~दिलिप पौड्याल~
कङ्क्रिट लिङ्गहरूको थुप्रोभित्र
निसासिएका अनेकन् रङ्गहरू
सपनाका कुम्लाहरू बोकेर
हतार हतार भाग्दैछन
मानव सभ्यता सूचक सबवेका बङ्करहरू भित्र
र चुपचाप छिर्छन्
सबबहान जस्तै लाग्ने चिसा फलामका डिब्बाहरू भित्र
हाँसो हराएको यो शहरमा
खुशी खोज्नलाई
रङ्गी बिरंगी युवा युवतीहरू
कान कानमा ठेटी ठोकी
रेलका ढोकाहरूमा ठिङ्ग उभिन्छन्
र लेउ लागेका दन्त मुस्कान फिस्स छोड्दै
पुन हराउँछन् आफ्नै कहाली लाग्दा सपनाहरू भित्र
सेतै फुलेका रौहरु गन्दै
कुप्रीयका चाउरियका
एन्टीक मनमुटाब
गुड्ने कुर्चीहरूमा बसेर
आधुनिक सभ्यताको श्रेष्ठ
र लिङ्गहरूको पनि सर्वश्रेष्ठ लिङ्गको टुप्पोतिर चियाउँदै
गन्दैछन वर्ष, महिना र गते
छ महिना नपुग्दैको एक अबोध दुधे बालक
मुखमा बिर्को ठोकेर
बाल बन्दीगृहयहरुमा कैद हुन्छ
मिश्रित होहल्लाले नरम कानका जालीहरू छिद्र पार्दै
रङ्गहरूमा लत्पतिदै
र दिनभर भोक भोकै पिल्सिएर
‘नो’ र ‘पप चो’ सिकेर आउँछ
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )