~गोविन्दप्रसाद आचार्य~
आगो नबल्नेहरूका चुला खै
हलि गोठालाहरूका कुरा खै
गर्नेहरूका हेर गोजी खाली
आएन कैलै गणतन्त्र लाली
न हर्ष कहीँ न हरियो बनेको
उही पुरानो घमिरा परेको
रोगीहरूले उपचार मागे
झन् रोग बढ्दा बनिया रमाए
सिमा मिचेमा पनि बोल्नु छैन
भाका बिनाको गीत गाइँदैन
गति नभाको गणतन्त्र आयो
विषाक्त रोगले सतायो
रित्तिन्छ गाउँघरभित्र घाँस
कस्तो बुख्याँचा गरी सर्वनास
जोगाउँ के खै गतिलो भनेर
आभा न शोभा दिलमा उनेर
लाउँसरीको भन के छ आज
खाउँसरीको भन के छ आज
नेता नुँघेका परका चरणमा
हदै परेका परका शरणमा
गणतन्त्र आयो बनिया बढेका
खै भ्रष्टाचारी सुलीमा चढेका
सिनो समान गणतन्त्र पारे
छोपेर नाक गरिहिन्नु पारे
मजदुर माराहरू पालिएका
नानी बेचेकाहरू पालिएका
कतै नयाँको न त भात आयो
उही पुरानो चिलले करायो
मानौँ कि जस्तो पनि केही छैन
छानौँ कि जस्तो पनि केही छैन
उमङ्ग आई न त मगमगायो
झनै उपियाँ बडी रग रङ्गायो
उँघेसरीको गणतन्त्र हाम्रो
रुघेर के पो हुन सक्छ राम्रो
सिउँडी पलाए गणतन्त्रभित्र
रहेन केही यसमा पवित्र
न धान पाक्यो मलिलो गरामा
सिउँडी पलायो यसको जरामा
हली गोठालाहरूको भएन
दुःखीहरूको घरमा गएन
सिउँडी जोगाई भन के हुने हो
रोइरहेकाहरू झन् रुने हो
गरिब उस्तै दुःखमा परेका
हरिप उस्तै सुखमा रमेका
अङ्गहरूले न त न्याय दिन्छन्
छुटेर कैदीहरू मस्त घुम्छन्
पैसा हुनेले चलखेल गर्ने
पैसा नभाकाहरू मर्नु पर्ने
आधार थोरै पनि देखिँदैन
सङ्कल्प साँचो पनि भेटिदैन
स्वीकार थोरै पनि गर्न गाह«ो
धिक्कार सारा पनि भन्न गारो
दुला हजारौँ गणतन्त्रमा छन्
टालो कसरी सब सर्पका हुन्
खराब मात्रै छ बढिरहेको
देख्दैन कोही झुपडी दुखेको
स्वतन्त्रताका सपना नदेख
यो साँड तन्त्र दिलमा नलेख
फलेर मिठो न त खाउँ जस्तो
गुराँस जस्तै न त लाउँ यस्तो
सिउँडी सजाउँ किन छातीभित्र
अस्थिरता झन गणतन्त्रभित्र
हुनेहरूको धनतन्त्र आयो
जो मन परीको मनतन्त्र आयो
कौवा करायो शुभ छैन भन्छन्
पाखा पखेरा रहँदैन भन्छन्
हिमाल बाँचे नसकेर बोक्न
पहाड बोके सकिएन रोक्न
पहाड बोकी सकिँदैन आज
हिरा हरायो पछुतो न लाज
गणतन्त्र नाउँ रणतन्त्र आयो
गणतन्त्र भन्दै मनतन्त्र आयो
माटो मभित्र मन खिन्न पारी
मिलि रहेका मन भिन्न पारी
काँक्रो चिरे झैं ममता चिरेका
शनि र राहु अति नै पिरेका
यो मन परीको गणतन्त्र हुन्न
