~रुपिन्द्र प्रभावी ‘कटु’~
“कम्तिमा पनि गीत समीक्षाको विषय होइन, गीत अनुभूति हो । अनुभूति गर्न जान्नेले गीतलाई आफैं आत्मसात् गर्छ, नजान्नेले जे पाण्डित्याइँ छाँटे पनि गीतको परिभाषा र मान्यता अपूरो र अधुरो नै रहन्छ ।” प्रसिद्ध गीतकार प्रकट पगेनी ‘शिव’ ले ‘थुँगाथुँगा जिन्दगानी’भित्र लेख्नुभएको यी उद्धरणहरू वास्तवमै सही हुन् । उहाँले भन्नुभएजस्तै मेरा लागि ‘थुँगाथुँगा जिन्दगानी’ समीक्षाका लागि संभव भएन । ओल्टाईपल्टाई हेरें, पटक पटक पढें । र पनि समीक्षाको मेलो पस्न सकिन । गीतहरू पढ्दा कहीं आफ्नैजस्तो त कहीँं आफ्नै परिवेशको जस्तो अनुभूति भयो । समीक्षकको आँखाले पटकपटक हेर्न खोज्दा पनि भित्री हृदयमा अनुभूति भएर गीतहरू फुले तर समीक्षाको मेलो थाल्न सकिएन । त्यसैले यी पंक्तिहरू गीत पढ्दाका अनुभूतिमात्र हुन् , न कि समीक्षा । नेपाली साहित्यको प्रस्तावित केन्द्र पोखराको प्रथम नारी गजलकारको रूपमा चर्चा कमाएकी सरस्वती श्रेष्ठ ‘सरू’ आफ्नो प्रथम प्रकाशित कृति ‘थँुगाथँुगा जिन्दगानी’ गीत संग्रहका रूपमा लिएर आएकी छिन् । गीति बगानमा फक्रेका सुन्दर गीति थुँगाहरू समेटिएको पुस्तकाकारको यो बगान गीति भमराहरूका लागि उत्कृष्ट बगान हो जसमा उनीहरूले चाहेजति रस प्राप्त गर्न सक्छन् । थुँगाथुँगा जिन्दगानी गीति बोटभरि ढकमक फुलेको पूर्ण यौवनप्राप्त थुँगा हो । थुँगाथुँगा जिन्दगानीभित्र देश र देशबासीको जिन्दगानीका थुँगाहरू छन् । वन–पाखा र लोकजीवनका भाकाहरूलाई टपक्क टिपेर माला उन्न सफल गीतकार सरस्वती श्रेष्ठ ‘सरू’ ले यस संग्रहभित्र पढ्दा– पढ्दै लय सिर्जना हुने खालमा जम्मा ७० वटा गीतहरू समावेश गरेकी छिन् । मैले खेल्दा मुछिएको मेरै गाउँको माटो रुँदैरुँदै भिजाउँछ कलेजीको पाटो गीत भन्नासाथ स्त्री–पुरूषबीचको प्रेमप्रसंग जोडिनुपर्छ भन्ने मान्यता राख्ने पाठकहरूको भ्रमलाई थुँगाथुँगा जिन्दगानीले चुनौती दिएको छ ।
प्रेमी–प्रेमिकाबीच धोका, अनुराग र वाचाबन्धनमात्रै गीतको सीमा होइन । आफ्नो मातृभूमि, मइतीघर, दाजुभाइ, आमाबुबा वा आफन्तको आत्मीय प्रेमको तरेली गीतमा तरङ्गिन सक्छ । आफु जन्मेर हुर्केको बाल्यकालको मीठो संझना सरस्वती प्रस्तुत गीतमा गर्छिन् । गाउँबेसी र पखेरोलाई प्रिय साथी मान्ने सरस्वती आफ्ना गीतहरूमार्फत् नेपाली राष्ट्रिय पहिरनप्रति अगाध आस्था विछ्याउँदै पश्चिमी संस्कृतिमा निर्लिप्त आधुनिक युवायुवतीहरूप्रति तीखो व्यङ्गयवाण प्रहार गर्छिन् । सम्पत्ति र आडम्बरका लागि विदेशिएका नेपाली दाजुभाइलाई आफ्नै टारी–टाकुरा खनजोत गरी सुन फलाउने आग्रह पनि उनी गर्छिन् भने विदेशिनुको बाध्यता पनि चित्रण गर्छिन्–
