~कालूसिंह रनपहेंली~
आँगनमा एउटा मुढा राखेर चामे हुक्का गुडगुडाइरहेछ। साँझ खस्नै लागेको छ। स्वास्नी माइत गएकी छ, कचिङ्गल पारेर।
चामेले हेऱ्यो -पारि क्षितिजमा एउटा रेखा कोरिएको छ। छैन र पनि छ भन्ने भ्रम। उसैको झझल्कोजस्तो। घरि – घरि भित्र स्वास्नीले चुल्हामा तिहुन झ्वाइँयय.. पार्दैछे कि भन्ने लाग्छ। फिका चिया डबकामा लिएर निस्कन्छे कि लाग्छ। तर अहँ, क्षितिजको रेखाजस्तो त्यो सोचाइ पनि भ्रमपूर्ण छ, असत्य छ।
आँगनमा एक छेउको नेभारा र अर्को छेउको अम्बकको रूखमा बाँधेर एउटा तार टाँगिएको छ। स्वास्नीले भएभरको गरीबी सुकाउँथी त्यसैमा। त्यो तार आज लुङ्दरको लुगा च्यातिएर बाँस मात्र रहेजस्तो; उनिएका जम्मै पात, फूल र रङ्गीन कपडाहरू झरिसकेका घर वरिपरि लट्किएका तोरणको डोरीजस्तो शून्य – शून्य छ। आँखाका पयरले त्यो तारलाई टेकेर घरि – घरि हल्लिरहन्छ चामेको मन।
साँझ खस्न – खस्न लागेको छ। चामे एक तमासले उदास छ। साँझ भनेको रातलाई निम्त्याउन काटिएको एउटा कालो बोको। एक डोको कालो बोकेर समय आउँदैछ आँगनतिर, आउँदैछ।
चामेले विचारको चाम बाँध्यो। विगतका घटनाहरू सोच्यो। भूलहरूको लुगाबाट पछुतो टकटकायो ‘मेरै भूल! कस्तरी भकुरेछु त्यो सृष्टिलाई! ममा मकैको दाना छ – म त्यसैमा मक्ख? दानाभित्र खोया मैले किन सोचिनँ? अलिकति ढुङ्गा भेटें भन्दैमा बारीको उर्वरतालाई नै लाञ्छना लगाउनु? आखिर उर्वरता त उर्वरता नै हो। त्यो ममताको उर्वरता, मातृत्वको उर्वरता, सृष्चिको उर्वरता! भूल नै भएछ!
चामेले विचारको लट्ठी टेकेर सकी नसकी उठ्न खोज्यो ‘गल्ती भयो त के भयो? सुधारको बाटो त छ! भूल भयो त के भयो, संशोधन भेट्न दगुर्न सकिन्छ। पश्चाताप टेकेर भए पनि फेरि एकपल्ट सुधार हिँड्नपऱ्यो।’
चामेले गोठमाथिको त्यो परालको थाकतिर हेऱ्यो, जो हिजोसम्म थियो। राती गोठबाट फुस्केको आगोले त्यो थाक दन् दन् जलेको थियो अनि अहिले हिजोको परालको आगो निभेर खरानीको राश मात्र थियो। त्यो खरानीले ऊँभोतिर जाने बाटै ढाकेको थियो। अब कतै जाँदा त्यही खरानी टेक्दै हिँड्नुपर्नेछ। चामेले सोच्यो, ‘के म आजको सुधार हिजोको परालको आगोपछिको खरानीमाथि टेकेर हिँडौं? होइन बाटो त अरू पनि छन्। घरको ऊँधोतिर गएको बाटो पनि त छ। यही आगो नलागेको, खरानी नछरिएको बाटो सुधार हिँडौ कि?’
त्यसै बेला दुइवटा गौंथली आई तारमा बसेपछि चिरबिराएर प्रेम बज्न लागे। चामेले चनाखो भएर गौंथलीतिर हेऱ्यो। अहो! प्रेम चिरबिराउँदैछ। एकछिन तारमा हल्लिएपछि गौंथलीहरू दलिनको गुँडभित्र पसे।
चामेको मनभित्र कुन्नि कस्तो तुष्टि सञ्चार भयो। गौंथलीहरू चारो टिपेर गुँडमा फर्किसके, चामेको चुल्हा सल्केको छैन। तै पनि गौंथलीको गुँडतिर हेरेर चामे आफैसित हाँस्यो। ‘अहो! घरमा गौंथली!’ उसले मनमनै दोहोऱ्याएर भन्यो, ‘घरमा गौंथली!’
गौंथलीले च्यापेर साँझ पनि ल्याएका थिए। चामे हत्पताएर घरभित्र पस्यो। बत्ती बलेको छैन र पनि उज्यालो छ, चुल्हो जलेको छैन तर पनि पेटमा भोकको ज्वाला छैन। घरमा गौंथली छन्। छन् गौंथली घरमा।
बत्ती बाल्न मन लागेन। ढोकामा आग्लो लगाउन पनि मन परेन। ढोका ढप्काएपछि चामे चामछाम – छामछुम गर्दै गएर ओछ्यानमा पल्टियो।
अँध्यारोमा विचार उज्यालो भएर आयो चामेको। उ सोच्दैछ, ‘बाहिरतिर छन् गौंथली, आफू भित्र! माझमा ढप्केको एउटा दैलो छ। दैलो भनेको खोलिने सम्भावना। खोलिनु सक्छ नि दैलो! किन चिन्ता?’
चामेले कोल्टो फेऱ्यो। विचारधाराको प्रवाह अर्कोतिर भँगालियो, ‘के हो यो माया भनेको? के हो यो प्रेम भनेको? के हो यो मोह भनेको? यति नजिकमा पनि टाढा अनि त्यति टाढामा पनि नजिक!’ माया – मोहको सामीप्य र व्यवधान नाप्दै थियो चामे, निदायो।
सपनामा चामेले गौंथली देख्यो। गौंथलीहरू देख्यो। चिन्न सकेन भीडमा कुनचाहिँ गौंथली आफ्नी हो। गौंथली खोज्दा गौंथलीहरूको भीडमा चामे पनि हरायो। एउटा ठूलो दुर्घटनामा पर्नै लागेको थियो, चामे झल्याँस्स बिउँझ्यो।
बाहिर उज्यालो खसिसकेको रहेछ। चामेले झ्याल खोल्यो। पारि क्षितिजमा उज्यालोको मात्रा बढ्न लागिरहेको थियो। चराहरू चिरबिराउन लागिसकेका थिए।
चामेले ढोका खोल्यो। गुँडका गौंथलीहरू अघि नै आँगनको तारमा बसेर कराउन लागेका रहेछन्। जसै चामेले दैलो खोल्यो, ती गौंथलीहरू भुर्रर…उडेर गए।
चामे गौंथलीहरू उडेर गएको दिशातिर हेर्न लाग्यो। हेर्दाहेर्दै ती गौंथलीहरू चामेका आँखाबाट ओझेल भए। चामेका नयनहरूले भने एकोहोरिएर ती गौथलीहरूलाई नै दृष्टिका हातहरूले सुम्सुम्याउन चाहिरहेका थिए – चाहिरहेका थिए।
एउटा दिनको आरम्भ चामेको अघाडिपट्टि थियो। निरन्तरताको त्यो एउटा पन्छी भने समयको पखेटा फडफडाएर उडिरहेथ्यो – उडिरहेथ्यो।
(अक्टूबर 2010)
(स्रोत : रचनाकार डट कम)