~मिलन ढुङ्गाना~
बाहिर चिसो हिमालि हावा चलिरहेको ऊ भित्रै बसेर अनुभव गरिरहेको छ । हावाले हल्लाएका प्लास्टिकका छानाहरु र पल्लो भोटेको घरको झन्डा हल्लिएको आवाज ऊ भित्रै बसेर सुनिरहेको छ । उसलाई त्यो चिसो हावा कती चिसो छ भन्ने राम्ररी थाहा छ र त ऊ आफ्नो कोठाको झ्याल ढोका डम्म बन्द गरेर बसेको छ सिरकभित्र गुटुमुटु परेर । अली माथिको बाटोमा एक हुल जँड्याहा हरु हल्ला गर्दै हिडेको र गोठमा बाँधिएका खच्चरका घाँटिमा बाधिएका घन्ट दाना चपाउदै गर्दा बजेको पनि कोठा भित्रै सम्म सुनिएको छ । ति जँड्याहाहरु उसको कोठाको छेउको बाटो हुँदै पल्लो गाउँतिर लागेको पनि ऊ चुपचाप सुनिरहन्छ र तिनिहरुको हल्लामा मिसिएका शब्दहरु सुनेर नकारात्मक भावले मुस्काउँछ । आज सोलारले काम गरेको छैन उसको चिम अघिनै निभिसकेको छ तर ऊ हार मान्ने वाला छैन । टर्च लाइट लाई सिलिङ मा झुन्ड्याएर ऊसले आफ्नो टेबल ल्याम्प तयार पार्छ र आफ्ना पुस्तकहरुमा नजर लगाउन सुरु गर्छ । पल्लो कोठामा मोबाईल मा बोलेको प्रस्ट सुनिएको छ तर उसले त्यसमा कुनै मतलब गरेको छैन । हावाको झोँकाले एकपटक फेरी उसको ढोका मा आफ्नो शक्ती देखाउँछ । छेस्किनी नलगाएको ढोका ह्वाङग उघ्रिन्छ । ऊ सिरक फ्यालेर ढोका को छेस्किनी लगाउँछ र फेरी सुरु गर्छ पुस्तक यात्रा ।
उसको ध्यान पुस्तकमा पर्नै पाएको हुन्न अर्को घटनाले उसलाई अचानक अर्कै संसारमा पुर्याइदिन्छ । एउटा महिलाको रुवाइले उसको सबै ध्यान पुस्तकबाट हटाइदिन्छ । एकछिनपछि संगै अर्को एकजना महिला र सानो बच्चा रोएको सुनिन्छ । कतै परबाट आएको जस्तो लाग्ने त्यो कोलाहल कहाँबाट आएको होला भनेर सोच्दैगर्दा अचानक पल्लो कोठामा अघिसम्म मोबाईल मा ब्यस्त उस्की साथीले ढोका ढक्ढक्याउँछे । ढोका खोल्ने बित्तिकै साक्षी एक्कै सासमा भन्छे- “आज फेरी त्यसले श्रीमतीलाई पिट्यो जस्तो छ ।” उसको शरीर चिसो हुन्छ अघिसम्म आएको आवाज कहाँको होला भन्ने सोचिरहेको उसले त्यो आवाज आफु बसेकै घरको तल्लो तल्लाबाट आएको होला भनेर त कल्पना सम्म पनि गरेको थिएन । उसलाई के गरौ कसो गरौ हुन्छ । उसलाई राम्रोसँग थाहा छ उसको घरबेटि रक्सी खाएपछी झगडा गर्न र श्रीमती कुट्न अगाडि सरीहाल्छ तर आज उसले त्यहाँ दुई जना महिलाको रुवाईको आवाज सुनेको थियो ।
साक्षी झगडा र बिवाद भएठाउँ पुग्नलाई बहुतै मन गर्छे तर उसलाई भने त्यो ब्यक्तिगत मामलामा हस्तक्षेप गर्न मन नलागेर हो वा उसको बिवाद र झगडामा उती ध्यान नदिने बानी भएकोले हो ऊ आफ्नै कोठामा नै बसिरहन्छ । साक्षी तुरुन्तै हावाजस्तै तल ओर्लिन्छे । तीन जनाको कोलाहल रुवाइले वरपर सबैतिरका छिमेकी पनि भेला भएको जस्तो सुनिन्छ । ऊ माथिनै बसेर ति अस्पस्ट कुराहरुलाई सुनिरहेको छ । त्यो रक्स्याहा घरबेटी बोलेको प्रश्ट बुझिदैन खाली रोएको मात्रै सुनिन्छ ।
साक्षी सम्पूर्ण रिपोर्टिङ बोकेर फेरी माथि आइपुग्छे । ऊ टोलाएर बसिरहेको हुन्छ । साक्षी तल भएको घटनाको इतिब्रितान्त सुनाउछे । ऊ चुपचाप सुनिरहन्छ । अलिबेर कुरा गरेपछी साक्षी पनि आफ्नो कोठातिर लागेपछी ऊ त्यो बिरक्त लाग्दो कुरा बारेमा उसको मनमा के के कुरा खेलिरहन्छ….