मलाई पनि मनथ्यो आमा आफ्नै देशमा बस्न
सकिएन काँडामाथि पाइला टेकी हाँस्न
नारी जीवनको यथार्थता र बाध्यता चित्रण पनि ‘सरू’ को गीति प्रवृत्ति हो । नारी जीवन, एउटा ठाउँमा जन्मेर अर्को ठाउँमा जिउनु पर्ने जीवन, जन्मघर छोडेर पराईघर जानुपर्ने जीवन, आफ्नो विरानो हुने विरानोलाई आफ्नो मान्नुपर्ने जीवन तर जहाँ रहे पनि माइती गाउँको संझना कहाँ हराउँछ र ! सरस्वतीको माइतीगाउँ लमजुङको सोतीपसल हो भने कर्मघर पोखरा । पोखराको जीवन लमजुङको तुलनामा सुविधाजनक होला ! र पनि उनलाई माइतीगाउँ प्रिय नै लाग्छ –
सम्झी सम्झी रून्छ मन प्यारो माइती गाउँ
छोड्नै पर्ने रै’छ आफैं जन्मिएको ठाउँ
गीतकार ‘सरू’ आव्हान गीतका पनि सर्जक हुन् । उनी देशको माटोका लागि कुनै न कुनै योगदान गर्न निरन्तर आव्हान गरिरहन्छिन् । भाग्यवादमा विश्वास नगर्ने सरू कर्म गरेमात्र जीवनको सार्थकता भेटिने कुरामा विश्वास गर्छिन् । नेपाली जनजीवनको दुरुस्त चित्र गीतकार सरूका गीतहरूमा उतारिएको पाइन्छ । यसर्थमा उनी यथार्थबादी गीतकार हुन् । गरिबीको पीडा खप्न नसकेर पीडाको घाउमा मलम लगाउने महत्वाकांक्षामा विदेशिएको युवावर्गका पीडा उनका गीतमा छताछुल्ल पोखिएका छन् । पसिना बगाउँदा–बगाउँदै पनि आँगनीमा कहिल्यै हाँसोको एक टाँका घामको उज्यालो देख्न नपाएका आँसु–आँसुको जीवनभोगीहरूको निम्नवर्गीय पीडा ज्यादै नजिकबाट अनुभूति गरी गीति हरफहरूमा बुन्न सफल छिन् – सरू । यसका अलावा मानवीय प्रेम, धोका, विछोड, कुण्ठा त स्वभाविक रूपमा उनका गीतहरूमा आएका छन् । नारीस्रष्टा भएर पनि पुरूष भएर मीठो गीत आफ्नी प्रेमिकाका लागि उनी लेख्छिन् । आउँछ भनेर कुराउने तर नआउने धोकेवाजप्रति ‘सरू’ रूष्ट नै छिन् । विपरीत लिङ्गीय स्वभाविक मानवीय प्रेमको अत्यन्त संयमित प्रस्तुती सरूका गीति हरफहरूमा पाइन्छन् । प्रेमीबाट धोका भएपछि ‘बरू प्रेम नै नभएको भए धोकाको पीडा भोग्नुपर्ने त थिएन’ भन्ने जस्ता निराशावादी दृष्टिकोण पनि सरूका गीतहरूमा पाइन्छ, भने मायाभन्दा अमूल्य चीज संसारमा अरू छैन भन्ने तर्क पनि उनी गर्छिन् ।