आँधी नआईकन जीत हुन्न
रुखो छ पाटो तर बेच्न माया
रोगी बनेको गणतन्त्र काँचा
जो सम्पत्ति हो तर चोर्न आँटे
अमृत भन्दै विषसँग साटे
मारेर बाछो दुध पोक्छ पापी
भाँडो नथापि पोखि दिन्छ पापी
जो भूतको रक्षक बन्नु छैन
हलि गोठाला जसभित्र छैन
जतै छ बाढी पहिरो बिनास
हटेन कहिल्यै जनको पिनास
झन लामखुट्टेहरूले रमाए
विनासको चिन्तनमा रमाए
स्वतन्त्रता किर्नाहरूलाई आयो
विदेशीको चिन्तनभित्र आयो
तमाम ताजा तरुणा बनेर
आएन कोही विपना बनेर
छलै गरेका कपटी कुराले
आशा छ के को भन टाकुराले
नगोठ, ओठ खुलेर आए
न बैसका फुल फुलेर आए
दलालको दर्शनले सतायो
माटो चपायो ममता छिपायो
गलक्क गल्कि गणतन्त्र पाक्यो
बाठो छ कौवा भनेर पेट खायो
मान्छे नबेच्ने गणतन्त्र पाउँ
हिमाल बासी जसमा रमाउँ
हिमालको हिम्मत गल्नु हुन्न
सचेतको जीवन ढल्न हुन्न
पोलेर खाला हिम गौर हाँसो
मेटाउने हो जनको गुनासो
सचेत कोही न गलेछ काफी
जाली र झेली नरहुन रवाफी
माटो न हो विष कतै फलेको
मान्छे न हो रिष अति बढेको
माटो दुखायो ममता चुंडेर
अखण्डताको रचना तोडेर
तमाम मान्छेहरू आँसुमा छन्
औँला नगन्नेहरू हर्षमा छन्
सङ्घर्ष फेरि पनि गर्नुपर्छ
थोत्रो पुरानो अब जानुपर्छ
सचेत बन्दै उठ सर्वहारा
विचार धारा गणतन्त्र तारा
अल्छी कुरा हुन् असिना समान
अवश्य कालो रहँदैन जान
कुतर्क गर्ने कपटी डुलेका
गणतन्त्र भन्दै जनता छलेका
ठग्नेहरूको गणतन्त्र आयो
उही पुरानो धुनमा रमायो
विवाद बच्चाहरू खेल जस्ता
दिमाग दुःखने रोग कष्ट जस्ता
माटो बिथोल्ने गणतन्त्र हुन्न
लौ सर्वहारा नजुटेर हुन्न
जमीन जोत्नेहरूको भएन
गणतन्त्र रोप्नेहरूको भएन
रुझनेहरूले न त ओत पाए
खपेर घाम खेतमा रमाए
हरेक ठाउँ देशमा दशा छ
लुट्नेहरूको यसमा नसा छ
टल्काउने हो हतियारलाई
सखाप पार्ने हो बथितिलाई
अटल भनेकाहरूले ढलेका
ढल्दै र गल्दै जग हल्लिएका
नानीहरूले पनि माम मागे
तमाम बस्तीहरू काम मागे
गर्नेहरूले पनि काम मागे
माग्नेहरू झन झन क्रान्ति जागे
जति लडेनी असमान उस्तै
गनी नसक्नु नि, सहिद उस्तै
आशा बलेको गणतन्त्र आयो
संसार नौलो परिवेश ल्यायो
तातो रगतले जग गल्न थाले
अग्ला हवेलीहरू ढल्न थाले
आई नयाँले नव सोच दिन्छन्
नयाँ खुशीको अभियान दिन्छन् ।
(स्रोत : हाँक विक्ली – वर्ष ३१, अङ्क ३६ – Aug. 6, 2014 – २०७१ श्रावण २१ गते, बुधबार)