~सगाेत्री आचार्य~
आख्यान नारीका रूपमा परिचित कथाकार, सरस्वती गिरीको कथा सङ्ग्रह “उमेरको इन्द्रेनी”हालै सार्वजनिक भएको छ ।यस कथा कृतिले मातृत्वको महिमा सम्बन्धि केही नविन जिज्ञासाहरू पैदा गरेको छ । साहित्यविद्, स्टेभ माराबोलीले, “आफ्नै कथाहरूको हिरो हुन सकेनौ भने तिमीले मानवतावादको प्रस्थानविन्दु कतै न कतै गुमाएको पाउनेछौ” भनेजस्तै हरेक मान्छेको जीवनवृत्ति पनि केही न केही ज्योतिर्मय जिजीविषाहरूले जेलिएको हुन्छ । उसैगरि सरस्वती गिरीको जीवनयात्रा पनि जिन्दगीका अनेकौँ कठीनम छिनाझपटी र तरल संवेदनाहरूले लपक्कै भिजेको छ । मान्छेको जीवनमा कतै आँसुका खहरे छचल्किएर पीडाको सागर जमेको हुन्छ त कतै मुस्कानको बिहानी झुल्किएर खुसीको शिखर चुलिएको हुन्छ तर यी दुबै पक्षको अन्तरघुलन नभएको ऐहलौकिक जिन्दगीको अकेला भोगाइचाहिँ अहिलेसम्म मानव जाति नामको मिष्टभाषिणीले कतै भोग्न पाएको छैन र शायदै पाउने पनि छैन । तिनै लाल–धवल भोगाइहरूमा भेटिने जीवनका हजारौँ घुम्ती र लाखौँ कुइनेटाभित्र पनि अनेकानेक आहान, गल्प, किस्सा, कहानी र कुथुङ्ग्रीहरूको अनुभव कथा हो, आख्यान नारी, सरस्वती गिरीको प्रथम कथा सङ्ग्रह, उमेरको इन्द्रेनी ।
१. आख्यान तेरिजको सिंहावलोकन
यस समालोचकियतथा उत्खनकविचिन्तन भित्रश्रष्टा र सिर्जनाको संक्षिप्त सिंहावलोकन गर्ने जमर्को गरिएको छ । यसै सन्दर्भमा पुस्तक प्रकाशनको सुखद किफायती यो छ कि भेट भएको अत्यन्त छोटो समयमै कृतिका लागि भूमिका लेखिदिन सर्जक गिरीले गरेको आग्रहलाई सहजै अङ्गीकार गरेपछि प्रस्तुत पाण्डुलिपिको दर्पणलाई मैले आँखाको हत्केलामा राखेर नियाल्न थालेँ । नियाल्दै र पर्गेल्दै जाँदा कृतिभित्र चढ्न बाँकि आख्यान शिल्पका थुप्रै शिखरहरू भेटेँ । शब्द सागरमा डुबुल्किँदै रअझ भित्र कृतिका चोटाकोठा छिचोल्दै जाँदा डायस्पोरिक मातृत्वले भरिएको जीवन दर्शनको सिङ्गो ब्रह्माण्ड भेटेँ र भेटेँ अन्ततः एउटी निर्दोश चेलीको निधारमा ठोकिएको नियतीको अन्तिम किला । आजको विश्वग्राम सभ्यतामा त्यही नियतीको आतङ्कले त्रसित अभागीनी चेलीको कथा लेख्ने भाग्यमानी श्रष्टा सरस्वती गिरीलाई सटिक भूमिका वा समालोचनाकोसाविक प्रथम प्रहरबाटै स्वतः स्फूर्त बधाई ।
साथै भूमिकाको शिर्षकमा प्रयोग गरिएको ‘आख्यान नारी’को महत्तालाई आत्मसातीकरण गर्नु अघि यस उपमाको अर्थको सुपारी चपाउनु वाञ्छनीय हुनेछ । दशकौँसम्म कथामा वा आख्यानमा साधना गर्ने घगडान कथाकारहरूको महिमान्वित भिडलाई चुनौतीको चुप्पी देखाएर एकजना नवोदित कथाकार, सरस्वती गिरीलाई किन आख्यान नारी भनियो ? के उनी आख्यान नारीका रूपमा सुपरिचित हुन सफल हुन्छिन् या आख्यान लेख्ने