~दीपा दाहाल~
स्वस्थानीको सांगे छ छिमेकमा । आफूलाई भने फुर्सद निकाल्नै गाह्रो । सबै भन्छन्, “खुब जागिरे भा’की, यस्सो मिलाउनू नि !”
घरका मान्छे पूजाका सरसामान जुटाउँदै थिए । आफन्त र छिमेकीहरू खानपिनको व्यवस्था गर्न जुटेका थिए । म पनि काउली काट्ने ठाउँमा गएर मिसिएँ । गाउँमा प्रायः सबैको सधैं भेट भएकै हुन्छ । त्यसैले भेट्दा खबर सोधपुछ खासै हुँदैन । म चलिरहेको गफमा घुलिएँ । त्यहाँ प्रायःको चिनजान भइसकेको रहेछ । मलाई नचिन्ने एउटी दिदीले सोधिहालिन्, “अनि बहिनीको चैं घर कुन हो नि ?”
मैले चोर औंलाको इशाराले देखाएँ, “ऊ त्यो हो ।”
“अनि को–को हुनुन्छ घरमा ?”
मलाई लगभग नबोली उठेर हिँड्न मन लागेको थियो । भनें, “सप्पैजना छौं ।
तिनलाई चुप लागाउने उपाय आखिर काम लागेन । फेरि सोधिन्, “सासू–ससुरा पनि हुनुहुन्छ ?”
“हजुर ।”
“अनि कतिजना नानीहरू ?”
“दुई जना ।”
“के–के ?”
“छोरा र छोरी ।”
“अनि श्रीमान् चैं कता हुनुन्छ ?”
मलाई आफ्नो बारेमा मान्छेले चासो देखायो कि पारो चढेर आइहाल्छ । त्यसमा पनि लोग्नेको कुरा ! म उठेर अर्काेतिर लागें ।
यो प्रश्न जति सरल छ, मेरा लागि त्यत्तिकै कठिन पनि । पढ्दै नपढी परीक्षा दिन जाँदा जस्तो । तर, यहाँ त प्रश्न उही छ निरन्तर ।
परीक्षामा खुसुक्क साथीले उत्तर भनिदिएजस्तो माख्लो घरकी दिदीले उनको कानैमा खुस्खुसाइन्, “महाको जँड्याहा छ । कतिपल्ट सुधार केन्द्र राखिसके, उस्तै । विचरीको बिजोग छ ।”
उफ् ! कुरा काट्नेले पनि नसुन्ने गरी काट्नू नि ! म सुनेको नसुन्यै भएँ । जसोतसो बहाना बनाएर त्यहाँबाट उम्किएँ ।
आइमाईलाई किन अर्काको बारेमा नालिबेली थाहा पाउन मन लाग्छ ? मैले बुझ्न सकेकी छैन । हुन त गाउँघरभन्दा पर नदेखेका, नबुझेका मान्छेले गरून् पनि अरू के कुरा ? तिनेर्को ‘विचरा’ तिनैलाई फर्काइदिएँ । मन अलि शान्त भयो ।
बल्लतल्ल आफ्नो लागि, छोराछोरीको लागि सपना देख्न थालेकी छु । मैले हार खाएकी छैन । जीवनलाई परिस्थितिअनुकूल समायोजन गर्दै हिँडिरहेकी छु । आफ्नो जिम्मेवारी बहन गरिरहेकी छु । अधिकारबारे पनि सचेत छु । ठूलो दुस्साहस गरेर कहिलेकाहीँ विगत चियाउँछु । कति निर्ममतापूर्वक मरेर बाँचेकी हुँ । झन् शक्तिशाली भएको अनुभूति गर्छु । तर, एउटै प्रश्नले मलाई भुइँमा पछारिदिन्छ, “अनि श्रीमान् ?”
लाग्छ— मेरो जिन्दगीको यही अन्तिम लडाइँ हो । यो प्रश्नलाई जितेको दिन म विजेता हुनेछु ।
० ० ०
आज काममा पटक्कै मन लागेन । बिहानको कुराले बारम्बार मनमा उथलपुथल मच्चाइरह्यो । टाउको दुखेको निहुँ गरेर अफिसबाट बिदा लिएँ । बाहिर निस्किएँ । घर जान मन लागेन । जानुपर्ने फेरि त्यही पूजामा हो । सफारी चढें ।
“कहाँ जाने ?”
चालकलाई भनें, “सतासी ।”
झिलझिलेबाट माथि सतासीको मन्दिर छ । मन्दिरदेखि पर छाँगो झर्ने ठाउँमा गएर बसें । मान्छेभन्दा रुख, झरना, ढुंगा, माटो कति प्यारा भए । कुनै दिन त यी पनि प्यारा थिएनन् । एकछिन ध्यान गरें । आज मलाई आफूले लुकाएर राखेको विगतको पोकोलाई पूरै उधार्न मन लाग्यो । कहाँ के–के गल्ती भए ? जति अघि बढ्न खोज्छु, उति–उति किन त्यही विगततिर धकेलिन्छु ? के म आफूले जितें भनेको लोग्नेबाट भागिरहेकी त छैन ?
११ मा पढ्दै थिएँ । पहिलोपटक मलाई हेर्न घरमा मान्छे आए । अग्लो, गोरो, एकदमै हेन्सम केटा । मनमा काउकुती लाग्यो । सँगै निराशा पनि । म थिएँ ठीक विपरीत । विपरीत नै त हैन किनकि म त्यति नराम्री पनि छैन । तर, उचाइले धोका दिएको चैं हो । काली छु । मनपराउनेहरूले ‘काली काली दिलवाली’ भन्थे । सोचें— यस्तो राम्रो केटाले के मन पराउला मलाई !
