सर ? ट्याक्सी ड्राइभर पनि त मान्छे हो हजुर । उसको पनि त परिवार हुन्छ, परिवार पाल्नुपर्छ ।”
“लल, मिलाएर दिउँला, गन्थन गरून्जेल त आधा बाटो पुगिसकिन्थ्यो ।”
ट्याक्सीवाला सोझै रहेछ, उत्रँदा दिएको पैसामा किचकिच पनि गरेन । बस्नेत काजीको घर थोरै भित्र रहेछ । ठूलो फलामको द्वार, अग्लो चिनियाँ इँटको पर्खाल अनि भित्र हरियो चौर । र किनारामा फूलका ठुल्ठूला गमला । घरको मुख्य ढोकाअगाडि गाडी बिसाउने ठाउँ । त्यसको पनि अगाडि ढुङ्गा छापेको आँगन । ठूलाबडा र खानदानी परिवारको परिचय घर आफैंले पनि दिँदो रहेछ । त्यही आँगनको एक छेउमा बार बनाइएको रहेछ । सबभन्दा पहिले काजीलाई खोज्न आँखा दौडाएँ । ऊ त्यतै अरुसँग व्यस्त रहेछ । उसलाई एक्लै हुँदा बधाई दिऊँ भनेर एकछिन कुरें ।
“पढाइ सकिएपछि काजीको क्यानडातिरै बिलाउने योजना त छैन ?” एक्लै भेट्नासाथ बधाई दिएँ र सोधें ।
ऊसँग मेरो राम्रै दोस्ती छ । तँतँमम नभए पनि तिमी र मको सम्बन्ध छ । उसलाई कम्प्युटरको काममा केही प¥यो भने सघाउने म नै हुँ ।
“बिस्तारै बोल, बुवाले सुनिस्येला, बारतिर लाग्दै गर, म अरुलाई हाई भनेर आउँला ।”
ऊ अरु साथीहरु भेट्नतिर लाग्यो, म लागें, बारतिर । काजीले बारमा रक्सीचाहिँ फर्माएका नै हुन् । नेपाली, स्क्च रक्सी, बियर, कोक, फ्यान्टा सबै छन् । आफूलाई त एउटा स्टार बियर भए नै काफी हुन्छ । एउटा बियर लिएँ र एक छेउको कुर्सीमा बसें । बसेको ठाउँमै स्न्याक्स आइपुग्यो । स्न्याक्स पनि विशेष रहेछ— बँदेल साँधेको । यो बँदेल साँधेको हत्तपत्त खान पाइँदैन काठमाडौंमा । यो विशेष परिकार छोड्ने कुरा भएन । आफूसँग बोल्न आउनेबाहेक अरुसँग बाह्रसत्ताइस कुरा गर्न उठेर कतै गइनँ । आफ्नै सुरमा बसिरहें । म एक्लै कताकता हराइरहँदा हाकिम आएर उता बसिसकेका रहेछन् । अफिसका जनता हाकिमको सेवामा जुटिसके । कोही स्कच लिन बारतिर दौडेका छन्, कोही स्न्याक्सवाला डाक्न गएका छन् । हाकिमसँगै हाम्रा बस्नेत काजी पनि बसेका छन् । हाम्रा भट्ट सर आज पनि सदाझैं चट्ट परेर आएका छन् । उनको छेउमा कुनै ब्ल्याक एन्ड ह्वाइट सिनेमाकी हिरोइन जस्ती देखिने सुन्दर महिला बसेकी छिन् । तिनी भट्ट म्याम हुन् भनेर ठम्याउन मलाई गाह्रो भएन । छिटोछिटो लागें, भट्ट सरलाई नमस्कार चढाउन । भट्ट सर तीखो बुद्धि र सम्झनाशक्तिका धनी छन् । मलाई देखेर परैबाट बोले ।
“के छ नवीनजीको हालखबर ?”
