कविता : यो कविता होइन भन्ने तिमी को ?

~कुबेर काका~


यो कविता होइन भन्ने तिमी को ?
सम्बृद्ध र सम्पत्रको भान्सामा
भान्सेले पकाएको परिकार जस्तै परै मग्मगाउने
सग्लै निली सकेको भएपनि
बस्तुले उग्राए जस्तै ओकलेर चपाउदा र्‍याल आउने
जिब्रो रसाउने र घाँटीमा नअडकिने
लपक्क पारेर पकाएको बास्मति र चनमचुर चामलको भातजस्तो
पो कविता त कोमल हुनु पर्छ
सर्बहाराको भान्सामा उमालिएकोे
गहत र गुन्द्रुक जस्तै नझानेको नभुटुन पुगेको
छाक टार्न र गाँस निल्न नून मात्रै हालेको
जख्रक्क परेको
न कुनै छन्द छ
न कुनै मात्रा र बर्ण नमिलेको
फूल नउठेको ठेटना मकै जस्तो छ
न लय छ
न स्वाद छ
न ताल छ
न विश्राम छ
न कसैलाई खुशी पार्ने स्तुति भाव छ ।
यस्तो पनि कविता हुन्छ !
यो कविता हैन भन्ने तिमी को ?


खाडीको छाला पाक्ने भुत्भुते जस्तो घाममा खटेर
घर बारी साहुलाई बन्दकी राख्दै
गाँऊका बुढा बाऊआमालाई तिरस्कार गर्दै
सहरमा छोरा छोरी पढाउन राखेकी स्वास्नीले
नाठो समाएर लोग्ने आउने दिन थाह पाएर
अमुक संग पोइल गएँ भनेर
सिह््राने मुनि छाडेर गएको चिठ्ठी रुपी छोडपत्रको स्वीकृति जस्तै
जन्म दिएर गाँस काटेर हुर्काउने बाऊआमालाई पराई संझने कृति जस्तै
अभाव र अशिक्षाले आफूले अवसर नपाएको स्मृति जस्तै
एक चिम्टी धुलो र दुई त्यान्द्रो धागोले बनाएको सम्बन्ध जस्तै
नगर बधुले मुस्काएरको स्मृति जस्तै
आफूलाई पर्दा संझदै विरक्त लाग्ने
कसैले कुरा नकोटयाई दिए हुन्थ्यो भनेर मनमा जप्ने
बाहिर निक्लदा कुरा काटेरसंग न कसैसंग जाई लाग्ने
संझिदा पर्नेलाई काई लाग्ने
सुन्दा सुन्दै उङ्ग लाग्ने
समाजमा सबत्र घटेको वेथा र विकृति हो
भावी पुस्ताको लागि स्मृति हो ।
यस्तो पनि कविता हुन्छ !
यो कविता होइन भन्ने तिमी को ?


पुर्‍याउन नसक्ने आस्वासन दिदैं
आफ्नो पक्षमा मत कोल्टाउन
राजनैतिक दलका केन्द्रीय सदस्यले बाचेको घोषणा पत्र जस्तो
विजयी नेताले चुनावमा गरेको सहयोगको प्रतिफल खोज्छ भनेर
देखेर पनि नदेखेको झै गरी बटारिने मुण्टो जस्तो
समय सीमामा सकियो भोलि आउनु भन्दै
सेवाग्राहीलाई फर्काएर फेसबुक र यु टुव भित्र पस्ने कर्मचारीको मनोवृत्ति जस्तो
विद्यार्थी नपढाई दलको झोला भिरेर हिडने स्थायी शिक्षक जस्तो
हाकिमलाई चाकडी गर्दै सेवाग्राहीलाई दुख दिने कारिन्दा जस्तो
सलहले सकेको खेतबारीमा लाएको बाली जस्तो
यस्तो पनि कविता हुन्छ !
यो कविता होइन भन्ने तिमी को ?


चाकडीबाजहरु बाहेक अरु कसैलाई देख्दै नदेख्ने
समाजवादी र प्रजातन्त्रवादी नेताहरुको नजर जस्तो
यो कविता नै होइन भन्ने !
समाजलाई नलेख्ने
भित्र लुकेको पिडा नदेख्ने
स्तुति गान भक्ति गाथा गाउनेलाई मात्र कवि मान्ने ।
आफ्ना कुरा ब्यक्ताउन नसक्ने लाटोले सपना देख्दैन ठान्ने ?
विशुद्ध श्रम र इमान्दारीले त एक छाक पनि टर्दैन !
खोक्रो आदर्शले कसैको परिवार चल्दैन ।
भुक्त भएर भोग्नेले मात्रै भन्न सक्छ !
श्रीमतिको ड्रेस र मेक अप कति सेट छन कस्ले गन्छ ?
बर्काे भित्र लुकेर घिऊ खाए कै छ
सुकुल गुण्डा बनेर सुकिलो लुगा लाएकै छ
विना श्रोतको आम्दानी आए कै छ
समाजमा विकृतिले जरा गाडी सक्यो !
डोड जस्तो खोक्रो पारी सक्यो
आउनुस समर्थन गर्ने जति सबै हौं कवि
विरोध गर्ने जति सबै विद्रोही
तिनै बन्लान भोली समाज र राष्ट्र द्रोही
यो कविता हो
यस्तै कविता हुनु पर्छ भन्ने छ कोही ?


मौन हुने बोल्न नसक्ने जति सबै निर्माेही
समाज भाँडेर विगार्ने को हो छन द्रोही ?
पर्खालमा आँखा लाग्दैछन
विद्रोही बन्ने संख्या बढेर जाग्दैछन
कवि हुँ भन्नेहरु भाग्दै छन
सपना देख्ने लाग्दैछन
युग कता लागो नदेख्ने छन भोगी
थलिएर न बस बनेर रोगी
तिमीले लाएको चस्माको पावरमा क्षमता नै कम छ
विषादी युक्त सागपात खान्छौ त्यसमा के दम छ
समाज र संस्कृति विगार्न चारैतिर बलेको छ आगो
विद्रोहको बर्षा गर्न अदृश्यमा को को लाग्यो लाग्यो ?
शाहस हुने अनुशरण गर
कायर र जीवन धान्न नसक्ने त्यसै मर !
यस्तो पनि कविता हुन्छ ।
यो कविता होइन भन्ने तिमी को ?
आफ्नो जीऊमा लागेको डडेलो नदेख्ने तिमी हो ?

२०७६÷७÷२०

कुबेर काका
तित्री गाछी, जलजले उदयपुर

(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.