रहरको पोको बोकेर कुनै प्रहर ओझेलको बर्को ओढेर निदाउँछिन् ? आख्यानका लागि चाहिने कथा कथन, कथाइ, कथानक, कथा नायक, कथान्तर, कथामुख, कथालिका, कथावस्तु, कथावार्ता आदिजस्ता न्युनतम् आख्यान ज्ञानको भाषिक शिल्प उपयोग गर्ने उनीसँग खुबी छ कि छैन ? शब्दकोशले दिएको परिभाषाभित्र उनको कथा अटाउँछ कि अटाउँदैन ? एकपटक नेपाल प्रज्ञा–प्रतिष्ठानले प्रकाशित गरेको नेपाली बृहत् शब्दकोशको परिभाषा नियालौँ । कथा– १. प्रबन्धात्मक रूपमा गद्यमा लेखिएको आख्यानात्मक लघु रचना; कहानी; गल्प । २. नाटक, उपन्यास, महाकाव्य आदिमा पाइने कथावस्तु; कथानक; कथासार । ३. चम्पूका रूपमा अथवा विशुद्ध गद्यमा लेखिएका आधुनिक कथा अथवा उपन्यासका पूर्ववत मानिने विविध आकारप्रकारमा विभक्त आख्यान साहित्यको पुरातन रूप; उपाख्यान; दन्तेकथा; आहान; किस्सा; कुथुङ्ग्री । ४. उक्ति; कथन; भनाइ । ५. नालीबेली; पुब्र्यौली; पुख्र्यौली; इतिवृत्त; इतिहास आदि ।
आख्यान नारीका बारेमा उठाइएका माथिका यावत जिज्ञासाको एकमुष्ट समाधान हो, उमेरको इन्द्रेणी । कथाकार सरस्वती गिरीलाई ‘आख्यान नारी’का रूपमा प्रथम पटक परिचित गराउन यो कथा सङ्ग्रह साक्षी बनेर उभिएको छ । कृतिभित्र विदेशी भूमिमा नेपाली चेलीहरूले भोगेका सत्य कथाहरूको आख्यानात्मक पक्ष कथा–सारको दृश्टिकोणले सशक्त छ । कथाहरू आफ्नै जीवनका भोगाइहरू हुन् भन्ने विश्वास अध्ययनका क्रममा पाठकले महसुस गर्न सक्छन् । पात्र मात्रै फरक हुन् । यो घटना त मेरै जीवनमा घटेको हो भन्ने खालको अनुभूतिको प्रशस्ती गाउन यो सङ्ग्रह सफल छ । यद्यपि यसले अहिले नै सनसनिपूर्ण सफलता प्राप्त गर्ने कुराको आंकलन गर्नुचाहिँ अति हतारो हुनेछ । आगामी संस्करण र थप नयाँ प्रकाशनका कोशेलीहरू अझै खारिएर आउने आशामाथि भरोषा गर्नु बाहेक अहिलेलाई हामीसँग अर्को कुनै विकल्प छैन ।
लेखक, फ्रान्सिस बेकनको एउटा दार्शनिक भनाई छ, “केही पुस्तक चाख्नका लागि हुन्छन्, केही निल्नका लागि तर थोरै मात्र पुस्तक चपाउन र पचाउनका लागि हुन्छन ।” अहिलेलाई यो पुस्तक चाख्नका लागि हो । स्वादिलो हुँदा पाठकहरू निल्नलाई स्वतः आतुर हुन्छन् । अझ चपाउन र पचाउनका लागि त निकै ठूलो शिल्प र साधनाको जरुरी हुन्छ । अनुभूति र कल्पनाको सन्तुलित उपयोग गर्दै अधिक शुक्ष्मताको रौं–चिरा बयान गर्न सके कथा स्तरीय बन्न सक्छ । आगामी दिनमा श्रष्टाले कथाको यात्रा थाल्ने बेलामा यसले सगुनको काम गर्नेछ भन्ने उज्यालो विश्वास लिएको छु । हुनत एउटा कथाकारलाई चाहिने जीवनका सघन अनुभूतिको महासागर नवोदित श्रष्टा गिरीभित्र यथेस्ट छ । काल्पनिकताको पनि कमी छैन । सपनाको नदी उर्लिने क्रम पनि रोकिएको छैन । यहाँनेर आख्यान नारीका रूपमा सर्जक गिरीलाई भविष्यदर्शी उपमा दिनुको अर्थचाहिँ सम्भावनाको एक जाज्वल्यमान नक्षत्रका रूपमा पहिचान दिन खोजिएको हो । कसैलाई पनि बिना नाम त कसरी बोलाउनु र ! नेपाली वाङ्मयका महान् र म्लान फलाना–फलाना कथाकारहरूको बिचमा सर्जक गिरीको पनि एउटा परिचय होस् र त्यो परिपक्व हुँदै जाओस् । यस क्रममा आख्यान नारीको उपमालाई एउटा नूतन सम्मानका रूपमा ग्रहण गर्ने तमाम पाठकहरूलाई म यसै भूमिका मार्फत् हार्दिक नमन टक्र्याउन चाहन्छु । अब चाहिँ मूमिकाको आँगनमा उमेरको इन्द्रेणी फिँजाएर यसको बहुरूप र बहुसार केलाउँदै यो कृति के हो र के होइन जस्ता नुनिला प्रश्नको गुलियो जवाफ पस्किन चाहन्छु ।
२. आत्मावलम्बी मातृत्व
प्रमोदी श्रष्टा, कार्लोस जाफुनले “कथा भनेको आफैँलाई लेखिने एउटा चिठी हो जसमा आत्माको उत्खनन् गरिन्छ ।” भनेजस्तै यस कथामा सर्जक गिरीले स्वयम् जीवनका मिहिन पक्षहरूको आख्यानीकृत अनुसन्धान गरेकी छिन् । गिरीको उमेरको इन्द्रेणी मातृत्वलाई केन्द्रीय विषय बनाएर लेखिएको एक ज्योतिर्मुखी आख्यान हो । यस कृतिका अधिकांश पात्रहरू मातृत्वको भूमिकामा छन् । नेपाली समाजको सांस्कृतिक उकुशमुकुशभित्र सासै फेर्न नसकेका चेलीहरू आज अरबको बालुवामा चिप्लिएर भाग्यको खेल हार्दैछन् । विदेशी भूमि इजरायल, क्यानडा, जापान, ओमान, हङ्कङ, अमेरिका, अस्ट्रेलिया जहाँ पुगेपनि आखिर नेपाली चेलीको दुःख जस्ताको तस्तै छ । दुःखको रूप फेरिए पनि रोदनको सार उस्तै छ । झन चुनौतीका चाङ थपिएका छन्, पीडाका पहाड ठडिएका छन् र स्वाभिमानको खोजीका लागि कलमको यात्रा अगाडि बढेको छ । मसीको नदीमा नुहाएर आत्मिक रोदनको हिलो पखाल्ने क्रम अगाडि बढेको छ । पछिल्लो समय नारीले मनको आँखामा हिनताबोधको कचेरा पाक्न दिनुहुन्न भन्ने सन्देश लिएर अड्डी कस्न थालेका छन् । उज्यालोको आकांक्षा थपिंदै गएको छ । “सिता”, “आमा”, “याफा”, “नियती”, “साफ्ता”, “इमान्दार”, “रिफ्युजी”, “डेवेन र सारा”, “बैदेशीक रोजगार”, “खाइम जीवन”, “बलात्कार”, “चकचके”, “उमेरको इन्द्रेणी”, “दिदी–बहिनी”, “प्रेरणा”, “अनुशासन”, “हत्या”, “केयर गिभर”, “ईश्वर” र “जेल” लगायत विविधि शीर्षकका कथाहरूमा आख्यान नारी सरस्वती गिरीले तमाम पीडित नारीलाई चुलोचौकोको घेरा नाघेर तन–मनमा उन्मुक्तिको डेरा जमाउन आख्यानात्मक आह्वान गरेकी छन् । यो उनीभित्र मौलाएको आत्मावलम्बी मातृत्वको एक ज्वलन्त प्रमाण हो । यस दृश्टिकोणले यो कथा सङ्ग्रह मानवतावादको दीप सल्काएर रुढी संस्कारको पुत्ला दहन गर्ने एक साहित्यिक विद्रोहको पुल्ठो बनेको छ ।
आमा नपाल्ने छोरालाई यस कृतिको शिर्ष कथाले दरो झापड हानेको छ । श्रीमतीको लहैलहैमा लागेर मातृत्वको उपहास गर्ने कुपुत्र चेतनाको कन्सिरी तानेको छ । “आखिर छोराको आँखाले आमाको माया किन देख्दैन । यस्तैगरि संसार चल्यो भने भविष्यमा कोही आमा बन्न चाहँदैनन, के छोराको आत्मा आमाको लागि रुँदैन । के संसार यस्तै हो स्वार्थी ? आफूहरूलार्ई मलबाट राम्रो सामान किन्छन् । रेस्टुरेन्टमा खाना खान्छन् । आमाचाहिँ छोराछोरी कतिबेला आउलान् र खाना खाउँला भनेर कुरेर बस्छिन् तर छोराबुहारी बाहिर खाएर आउँछन् । भोलिपल्ट त्यही बासी खाना आमाले खान्छिन् ।” (उमेरको इन्द्रेणी) । यसरी पीडाको छुराले मुटु रोपिएकी आमाको दर्दनाक कथा यस सङ्ग्रहको केन्द्रीय विषय हो । “आमाको माया छोराछोरी माथि छोराछोरीको माया ढुङ्गामुडा माथि” भन्ने नेपाली उखानलाई पुत्रत्वको प्रतिगमनले पुनर्पुष्टि गरेको कथ्य छ यसभित्र । अहिले परिवार विघटन हुँदै गएको छ । मान्छेहरू प्रगतिका नाउँमा घर छोडेर परदेश लाग्ने क्रम बाक्लिएको छ । सँगै बसेका छोराछोरीले पनि आमाको आवश्यकता पुरा गर्न सकेका छैनन् । आखिर आमालाई पढाउनु पनि पर्दैन, लगाउनका लागि धेरै महङ्गो र उपल्लो बस्त्र चाहिने पनि होइन तर दैनिक दुईछाक खान दिन पनि कति गाह्रो सन्ततिलाई ? कथाले वर्तमानका विचौलिया छोराहरूसँग यस प्रश्नको जवाफ मागेको छ । पारिवारीक आवश्यकतालाई तिलाञ्जली दिएर रहरको सवारी हुइँक्याउने आजका सन्ततीलाई यस कथा सङ्ग्रहले मनमा खड्ग हान्ने छ । रगत बगाएर हुर्काएको छोराले बुढो जीउमा रगत सुक्दै गएकी आमाको अस्थिपन्जर देखेर पनि किन नबिउँझिएको होला ! इरादा गम्भिर छ । यसरी ढेब्रा तरुनीको कठपुतली छोराले आमाप्रतिको कर्तव्य भुलेर मनको ढुङ्गामा मातृ सपनाको खोपी खेलेको देख्दा कसको मन जल्दैन र ! यो विषयको रौं–चिरा केलाउनु यस कृतिको सर्वाधिक उज्यालो पाटो हो । आफूभन्दा नजिक कोही छ भने त्यो आमा नै हो भन्ने धु्रबसच्चाइलाई आत्मसाथ गर्नु भन्ने आख्यानकारको प्रत्यक्ष–परोक्ष आत्म निवेदन छ यस कृतिभित्र । यसर्थ यस कृतिलाई भाषिक शिल्पको कसीमा मात्र जोखेर हेर्नु लेखकमाथि अन्याय हुनेछ । यसको सार पक्ष अत्यन्तै जिवन्त छ, शाश्वत छ र मातृत्वकाप्रति अत्यन्तै अभिप्रेरणादायी र अक्षरस स्वावलम्बी पनि छ ।
३. समयको मूल्यबोध
संघर्षको अर्को नाम हो जिन्दगी । “आरामले जिन्दगी बिताएकाहरूलाई हाम्रो इतिहासले सम्झिने छैन– थियोडर रुजबेल्ट ।” रैथानेले पत्याएका इतिवेत्ता रुजबेल्टको यस भनाइभित्र संघर्षको पेचिलो दर्शन छ । श्रष्टा गिरीको जीवनमा पनि संघर्षका अग्ला पहाडहरू छन् । ती पहाड छिचोल्ने क्रममा उनी सपनाको भिरबाट लडेर कैयौँ पटक घाइते भएकी छिन् । ३६ वर्षकी एउटी युवतीको जीवनमा