“….. सुकन्या को नाम जस्तै उनको रुप पनि छ – सुन्दर र सुकुमार । गहुँगोरो बाटुलो अनुहार, ठुला ठुला गाजलु आँखा र कसिलो जिउडाल भएकी सुकन्या गाउँकी युवकहरुका तारा बनेकी छे । दुर्गम जिल्लामा भएपनि तुलनात्मक रुपमा सम्पन्न परिवारमा जन्मिएकीले लालनपालन पुगेर होला यहाँका अन्य युवतीहरुभन्दा खाइलाग्दी देखिन्छे । हरेक दिन कोरिबाटी गरिवरी आकाशे रंगको सर्ट र निलो फ्रक लाएर मेरै अफिसको बाटो हुदै उ बिद्यालय जान्छे । अक्सर चिसो नै हुने हिमाली जिल्लाको कार्यालयमा हामी बाहिरै घाम तापेर बसेका हुन्छौँ । उसँगै एक हुल केटीहरु बिद्यालय पोशाकमा कार्यालयकै अगाडीबाट हिँड्दा सबै कर्मचारीहरुको ध्यान उ तिरै नै तानिने गर्छ किनकी उसको मुस्कानले सबैलाइ आकर्षित गर्छ । तर त्यो सुमधुर मुस्कान भित्र गहिरो बेदना पनि लुकेको छ भनेर कोहि कोही लाइ मात्रै थाहा छ ।’’ एक हुल जँड्याहाहरु देउडा गाउँदै ओरालो लागेको सुनिन्छ । उ सिरकलाइ मुखसम्म तानेर सुत्छ ।
‘’सुकन्याको जन्म कर्णालीको यस्तो दुर्गम गाउँमा भए पनी उसले सदरमुकाम बसेर पढ्न पाइ । शिक्षण पेशा गर्ने उसको बुवाले जागीर गरेर कमाएको सम्पतिले सदरमुकाममा यौटा घर बनाइदिए र उसले पढ्न पाइ । तर सदरमुकामको बसाइले पढाइ सँगसँगै उसको जिन्दगीमा अरु पनि धेरै कुराहरु लिएर आयो । कति राम्रा र कति नराम्रा पनि । उ साँच्चै राम्री थिइ र उसको वरिपरि पर्न जो सुकै युवक पनि लालायीत थिए तर उसको मनमा भने अरुनै कसैको बास परेको थियो । त्यो युवक जागीरको सिलसिलामा त्यहाँ पुगेको थियो । प्रहरी जवानको नोकरी गर्थ्यो उ । सुकन्याको जिल्ला भन्दा निकै टाढाको जिल्लाको बासिन्दा थियो । २०-२२ बर्षको लक्का जवान, त्यसमाथि प्रहरीको दैनिक व्यायामले सुगठीत शरिर । त्यो दुर्गम गाउँका युवतीहरुको लागी उ यौटा सपनाको राजकुमार नै थियो । सुकन्याले उसैलाइ मनको राजा बनाइ । सानो परिवेश, सानो संसार र साना सोचाइ भएका गाउँका मानिसहरुको सपना पनि सानै हुन्छ । त्यसैले होला सुकन्याले धेरै सोचबिचार नै नगरी उसलाइ तन मन दिइ । सुकन्याको त्यो त्याग खेर गएन र केही समय पश्चात उनिहरुले भागेर विवाह पनि गरे । उ त्यतिबेला भर्खर ८ कक्षामा पढ्दै थिइ । पढाइ र आफ्ना अनेक इच्छाहरुलाइ पुर्णबिराम लाएर उ नयाँ सपनाको आशामा निस्की ।”
“कर्णालीको दुर्गम गाउँकी सुकन्यालाइ आफ्नो घर बिरानो लाग्नु अस्वाभाविक थिएन । सामाजीक, आर्थिक, सांस्कृतिक र धार्मिक रुपले आकाश पातालको फरक रहेको भिन्न भुगोलमा समाहित हुनु उसको लागी जति असहज थियो सुकन्याको परिवारलाइ पनि त्यो भिन्न परिवेशकी नयाँ सदस्यलाइ स्विकार गर्न त्यतिनै । एक त परिवारसँग सल्लाह नगरी आएकी केटी त्यसमाथी जातीय, सामाजीक र सांस्कृतिक सबै कोणबाट धेरै कोस टाढाकी युवतीलाइ बुहारी स्विकार्न परिवारलाइ सहज भएन । परिवारबाट अपमानका उपहारहरु उसले सधैं नै पाइरही ।’’ ए अलि नघुरी सुत्न सक्दैनस् । उ पल्लो खाटमा सुतेको साथीलाइ गाली गर्छ । साथी सुनेनसुन्यै घुरीरहन्छ ।
‘’समय हो चलिहाल्छ । सुकन्याको श्रीमान केही दिनपछी नोकरीको सिलसिलामा उसलाइ छोडेर जानुपर्ने समय पनि आइपुग्यो । त्यसपछि त त्यो संसारमा सुकन्या झन बिरानो भइ । श्रीमान हिँडेको केही दिनपछि नै परिवारले उसलाइ खासै महत्व दिन छोडेको उसलाइ भान भयो । त्यो विशाल परिवारमा उसलाइ गरिने व्यवहारले सँधै उसलाइ घोचीरहन्थ्यो । मान्छेहरुको त्यो हुलमा उसले कहिल्यै पनि रमाइलो अनुभव गरिन सँधै एक्लो महसुस भइरह्यो उसलाइ ।
समय समयमा श्रीमानको आगमनले त्यो वातावरणलाइ अलि सहज बनाउँथ्यो र उ त्यो कैदबाट मुक्त भएर एक दुइ मुट्ठी खुला हावामा श्वास फेर्न पाउँथी । एक दुइ महिनामा आउने तिनै एक दुइ दिन र रातकै लागी उ अधैर्य भएर प्रतिक्षा गरीरहेकी हुन्थी र त्यो सुमधुर समय उसको श्रीमान फर्केपछि फेरी पुरानै बिरानो समयमा परिवर्तन भैहाल्थ्यो ।
सुकन्यालाइ कहिलेकाहीँ अचम्म लाग्थ्यो कुन अदृश्य तृष्णाले उसलाइ यो समयतिर ल्याइपुर्यायो ? के उसले जिवनका ति बहुमुल्य समय, आफ्नो अध्ययन, त्यो रमाइलो गाउँको संगत यस्तै यौटा अपरिचित जस्तो लाग्ने परिवारको लागी भनेर छोडेकी थिइ ?? समय घर्किसकेको थियो ति कुरामा पश्चाताप गर्नुवाहेक अर्को कुनै बाटो पनि थिएन ।’’ ओहो यो कुकुर पनि कस्तो भुकेको हो । उ मनमनै फतफताउँछ । सुत्नै नदेला जस्तो छ आज ।
‘’जसोतसो उसले जिन्दगी चलाइरहेकी थिइ कुनै अदृश्य चामत्कारीक खुसीको आशा गरेर । तर त्यो हुर्कँदै गरेको आशाको मुनामा त्यतिबेला गम्भिर तुषारापात भयो जतिबेला उसको श्रीमानले अर्की युवतीसँग फेरी विवाह गरेको उसले थाहा पाइ । हो उसकी सौता भित्रिने भइ घरमा । त्यसदिन उसलाइ जिन्दगीमा पहिलोचोटि मर्न मन लाग्यो तर आफ्नो काखमा हुर्कँदै गरेको छोराको मायाले उसलाइ मर्न पनि दिएन । त्यो घरमा बसिरहन उसलाइ मन लागेन र छोरा लिएर उ माइतिघर आइ ।
