~गगन बिरही~
भ्वाङ्ग्भ्वाङ्ग्ती प्वाल परेको पानी चुहिने छानो
धमीराले मक्किएको ढल्न लागेको घर
मकैको ढिडो,मुलाको तिहुन, खुर्सानी र
एक बटुका कोदोको भ्याबर जाँडले
दुई फुटे सुकुलमा लडाएकोछ
कर्थले काँईलोलाई !
सखारै उठ्छन,लामो हाई काट्छ
र आफ्नो गर्दन करक्क निमोठ्छ–ब्रस ,साबुन चाहिन्न
एक कचौरा पानीले मुख धोएर
उत्तर दक्षिण फर्कदै पुकारा गर्छन ,
के भन्छन, के माग्छन
साँझ–बिहान सिँहदरवारको हुकुम र आदेशमा
थाहा–हुन्छमै बिताउँछन
कर्थले काँईलो ।
सुनकोशी थुनियो रे
थाहा छैन् ?
बाढीले घर खेतै बगायो रे
–थाहा छैन
भँईचालोले बस्ती बस्ती सिध्याए छैन
–थाहा छैन
विध्वङ्स जती जग्गेमा गहुँ तील तेल हालेर
आगो बाल्नु बाल्यो जनताको खप्परमा
–थाहा छैन
के थाहा छ त ?
थाहानै थाहा छैन
के थाहा ?
कर्थले काँईलो ।
अरुलाई ढाड भाँचेर मेरो ढाडमा
कस्तुरी तेलले मालिस गर्नु
–हुन्छ
दिउँसोको सूर्यलाई राती र रातीको चन्द्रलाई दिउँसै झार्नु
–हुन्छ
इमान्दार ब्यक्तिलाई बेईमान बनाउनु,
बेईमान ब्यक्तिलाई इमान्दार बनाउनु
–हुन्छ
आयातित धर्मको शासन योगाशन गर्नु
पुर्ख्यौली ब्यवहारलाई डाँडा कटाउनु
–हुन्छ
दु:ख जती अरुको
सुखजती आफ्नो
मैले पाठ गर्ने
महामन्त्र यही हो
–हुन्छ
यो हुन्छ,
त्यो हुन्छ,
हुन्छको अर्थ “हुन्छ“लाई थाहै भएन
त्यसैले कुनै दिन यस्तो आउला
डाँडा कटाए पनि हुन्छ
घुँडा टेकाए पनि हुन्छ ।