आफ्ना प्रिय पतिको निधनले मुटु छियाछिया पारिदियो । नाबालक छोराछोरीका टुहुरा आँखामा आफ्ना स्वर्गिय पतिको मुहार हेरेर चित्त बुझाउनु अत्यन्तै कठिन थियो । अभावको भारी बोकेर हिँड्दा कर्तव्यको काँध कति खुइलियो–खुइलियो । यसरी आख्यान नारी, सरस्वती गिरीका स्व. श्रीमान वसन्त खवाससँगको पारस्परिक स्नेह चितामा जलेको दिन उनको जीवनमा पहिलो पटक यति गहिरोगरी समयको मूल्यबोध भित्रिएको हुनुपर्छ । यतिमात्र होइन श्रीमानको मृत्यु दर्ताको मसी सुक्न नपाउँदै त्यही वर्ष उनकी ममतामयी मुमाको मृत्यु भयो । यसरी उनको जीवनमा एकपछि अर्को बज्र खसीरहे । त्यसपछि पारिवारीक दायित्व र सामाजिक कुदृष्टिको अन्तरघर्षणमा जिन्दगी भकुण्डो बनेर ठोक्किन थाल्यो । दुःखको लात्तिले हानेर कहिले जिन्दगी अरबको बालुवामा जोत्तियो भने कहिले देशप्रेमको नसाले मातेर काठमाडौँको खुट्टामा ठोक्कियो । ऊ बेला लेख्ने रहर थियो तर समयले अनुमति दिएन । आज त्यही समयबोधलाई उनले आख्यानका रूपमा स्मृतिका पानाबाट टिपेर ल्याएकी छिन् । “लेखकले आफूलार्ई लेख्न मन लागेको कुरा लेखिहाल्नुपर्छ (रिफ्युजी) ।” यस कथाले भनेजस्तोचाहिँ हुन सकेन तर विस्तारै जे हुनुपथ्र्यो त्यो भएरै छोड्यो ।
यस कथाभित्र समय के हो ? समयले मान्छेलाई कसरी वसमा पार्छ ? समयभन्दा कठोर अरू केही छ कि छैन ? यति कठोर भोगाइहरू खप्नुपर्ने समयको बिकल्प के हो ? विकल्प छ भने के हो छैन भने किन छैन ? प्रश्नहरू यक्ष छन् । आखिर समयले यस्तो परिस्थितिको निमार्ण गरिदिन्छ कि त्यसबाट भाग्छु भन्दा न भाग्न पाइन्छ नत बस्छु भन्दा बस्न नै पाइन्छ । गिरीका कथाहरूले समयको सामथ्र्य थोरै भएपनि बोध गराउने अपेक्षा लिन सकिन्छ । “आफ्नै छोरीलार्ई सौताको रूपमा हेरिरहेकी थिइन् । पछि समाजले पनि थाहा पाए । पुलिसकेस पनि भयो । तर मुटु माथि ढुङ्गा राखेर रुनु सिवाय केही उपाय नै थिएन । मरुँ भने कान्छी छोरी सानै छ बाँचु भने कसरी बाँच्ने । दिनरात छोरी र श्रीमानको कुटाइ–पिटाइ खाएर बसिरहेकी थिइन् । सानी छोरी, दिदी र बुबाले मेरो आमालार्ई कुट्छन्, ठूली भएपछि म उनीहरूलार्ई गोलीले उडाइदिन्छु भन्थिन् (आमा) ।” कथाभित्रको यस मार्मिक भनाइमा लब्ध समयको सामथ्र्य लुकेको छ । समयले मान्छेलाई कति विवश बनाउँछ । आफ्नै छोरीलाई बलात्कार गर्ने श्रीमानको त्यो हर्कत हेरेर बस्न आज कथाकी पात्र बाध्य छिन् । यो नारी जगतले भोग्ने गरेको चरित्रको कालो धब्बा हो । समयले मान्छेलाई कहाँ पु¥याउँछ तर त्यो परिस्थितिको नाउँ लिएर आउँछ । बहुविवाहभित्रका जटिलता, बुढेसकालको पीडा, विधवा हुनुको विवशता र सांस्कृतिक उपेक्षा, बैदेशीक रोजगारीमा महिलाले खप्नुपर्ने यौनसँग सम्बन्धीत दर्दनाक कहानी, नारीभित्रका कमी र कमजोरी आदिलाई यस आख्यानले समयबोधका रूपमा उठाएको छ । सममग्रमा जीवन दर्शनको यो एक विशिष्ट मौलिक कृति हो जसमा भाषिक शिल्पको मसला हाल्न पाएको भए आख्यानको तरकारी कति स्वादिलो हुने थियो– भनी साध्य छैन । आगामी संस्करणमा त्यस्तै होस्– सागरभरीको कामना ।
