~त्रिभुवनचन्द्र वाग्ले~
धेरै टाढाको यात्रा होइन
मलायाको रबडघारीमा दैडिएका दिन
खिया लागेको बन्दुकमा
घुर्मैलो अनुहार देखिन्छ
(अँ छोराले घिऊमा पितृको अनुहार हेर्छ ! )
दिनहरू छायाँ र अनुहारहरू प्रतिविम्ब भएका छन्
जूनकिरीहरू राँको सम्झाउँछन्
किराकिथिर्का युद्धनाद स्मरण गराउँछन्
बिरानो छ आँगन
पिँढीमा इतिहास थलाबसेको छ
(अँ इतिहास पढ्ने विद्यार्थीको कमी छ)
सत्यको अर्को पाटो;
इतिहास कोर्नेको अभावमा
इतिहास लेख्नेको वृत्ति चलेको छ ।
दीयोमा तेल सकिन्छ
आँखामा आँशु रसाउँदैन
बन्दुकको खिया झार्नु थियो तारपिनले
लुकेर रुने पिढीँ छैन दीयोको तेलझैं चुहिन पनि
छेवैको पालीखाबाँमा छोराले पप्पी बाँधेको छ
‘लाहुरेले रुन हुँदैन’
कमाण्डर खोक्छ !
यी मोरा हुलाकीहरू
मायाको मजेत्रोमा चिठी होइन चिन्ता खसाली दिन्थे
पेन्सेन पट्टामा
‘फ्याङ्ली’को फोटो हाँस्छ, हसाउँदैन
पलङ्मा कफ्र्यूले रेकी गर्छ
चुपचाप छन् नारीका नाडी
चुराहरूले गीत गाएका छैनन्–
‘आइद्यौ लाहुरे कुरेर बसेछु
तिम्रै नामको सिन्दुर घसेछु’
पाइतला दौडदैनन्
कुँजिएको छ मन
थलिएको छ इतिहास
आँगनमा कोविरुद्ध लडूँ
दुष्मन देख्दिन, आत्मन भेट्दिन
(अँ विरहको अन्त्यानुप्रासले जीवन कहाँ छन्द बन्दो रहेछ र !)
(विरहको अन्त्यानुप्रास)
त्रिभुवनचन्द्र वाग्ले
तनहुँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )