कविता : म हराउँदै छु

~बिपिन शर्मा~

म ओइलिएको गुलाव
हातमा बोकि
अस्ताउन लागेको घाम
नियाल्दै हुन्छु
लाग्छ,
अर्थहिन एउटा पर्खाईको
अन्त्येस्टी हुन लागेको छ।
आशाहरु अर्धमृत
मनभित्र साँचेर
म अस्ताउँदै गरेको घाम
एकटक नियाल्दै हुन्छु ।
अव केहि हुने छ
हो,
अव साँच्चै केहि हुने छ।
दिनभरको थकानले
चुर भएको घामले
चुपचाप मलाई भन्छ
अव केहि हुनेछ।

मन भित्र दन्केको आगो बोकि
म जल्दै गरेको सगर हेर्छु
अव निभ्नै छ उसले
अव,
साँच्चै निभ्नु छ उसले
अझै बल्न उर्जा बाँकी छैन
धुवाँ धुलो र खरानीमा
रूपान्तर हुँदैछ ऊ ।।
फेरि लाग्छ,
घामको रापलाई सहन
धर्ती अव तयार छैन,
सगरमा लागेको डढेलो
बिस्तारै निभ्दैछ
अँध्यारोले निरन्तर
उज्यालो लाई निल्दैछ,
र म पनि
यहि अँध्यारोमा
आफुलाई घोल्दैछु।
अनुभुतिका पानाहरु
अव खोलिने छैनन
खोलिएका जति सवै
एकसाथ बन्द हुँदैछन्।
म चुपचाप आफुलाई
सुम्पँदै छु,
म साँच्चैनै
बिलिन हुँदैछु अँध्यारोमा
अव म हराउँदैछु
फेरि नभेटिने गरि ।।

(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.