अचम्म ! मन परायो । अब घरमा बिहेको चर्चा चल्न थाल्यो । हिरोजस्तो राम्रो केटो ! सम्पन्न परिवार ! एउटै छोरो । ओहो ! सुखैसुख । पढाउँछु पनि भनेका छन् । पहिलोपटक हेर्न आएको केटासँग बिहा गर्ने छोरीमान्छे भाग्यमानी हुन्छन् अरे ! गाउँलेले पनि भन्न थाले, “रीता त कति भाग्यमानी रै’छे !” म पनि गजक्क परें । बेहुली जो बन्दै थिएँ ।
बिहेकै रात उसले भन्यो, “मैले तिमीलाई देख्नेबित्तिकै मन पराको ।”
मन खुशीले गदगद भयो । बूढापाकाको भनाइ ठीकै रहेछ । म साँच्चै भाग्यमानी थिएँ ।
मैतालु फर्काएर घर आएको रात उसले भन्यो, “म तिमीलाई धेरै माया गर्छु । मलाई छोडेर तिमी माइत नजाऊ है ।”
मैले यति माया गर्ने लोग्ने पाएकी छु, किन लखरलखर माइत गइरहनू ? आखिर माइतमा पनि त दुःख छ । बल्ल एउटा बोझ घटेकी छु— बाबुआमाको । मैले उसै गरें । ऊ बुवा–आमासँग निहुँ खोज्थ्यो । मलाई सबैले देख्ने गरी घरमा अँगालो हाल्थ्यो । मेरो कपाल खेलाइरहन्थ्यो । हात मुसारिरन्थ्यो । मलाई अप्ठ्यारो लाग्थ्यो । मान्छेको अगाडि त यसो नगर्नू नि ! तर, उसलाई कसरी भन्नु ? बुवा–आमा आफैं तर्किनुहुन्थ्यो । आऽऽ यस्तै होला भनें । मलाई बूढोले कत्ति माया गर्छ ! सोचेर मख्ख भएँ ।
मेरो माइती र घर खासै टाढा होइन । जम्मा १० किलोमिटर हो । तर, बिहे गरेको तीन महिना भइसक्यो, म माइत गएकी थिइनँ मैतालु फर्काएदेखि । उताबाट आमाले पनि सोधेको सोध्यै गर्न थाल्नुभएको थियो, “कहिले आउँछेस् ?” म टारिरहन्थें । बूढोसँग सोध्यो— कहिले फकाउने, कहिले रिसाउने गथ्र्यो । माइत जाने कुरा गर्नै हुन्नथ्यो । बल्लतल्ल आमाले उसैलाई फोन गरिरहेपछि भने गयौं ।
माइतीमा हामी ६ वटी छोरी । म साइँली । अरु तीनवटी बहिनीहरू थिए । घर सानो थियो, परिवार ठूलो । हजुरबा–आमा पनि हुनुन्थ्यो । ज्वाइँ सुत्ने कोठा बीचको थियो । हामी दिदीबहिनी अर्को कोठाको भुइँमा सुतेका थियौं । राति मेरो मोबाइलमा छुस्स मिस्डकल आयो । हेरें, बूढाको म्यासेज आएको रहेछ, “बूढी, बाहिर आऊ न एकछिन । आई लभ यु ।”
बहिनीहरू भर्खरै निदाएका छन् । ब्युँझिए कि ? फोन बजेको पो सुने कि ? डर लाग्यो । यस्सो हेरें, निदाइसकेका रहेछन् । सिरकभित्र गुटमुटिएर रिप्लाई गरें, “आई लभ यु टु बूढो । बहिनीहरूले थाहा पाउँछन्, भोलि सँगै भइहाल्छौं नि । बाई । लभ यु ।”
फेरि म्यासेज आयो, “खुरुक्क आऊ, नत्र म आउँछु ।”
मेरो मुटु यस्तरी धड्किरहेको थियो कि लाग्यो— त्यसको आवाजले घरका सबैको निद्रा बिथोलिनेछ । म थरथरी काँप्न थालें । के गर्नु ? के भन्नु ? दिमाग शून्य भयो । व्याकुल मनले भारी खुट्टा बाहिरतिर घिसा¥यो । मेरो ओठ काँपिरहेको थियो । जिब्रो लर्बरिएको थियो । भनें, “पिसाब फेर्न जान्छु ।”
ऊ मेरो पछिपछि आयो । लगभग मेरो हंशले ठाउँ छोडेको थियो । टाडे घर अलि ठूलो हाच्छिउँ गर्दा पनि हल्लिएको जस्तो लाग्थ्यो । म बिरालोको चालले सिँढी ओर्लिएँ ताकि घरकाले थाहा नपाऊन् । पिसाब फेरेर माथि जान लाग्दा उसले हात कसेर पकड्यो । भन्यो, “सँगै सुतौं । मलाई एक्लै निद्रा लागेन ।”
मैले सम्झाउन खोजें, “के भन्नुभएको ? एक रात त हो । घरमा थाहा पाउनुभयो भने कसरी मुख देखाउनु ?”
“केको लाज ? बिहे गरेको नै बूढाबूढी सँगै सुत्नलाई त हो नि । मलाई लाजसाज लाग्दैन । तिमीलाई लाग्छ भने यहीँ सुतुम् ।”
यति भनेर उसले लगभग घिसार्दै मलाई वस्तुको थलामा पु¥यायो । पल्लोपट्टि गाईवस्तु थिए, वल्लोपट्टि सानो चेप थियो । गाईवस्तुले खाँदा झारेको परालमाथि हाम्रो ओछ्यान भयो । मन लागुन्जेल उसले मलाई त्यहीँ गिजोल्योे । यसअघि यही गिजोल्याइलाई म माया गरेको ठान्थें । उसको एकोहोरो हठलाई नै आफ्नो आनन्द मान्थें । लोग्नेबाट पाउने सुख कस्तो हुन्छ, कस्तो हुनुपर्छ— मलाई केही थाहा थिएन । लाग्यो— यौन आनन्द पाउने अधिकार लोग्नेको मात्र रै’छ । हाम्रो त पीडा सहनेमात्रै । यतिबेला मलाई आफ्नो जिन्दगी गोठमा बाँधेको भैसीभन्दा पनि गएगुज्रेको लाग्यो ।
बडो कठिनले सावधानीका साथ म बहिनीहरूको छेउमा गएर सुतें । निद्रा एक झमक पनि परेन । मनमा सुनामी उर्लिएको थियो । त्यो आँखाबाट रातभर बगिरह्यो । बाँकी रात मुखमा सिरक कोच्याएर असह्य हिक्काहरूलाई रोक्दै बित्यो ।
बिहान अबेरसम्म उठिनँ । घरमा सबैलाई थाहा भयो कि ? के सोच्नुभयो होला ८० काटेका हजुरबुबा–आमाले ? बुवाआमाले के ठान्नुभयो होला ? दिदीहरू घर आउँदा खै कहिले राति उठेर एक्लै बाहिर गएको थाहा पाइनँ । मलाई बहिनीहरूले के भन्छन् होला ? मनमा यिनै कुरा खेलिरहे । मैले आफूलाई कुख्यात अपराधीझैं महसुस गरें ।
आमाले सोध्नुभयो, “के भयो ? यस्बेला उठेर पनि आँखा राताराता देख्छु त !”
मैले यत्तिकै टारें । काइँली बहिनीले छेड हान्न थाली । आमाले नबुझ्ने गरी भनी, “अब कहाँ निद्रा लाग्छ त एक्लै !”
मैले हप्काएँ, “जेसुकै नबोल् है ।”
मभन्दा ठीक एक वर्ष कान्छी हो ऊ । हामी सँगै पढेका साथीजस्तै छौं । उसले सोधी, “भन् न, बिहे गरेपछि कस्तो हुन्छ ? भिनाजुले कति माया गर्नुहुन्छ ? खुब रमाइलो हुन्छ होला है ? तिमेरको त घर पनि बजारमै छ । तँ त अब शहरिया भैस् । धनी भैस् । तेहीभर यता पनि आउँदिनस् ।”
मलाई उसका कुराले नदेखिने ठाउँमा घोचिरहे । पहिला हामीबीच गोप्य भन्ने केही हुन्नथ्यो । अब कसरी भन्नु उसलाई कि बिहेपछि कस्तो हुन्छ भनेर ! भनें, “बिहे गर् न अनि थाहा पाउछेस् ।”
अर्को मन ढुक्क भएँ । धन्न रातिको कुरा थाहा पाएकी रहिनछ । हामी दिउँसो घर फर्कियौं ।
घरमा सासू–ससुरा र हामी दुई जोइपोइ थियौं । सानो किराना पसल थियो । ससुरा नजिकैको स्कुलमा पढाउनु हुन्थ्यो । सब्जी खाने थोरै बारी थियो । बस्— घर यत्तिले चलेको थियो । मलाई माइतमा भन्दा सुख थियो । सुख यसकारण कि खेतको धूलो–हिलोमा काम गर्नु पर्दैनथ्यो । मल बोक्नु पर्दैनथ्यो । अर्काकोमा खेताला जानु पर्दैनथ्यो । तर, मैले पिठ्यूँमा बोक्ने मलको भन्दा कता हो कता गह्रौं भारी मनमा बोक्नु परेको थियो, जो कसैले देख्दैनथे ।
उसले हरेक रात झनभन्दा झन् बढी दुःख दिन थालेको थियो । पहिला त थोरैथोरै रक्सी खाएर आउँथ्यो । शुरुमै ‘सरी’ भनेर माफी माग्थ्यो । अनि म पनि यस्तै त होला नि भन्ने सोच्थें । बाबुआमाले प्याउलाएर हुर्काएको एक्लो छोरो । माया गरेरै एकदिन यो कुलतबाट छुटाउँछु भन्ने लाग्थ्यो । मैले विरोध गरें भने झन् बिग्रिने पो हो कि ? त्यही डरले जे गरे पनि सहन्थें । रक्सी खाएको बेला उसको प्यास हत्तपत्त मेटिँदैनथ्यो । म रोएर सहन्थें । के सबै छोरीमान्छेलाई उनका लोग्नेले यसै गर्छन् ? कसलाई सोध्नु र यस्तो कुरा ?
उसको विदेश जाने लगभग निश्चित भयो ।
“बिहे गरेको नयाँ–नयाँमा गाह्रो हुन्छ होला है रीता ? हामी त बानी प¥यौं,” छिमेकी दिदीहरू जिस्काउँथे । म पनि होझैं गर्थें तर मनमा भने बूढो विदेश जाने कुराले औधी खुशी लागेको थियो । मेरो दुःखजस्तै खुशी पनि देखाउन नमिल्ने खालको थियो । अप्ठ्यारो ठाउँको पिलोजस्तै । बिहे गरेको पाँच महिनापछि ऊ विदेश गयो । बल्ल मलाई अलि ढुक्क भयो । बूढो घरमा हुँदा जतिबेलै उसैसँग बस्नुपथ्र्यो । शायद यसैले होला— घरमा सासू–ससुरासँग पनि खासै घुलमिल भएकी थिइनँ । छिमेकी पनि धेरै चिन्दिनथें । बल्ल त म फुर्सदिली भएकी थिएँ । छिमेकी साथीहरू जिस्काउँथे, “ओहो ! गाउँ हिन्न थालेकी ?”
तिनका नि बूढा बिदेसिएका । लोग्नेका कुरा गर्थे, छिल्लिन्थे, “कत्ति याद आउँछ नि के गर्नु, एक्लै नहुने ।”
अर्कीले थप्थिन्, “आऽऽ एकछिन त हो नि, मजा हुनै नपाई सकिहाल्छ ।”
मजा ? यो त मलाई थाहै छैन । म त खुशी छु लोग्ने नहुँदा । कसरी सुनाउनु यस्तो कुरा ? उनीहरू उक्साउँथे । म लजाएझैं गर्थें ।
जिउ गह्रौं भएजस्तो लाग्न थालेको थियो । ऊ गएको दुई महिनापछि थाहा भयो— म आमा बन्ने भएछु । घरमा अब मैले पाउने माया पनि दोब्बर भयो, मेरो जिउजस्तै । यतिबेला बूढो सँगै भइदिएको भए ? अकस्मात् लोग्नेको अभाव खड्किएको आभास भयो । यतिका दिन मलाई ऊ नहुँदा ढुक्क लागेको थियो । कस्ती निष्ठुरी म ? आफैंसग रिस उठ्यो । राति अलि बढी दुःख दिने त हो नत्र त भगवान् हो नि मेरो बूढो ! मनको कुनै कुनामा खल्लो भयो । मैले जाबो यत्ति कारणले बूढालाई पूरै माया दिन सकिनँ कि ? आफैंसग रिस उठ्यो । अब त ऊ मेरो लोग्नेमात्रै हैन, मेरो सन्तानको बाबु पनि हो । मनमा ऊप्रति प्रेमको भेल उर्लिरहेथ्यो । उसैको फोन आयो । खुशीले एकै सासमा सुनाएँ ऊ बाबु बन्ने कुरा । ऊ पनि खुशी भयो । आज गफ गर्ने समय पनि कति चाँडो सकिएजस्तो लाग्यो ।
म महिनैपिच्छे माइत जान्थें । सब ठीक चलिरहेको थियो । जिन्दगी रमाइलोसँग बितिरहेको थियो ।
मेरो ९ महिना चल्दै थियो । ऊ पनि ‘तिमीलाई हेर्न मन लाग्यो, बच्चा पनि हुने बेला भयो, यहाँ काम पनि राम्रो छैन’ भनेर आउने भयो । सबैभन्दा बढी बूढाको साथ चाहिने बेला पनि त यही थियो । मेरो खुशीले सीमा नाघ्यो । जेहोस्, अन्तिम समयमा भए पनि लोग्नेको साथ पाउने भएँ ।
मनमा बेग्लै आनन्द छायो । योबीचमा कति सम्झिएँ, कति एक्लो मससुस भयो । फोनमा भन्न साध्धे नभएका कुरा सबै भन्नु थियो । पेट कस्तो भारी हुन्छ, भित्र बच्चा खेल्दा कस्तो महसुस हुन्छ, छोरा होला कि छोरी, नाम के राख्ने— कत्ति थिए भन्ने कुरा । कहाँबाट शुरु गरूँ ? अलमलिएकी थिएँ । सोचें— उसैले शुरु गरे हुने । उसले पहिलाझैं कसेर हात समाउन थाल्यो । कपाल खेलाउन थाल्यो । म्वाइ खायो शरीरभरि । अनि आफू लोग्ने भएको कर्तव्य पूरा ग¥यो । मानौं उसलाई आफू १५ दिनपछि बाबु बन्दैछु भन्ने कुरा थाहै छैन । ऊसँग भावना भन्ने कुरै छैन । मात्र एउटा चिज छ टाङमा झुन्डिएको र ऊ त्यसैद्वारा सञ्चालित छ । म चेत हराएजस्ती भएँ । अघिसम्मको त्यो खुशी, त्यो उत्साह असिनासरि एकछिनमा बिलायो । भोलिपल्ट ऐना हेर्दा मैले आफूलाई गहिरो इनारमा देखिने छायाजस्तै पाएँ । अँध्यायो ! डरलाग्दो !
बूढाले मलाई यसरी माया ग¥यो कि डाक्टरले भनेको भन्दा पाँच दिनअगावै मलाई अस्पताल लगियो । रगत धेरै बगेर बेहोस भएपछि मलाई राति नै पु¥याइएछ । अवस्था नाजुक भएकोले दुई दिनपछि मेरो अपरेसन गरियो । मैले छोरी पाएँ ।
घरमा आमा–बुवाले राम्रो ख्याल राख्नुभयो । चाहना त थियो होला— नाति होस् तर नातिनी भएकोमा दुःख मान्नुभएन । अथवा भनौं देखाउनुभएन । तर, आफ्नो भन्ने मान्छेको भने पूरै वेवास्ता । छोरीलाई हेरेर एकदिन हाँसेको देखिनँ । बोक्ने त कुरै छोडौं । बरु घर राति अबेर आउन थाल्यो । रक्सीको मात्रा पहिलाको भन्दा झन्–झन् बढेको थियो । म २० दिनकी सुत्केरी थिएँ । ऊ आयो ओछ्यानमा । म नानीलाई दूध चुसाउँदै थिएँ । यस्सो काम देखाएर नानी बोक्न दिएँ— कतै माया पलाइहाल्छ कि भनेर । उसले थपक्क नानी पल्लो खाटमा राख्यो । भन्यो, “अब त निकी भैस् होला त !”
अपरेसन गरेको शरीर कति काटेको छ भनेर कहिल्यै हेरेन । कति पीडा हुन्छ आमा बन्दा भनेर एकपल्ट पनि सोधेन । आफ्नै सन्तानलाई बाबुले पूरै बेवास्ता गर्दा आमालाई कहाँ–कहाँ पोल्छ भनेर बुझेन । यत्ति बुझ्यो कि ऊ मेरो लोग्ने हो । जे मन लाग्छ, त्यही गर्न सक्छ बस् । मेरो रगत आउन भर्खर बन्द भएको थियो । घाउ निको भइसकेकै थिएन । तर, योभन्दा ठूलो कुरा लोग्नेको प्यास थियो । स्वास्नी हुनुको जिम्मेवारी थियो । म पीडा खप्न नसकेर छट्पटाइरहेकी थिएँ । रगतको आहालमा डुबेकी थिएँ । उता छोरी रुन थालेकी थिई । तर, उसको तिर्खा बुझेको थिएन । म असह्य भएपछि ग्वाँग्वाँ रुन थाले । अब उसलाई मजा आउन छोडेछ । मेरो मुखमा नानीका थाङ्ना कोच्याइदियो र कुट्न थाल्यो । कुटेर थाकेपछि ऊ निदायो । म नानीसँग गएर सुतें । मैले के गर्ने, केही सोच्न सकिनँ । छोरीको अनुहार हेरें, आँसु आफैं बगिरह्यो । मसँग आँसु पुछ्ने शक्तिसम्म थिएन ।
भोलिपल्ट घरबाट आमाले फोन गर्नुभयो । मलाई भक्कानो छोडेर रुन मन लागेको थियोे । तर, रुनु हुँदैनथ्यो । माइतमा दुःख देखाउनु हुँदैन छोरीले । एकछिनमा गर्छु भनेर फोन काटें । ढोका थुनेर बेस्मारी रोएँ । पहिले माइतमा हुदा हामी गरिब छौं, त्यही भएर दुःखी हौं जस्तो लाग्थ्यो । अहिले बुझें— दुःखी हुनु भनेको के हो ! निरुपाय दुःख । बुझेर के गर्नु ! अब त सब सकियो । आखिर सन्तानको लागि त दयालु हुन नसक्ने लोग्नेबाट के आश गर्नु मैले ?
मलाई अब रात पर्नासाथ डर लाग्न थाल्थ्यो । उसको दैनिकी बनेको थियो— अबेर घर आउने, खाना नखाने र राति जबर्जस्ती गर्ने । म रुन्थें । कराउँथें । फकाउन खोज्थें । उसलाई एउटै कुराको ध्याउन्न थियो— आफ्नो प्यास । शारीरिक त थियो थियो, अब त मलाई मनसिक रूपमा समेत तड्पाउन थाल्यो । पहिला पनि गाइँगुइँ त सुनेकी थिएँ तर सोध्ने हिम्मत गर्न सकेकी थिइनँ । अब त आफैं भन्न थाल्यो, त्यो पनि शानले, “आज यस्ती केटीसँग सुतेर आएँ ।”
भोलिपल्ट केटीका फोटा देखायो । अर्को दिन भिडियो गरेर ल्याएछ, “आज यी यस्सरी गरें ।”
ठूलो पुरुषार्थ गरेझैं सुनाउँथ्यो । मैले हेर्न नखोज्दा पनि धर पाइनँ । मेरो मनैदेखि कोक्याएर आयो । तर, त्यति पीडा दिएरमात्रै उसको मन भरिएन । फेरि मन भर्न पोखियो ममाथि । उफ् ! जुनी पनि कस्तो लिएर आएछु ! मलाई मर्नुभन्दा अरू विकल्प सुझेन । मैले मर्ने निश्चय गरें । लोग्ने घुर्न थालेको थियो । छोरी निदाएकी थिई । त्यतिबेला मैले केही सोचिनँ मृत्युशिवाय । तल गएँ । भान्सामा मुसाको दबाई थियो । खोज्न थालें । लाइन गयो । लाइट नलिई झरेकी थिएँ । मोबाइल लिन माथि गएँ । नानी रोइरहेकी रहिछ । बोकेर दूध चुसाउन थालें । उसलाई छुँदैमात्र पनि मलाई भित्रैसम्म न्यानो महसुस भयो । उसको शरीरबाट आइरहेको गनाउने बासना, निर्दोष अनुहार ! म यो के गर्न लागेकी थिएँ ? मैले आफूलाई फेरि अर्कोपटक अपराधी ठानें । योभन्दा लाख कष्ट सहेर पनि छोरीका लागि बाँच्नुपर्छ भन्ने लाग्यो । अब कम्तीमा खुशी हुने साथी त थिई । बल्लतल्ल माइतबाट लिन आउनुभयो । एक महिनाकी भएपछि म माइत गएँ । मेरो जिउ, मेरो अनुहार हेरेर सबै छक्क परे । मैले धेरै रगत बगेकाले कमजोर भएर हो भनें । माइत गएको १५ दिन भएको थियो । नानीको न्यास्रो लाग्यो भनेर ऊ त्यहीँ आयो । बेलुका बहिनीले सुत्ने ठाउँ देखाइदिई । ऊ थपक्क मेरो ओछ्यानमा आएर बस्यो । नानीसँग गफ गरेजस्तो ग¥यो । त्यहाँबाट चटपटाएन । मलाई मर्नुजस्तो भयो । लाजले । घिनले । आजसम्म त माइतमा केही थाहा थिएन । जति पीडा खप्नु थियो, खपेकै थिएँ । अब के ठान्नुहुन्छ होला ? मलाई लोग्नेले दिएको भन्दा ठूलो पीडा यसले दिन्थ्यो । ऊ तीन दिन बस्यो । तीनै दिन मेरै छेउमा, मेरै ओछ्यानमा मात्रै । बहिनीहरू पनि ऊसँग तर्किन थालेका थिए । उसले ससुरालीबाट ज्वाइँको सम्मान गुमाएको थियो । गाउँलेले खिल्ली उडाउँथे, “रीताको बूढोले त सुत्केरी हुँदा पनि छोड्दैन रछ !”
