कविता : देशको सिमाना

~सीमा आभास~

मेरो देशको सिमाना हराएपछि
सप्तकोशी किनारै किनार
सगरमाथा छ छैन थाहा पाउन
बैशाखी टेकेर
म लगडो नागरिक
जादैछु नाम्चेतिर

सप्तकोशी ब्यारेजबाट हुत्तिएर
जब मेरो देश
पारिपट्टिको बगरमा पछारियो
तब दन्दनी बल्न थाले
तेली र मुसहर बस्तीहरु
ब्यारेजमुनिबाटै डुब्न थाले
माझी गाउँहरु

नाङ्गा सडकका आङमाथि
जब लटपटिन थाले
मधेस मुलका नागरिक
पहाडे मुलका नागरिक
तब जुध्न थाले
टाउको ठोक्तै
तराइका पारिला फाट रक्ताम्य पारेर

टायरको नमिठो गन्ध धुवाउदै
दन्दनी बलेपछि सडक र चोकहरु
घर–घरबाट निस्किएका
खेद्ने र खेदिनेलाई हेर्दै रमाउने
मुखुडो धारीहरुले
नागरीकको इमान्दारिता बेचे
गाग्री रित्याएर पानी बेचे
झुपडीमा बल्ने टुकी बत्ती बेचे
युवा भबिष्य बेचे
सिउदोको सिन्दुर र गलाको पोते बेचे
धुवाईरहेको अगेनो बेचे
आसु र आत्मा घोलेर बेचे

सोह्र हज्जार रगतका धारा
अंजुलीमा थापेर
मुख धुने र नुहाएर पबित्र हुनेहरुले
झुपडी बस्ती आगोमा होमेर
पुराण लगाईरहेका छन्
आवाज विहिनहरुको आवाज डढाएर
तीलक लगाईरहेका छन्

दश गजामा उभिएर
साद लगाउदा लगाउदै
मध्ये रातमै हराउछ मेरो देश,
सबै लुटिएपछि
हुस्सुले ढाकिएको
सप्तकोशी पारिको बगरमा
अपहरण मुक्त बनेर
एकाबिहानै
थरथर काम्दै टुक्रुक्क
बसीरहेको हुन्छ मेरो देश

हो त नि
बुद्ध त पहिल्यै बेचिएकै हुन्
बुद्ध बेचेर मान्छे पेल्ने
ग्यास च्याम्बर सञ्चालकहरुले
यो देश बधशालामा बेच्न लागेपछि
बुद्ध पनि तरबार उध्याईरहेछ

बध हुनबाट बच्न
दौडदै
करेसाबारी बारी
गुरासघारितिर लुक्न गईरहेको छ
मेरो देश,
जंगलमा लुटिएको
सहाराविहिन बटुवा झैं
अलापविलाप गर्दै
एक्लै–एक्लै रोईरहेको छ।

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.