लेख : लोकसाहित्यका केही उपादान

~डा खगेन शर्मा~

गीत-नृत्य

      नेपाली लोक संस्कृतिको चर्चा गर्दा गीत-नृत्यलाई समेटनु पर्ने हुन्छ। विशेषगरी नेपाली लोकगीत-नृत्यमा सम्पू्र्ण जातिको परिचय लुकेको हुन्छ। यहाँ नेपाली जातिका कतिपय गीत नृत्यहरूको छोटो परिचय दिइन्छ।

झ्याउरे:

बाह्रै महिना गाइने नेपाली समाजको सबभन्दा लोकप्रिय मनोरञ्जन प्रधान गीत  हो झ्याउरे । झ्याउरे लोकगीतको साथ मादलको तालमा झ्याउरे नाच पनि नाचिन्छ। कुनै निश्चित कार्यसँग सम्बन्ध नभएको सबै मनोरञ्जनात्मक गीतहरू झ्याउरे हुन्। कुनै उत्सवमा, मेलापातमा जाँदा, कामबाट फुर्सद पाएका बेला साथीभाइहरू भेला भएर झ्याउरे गीत गाउने चलन छ।

सङ्गिनी:

नेपाली नारी समाजमा प्रचलित अर्को गीत हो सङ्गिनी । विशेष गरी बाहुन छेत्रीहरूको समाजमा प्रचलित सङ्गिनी गीत नारी समुदायले मात्र गाउने गर्दछन्। तीजको बेलामा, मेलापात जाँदा, जाँतो पिन्दा, ढिकी कुट्दा, घाँस काट्न जाँदा र पात टिप्न जाँदा खास लयमा यो गीत गाइन्छ। सबै साथी-सङ्गी मिलेर गाइने भएकाले यसलाई सङ्गिनी भनिएको हुनुपर्छ ।

 मारुनी:

मारूनी गीत-नृत्यको एउटा विशेष महत्व के छ भने यो नृत्य गाई तिहारे औंसीका दिन देखी आरम्भ भएर पूर्णिमासम्म गाइने र नाच्ने गरिन्छ। शुभ  मङ्गलाचरणबाट  यो    गीति-नृत्य  आरम्भ हुन्छ । मारूनी गीति-नृत्यमा नेपालीको सामाजिक, आर्थिक, बौद्धिक, सांस्कृतिक, सैक्षिक आदि सबै पक्षको चित्रण यसले गर्दछ। यस नृत्यमा दुइजना मादले, एकजना ढटुवारे, एकजना नारीको भेषमा पुरूष नृत्य-कलाकार हुन्छन्। चारैतिर घुमी-घुमी गीत गाउदै नाचदै सबैलाई मनोरञ्जन दिलाउँछन् यी कलाकारहरूले ।

 तीज गीत:

नेपाली नारी समाजमा प्रचलित अर्को लोकप्रिय गीत हो तीजगीत। भदौ महिनाको तृतिया तिथीमा सबै नेपाली चेली-बेटीहरू मिलेर भगवान शिवको पूजा गर्ने चलन छ। यसदिन सबै रमाइलो गर्दै गीत-नृत्य गर्दछन् र मनका दु:ख भुलने प्रयास गर्छन्। यी गीतहरूलाई पर्वगीत पनि भन्ने चलन छ।

भैलो:

गाई तिहारे औंसीका दिन गाउँ-घरका चेली-बेटीहरू तथा महिलाहरू मिलेर घर-घरमा गएर गाउने गीत हो भैलो । भैलो गाउदा पौराणिक कथा र देव देवीको आराधना गर्ने र  घरपतिलाई आशिक दिने गर्छन्। घरपतिले भेलो खेलन आउनेलाई सिधा दिने चलन छ। भैलो खेल्नेहरूले आशिर्वाद स्वरुप कहिल्यै पनि दु:ख नपरोस्, सुख शान्ति भइरहोस् भन्दै त्यहाँबाट बिदा लिन्छन्।

देउसी:

      गाई तिहारे औंसीका भोलीपल्ट गाउघरका केटा, बुढा-पाका मिलेर देउसी खेल्न जाने गर्दछन्। सबै मिलेर प्रत्येक घर-घरमा गई आँगनमा नाचदै देउसी खेलने गर्दछन्। एकजना भट्याउने र अरू साथीहरूले त्यसलाई पछ्याउँदै जान्छन्। भैलो जस्तै देउसी गीत पनि हाम्रा पौराणिक कथा, वीररस, तथा अन्यान्य रोचक घटनाहरूमा आधारित हुन्छ। देउसीको अन्त्यमा घरपतिलाई आशिक दिँदै सिधा लिएर देउसे बिदा हुन्छन्।

तामाङ सेलो:

नेपाली जातिका तामाङहरूको समाजमा प्रचलित नृत्यगीत हो तामाङ सेलो। यो गीत गाउँदा डम्फु बजाएर नाच्ने चलन अघिदेखि चलिआएको हो। वर्तमान यो गीत समग्र नेपाली जातिको नृत्यगीत भइसकेको छ। सबै नेपालीले यो गीत गाउँन र नाचन मन पराउँछन्।

बेंठी:

बेंठी गीत ‌‍‍ऋतुकालिन गित अन्तर्गत पर्दछ। खेत रोपेर  सकिने दिन अर्थात् मैझारो गर्ने दिन  खेतमा गएका सबै गोठाला खेतालाहरूले धेरै हर्षउल्लासका साथ  बाजा-गाजा सहित गाउँने र नृत्य गर्ने गर्दछन् । हिलो छ्यापा- छ्याप् गर्दै खुसी मनाउँदै यो गीत गाउँने चलन छ।

बालन (लोक-नाट्य)

      पौराणिक कथामा आधारित हुन्छ बालन।  लोक-नाट्य अन्तर्गत बालनमा पौराणिक कथा, रामायण, महाभारत, तथा अन्यान्य धार्मिक विषयवस्तुलाई कथावस्तु बनाएर बालन खेल्ने गरिन्छ। यसमा विभिन्न ज्ञानबर्धक, उपदेशात्मक, शिक्षामूलक र मनोरञ्जनले भरिपूर्ण कथावस्तु रहन्छन्।

गाउँखाने कथा:

      गाउँखाने कथा फुर्सदको बेला अथवा विश्रामको बेला बसिबियाँलो गर्दा भनिने वा सोधिने कथा हो। दुइ-चारजना बसेर एक अर्कालाई अड्को थापने वा बुद्धि-परीक्षा गर्ने परम्परा प्राचीनकालबाटै चलिआएको छ। एउटा सानो कुरालाई ठम्याउन नसक्ने पारी धुमाई-फिराई प्रश्न गरिन्छ र त्यसको उत्तर मागिन्छ। उत्तर दिन नसके गाउँ दिनुपर्ने हुन्छ। यसलाई गाउँखाने कथा भनिन्छ।

जस्तै

दिए बढछ, नदिए घटछ भनेको के हो ?  —————————————–विद्या

अग्लो पहरामा गुराँस फुलेको भनेको के हो ?   ———————————–टिका

आगो न पानी रोटी पकाउने बानी भनेको के हो ?  ——————————–मौरी

खान त खाँए तर चाखेकै छैन भनेको के हो ? ———————————-किरिया

दिउसो उल्टो राति सुल्टो भनेको के हो ?  ————————————- चमेरो

पुडके बाहुनको सुर्के चन्दन भनेको के हो ?  ————————————–मास

पुतली चरी गीत गाउँदै झरी भनेको के हो ?  ———————————– सनाई

बाहिर सुन भित्र चाँदी भनेको के हो ?  ———————————– पाकेको केरा

बेहुला न बेहुली घरभरी जन्ती भनेको के हो ?  ———————— कमिलाको ताँती

मलाई काटे दुख्छ तँलाई काटे दुख्तैन भनेको के हो ?  ———————-मासु र नङ

मुखबाट जन्माउने, मुखबाटै हुर्काउने भनेको के हो ? –————————-भुँइकटहर

रातो थैलीभरि पैसै पैसा भनेको के हो ? –————————————–खोर्सानी

रातो छ धुलो, काम गर्छ ठूलो भनेको के हो ? –‍‍‍‍——————————- सिन्दूर

लहरो तान्दा पहरो थर्किने भनेको के हो ? –——————————–मोही पारेको

लोग्नेले स्वास्नीको सबै कुरा देख्छ, एउटै कुरा देख्तैन भनेको के हो ? –– विधवा भएको

सय भाइको एउटै चिहान भनेको के हो ? –————————————– खरानी

सुरिला रूखमा एउटै पात भनेको के हो ? –———————————— पुन्यौं

हेरे दुइटा, नहेरे एउटा भनेको के हो ? – ——————————————-ऐना

हेर्दा काली, नाम भने राती भनेको के हो ? – —————————————रात

हेर्दा छ, समात्दा छैन भनेको के हो ? ——————————————- छायाँ

सिलोक

नेपाली समाजमा  प्रचलित फुटकर लोक-पद्यहरूलाई सिलोक भनिन्छ। यी पद्यहरू विभिन्न शास्त्रीय छन्दमा रचिएका हुन्छन्। तापनि कतिपय ठाउँमा छन्द भङ्ग भएको देखिन्छ। यस्ता सिलोकमा मान्छेले प्रश्नोत्तर गर्ने, आफ्नो परिचय दिने, गाउँ घरको वर्णन गर्ने, आफ्नो पेसा, गाई-भैसी आदिको कुरा गर्दछन्। जस्तै –

        घाँस काटन भनेर गएको म थिएँ घाँसै काटे कुर्कुरे।

        सिलोक भन्नको तँ सिपालु रहिछस् लागोस तँलाई तुर्तुरे।।

        घाँस काटन भनेर गएको म थिएँ घाँसै काटे गेडुले।

              सिलोक भन्नको तँ सिपालु रहिछस् स्वास्नी लगोस् ढेडुले।।

              ए! कान्छा मुखिया बडा बुझ तिमी घर हो हजुरको कहाँ ?