आफ्नी श्रीमतीसँग पनि मेरो परिचय गराइदिए ।
“उहाँ नवीनजी, हाम्रो प्राधिकरणका कम्प्युटर गुरू ।”
शिष्टाचारका केही शब्द र नमस्कार चढाएर म त्यतै छेउको एक समूहमा मिसिएँ । हाम्रो हिरो मित्र देवेश हाकिमलाई कुनै रमाइलो गफ सुनाउनमा तल्लीन छ । देवेश गोरो, अग्लो चिटिक्क परेर हिँड्ने भएकाले हामी उसलाई जिस्क्याएर हिरोचा भन्छौं । सँगै बसेका शरद देवेशको गफमा ताल मिलाउँदै छ । यी दुई हिरोहरु हुन्, भट्ट सरका हनुमान् सेनाका महासेनानीहरु ।
केही बेरमा खाना तयार भएको खबर आयो । खानाका लागि हाकिम उठेपछि सँगै बसेका पनि उठे । खानाचाहिँ घरभित्र खाने व्यवस्था रहेछ । घरभित्र पस्न जुत्ता खोल्यांै । भव्य भोजको व्यवस्था गरेका रहेछन् काजीले । थरीथरीका परिकारहरु रहेछन् । स्न्याक्स अलि धेरै खाइएछ कि कसो, खासै भोक नलागे पनि आफूलाई मनपर्ने तामा–आलुको झोल, चिकेन बिर्यानी र खसीको कवाफ भने छोड्न सकिएन । हाकिमले ठूलाबडाले खाने शैलीमा थोरै खाना लिएर बसे, उनले हातको गिलास भने अझ पनि छाडेका छैनन् । यसो हेरेर अनुमान लगाउन सकिन्छ, उनलाई हल्काहल्का लागिसकेको छ ।
“नवीनजी, हामी त लाग्यौं है,” घिमिरेजी र आचार्यजी फर्किन लाग्नुभएछ ।
“अलि टाढै पुग्नुपर्छ, अनि घिमिरेजीलाई पनि छोड्नुपर्छ । रमाइलो गर्दै गरौं, गुड नाइट ।”
घिमिरेजी धेरै भलादमी मान्छे । आँखामा राखे पनि नबिझाउने । साथै अफिसको गुटबन्दी, राजनीतिभन्दा टाढा बस्न रूचाउने । आचार्यजीलाई भने मानिसहरु चतुर साथै चौरसिया हाकिमका मान्छे भन्छन् ।
केही बेरपछि भट्ट सर पनि फर्किन तयार भए । भट्ट म्याम्ले हतार गर्नुभए जस्तो छ । हाम्रा बस्नेत काजी भट्ट सरलाई छोड्न ढोकासम्म गए । भट्ट म्याम आफ्नो जुत्ता लगाउनतिर लाग्नुभयो, भट्ट सर जुत्ता खोज्नतिर ।
“हैन, हजुरलाई आज एक पेग बढी भएकै हो, एक जोर जुत्ता खोज्न पनि यतिबेर लाग्छ र ?”
“हैन, जुत्ता छैन त”
“हजुरले जुत्ता यतै छोडिस्येको त हो ?”
“यतै फुकालेको हो, कता गयो होला ?”
“कहाँ जान्छ र ? आफैं हिँडेर पक्कै कतै गएन होला ।”
“हिँडेरै गएजस्तो छ, कतै छैन त ।”
“कस्तो जुत्ता थियो हजुर ?” बस्नेत काजीले जुत्ता खोज्न सघाइदिन खोजे ।
“कस्तो हुनु नि, प्योर लेदरको इटालियन जुत्ता थियो ।”
“कस्तो रङको जुत्ता भनेर सोधेको हजुर ।”
“कालो रङको हो, म रोम जाँदा उतैबाट ल्याएको । दुई सय डलर परेको जुत्ता हो !”