४. भाषा र भाषिक शिल्पको उत्खनन्
“कु¥यो भने राम्रो चिज आउन सक्छ तर अती राम्रो चिज पाउन आफैँ बाहिर निस्कनुपर्छ– महात्मा गान्धी ।” गान्धीको यो भनाई कथाकार गिरीको लेखकीय जीवनसँग प्रत्यक्ष सम्बन्धीत छ । श्रष्टा गिरीले दशकौँसम्म बर–पीपलले चौतारो कुरेर बसेजस्तै जिन्दगीलाई कुरेर बसिन् तर अहँ आएन त्यो सपनाको उज्यालो निधारको क्षितिजसम्म र उनी अहिले आफैँ बाहिर निस्किइन् । कुर्दाकुर्दै उमेरले नेटो काट्यो । उमेरदेखि आफैँलाई डर लाग्न थाल्यो । कतै यो उमेरले आफूलाई बाँच्नुको आनन्द केमा छ भन्ने खबरै नदिइकन जिन्दगी सकिने त होइन ? प्रश्नले घोचिरह्यो बारम्बार । बचपनदेखिको सपना थियो लेख्ने वा लेखक बन्ने तर कहिल्यै त्यो साइत जुरेन । कहिलेकाहिँ फाटफुट नलेखेको पनि होइन तर बत्तिजस्ता लेखकहरूका सामू पुतलीजस्तो नयाँ पुस्ता डडेर खरानी हुनुको विकल्पै थिएन । इतिहासले सफलताको मसि जोहो गर्न सकेन । कलमको चुल्ठोमा समातेर हातहरूले कागजको छातिमा शब्दको टाउको बजार्न सकेनन् । फलत बाँच्नुको विवशता र समृद्धिको सपना बोकेर हिँडेको एउटा पिपिरो जिन्दगी विदेशको बारीमा पलाँससँग खेल्दाखेल्दै खलाँस भयो । यसरी स्वदेश र विदेशमा बस्दा उनले धेरै भाषाको ज्ञान लिने अवसर पाइन् । यस कृतिमा ती सबै भाषाको मिश्रण पाइन्छ ।
एउटै कृतिमा विविध भाषाको प्रयोग हुनु कृतिको नयाँ पक्ष हो । यसलाई विश्वव्यापीकरणको एक इकाइका रूपमा लिन सकिन्छ । श्रष्टा गिरीका कथाहरूमा पनि बहुभाषाको स्वाद चाख्न पाइन्छ । तखना मार्कजित– चौतारी, ओदित– इन्डियन, आनी रूस्ता मित खातेन– म तिमीसँग बिहे गर्छु, बोखेर तोभ– शुभप्रभात, आत मौतक खामुद्रा– तपार्इँ प्यारी कस्तो माया लाग्दी, बिसेदर– हुन्छ, लाईला तोभ– शुभ रात्री, सिरुतिम– बाथरुम, आत रुत्सा लेखेम गिवीना– तपाईँ पाउरोटी चिज खानुहुन्छ, ते माइम– चिया पानी, एन केसेम आफसाक– अहिले पैसा छैन । यसरी नेपाली लगायत इजरायली, हिन्दी, हिब्रु, अङ्ग्रजी लगायतका विविध भाषाको समिश्रण यस कथा सङ्ग्रहयो रोचक पाटो रहेको छ । कतिपयका लागि यो बोझिलो पनि हुन सक्छ तर जाति, क्षेत्र, लिङग, पिण्ड, वर्ण, धर्म आदिको सङ्कृणतामा बस्न नरुचाउने विश्व नागरिकलाई भने यसले कुनै फरक पार्ने छैन । विश्व अहिले एउटा गाउँमा परिणत हुन खोज्दैछ । प्रविधिको विकासले मान्छेलाई विश्वसँगको सम्पर्कमा सहज पहुँच थपिदिएको छ । यसलाई आत्मसाथ गर्दा यो विषय एकहदसम्म आवश्यक पनि लाग्न सक्छ । जेहोस बहुभाषिक शिल्प सहित यो कृति आएको छ ।