यसले के फरक पर्छ ? उसलाई फरक पर्ने कुरा एउटै थियो— जुन उसको टाङमुनि थियो । उसले यी तीन दिन खुब माया देखायो, “म एक्लै हुन्छु, घर आइहाल है । अब म दुःख दिन्नँ । तिमिलाई माया गर्छु ।”
ऊ घर गएको दुई–तीन दिनपछि ‘आजै आइज, भोलि नै आइज’ भनेर बोलाउन थाल्यो । आखिर घर त जानु नै थियो । मलाई पनि झिनो आश थियो— साँच्चै सुध्रियो कि ! गएँ । नभन्दै उसले रक्सी खाएको थिएन । घरमै बस्थ्यो । काम सघाउँथ्यो । रक्सी नखाँदा उसले राति पनि दुःख दिदैनथ्यो । मलाई धेरै केही चाहिएको पनि थिएन । यो नै मेरा लागि जीवनको सर्वोत्तम सुख थियो, जुन सुख जीवनमा साह्रै थोरै मात्रै पाएँ । यत्तिकैमा ऊ फेरि विदेश गयो । विदेश गएको केही समयसम्म त राम्ररी नै कुरा गथ्र्यो । पछिपछि भने मानसिक रूपमा झन्–झन् सताउन थाल्यो । अनेकौं केटीका फोटा पठाएर सोध्थ्यो,े “कुन राम्री छ ? सौता छान् !”
कहिले भिडियो पठाउँथ्यो, “तँभन्दा हजार गुना राम्रा केटी साथी छन् मेरा । तँ माइत जा कि त पोइला जा, म अर्की लिएर आउँछु ।”
उसले भनेजस्तो गर्न त के— म सोच्न पनि सक्दिनथें । माइत कसरी जानू ? बल्लतल्ल बाबु–आमाको दुःख घटेको थियो । काइँली र अन्तरी बहिनीको पनि बिहे भइसकेको थियो । म कुन मुखले फेरि थपिन जानू ? अब त छोरी पनि छे । पोइला जानेबारे त झन् कल्पना पनि गर्न सक्दिनँ । समाजले के भन्छ ? आफ्नै बाबु–आमाले पनि स्वीकार्दैनन् । बरु जस्तो भए पनि आफ्नो लोग्नेसँगै त छु । चाहे लोग्ने राक्षस नै किन नहोस् ।
० ० ०
बजारमा नयाँ सहकारी खुलेको थियो । ससुरा बुवाले कुरा गर्दिनुभएछ । मैले फिल्डमा डुल्नुपर्ने काम पाएँ । गाउँमा समूह बनाउने, बचत गर्न लगाउने, ऋृण दिने आदि काम गर्नुपथ्र्यो । शुरुशुरुमा निक्कै गाह्रो भयो मान्छेलाई बुझाउन । पछि बानी पर्दै गएँ । आत्मनिर्भर भएपछि बूढोसँग बोल्न पनि अलि आँट आउँदो रै’छ । अब त म उसलाई जवाफ फर्काउन थालेकी थिएँ । त्यसैले होला— अब मलाई डुलेर बिग्रेकी भन्न थाल्यो । “को–कोसँग सुत्छेस् ?” ठाडै सोध्थ्यो । उसले दिने दुःख, मानसिक तनाव उस्तै थियो । तर, मेरो दैनिकी बदलिएको थियो । छोरी हुर्किंदै थिई । म जागिर खाँदै थिएँ ।
दुई वर्षपछि ऊ घर आयो । दिन रमाइलोसँगै बित्दै थियो । लाग्यो— अबचैं सुध्रिएछ । तर, बाह्र वर्ष कुकुरको पुच्छर ढुंग्रामा राखे पनि जस्ताको तस्तै । फेरि उसका हर्कत शुरु भए । एकातिर कामको तनाव थियो, अर्कोतिर लोग्नेको । अब त झन् गाँजा पनि खान थालेको थियो । उसले मलाई दिने पीडा पनि झन् थपिएको थियो । यतिन्जेल एक्लै सहेको पीडा अब त छोप्ने–टाल्ने ठाउँसम्म थिएन । बिस्तारै झन्–झन् उघ्रिँदै गयो । घरमा सासू–ससुराले पनि सम्झाउन नखोजेका होइनन् । तर, ऊ बाबु–आमालाई पनि देख्न सक्दैनथ्यो । छिमेकी भन्थे, “बाबुआमाले तह लगाउन नसकेरै बिहे गरिदेका हुन् ।”
म भित्रभित्रै मुर्मुरिन्थें— यो कुन भुंग्रोमा खस्न आइपुगें ?
कहिलेकाहीँ अतिचार हुँदा म गाउँमा लुक्न जान्थें । फेरि फर्केर घर त जानु नै पथ्र्यो ।
“गाउँमा लुक्न जान्छेस् ? लु जा, बोलार ले कोकोल्लाई ल्याउँदी रै’छेस्,” झन् कुट्थ्यो । कुटेर थाकेपछि फेरि मैमाथि खप्टिन आउँथ्यो । यातनाको पनि हद हुन्छ । म हदभन्दा बढी सहँदै थिएँ । भोलिपल्ट मैले हात चलाउनै सकिनँ । ऊ मान्छे अवतारमा फर्किएको थियो । अस्पताल गयौं । मर्किएको रहेछ । दिनैभरि माफी माग्यो । ‘अब सुध्रिन्छु’ भन्यो । आफैं रोयो, आफैंलाई सराप्यो । साँच्चै रक्सी नखाँदा त मान्छे असल नै छ । भन्यो, “विद्या कस्सम, अब रक्सी छुँदै छुन्नँ ।”
विद्या नै नभएको मान्छेलाई जाबो कस्समको के सुर्ता ! हरेक दिन घाम उदाउनु र अस्ताउनुजस्तै थियो उसको व्यवहार । थोरै सज्जन जस्तो, बाँकी … । भन्नै पनि सक्दिनँ । पशु भनौं— मेरो लोग्नेभन्दा धेरै जाति हुन्छन् । राक्षस भनौं— यति अत्याचार त तिनले पनि गरेको सुन्दिनँ । हात मर्किएदेखि अलि सुध्रिएको थियो । आज फेरि टिल्ल भएर आएछ । म डरले काँपिरहेकी थिएँ । मलाई धन्धा सके पनि माथि चढ्न आँट आएन । बसिरहेकी थिएँ के–के काम गरेजस्तो गरेर । मुनि आएर भन्यो, “आज यतै सुत्ने ?”
“काम बल्ल सकियो,” भनें । डरले आवाज दबिएको थियो । कोठामा पुग्न नपाउँदै झम्टिहाल्यो । नानी निदाइसकेकी थिई । ब्युँझिन्छे कि, यस्सो हेरें । उसलाई पनि त्यत्तिको हल्ला बानी परेको हुँदो हो । ब्युँझिइन ।
लोग्ने हो ऊ मेरो । कर्तव्य पूरा गर्न थाल्यो । म सहन नसक्ने भएँ । आवाज दबाउन सक्न छोडें । एकनास बगेका आँसुले हिँक्कहिँक्कबाट डाँको छोड्यो । तर, उसको प्यास मेटिएन । जिउभरि टोक्न थाल्यो । मानौं म मरिसकेकी सिनो हुँ । जताततै लुछ्न थाल्यो । त्यो जिउँदो मान्छेले खप्न सक्ने पीडा थिएन । म कहालिएर रुन थालें । छोरी पनि रुन थाली । बुवाआमाले ढोका ढक्ढक्याउनु भयो ।
“राम ! के भयो ? ढोका खोल ।”
उसले जवाफ फर्कायो, “चुप्प लागेर सुत । केही भको छैन ।”
उसले अब मलाई गिजोल्न छाडेर कुट्न थाल्यो । म ढोका खोल्न जान खोज्थें, ऊ मर्केको हात झन् बटारिदिन्थ्यो । उफ् ! मसँग अब एक रत्ति पनि शक्ति बाँकी थिएन । ढोका ढ्यांग–ढ्यांग ग¥यो । बाहिर नयाँ आवाज सुनियो । कडा र स्पष्ट । “ढोका खोल्ने कि म खोलौं ?”
यतिबेला मेरो चेतनामा लाज भन्ने कुराले थोरै शक्ति दियो । आफ्नो शरीर सिरकले ढाकें । उताबाट ढ्यांग गरेपछि उसैले ढोका खोल्यो । पुलिस आएको रहेछ । माइतबाट बुवा, गाउँका दाइहरू पनि आउनुभएको रहेछ । आजसम्म टालटुल पारेर राखेको इज्जत पनि सकियो । मलाई अघिसम्मको पीडाले भन्दा बढी यसले पोल्यो । म यस्तो अवस्थामा थिएँ कि बुवालाई त के, कसैलाई हेर्नै सकिनँ । मलाई बुवाले ‘घर जाऊँ’ भन्नुभयो । म टोल थर्किने गरी रुन थालें । बिहेको दिन पनि खुब रोएकी थिएँ, जन्मेको घर छोड्दा । आज बुवाले ‘घर जाऊँ’ भन्दा मनको पहिरो एक्कासि भत्कियो । वर्षौं अघिदेखि बाँधिराखेको बाँध कमजोर भएर आफैं फुट्न लागेको थियो । सुरक्षित निकास भेटेपछि छेउका पहरालाई चुनौती दिँदै उर्लिएजस्तो । म ढुक्कले रोएँ । रोइरहें घर पुगुन्जेल । घरमा आमा, हजुरबुबा–आमालाई भेटेपछि झन् खहरे उर्लियो । रातभर घरमा कसैका आँखा ओभाएनन् ।
म माइतै बसेर काममा जान थालें । काम फिल्डमा थियो । तर, एकपटक त अफिस जानै पथ्र्यो । माइत गएको तीन दिन भएको थियो । अफिसबाट फर्किंदै गर्दा उसले बाटो छेक्योे । ‘घर हिँड, अब सुध्रिएँ, तिमीलाई धेरै माया गर्छु’ भन्यो । म बल्लतल्ल उम्किएर फर्किएँ । माइत पुग्दा त ऊ पनि पो अर्को बाटो टुप्लुक्क आइपुग्यो । घरमा कोही बोल्नुभएन । बहिनीले ठुल्ठूला आँखा बनाएर हेरी । आमाले कुकुरलाई नभन्ने गाली गर्नुभयो । गाउँका दाजुभाइ पनि आए । सबैले हप्काए ।
“किन कुटिस् ?”
“अब कुट्दिनँ ।”
“किन आको साँझमा ?”
“बूढी लिन,” ऊ जवाफ दिन्थ्यो ।
राति आमाले बीच खाटमा ओछ्यान देखाइदिनुभयो । उसले मेरो ओछ्यान छोडेन । भोलिपल्ट बिहानै गयो । म दिउँसो काममा गएँ । फर्किंदा साझ पथ्र्यो । खाना खाएर सबै सुतिसकेका थियौं । राति ९ बजेको थियो । आवाज आयो, “रीता, रीता !”
“को हो ?” बुवाले सोध्नुभयो ।
“म ।”
“को म ?”
अब मलाई लाजशरम भन्ने कुरा सब पचिसकेको थियो । बुवाले ढोका खोलिदिनुभो । ऊ सरासर मेरो ओछ्यानमा आएर सुत्यो । बिहानभरि फकायो, “अस्ति पुलिसले सारै कुट्यो । अब म तिमीलाई माया गर्छु । केही गर्दिनँ, हिँड ।”
आखिर माइत हो, कतिन्जेल बस्न सक्थें र ! बुवाआमाले घरमा फोन गर्नुभयो । सासू–ससुरालाई सोध्नुभयो । उहाँहरूले पनि पठाइदिनू भन्नुभयो । हामी गयौं । तर, नस्पातीको बोटमा सुन्तला किन फलोस् ! अफिसबाट अलि ढिलो भएको थियो घर आउन । खाना खाने बेला भइसकेको रहेछ । खाना खायौं । धन्दा गर्दै थिएँ, उसले बोलायो । बाहिर निस्किँदा बाइक स्टार्ट गरेको थियो । मलाई बस्न भन्यो । कहाँ जाने ? उत्तर थिएन । आदेश थियो, “खुरुक्क बस् न ।” बसें । घरबाट ६–७ किलोमिटर पूर्व पुगेपछि उत्तर लाग्यो बाइक । अलि पर जंगलको छेउमा एउटा पुरानो घर थियो । खन्डहरजस्तो ।
“किन ल्याउनुभको यहाँ ?”
हेर्दै डरलाग्दो घरमा मलाई तान्दै भित्र छिरायो, “तेरो लागि बनाको यो घर । अब जति चिच्याउनु छ, चिच्या ।”
यति भनिसकेपछि उसको जंगलीपन ममाथि खनियो । घरमा सताएकोले पुगेन । अब त जंगलमा कसले सुन्ने मेरो आवाज ? मेरो आवाज रुख–रुखमा ठोक्किएर मुच्र्छित भयो । पूरै प्यास बुझेपछि उसले घर फर्कायो । अब त यो घटना पनि दिनहुुँजसो हुन थाल्यो । म उसकी स्वास्नीमात्र हैन, कसैकी आमा पनि थिएँ । बुहारी थिएँ । तर, घरप्रतिको मेरो जिम्मेवारी लगभग शून्य थियो । मेरो होश पनि ठेगानमा थिएन । अब कतिबेला बूढोले बोलाउने हो भनेर कहालिँदै धन्दा गर्दै थिएँ । आज बोलाएन । छोरी पनि मसँगै सुत्छु भनेकी थिइ । म छोरीलाई सुताउँदै थिएँ । ऊ खुब मायालु बन्यो ।
“मैले तिमीलाई सारै दुःख दिएँ, अब दिन्नँ । मलाई एउटा छोरा पाइदेऊ, त्यत्ति भए हुन्छ ।”
कतै छोरो नजन्माएकोले पो यस्तो भएको हो कि । मेरो मनमा पनि लागेको थियो । उसले छोरीलाई एकपटक पनि मायाले हेरेको छैन । छोएको छैन । अब म अरू केटीसँग पनि लाग्दिनँ भनेर कसम खायो । म पनि सहमत भएँ । मैले छोरा पाउने, उसले रक्सी र केटी छोड्ने । अब दिनहरू उति तनावपूर्ण भएनन् । नभन्दै मलाई लक्षण देखापर्न थाल्यो । म आमा बन्ने भएँ । तर, छोराको या छोरीको ? यो भने निश्चित भएको थिएन । कतिबेला घर आउलान् र यो खबर सुनाउँला भनेर म आतुर थिएँ । फेरि बेस्सरी पिएर आएछ । मलाई उसको रक्सी खाएको रूप देख्यो कि कामज्वरो आउँथ्यो । जाडोमा पनि पसिना निस्किन्थ्यो । म काम्न थालें । कोठामा छिर्नेबित्तिकै उसको रौद्ररूप शुरु भयो । मलाई थाहा थियो— मातेपछि उसको प्यास रातभर पनि बुझ्दैन । मैले आफ्नो पेटको बच्चाको लागि पनि आफूलाई जोगाउनु थियो । म शुरुमै चिच्याउन थालें । हारगुहार माग्न थाले । बुवाआमाले ढोका ढक्ढक्याउनुभयो । छिमेकी आए । उसलाई कसैको मतलब थिएन । मलाई जतासुकै भकुर्न थाल्यो । खेलाडीले गोल खेल्न अभ्यास गरेजस्तो । फेरि नौलो आवाज आयो । पुलिस आएछन् । धेरैबेर ढ्यांग–ढ्यांग गरेपछि बल्ल ढोका खोल्योे । उसलाई पुलिसले लिएर गए । छिमेकी पनि मलाई सहानुभूति पोखेर हिँडे । म जहाँ थिएँ, त्यहीँ अडें रातभर । भोलिपल्ट घरमा सल्लाह भयो । उसलाई ठानाबाटै सुधार केन्द्र पु¥याइयो । यो उसको तेस्रो बसाइ हो सुधार केन्द्रको । यसअघि दुइचोटि बिहेअघि नै राखिएको रहेछ । मलाई भने नमीठो लागिरह्यो ।
मेरो पेट ठूलो हुँदै थियो । ऊ गएको पनि ६ महिना भएको थियो । नशा धेरै भएकाले अझै ६ महिना राख्नुपर्ने भयो । म फेरि दोस्रोपल्ट पनि आमा भएँ । मलाई दुबैचोटि आमा बन्दा उस्तै कष्ट भयो । उत्ति नै आनन्द पनि भयो । तर, यो पल्ट छोराकी आमा भएँ भन्ने पहिलोपटक सुन्दा खुब खुशी भएँ । त्यो खुशी उसको बाबुको लागि थियो । अब फर्केर आएपछि चाहिँ सुध्रिन्छ कि ! आखिर सन्तान उसले चाहेकै भयो । मनमनै भगवानलाई धन्यवाद दिएँ ।
मेरो सुत्केरी समय पनि राम्ररी बित्यो । नाति जन्मेको, सासूआमाले कुनै कसर राख्नुभएन स्याहार्नलाई । माइत पनि ढुक्कसँग बस्न पाएँ । छोरा भएको चार महिनापछि ऊ घर आयो । छोराको बाबु भएको थियो । भर्खर सुध्रिएर आएको । म कुनै हालतमा यो वातावरण नबिग्रियोस् भन्ने चाहन्थें । उसलाई खुशी नै खुशी राख्न थाल्यौं घरमा सबैले ।
शायद कुकुरलाई घिउ पच्दैन । उसलाई बाबुआमा, छोराछोरी, बूढीको माया पचेन । उसको व्यवहार फेरि दोहोरिन थाल्यो । मलाई दिनदिनै फेरि उही दुःख दिन थाल्यो । ‘अर्की ल्याउँछु, पोइला जा’ भन्थ्यो । बुवा–आमालाई पनि टेर्दैनथ्यो । बुवा–आमा पनि अब त उसको व्यवहारले आजित हुनुभएको थियो । भन्नुभयो, “तँ जाँसुकै जा, मर् कि बाँच्, यो घरमा नआइज । हामी बुहारी, नाति–नातिनासँगै बस्छौं ।”
ऊ उसैगरी राति घर आउँथ्यो । म नानीहरू लिएर ढोका लगाई भित्र पसिहाल्थें । ऊ ढोका फुटाउलाझैं गथ्र्यो । घरमा पुलिस आउँथे, लान्थे । भोलिपल्ट छुट्थ्यो, फेरि उस्तै । ऊ दिनदिनै नयाँ–नयाँ केटीसँग सुतेका भिडियो पठाउँथ्यो । उसले खोजेको के हो ? मैले कहिले बुझिनँ । अरू केटी मनपर्ने भए किन बिहे गर्दैन ? किन रक्सी नखाँदा असल हुन्छ ? कस्तो मुटु छ उसको आफ्नै फूलजस्ता छोराछोरी देख्दा पनि माया नपलाउने ? अब त मेरो मन पनि उसकै जस्तो भयो । संवेदनाहीन । निरस । निर्मम ।
अब मसँग छोराछोरीको जिम्मेवारी थियोे । सासू–ससुराप्रतिको कर्तव्य थियो । लोग्नेका प्रति ? सोचें— मरेपछि किरिया गर्छु, बस् ।