              दाना पानी रह्यो र भेट हुन गयो ऐसेलु खर्कोमहाँ।

              रातभरि बसियो सिलोक कथियो सुखदुख मनैमा रहोस्।

              हामी जाने भयौं ढोटने खोला तरी हजुरको राज यै हवस्।।

महिला र पुरुष दुवै थरीले घाँस-दाउरा र ढिकी-जाँतो गर्दा, गाई चराउँदा, पुजाआजामा जाग्राम बस्दा यी सिलोकहरू भन्छन्।

सवाई:

      सवाई वर्णनात्मक लोक कविता हो। यसमा अन्त्यानुप्रास मिलेका दुई चरण हुन्छन्। नेपाली जातिका गाइनेहरू र गाउँ घरका बुढा-पाकाहरू सवाई गाउँने गर्छन्। यो मौखिक परम्परामा आधारित छ। यसमा सामाजिक, ऐतिहासिक घटनाहरूका साथै घर-घरमा चल्ने सासु-बुहारीको झगडा र अन्यान्य ससाना कुराहरूलाई  रोचक ढङ्गमा प्रस्तुत् गरेको हुन्छ।

जस्तै :

सुन सुन पाँच हो म केही भन्छु

      सासू र बुहारीको सवाई कहन्छु

      सासू भन्छे बुहारी, बुहारी भन्छे जीऊ

      सिङमाङमा राखेको कल्ले कायो घीऊ ?

बुहारी– देख्नु न सुन्नु तेसै मलाई दोष

      चाहिँदैन तिम्रो घीउ तिम्रै छोरो पोस

सासू– ढोका सबै बन्द गर्छु कोठा सबै खोल्छु,

      अबदेखि चोरिस भने मुख तेरो पोल्छु।

बुहारी- सिरकको खोल नाहिँ करंगेको पल्ला

      बुहारीको मुख पोले नाउँ तिम्रो चल्ला।

उखान:

 उखान सबै जाति र भाषामा पाइन्छ अनि यसको विशेष महत्त्व हुन्छ। नेपाली समाजमा पनि उखानको ठूलो स्थान छ। यसले नेपालीको  सांसारिक रीति-नीतिहरू, धर्म-कर्म, पाप र पुण्य, व्यक्ति स्वयं, घर-परिवार, अर्ति-उपपदेश, सम्बन्धी र इष्टमित्र, जातपात आदिको विशेषता बोकेको हुन्छ। जस्तै रिस खा आफू-,बुद्धि खा अरू; नबिराउनू-नडराउनू ; आफ्नो खैजडी आफ्नै ताल; धर्म डग्दैन पाप तग्दैन; धर्मको धन साँचो हो, मन चङ्गा त कठौतीमा गङ्गा; सुख भयो भनी नहाँस्नु-दु:खभयो भनी नरुनु; रिन लागे नडराउनू-दिन लागे डराउनू; अदुवा खाइ सभा बस्नु-मुला-खाइ वन पस्नु; पैयूँ फुल्दा माइत जानू- आरू फुल्दा घर फर्कनू; छोरो पाल्नु सहरमा- छोरी पाल्नु कुनामा; छोरो नहेर्नु-छोराको साथी हेर्नु; छोरीलाई भन्नु-बुहारीलाई सुनाउनू; छोरीको जन्म हारेको कर्म; छोरी कुटी बुहारी तर्साउनु; जिउँदो छउन्जेल पोइ-मरेपछि कोइ न कोइ; बुढेस कालको पुता एता न उता; बूढी मरी भनी नडराउनू-काल पल्क्यो भनी डराउनू; मामली जानू झुत्रेझाम्रे-ससुराली जानु ठाँटी; मामाकी घोडी मेरी हीही; कीर्तिपुरको गाइने सबैलाई चाहिने; गुरु विना विद्ये हुँदैन, जहाँ गुलियो-उहीँ बाहुन भुलियो, ताक परे तिवारी नत्र गोतामे।

डा खगेन शर्मा
नेपाली विभाग, गुवाहाटी विश्वविद्यालय

This entry was posted in लेख and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.