५ मुक्त निष्कर्षको सम्बोधन
प्रिय पाठकहरू, सरस्वती गिरीको प्रकाशनार्थ कृति पढेपछि म केही उन्मुक्त निष्कर्षमा पुगेको छु ।
पहिलो कुराः उनी नारी श्रष्टा हुन् तर उनीमा नारी हुनुको दम्भ कतै भेटिँदैन । “हामी हरेक कुरामा पुरुषलाई मात्रै दोष दिन्छौँ तर महिलाहरू पनि गलत छन् र विकृतीतिर लागिरहेका छन्” (जेल) । महिलाले महिलाभन्दा माथि उठेर मानव हुन सक्नुपर्छ । पुरुषले पनि पुरुष मात्र भएर पुग्दैन । पुरुषभन्दा माथि उठेर मानव हुन सक्नुपर्छ । यस जीवन दर्शनको नविन सत्यलाई आख्यान नारीले आत्मसाथ गरेको कुरा कथाभित्रका विविध किस्साहरूले वकालत गरेका छन् ।
दोस्रो कुराः उनको एउटा सफल लेखक बन्ने सपना छ । त्यो सपना लेखकका अनुसार बचपनदेखिको हो । अब त उनी रिटायर्ड लाइफमा छिन् । उनी काठमाडौँको पेप्सिकोलामा रहेको सन सिटीको पन्ध्रौ तलामा बसेर जीवनको आत्मिक उत्खनन् गर्न व्यस्त छिन् । कलमको आँखाले विश्व नियाल्ने उनको योजना छ । मसिले विकृति धुने सपना छ । बाँचुन्जेल हजारौँ अग्रज लेखकहरूको समिपमा पुगेर केही सिक्ने र सिकाउने, केही देख्ने र देखाउने सपना छ । यो कुनै अलौकिक कुरा होइन । यो पुरापुर सम्भव छ ।
तेस्रो कुराः उनी समाजसेवी हुन् । सकेको समाजसेवा गर्दै आएकी छिन् । यस कृतिको विक्रिबाट प्राप्त आम्दानीले बाढी पीडितलाई केही सहयोग गर्ने उनको योजना पटक पटक सार्वजनिक रूपमा व्यक्त गरेकी छिन् । दृष्टिविहिन र भौतिक रूपमा कुनै न कुनै अपाङ्ग भएकाहरूलाई तथा बुढाबुढी र केटाकेटीलाई आफूले सकेजति सहयोग गर्ने उनको पवित्र चाहना छ । इजरायल र क्यानडामा बस्दा पनि उनले अप्ठ्यारोमा परेका नेपालीहरूलाई सक्दो सहयोग गरेको इतिहास यसै कथा सङ्ग्रहभित्र आख्यानका रूपमा सङ्ग्रहीत छ । उनी एक महान् लेखक तथा समाजसेवी बन्न सक्ने सम्भावनालाई स्वीकार गर्न गाह्रो छैन । यसका लागि इतिहासका केही महत्वपूर्ण रेकर्डहरू नियाल्न सकिन्छ । चिया बेच्ने नरेन्द्र मोदी भारतका प्रधानमन्त्री बने । कवाडीको काम गर्ने स्टिभ जब्स एप्पलका मालिक बने । वेटरको काम गर्ने लियोनल मेस्सी धनाढ्य र विश्व प्रसिद्ध फुटवल खेलाडी बने । भिख मागेर जीवन चलाउने चार्ली च्याप्लिन विश्वविख्यात हास्य कलाकार बने । दुई सय रुपैँया बोकेर हिँडेका पुष्कर शाहले विश्व घुमे । कलेज छोडेका विल गेट्स विश्वकै धनी व्यक्ति बने । एस. एल. सि. मा पटकपटक फेल भएका रविन्द्रनाथ टैगोर विश्व प्रख्यात कवि बनेर नोबेल पुरस्कार जिते । दाउरेको छोरा अब्राहम लिंकन अमेरिकाको राष्ट्रपति बने । इतिहासका यी महान् आदर्श व्यक्ति र उनीहरूको अमूल्य सफलतालाई स्वीकार गर्ने हो भने गिरीको सपना पुरा हुने कुरामा शंका गर्ने ठाउँ छैन । भलै त्यसका लागि त्याग, समर्पण र लघावको पाटो उनीभित्रै निहित छ ।
