~बिभोर बराल~
केही छुट्टिए
केही भेटिए
जानेहरू याद बने
आउनेहरू प्यार बने
अलिकति जित बने
अलिकति हार बने
सानो यो मुटु भित्र
नमेटिने आकार बने
थुङ्गा-थुङ्गा आकार पछि
जिन्दगीको सार बने
केही फक्रिए
केही मेटिए
कहिलेकाँही जब त्रासले
हृदयलाई ढाक्थ्यो
कुहिरोले छोपिएर
बाटो पनि कहाँ पो भाग्थ्यो
त्यतिबेला जानेहरू
प्रेरणाको ताज बने
नडगमगाई अघि बढ्ने
साहसिलो आवाज बने
केही गुञ्जिए
केही रेटिए
बाँसुरीको धुनमा
पिरति झुनझुनाउँथ्यो
मधुर मातमा डुबी
भवँरा भुनभुनाउँथ्यो
विशाल सगर प्रितको
कहिले मानवता बने
रुप अनेक बद्लेर
कहिले ममता बने
केही देखिए
केही छेकिए
Bibhor Baral ,
Tangal, Kathmandu, Nepal
(स्रोत: तन्नेरी डट कम – Issue 11 – Kartik, 2062)