~अश्रु सिन्धुलीय~
१.
झ्याउँकिरी कराएर रातमा
चन्द्रमालाई जिस्क्याइरहेका छन् ।
आकाश गङ्गामा आजमात्रै रकेट पसेछ
मान्छेहरू नाङ्गै खुट्टा आकाशमा दौडिरहेका छन्
हिमाल पग्लँदो छ, प्रशान्त महासागर फैलँदो छ
सिल मरिरहेकोमा ठुलो कोलाहल छ
प्रत्येक दिन, प्रत्येक छिन घरघरबाट मान्छे थुतेर
मारिँदा छन्, तर त्यो मौनताको विषय बनेको छ ।
मान्छे भोकैछन्, मान्छे रोगी छन्, मान्छेले मान्छे मारिरहेका छन्
हिउँ पग्लेको छ, झ्याउँकिरी अहिले अलिअलि दयालु भएका छन्
भ्यागुता सडकमा छन् र सडक लमतन्न सुतिरहेको छ ।
२.
रोजी रोजी पद छान्दैछन्
रोजी रोजी कारागारका कोठाहरू छान्नु पर्ने थियो होला ।
कारागर खालि गर्नु परेको छ ।
सडकमा अपराधीहरू छताछुल्ल पोखिएका छन्
कारागार सडकजस्तै भएको छ
बाटो खुल्ला छ कारागारसम्मको बाटो पातलो भएको छ
सबै सडकमा घुमिरहेका छन् , सडक नै कारागार भएको छ ।
३.
संस्मरण पातलो पातलो पारदर्शी छ
बिर्सनु जरुरी छ
वञ्चनम् चापमानम् च मतिमान्नप्रकाशयेत्……
कुरो खोल्नु जरुरी छैन
सम्झना पातलो नभए त बिर्सनु कसरी र ?
४.
सपिण्डीमा मारामार छ, काटाकाट छ, हानाहान छ
जोसँग विचारमा प्रतिस्पर्धा हुनुपर्ने हो
ती गला मिलेका छन् आगो र खरानीजस्तै
खरानी अन्तिम विन्दु हो, जहाँ आगो लुकेर बस्छ
धुवैँ धुवाँ आउँछ, तर खरानी भित्र आगो लुकेर बस्छ
धुवाँ आउँछ तर खरानीभित्र आगो लुकेर बस्छ
जीवन त खरानी हुने हो, त्यसैले जीवनभित्र पनि
आगो लुकेर बसेको छ, ताक हेदैँछ धुवाँ आउन
अलिकति पेट्रोल , अलिकति मट्टीतेल
कोइला, झ्वार्र झ्वार्र जीवनको आगो बल्न थाल्छ
आखिर हुने त खरानी न हो ।
५.
निष्पट्ट रातमा जुनकिरी टिमिक टिमिक टल्कँदा
आशाको गहिरो भुमरीमा मीठो बासनासहित
जीवन बाँच्न रहर जागेको बेलामा
निष्पट्ट रात आफै उज्यालो हुँदैहुँदै
आकाशगङ्गा जस्तै निर्मल र तातो तातो बाटो
छर्लङ्ग लाखौँ वर्षसम्म उज्यालोमात्रै
जीवन लाखौँ वर्षसम्म अनवरत अनवरत सन्ततिहरूमार्फत्
आशाका दीपहरू बाल्दै
निष्पट्ट निराशामा आशाको दियो बाल्दै झलमल्ल
जीवन बाँच्नेहरूको जीवन कति मोहक छ ?
खोइ, निष्पट्टरातमा जूनको टहक सेलायो
औँशीको रातमा टहक हराएजस्तो भए पनि
कतै न कतै सुन्दर घडीमा जूनहरूका साथ
आशाको त्यान्द्रो बोकेर जीवन बाँचिरहेको देखिन्छ ।
६.
ओबामा , नसिद मेरा आशाका प्रतीकहरू
आकाशमा कताकता हराएका ताराहरू
मैले भर्खरैमात्र अनुसन्धान गरेर फेलापारेँ
एउटा समुद्रमा हराएको सिपी हो
अर्को पातालमा भेटिएको कोइलाको हीरा हो
गहिरो समुद्रमा नसिद कतै सिपीजस्तै कतै शीत थापेर कतै बसेको थियो
जीवनलाई संघर्षमा होमेर समुद्रमा जीवन होमेर सारा
जीवनलाई संघर्षमा होमेर
ओबामा कालो कोइला खानीमा कतै हराएको थियो कहिलो सिकागो र हिन्दचीनमा लुकामारी
जीवनको महान बलीवेदीमा लुकामारी खेल्दै हीरा बन्दै कोइला कोइलाको खानीमा विस्तारै
टलक्क टल्केर सबैको आँखामा चकाचौँध पार्दै
परिवर्तनको बाहक, प्रजातन्त्रको रक्षक बनेर
पातालमा टिमटिमायो मेरो आँगनको मखमलीको माला लाएर
अफ्रिका , अमेरिका र एसियामा नाता छरेर र उमारेर
पातालमा नागहरूको , काली नाग काली दहमा
फुँकार भर्दै जीवनलाई आशाको गोरेटोमा हालेर
नयाँ इतिहास बनाउँदैछ पातालको कोइला हीरा
जीवन छिनछिनमा बन्दोरहेछ संघर्षको गाथामा
संघर्ष कहिले पानी माग्छ, कहिले आगो माग्छ
कहिले रगत माग्छ र कहिले पसिना माग्छ
जे माग्छ, तत्काल दिनुपर्दछ नत्र त्यसले विनाश गर्दछ
ठीक छ, — जीवनको एउटा नियम हुन्छ
त्यो चलिरहन्छ आफ्नै गुरुत्वाकर्षणभित्रको आकर्षण—विकर्षणमा
जीवन चलिरहन्छ चलिरहन्छ । अनवरत । अनवरत ।
February 7, 2009
(Source : International All Nepali Writers Society)