मेरो काम गर्दागर्दै धेरै मान्छेसँग चिनारी भयो । कामको कुरा सिकें । व्यवहारको कुरा सिकें । जिन्दगीको मूल्य बुझें । मलाई हरपल मर्न विवश बनाउने मान्छे कसरी पतिको नाममा परमेश्वर भयो ? मैले लोग्नेलाई पूरै बेवास्ता गर्न थालें ।
० ० ०
अचेल अफिसमा बसेर काम गर्न थालेकी थिएँ । घर बेलैमा आउँथें । ऊ कहिलेकाहीँ टिल्ल भएर आउँथ्यो । म बुवा–आमालाई खाना दिएर आफू पनि खान बस्थें । उब्रेको फालिदिन्थें । धन्दा गर्थें । आफ्नो कोठामा गएर चुक्कुल लगार्ए बस्थें । ऊ मूर्तिवत् हेरिरहन्थ्यो । शुरुशुरुमा उसले कुटपिट गर्न नखोजेको होइन । अफिसमा आएर धम्क्याउँथ्यो पनि । तर, मभित्रको ज्वालामुखी विष्फोट भइसकेको थियो । यसले ममा एक्कासि यति हिम्मत पलाएको थियो कि जँड्याहासँग त के, म भुस्तिघ्रेसँग पनि लडाइँ गर्न तयार थिएँ ।
बेलुका म घरको धन्धा गर्दै थिएँ । “मेरो घरमा बसेर मैलाई एक्का बनाउछेस् ?” भन्दै उसले मलाई भुत्ल्याउन खोज्यो । मैले एकै धक्कामा उसलाई लडाइदिएँ । त्यसपछि उसले फेरि हात उठाउने हिम्मत गरेन । आफ्नो शक्ति चिन्न मलाई यतिका पीडा खप्नुप¥यो । बुवा–आमा पनि हारहद्दे हुनुभएको थियो । छोरीले कहिल्यै बाबुको माया पाइन । ऊ बाउलाई देख्यो कि डरले मसँग टास्सिन आइपुग्छे । छोरोलाई के थाहा ! पछि थाहा पाउला उसको बाउ हिंस्रक जनावर हो ।
मैले प्रतिरोध गर्न थालेपछि ऊ साँच्चै कमजोर भएको थियो । मैले बेवास्ता गरेपछि पागलजस्तै भएको थियो ।
घरको दोकान राम्ररी चलेको थियो । बुवा पनि स्कुलबाट रिटायर्ड हुनुभएको थियो । छोरी स्कुल जाँदै थिई । छोरो हुर्किंदै थियोे । म जागिर खाँदै थिएँ ।
ऊ अचेल घर एकदम पातलो गरी आउँछ । त्यो पनि म नभएको बेला । अब उसले बाटो छेकेर केही गर्ला कि भन्ने डर लाग्दैन पहिलाझैं । पानीको छालले हिर्काउँदा–हिर्काउँदा चिल्लिएको ढुंगाजस्तो मेरो जिन्दगी पनि दुःखले हिर्काउँदा–हिर्काउँदा बल्ल हेर्न हुने भएको छ । मलाई अब गिट्टीजस्तो अमिल्दो जिन्दगी बाँच्नु छैन । भन्न त अझै पनि कोहीकोहीले सम्झाउँछन्, “हेर, लोग्ने भनेको लोग्ने नै हो । यो घरपरिवार उसकै कारणले त तिम्रो भएको हो । अहिले रिस उठे पनि एकदिन माया पलाइहाल्छ । यसरी लोग्नेलाई बेवास्ता गर्नु हुँदैन ।”
मलाई तीप्रति खुब दया लाग्छ । यत्ति भन्छु, “मैलेजस्तो तपाईंले बाँच्नु परेन । परेको भए शायद तपाईं कसैको सल्लाह लिन बाँच्नुभएकै हुन्नथ्यो होला ।”
ऊ घर बाहिरबाहिरै भएको पनि एक वर्ष भएको छ । मलाई एक पल पनि उसको अभाव महसुस हुन्न । मैले जुन–जुन समय लोग्नेले मलाई माया गर्छ भन्ने ठानें, त्यहाँ मायाको कुनै नामोनिशान थिएन । दुःख लाग्छ त बस् आफ्ना सन्तानले बाबुको छहारी पाएनन् । यसको जिम्मा मैले तिनकै भाग्यको भरमा छोडिदिएकी छु ।
आज विगतको पूरै चक्कर लगाउँदा मन हलुका भयो । आफैंले आफ्नो वकालत गरें । आफैं न्यायाधीश भएर फैसला सुनाएँ, “तैंले जे गरिस्, ढिलो गरिस् तर पनि गरिस् । स्याबास !”
आफैंलाई प्रतिप्रश्न गर्छु, “किन मान्छेको भीडमा यही प्रश्नले मलाई घाइते बनाउँछ श्रीमान् ?”
फेरि प्रतिप्रश्न गर्छु, “अनि किन यही प्रश्नबाट भागेर हिँड्छेस् त ?”
“नभागेर के गरौं ?”
“सत्यको बाटो हिँड् । भागेर कहाँ पुग्छेस् ?”
० ० ०
घर फर्किएँ । माथि आकाशमा चराहरू पनि गुँड फर्किंदै थिए । मन चंगाजस्तै भयो । हलुका ! स्वतन्त्र !
पूजामा जान मनै थिएन । स्वस्थानीको प्रसाद खानुपर्छ भन्दै आमाले कर गर्नुभयो । गएँ । गाउँका साथीले अघि खाइसकेका रहेछन् । म नचिनेका मान्छेसँग बसेर रोटीसब्जी खान थालें । छेउकी दिदी पूजा भएको घरकी छोरी रहिछन् । चिनजान ग¥यौं । गफैगफमा उनले सोधिन्, “अनि भाइचैं के गर्नुहुन्छ ?”
अकस्मात् मेरो मुखबाट निस्कियो, “रक्सी खानुहुन्छ । बिहे गर्नुहुन्छ । पहिला विदेश पनि जानुहुन्थ्यो ।”
उनी अक्क न बक्क परिन् । म धारातिर गएँ । उनलाई घर जान हतार भएको थियो । सुनाउँदै थिइन्— लोग्नेले छिटो आइज भनेर फोन गरेको ग¥यै छन् । भन्दै थिइन्, “मलाई सधैं यस्तै हो । कहिल्यै ढुक्कले माइत बस्न पाउँदिनँ ।”
सोचिन् होला— म कति अभागी । आफ्नो आङको भैंसी मान्छेले कहाँ देख्छ र ! तराजुमा जोख्दा धेरथोर होला । तर, उनलाई चैं पीडा छैन र ? पीडित त मभन्दा बढी उनी हुन् । कम्तीमा मलाई त थाहा छ— म पीडित छु । उनलाई त आफू सुखी हुँ कि दुःखीसम्म थाहा छैन । विचरा !
@DeepaDahal10
I like tooo much ….