~प्रभा पोखरेल ‘स्वेशा’~
हो, यो चुवाको फुलको बोट पनि मलाइ नै जिस्क्याउन आएजस्तो लाग्छ, काउकुति लगाउन आएजस्तो लाग्छ अनि मलाइ सपनाको, कल्पनाको दुनियामा नचाउन आएजस्तो लाग्छ। तिन तलामाथि म काममा खटेको छु, झ्यालबाट हरपल पलपल यहि चुवाको फुलले सुटुक्क चियाइरहन्छ, बासना छपक्कै छरिदिन्छ अनि म खुट्टाहरु फतक्क गल्दापनि रोमान्चित भैरहेको हुन्छु, दिमाखको बोझ आफैं बिलाइदिन्छ। अरुले टाउको समातेर सबै समस्याहरुको ’boutमा गनगन अनि छलफल गरिरहदा, स्याना ठुला कुराहरुमा दिमाख खियाइरहेको बखतमा नि म चैं रोमान्चित हुदै आफैभित्र पुलन्कित हुदै आँखामा नशा लिएर हराइरहेको हुन्छु। न मलाइ सानातिना करकरले छुन्छ न मलाइ सानातिना बचन घोचाइले छुन्छ। ठुलो त के नै हुन सक्छ र मेरो मनको मायालु दुनिया, मेरो मनको खुसि अनि मेरो मनको मायाको महल भन्दा?
मैले यो महलको यो कोठा अनि यो परिबेशमा काम गरेको पाँच बर्ष भयो। न कैलै मलाइ यो चुवाको बोट याद रह्यो न यसको बासना न यसले चिहाएर यसरी साउती मार्न खोजेको कैलै चाल पाए। झ्यालहरु बन्दै हुन्थे। गर्मिमा चिसो हावा फाल्ने बटन खोलिदेउ, जाडोमा तातो हावा फाल्ने बटन खोलिदेउ, यहाँ आउ , जे काम फत्ते गर्नु छ गर, हड्डि खियाउ फर्केर जाउ, एबमक्रम चलिरहन्छ। यसको कुरा सुन, त्यसको कुरा सुन, यो छलफलमा जाउ, केहि सुन अनि केहि फलाक, तालिममा जाउ, कैलेकाहि चाप्लुसि गर, कैलेकाहि परिस्तितीदेखि रुष्ट बन अनि कैलेकाहि अलि पदोन्नति हुन्छ र खुसि मनाउ, त्यो खुशिले पोल्छ जब तिमि सगै काम गर्ने हिजोसम्म मित्र हुनेहरुले आज डाह गरेर खुट्टा तान्न खोज्छन्। जिबन कस्तो भएको रहेछ त? श्वास लिइरहेको थिए नी त्यसैले मुटु पनि चलिरहेको थियो, नशा- नशामा रगत पनि बगिरहेको थियो, हो म जिउदै थिए। तर के जिउनु भनेको त्यति मात्र हो त? जिबन बाच्नु, यो एकमुठि श्वास राख्नु , दुइचार डलर कमाएर बिल तिर्नु मात्र हो त? कदापि हुन सक्दैन। जिबन थाहै नपाइ एउटा यन्त्र बनेछ।
तिम्रो कसम मेरो हजुर, यो तिम्रो जादु हो। म मेरो जिबन जुन नमिठो उराठलाग्दो र अत्याशलाग्दो सपनि जस्तो भएको थियो, ब्युझिएको छु। तिम्रो मायाले मलाइ झक्झक्याएर ब्युझाइदिएको छ, जिउनुको अर्थ दिएको छ, श्वाश लिनुको मतलब सिकाएको छ। ब्युझिएपछि मैले लरक्क परेर हुर्किएको चुवाको बोट देखे, हाङ्गा-हाङ्गाबाट फुटेर निस्किएका कोपिला अनि फक्रिएका बैशालु फुलहरु देखे। ओहो! के भनौ हजुर मेरो मन चोर्छ यस्को पात पातले, डाठ-डाठले, कलकलाउदा कलिला चोखा पलाएका पालुवा अनि मगमगाउने यो बासनाले। मेरो कल्पानामाः तिमिले कैयौ पटक मेरो शिरमा यो फुल शिउरिएकोछौ। शिउरिदा शिउरिदै मलाइ लट्ठ्याएकोछौ, आफुतिर तानेको छौ अनि अङ्गालोमा बाधेको छौ। मेरो पेटमा, मेरो छातिमा, के ले मिठोगरी चिमोटेजस्तो हलचल भएर म तिमीमा हराएकोछु। अनन्त उचाइमा पुगेको मेरो छातिलाइ तिम्रो मजबुत छातिमा कस्सेर टाँसेको छु अनि फुत्किएर भाग्लाजस्तो ढुकढुक गरेर उफ्रिएको मुटुलाइ शान्त पार्दै अझ जोडले थिचेको छौ तिमीले। कसेको छौ मलाइ हो एकदमै सार्हो कसेको छौ आफ्नो सारा अङ्गहरुको श्पर्शले मेरा अङ्ग अङ्गमा मात चढ्नेगरी। तिम्रा बैशालु मातले भरिएका गुलाबि ओठहरुले मेरो नशा- नशामा उमङ्ग र उन्मात भरेको छ।