~उमाशङ्कर द्विवेदी~
अन्य संसाधनको अभाव भएपनि हाम्रो देशको गाउँठाउँका जनमानसले भने प्रकृतिको असीम मायाका साथ पाउने वर्षको छवटै ऋतुको उपभोग गर्न पाउँछन् । ग्रीष्मको भयड्ढर थप्पड होस् वा कठयाङ्ग्रिदो जाडोको कर्कश आवेश, मुसलधारे वर्षातको ताण्डव होस् वा गुलाफी बास्नादार बसन्तको मलहम, शरदीय उल्लासमय मौसम होस् वा फुङं उडेको पतझरको मौसम होस् छवटै ऋतुहरूको तीतो, मीठो, मोहक तथा कष्टकर मौसमको आश्वादन गर्न पाउनु हाम्रो सौभाग्य नै हो । सुनिन्छ, विदेशमा त्यहाँका जनमानस हामी जतिको भाग्यमानी हुँदैनन् अरे । संसारको कुनै कुनामा छ महिनाको दिन हुन्छ, त कुनै कुनामा छ महिनाको रात हुन्छ । त्यस्तो अवस्थामा जनमानसले बसन्त, ग्रीष्म, वर्षा, शरद, हेमन्त, शिशिर ऋतुको अनुभव कसरी गर्न पाउनु ? विभिन्न ऋतुहरूको प्रकोपबाट त्राण पाउनको लागि मानवले विभिन्न साधनहरूको अविष्कार गरेका छन् ।
वर्षात् छल्नको लागि छाता, ग्रीष्म ऋतुको प्रकोप छल्नको लागि पङ्खाझैं जाडो छल्नको लागि मानवले विभिन्नखाले उष्मा प्रदान गर्ने साधनको आविष्कार गरेका छन् । जाडो छल्नको लागि कवि शिरोमणि लेखनाथ पौडेलले ‘रुई, फुई कि दुई’को आश्रय लिन निर्देश गरेका छन् । त्यस अनुसार सुत्ने बेलामा रुई (कपासको सिरक) वा दुई (लोग्ने–स्वास्नीको साथ) जस्ता साधनहरूको अवलम्बन गर्न सकिन्छ । जाग्रत अवस्थामा जाडो छल्नको लागि फुई अर्थात् बलिरहेको आगोको आश्रय लिनुपर्ने हुन्छ । जाडोयाममा आगोको सेवन गर्नको लागि हिमाल, पहाडमा काठको धुनी बाल्ने परम्परा छ ।
शहरी क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग हुन्छ तथा तराई क्षेत्रमा घुरको प्रयोग हुन्छ । घुर वास्तवमा पुरुषहरूको उपयोगको ठाउँ हो तथा पर्दाप्रथा कायम रहेको ठाउँका महिलाहरूका लागि बोर्सीको प्रयोग हुन्छ । बोर्सी माटोले बनेको हुन्छ, त्यसमा आगो बालिन्छ तथा त्यसलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न सकिन्छ । बोर्सीमा बाल्ने इन्धन पनि घुरकै इन्धन जस्तै हुन्छ तथा बोर्सीको वरिपरि घरभित्र रहने महिलाहरू बसेर आगो तापी जाडो छल्ने गर्छन् । एक लहडी कविले जाडो छल्नको लागि भनेका छन्– बोर्सी कि षोडशी…।
भोजपुरी भाषामा प्रचलनमा रहेको एउटा बालगीत अनुसार– कात्तिक में जाड जन्म लियो है…। अर्थात् कात्तिक महिनामा जाडोको जन्म हुन्छ । कात्तिकमैं लक्ष्मीपूजाको भोलिपल्ट भोजपुरी परम्परा अनुसार सुङ्गुरको डाढ खेलिसकेपछि र देवठन भइसकेपछि बेलुकीपख घर वा बइठाका घरअगाडि विधिवत् घुर खनिन्छ । वृत्ताकाररूपमा करिब अठारह इन्च व्यास तथा एक फुट जति गहिरो खाडल घुरको रूपमा खनिन्छ र त्यही दिनदेखि घुर बालेर आगो ताप्ने गरिन्छ । इन्धनले घुर भर्ने तरिका पनि आफ्नै किसिमको हुन्छ । इन्धनको रूपमा स्थानीय सामग्रीको नै प्रयोग हुन्छ । सर्वप्रथम घुरको पिंधमा गोबरको कर्सी (सुकाइएको गोबर) राखेर त्यसमाथि धानको भुस राखिन्छ । त्यसमाथि पातपतिङ्गर राखेर अन्तमा गाईवस्तुले प्रयोग गरेको परालको सुकाइएको सोतर राखिन्छ ।