चौथो कुराः उनलाई नेपाली, अंग्रजी, हिब्रु, हिन्दी लगायत विविध भाषाको ज्ञान भएको हुनाले उनी भाषाको राम्रो अध्यता बन्न सक्छिन् । अनुवाद र सिर्जनामा एकसाथ कलम चलाएर धेरै लेखकका लागि साहित्यकारिता गर्न सक्छिन् । यो उनीभित्र सुरक्षित अमूल्य सम्पत्ति हो । यस कृतिमा पनि विविध भाषाको रङ भेट्न सकिन्छ । यो यसको भाषिक समृद्धिको पाटो हो । पाँचौ कुराः सर्जक गिरीको उमेरको इन्द्रेणी एक अग्र्यानिक कथा हो । यो कुनै विश्वविद्यालयको परिक्षाका लागि लेखिएको होइन । यो त जीवनको परिक्षा दिने क्रममा भोगिएका सजिव अनुभवहरूको दस्तावेज हो । कुनैपनि सिर्जनामा चढ्न बाँकि शिखरहरू रहन्छन् नै । त्यसमा पनि यो त आधार शिबिरको यात्रा हो । यसमा अभावको दवाव नहुने कुरै छैन तर शिखर पुग्नका लागि चाहिने रूप पक्ष र सार पक्षको न्युनतम् तयारी नभएको रचना यस कृतिभित्र एउटा पनि छैन । छँदैछैन । सिकारु लेखक हो भनेर यस कृतिलाई हेलाहोचो गर्नेलाई माहुरीको घारमा डाइनाको कचकचका रूपमा बुझेको छु । “आलोचनाबाट बच्ने तीन उपाय छन्, केही नगर, केही नभन, केही नबन– अल्बर्ट हुवार्ड ।” हुवर्डको यस भनाइले प्रस्ट्याउँछ कि केही गर्नुछ भने केही अपजस, केही प्रतिरोध, केही आलोचना, केही व्यङ्ग्य, केही छेड, केही अवरोध अवस्य आउँछन् । सामना गर्न सर्जक गिरी तयार भइन् । कृति प्रकाशन भयो । झर्रो भाषामा भन्दा– भए हुन्छ नभए सन्च । उनीमा साहस थियो । कथा सङ्ग्रहका रूपमा छापियो । बुझ्नेहरूले बुझुन् अरूहरूले जेसुकै गरुन् । यहीँनेर डुग्लास पागेलको एउटा दार्शनिक भनाई औधि विचारणीय हुन सक्छ, “हरेक नयाँ दिनहरू जिन्दगीका खाली पानाहरू हुन् जहाँ सफलताका तमाम रहस्यहरू सुन्दर कथाका रूपमा अवगुम्फित हुन्छन् ।” यस भनाइलाई आख्यान नारीले उमेरको इन्द्रेणीका रूपमा चरितार्थ गरेको भेटियो जुन आख्यान रुचाउनेका लागि खुसीको उम्दा हो ।
अन्त्यमा पुस्तकले संसारलाई सासन गरेको देख्ने भोल्टेयर, पुस्तक बराबरको अर्को बफादार मित्र नदेख्ने अर्नेस्ट हेमिङ वे र पुस्तक विना बाँच्न नसक्ने थोमस जेफर्सनजस्तै आख्यान नारी, सरस्वती गिरीको पुस्तक लेखन, अध्ययन, अनुसन्धान, प्रकाशन र सम्प्रेषणको उज्यालो यात्रा अविच्छिन्न ज्योतिर्मय बनोस् । उमेरको इन्द्रेणी मार्फत् थप कालजयी सिर्जनामा कल्पकल्प सफलताको कामना सहित कृति कल्याणको कामना गर्छु । अस्तु ।
(स्रोत :मकालु खबर डट कम)