~सञ्जय वान्तवा~
कविताको मूल चोकमा
वैरागी काईँलाको ‘वसीयत’ जस्तै
एक जोर चश्मा
अनि मफ्लर जस्तै
आँखाहरू उभिरहन्छन्
फर्केर मपट्टि।
गलाभित्र चिसा गीतहरू छन्,
ईश्वरवल्लभका सारा रातझै।
मलाई हेरेर उभिरहन्छन् ती
गलाबाहिरका ठन्डा सिरेटोझैं।
चोकमा, हाट – बजारमा
ती एक जोर नयन सधैँपछि – पछि आइरहन्छन्
बिर्सन नसकेको एउटा गीतझैं
सम्झन खोजिरहेको मिठो कविताझैं।
मलाई माया गर्नलाई नै अरे
उसले वसीयत आफै च्याती
आफ्नो यौवनको;
कविताको मेरो साझा पुस्तक पसलअघि
उनी सधैँ मलाई पर्खिन्छिन्
त्यही पर्खिरहन्छिन्।
हिज सोधैँ मैले उसकी साथीलाई
कि साँच्चै उसले मलाई कति माया गरेकी छिन्।
वैरागी काईँलाको चश्मा जस्तो
बाक्लो निश्वास छोडेर भनिन् –
तपाईंले नपढेर उसको यौवनको वसीयत
त्यो वसीयतभित्रका अक्षरहरू,
उभित्रका कुमारीहरूले
अचेत आत्मदाह गर्नथालेका छन्।
उङिरहें म आफैपट्टि फर्किएर
अझै भनिराखेर गइन् उनी –
‘बुझ्नुभयो दाजु।
तपाईंकै शब्दका आगोहरू।’
(शब्ददाह बाट, 2002)