शरिरभरिको एक-एक नशाको रगत सबै सोहोरिएर मेरो ओठबाट तपक्क चुहिन लागेकोबेला चुमेर आफुभित्र लिएको छौ। तिम्रा ओठहरुले मलाइ अर्कै सन्सारमा खिचेको छ अनि म बिलाएको छु तिमीभित्र। म जब कल्पनाबाट ब्युझिन्छु नि जिस्क्याउछ मलाइ यो आफु नग्न बनि एकअर्कासँग टासिएर छिल्लिएर फुलेको फुलले पनि , यसकै ’round मन्द मन्द हावाले हल्लिइरहेका अरु सबै बृछ्यहरुले अनि बासना लिदै हुर्किरहेको गुलाबि घन्टि फुलले।
तिमीलाइ थाहा छ, मेरो हजुर? यो फुलले मेरो चोखो पबित्र मायाको कल्पनाहरु, सपनाहरुअनि बैशालु उमङ्गहरु मात्र बोकेको छैन। मेरो बालापन पनि बोकेको छ। म त चुवाको फुलहरु खेलाउदै यसको पत्र पत्र मिलाउदै माला गाँस्दै मेरो सपनाको राजकुमारलाइ लगाइदिदै ढुङ्गामाटोसँग खेल्दै हुर्किएको हुँ। गाउको उकालो बाटो, अनि बाटोमा मध्यम शितल छाहारी बनाउदै ढकमक्क फुलेका चुवा र करबिरका जोडि। म निश्चल सफेत रङको अङ्गालो फैलाएजस्तो लाग्ने चुवालाइ फरिया गुतेकि झैं देखिने जिउडाल सुलुक्क मिलेकि पहेली करबिरसँग जोड्दै घन्टौ खेलिरहन्थे।
निश्फीक्रिसँग उफ्रिदै डाडाकाडामा झरना खोलासँग गित गाउदै हुर्किएको मेरो गाउमा तिमीले एकपटक के जान्छु भनिदिएको थियौ, मेरो कल्पनाले तिमीलाइ वहि पुर्यायो। हामि हात समात्दै उकाली चढ्यौं, गुटुटु दगुरेर त्यो ओराली झर्यौ। हो त्यहि झ्याम्म परेको अध्यारे बरको भुइभन्दा १० फिट माथि रहेको हाङ्गा भुइसम्म नुहायौ अनि दुइजानै त्यसमा चढ्यौ। हाङ्गा भुइबाट छुट्यो हामि माथि पुग्यौ, वाउ!!!!!सरररर बताश चल्यो, ढुकुरको जोडि गुडमा एक भएर मिठो निन्द्रामा झुलेका थिए , डाडामा रहेको त्यो बरबाट हाम्रो पुरानो घरको धुरीमा परेवापन्छिहरु चुचो जोड्दै घाम तापेका देखिए। अलि पर अरु हागाहरुमा बर खाँदै पिरती गाँसिरहेका चरीहरु देखिए, छेउमै रहेको कमेरोको गन्धले प्रकृतिले आफ्नो पौरखले बनाएको अत्तरको आभाश दियो। लट्ठ पर्यौ हामि प्रकृतिको फेदमा, हाँगामा, काखमा। हो म तिमीसँग डाडाकाडा डुलिरहे,तल-तल बेशिमा झरेर हामीले त्यहि कल्लेरी खोलामा आत भिज्नेगरी पानी पियौ, झुक्याएर पानी छ्याप्यौ छ्याप्-छ्याप्। जब भिजेर अङ्ग-अङ्गमा काउकुति लाग्न थाल्यो कपडा निचोर्दै एकअर्कालाइ पुलुक्क हेर्यौ। हाम्रो आँखा जुध्यो। निथ्रुक्क लुगाहरुमा चियाइरहेका बैंशबाट मायाको न्यानो बाफ निस्क्यो अनि एकैछिनमा हामी मायाम निथ्रुक्क भयौ। हरेक चौतारिमा पहाडबाट गुटमुटिदै बहेको यसै यसै मात लगाउने हावामा हामिले एकअर्कालाइ अङ्गालोमा बाँध्दै सुस्तायौ। होचा-अग्ला कान्ला-कान्लामा मायाले मलाइ तिमीले खिचिरह्यौ, खुल्ला यो आकाशमुनि कुनै बन्धनबिना।
हामि एकदिन त्यहि गाउको उकालोमा त्यहि चुवा र करबिरको फेदमा भुइभरी छरिएका फुलहरुलाइ सुम्सुम्याउदै बसिदियौ । सन्सारभरिको हिरामोति जुहार मैले काखमा पाएको आभास भयो जब तिमीले मलाइ आफ्नो काखमा राख्यौ अनि भन्यौ ,तिम्रो राजकुमार यहि आएको छ। भन सपनाको देश यहि हैन त?
-प्रभा
Sydney, Australia
(स्रोत : रचनाकारको ब्लगबाट सभार)