साँझपख कामधन्दाबाट निवृत्त भएपछि घरमा खाना नपाकुन्जेलसम्म मानिसहरू घुर बालेर वरिपरि ओछयाइएको ‘बिठइ’ (परालको गतानबाट बनाइएको बस्ने ओछ्यान विशेष)माथि बसेर आगो ताप्छन् । घरको वरिपरि बसेर आगो ताप्दै मानिसहरूले राष्ट्रिय, अन्तर्राष्ट्रिय अथवा स्थानीय खबरहरूमाथि छलफल हुने गर्छ । गाउँको विकासको लागि चाल्नुपर्ने आगामी कदम, गाउँस्तर वा निजीस्तरका वादविवाद तथा झैझगडाको छिनोफानो पनि घुरमा आगो ताप्दाताप्दै हुने गर्छ । रातिको खाना खाएपछि घुरको बसाइ फेरि एकपटक बस्छ । खानापछिको बसाइमा मानिसहरूबीच पौराणिक, ऐतिहासिक अथवा समाजबीच प्रचलनमा रहेका विभिन्नखाले लोककथा, लोकगीतहरू गाएर मनोरञ्जन गर्ने चलन छ । आफ्नो भाषा संस्कृतिका लोककथा, लोकगीत, गाउँखाने कथा (बुझउवल), सूक्तिहरूको व्यवहार गरेर परोक्षरूपमा तिनीहरूको जगेर्ना पनि हुँदै गइरहेको हुन्छ । यसै कारणले भोजपुरी भाषामा लिखित साहित्यको सार्है अभाव रहे पनि लोकसाहित्यको विपुल भण्डार अद्यावधि पनि जीवितै रहेको छ । यस प्रकारका मनोरञ्जन सुत्न जानुभन्दा पहिलेसम्म जारी रहन्छ । सुत्न जाने बेलामा घुरको आगोलाई काठको फर्माले राम्ररी समेटेर (थुपारेर) घुरको माथिबाट थोपिन्छ, जसले गर्दा रातभरिमा आगो भित्रभित्रै बिस्तारै सल्किंदै बिहानसम्म राम्रो भुङ्ग्रो तयार भइसकेको हुन्छ । यस प्रकारले घुर थोपी सकेर घरमालिक सुत्न जान्छन् ।
बिहान सबेरै उठेर नित्यक्रियाको समाप्तिपछि गाईवस्तुहरूलाई गोठबाट निकालेर नादीमा (जानवरलाई खुवाउने भाँडो) बाँधी फेरि घुरको बसाइ शुरू हुन्छ । बिहानको जाडोमा घुरको आगो ताप्दै मानिसहरूले सुर्ती, बिडी, चुरोट जस्ता अम्मलहरूको प्रयोग गर्छन् । केटाकेटीहरू घुरको भुङ्ग्रोमा आलु, सखरकन्द, केराउ कोसा पोलेर रुचिका साथ खाने गर्छन् । दिन छिप्दै जाँदा घुरको आगो पनि बिस्तारै निभ्दै जान्छ । मानिसहरू आलस्य त्यागेर घुरबाट उठी आफ्नो दैनिक काममा लाग्छन् । निभेको घुरको खरानी पनि गाईगोठ तथा खेतीकामको लागि अत्यन्त उपयोगी हुन्छ । भोजपुरी समाजमा घुर आलस्य जन्माउने ठाउँ हो भन्ने पनि भनिन्छ तर वास्तवमा भन्ने हो भने घुरको आगोनजिकको सामूहिक बसाइले शहरी क्षेत्रको आधुनिक क्लबको विम्बको रूपमा रहेको हो कि जस्तो लाग्छ । अन्तमा जाडोको समाप्तिको अवसरमा मनाइने होलीकोत्सवको दिन साँझ घुरलाई माटोले पुरी, गोबर माटो र पानीले लिपी त्यसमाथि रङं, अबीर र मसलाहरू अर्पण गरी एक किसिमले घुरको लागि कृतज्ञता अर्पण गरिन्छ तथा त्यस दिनदेखि घुरको उपयोगिता आउने वर्षको जाडोयामसम्मका लागि समाप्त हुन्छ ।
(स्रोत : प्रतीक दैनिक)