सरस्वती श्रेष्ठ ‘सरू’ रोधीघर र मेलापातको संझनाका थुँगाहरू मनभरि फुलाएर सुगन्धित बनेकी छिन् ‘थुँगाथुँगा जिन्दगानी’ मा । सरूको गीत असारे भाका हो, देउसी, भैलो र तीजे गीत हो, रोधीघरको झ्याउरे, मारूनी र चाँचरी हो । समग्रमा जीवनको हरेक क्षणको प्रतिबिम्ब हो । साहित्यका कुनै पनि विधा जीवन र जगत्बाट भिन्न रहन सक्दैन । झन् गीत त जीवनको प्रतिबिम्ब नै हो । सरूका गीतहरू जीवन–गीत हुन् । आफ्नो साहित्य साधनाका निकै महत्वपूर्ण थुँगाहरू समेटिएका उनको यो पुस्तकभित्र सुललित र लयात्मक खालका गीतहरु छन् । हरेक गीतभित्र आन्तरिक लय सिर्जित छन् । गीति–सुत्रमा खरो उत्रिएका यी गीतहरू संगीत मन पराउने जो कसैले पनि गुनगुनाउन सक्ने खालका छन् । पोखरेली साहित्यिक परिवेशमा अक्षर यात्रालगायत अन्य साहित्यिक कार्यक्रमहरूको नियमित सहयात्री सरस्वती विभिन्न पुरस्कारहरूबाट पनि सम्मानित भइसकेकी छिन् । कविता, गजल र नाटकमा समेत उत्तिकै सशक्त कलम चलाउन सक्षम सरूका गजल र कविताका केही पाण्डुलिपी पनि प्रकाशनका तयारीमा छन् । सरूका अधिकांश गीतहरूमा भिरमा फुलेका बिम्बहरू टिपेर सजाइएका छन् भने केहीमा क्लिष्ट लाग्ने खालका बिम्बको प्रयोगले बौद्धिकवर्गका लागि लेखिएका गीत हुन् कि भन्ने भान पर्छ । गजलका शेरहरू जस्ता लाग्ने केही गीतहरू बढी भावुक शैलीका छन् जसले गीति सरलतालाई छोपिदिएका छन् । केही गीतहरूमा प्रयोग भएका कवितात्मक शैलीले गीतका सामान्य पाठकलाई गहनभाव बुझ्न कठिनाइ उत्पन्न हुन सक्छ ।
थुँगाथुँगा जिन्दगानीभित्रका गीतहरूले हरेक जिन्दगीलाई फूलका थुँगाजस्तै बनाउने प्रेरणा दिन्छन् । यी गीतहरू संगीतबद्ध भएर श्रोताका माझमा पनि आउन सके भने श्रोताका मनमुटुमा सजिलै बास पाउन सक्नेमा कसैको दुईमत हुन सक्दैन । स्वयम् गीतकार गजलका नयाँ–नयाँ शेरहरूलाई नयाँ–नयाँ लय हालेर गाउन सिपालु छिन् भने यी गीतहरू लोख्दा पनि गुनगुनाउँदै लेख्नुको कारण आन्तरिक लयको प्रचुरता भेटिन्छ । लोकगीति संरचना शैलीमा अधिकांश गीतहरू लेखिएका यो संग्रहमा जिन्दगीका बोटमा फुल्ने विभिन्न घटना र मोडरूपी थुँगाहरू समेटेर पुरै जीवनको बगैंचा सिर्जेकी छिन् सरूले । बिम्बात्मक नाम दिइएको यो पुस्तकको आवरण कलामा रमेश पौडेलको प्रस्तुती पनि स¥हानीय छ । गीतकार प्रकट पगेनी ‘शिव’, सरूभक्त, तीर्थ श्रेष्ठ, विश्व शाक्यजस्ता हस्तीहरूको आशिर्वचनले पुस्तकको उचाइ अझ थपेका छन् । ‘सरू’का यी गीतहरू पढ्ने जो कसैलाई पनि सरूका अन्य कृतिहरूको प्रतीक्षा गर्ने नशा लाग्न सक्छ । फूलैफूलको थुँगामाथि राख्छु भन्थें तिमीलाई मैले वाचा हारे सानु धिक्कार्दैछु आफैंलाई
कृति –थुँगाथुँगा जिन्दगानी (गीत–सञ्चयन)
कृतिकार –सरस्वती श्रेष्ठ ‘सरू’
प्रकाशन –पोखरेली युवा साँस्कृति परिवार, पोखरा –२०६३
– समिभञ्ज्याङ्ग–५,लमजुङ