केही दिन त सुकन्याकी आमाले उसलाइ सम्झाइबुझाइ गरिन् तर उ अघाइसकेकी थिइ त्यो घरदेखी र उसले नफर्कने अठोट दह्रो गरी लिइसकेकी थिइ । उसको जिद्दीको अगाडी कसैको केही लागेन र उ माइतै बस्न लागी । उसले फेरी आफ्नो छुटेको पढाइ शुरु गरी । माया गरेर सम्झाउनु साटो उसको श्रीमान बेला बेलामा फोन गरेर धम्काउने गर्थ्यो । उसले कहिल्यै सुकन्यालाइ घर फर्किन आग्रह पनि गरेन खाली गाली मात्रै गरिरह्यो । पोइला गैसकेकी छोरी फेरी माइतै फर्कनु समाजको लागी पनी सह्य थिएन सुकन्याले छिमेकी र गाउँलेका अनेक तिता बचनहरु पनि सुन्नुपर्थ्यो । तर उ यो सबै सहिरहेकी थिइ कालकुट बिष पिएझैँ ।
तर आज रातीको घटनाले सुकन्यालाइ झन कस्तो भयो होला । उसको रक्स्याहा बाबु मातिएर अनेक अश्लिल गाली गर्दै घरबाट निस्केर जान भन्दैथियो भनेर साक्षिले उसलाइ सुनाएकी थिइ । त्यो मास्टरकी श्रीमतीसँगै रोएको आवाज सुनेको अर्की युवती त सुकन्या पो रहिछ । अनेक हण्डर खाएर आफ्नो माइतिमा आएर बस्दा पनि सुख पाईँन भन्ने कल्पनाले झन सुकन्यालाइ कस्तो अनुभव भो होला । घरको अपमान सहन नसकेर माइति आएकी सुकन्यालाइ माइती बाट पनि निस्केर जा भनेपछी उसले कहाँ गएर जिन्दगी काट्ली…..’’’
….. बिहानीको चिसो सिरेटो उसको सिरकै छेडेर भित्र पसुँला झै गर्दै थियो । हिमाली कागहरुको धोद्रो का.. का… ले उसलाइ ओछ्यान छोड्न मन नलागी नलागी पनि उठ्नै पर्ने बनायो । आँखा मिच्दै उसले घडीतिर नजर लगायो । ओहो नौ पो बजीसकेछ । उ हतार हतार उठेर मुखभित्र बुरुश घुसारेर तल झर्यो । सुकन्या पिँढीको छेउमा खाँबो समातेर उभिइरहेकी थिइ । उसको आँखामा निराशाको गहिरो बादल प्रष्ट देखिन्थ्यो । उसकै खुट्टा समातेर उसको सानो छोरा पनि उभिइरहेको थियो । अर्को छेउमा मास्टरनी निन्याउरो अनुहार लाएर बसिरहेकी थिइन् । दाउरा लिन जाँदा लडेर खुट्टामा लागेको उनको चोट अझै निको भएको थिएन । जँड्याहा मास्टर भने आँगनमा केटाकेटीहरुलाइ के के अह्राउँदै थियो । मास्टरको अनुहार देखेर उसलाइ घिन लागेर आयो । उ कसैसँग केही नबोली कोठामा उक्लियो र कार्यालय जाने तयारी गर्न लाग्यो । उसको ज्याकेटको देब्रे छेउमा हिजो भर्खर ‘महिला हिँसा बिरुध्दको दिवस’मा बाँडीएको सेतो रिवन फुरफुर हल्लीरहेको थियो । उसले त्यो रिवन निकाल्यो र सँगैको डस्टबिनमा फ्याँकेर अफिसतिर लाग्यो ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)