बडा हाकिमको दुई सय डलर पर्ने जुत्ता कता प¥यो प¥यो । जुत्ता हराएकाले सबैलाई नमज्जा लाग्नु स्वाभाविक भयो । बस्नेत काजीलाई त झनै नमज्जा भयो । अब सबै जुत्ता खोज्नतिर लागे । सबैले सबैतिर खोजे, जुत्ता फेला परेन । अब भने बस्नेत काजीलाई गाह्रो प¥यो । आफ्नो जुत्ता लगाएर जानुस् हजुर भन्न पनि बस्नेत काजीलाई अप्ठ्यारो । जुत्ताको नाप, नम्बर मिल्नप¥यो । केही गरेर नम्बर मिले पनि लगाइसकेको जुत्ता बडा हाकिमलाई कसरी दिनु ? चप्पल लगाएर जानुस् भनेर झन् कसरी भन्नु ? उनलाई आपतै प¥यो । कस्तो दशा लागेको होला, बस्नेत काजीलाई पनि ।
इटालियन, महँगो अनि मन पर्ने जुत्ता हराएर भट्ट सर पनि खिन्न छन् । “कसलाई के भनौं भएको छ” उनलाई । कसले पो लगाएर गयो होला ? अरुको जुत्ता त लगाएर नजानु पर्ने । कसैले चोरेर त के लग्यो होला र ? “पक्कै कसैले लुकाइदिए होला, कसको बदमासी रहेछ ?” कसैले भन्यो ।
“लुकाएको भए फेलापथ्र्यो नि, कसैले चोरेकै हुनुपर्छ !” अर्कोले थप्यो ।
“त्यो चोरलाई समात्नैपर्छ ।”
“त्यसलाई विभागीय कारबाही गर्नुपर्छ, त्यसको घरमा अख्तियार पसोस् ।”
“पहिले जानेहरुले त गडबड गरेनन् ?” कसैले शङ्का गरे ।
“पहिले जाने त घिमिरेजी हुन्, उनले यस्तो नचाहिँदो काम गर्दै गर्दैनन्,” मैले पनि थपें ।
“अरू पनि त निस्केका छन् नि ।”
कोही बोलेनन् । भट्ट सरलाई खाली खुट्टा देखेर छालाको चप्पल लगाउन दिए, बस्नेत काजीले । हाकिमको हनुमान देवेश एक पाइला अगाडि बढेर मुख्य द्वारमा गई बस्यो ।
“जुत्ता नभेटिएसम्म कोही पनि निस्कन पाउँदैन,” उसले घोषणा ग¥यो ।
सब चुपचाप छन् । अलिकति तनाव सबलाई छ । के भन्नु, के गर्नु भएको छ सबैलाई । बस्नेत काजी त अझ रूनु न हास्नु भएका छन् ।
“सबले आआफ्नो जुत्ता लगाऔं, त्यसपछि हेरौंला ।”
अर्काे हनुमान शरद पनि अगाडि सर्यो ।
सबैले आआफ्नो जुत्ता लगाए । भट्ट सर आफ्नो इटालियन जुत्ता नभेटेर निराश हुँदै छालाको चप्पलमै गाडीतिर हिँडे । सबैले आआफ्नो जुत्ता लगाएपछि बेजोडा दुई ओटा जुत्तामात्र बचे । कसले बेजोडा जुत्ता लगाएर गयो होला ? बस्नेत काजी ट्वाँ परे । बेजोडा जुत्ता लगाएर हिँड्ने को हुस्सु होला ? काजीले जुत्ता नियालेर हेरे । दुवै जुत्ता दामी देखिन्छन् । टिलिक्क पनि टल्किएका छन् । यी जुत्ता बाँसबारी वा बाटाका हैनन्, पक्कै पनि महँगा विदेशी जुत्ता हुन् । त्यही जुत्ता भए पनि देखाउन भनी उनी हस्याङफस्याङ गर्दै हाकिमको गाडीतिर दौडिए । उनको पछिपछि हामी पनि लाग्यौं ।
भट्ट सरले त्यो जुत्ता हेर्न पनि चाहेनन् । तर भट्ट म्यामले देखिहालिन् ।
“खै हेरौं त ?” तिनले जुत्ता हेर्न मागिन् । एउटा जुत्ता लिएर ओल्टाइपल्टाइ गरिन् । उनलाई जुत्ता कतै देखेदेखे जस्तो लाग्यो । उनले जुत्ता ठम्याइन् ।
“हैन, यो एउटा जुत्ता त हजुरकै हो, बैङ्ककबाट ल्याइस्येको थियो नि ! हो, यो त्यही नै हो ! यसको जोडा खै त ? अर्को जुत्ता हेरौं ।”
“जोडी त छैन हजुर, अर्कै जुत्ता छ ।”
भट्ट म्याम्ले अर्को जुत्ता पनि हेरिन् । त्यसलाई पनि ओल्टाइपल्टाइ गरिन । दोहो¥याई तेहे¥याई हेरिन् ।
“यो अर्को पनि त हजुरकै जुत्ता हो नि । अस्ति चौरसियाजीका छोरीको बिहेमा लगाएर गैस्येको हैन र ? योचाहिँ जर्मनीबाट ल्याइस्येको हो क्यारे ! यसको पनि जोडी छैन त !”
तिनले केहीबेर, केही सोचिन् ।
“ए… हजुर पनि… ! घरैबाट बेजोडा जुत्ता लगाएर आइस्येछ… !”
क्यालिफर्निया, अमेरिका
(स्रोत : बाह्रखरी डट कम)