~चुडामणी वाशिष्ठ~
समालोचक शम्भुप्रसाद ढकालको समालोचना संग्रह “अनुसन्धान र टिप्पणी” २०६८ सालमा प्रकाशित भएको हो। ढकालको यो पहिलो पुस्तकाकार कृति हो । यस भन्दा अगाडि विभिन्न पत्रपत्रिकामा फुटकर समालोचना र सिर्जना प्रकाशित भएको पाइन्छ ।वि सं २०१० सालमा माता अम्विका देवी र पिता पं मुकुन्द प्रसाद ढकालका ज्येष्ठ सुपुत्रका रुपमा झापा चन्द्रगढीमा जन्मनु भएका समालोचक ढकाल केही वर्ष तत्कालिन श्री ५ को सरकारका जागिरे भएर २०४७ साल देखि त्रिभुवन विस्वविधालय मेची वहुमुखि क्याम्पसमा वि स २०७3 सालसम्म प्राध्यापन गरी अहिले सह- प्राध्यापक पदवाट अनिवार्य अवकास भइ निवृत जीवन विताइ रहनु भएको छ ।
सामालोचक ढकालका व्यत्तित्वका विभिन्न पाटा छन् ।सामाजिक क्षेत्रमा वहांको अपरिहार्य भुमिका रहेको छ भने धार्मिक क्षेत्रमा पनि स्मरणीय योगदान रहेको पाइन्छ ।आधात्मिक दर्शन वहांको रुची क्षेत्र हो ।हिन्दु धर्मले नै विस्ववन्धुत्वलाइ कायम गर्न सक्छ भन्ने वहांको अटल विस्वास छ ।नेपाली भाषा साहित्य पढ्ने –पढाउने¸ लेख्ने-छाप्ने¸ खोज- अनुसन्धान गर्ने¸ ढकालको पेशागत धर्म नै हो ।आफ्नो सिगो जीवन शिक्षा सेवामा समर्पण गर्ने ढकाल कुशल प्राध्यापक सवैका असल मित्रका रुपमा परिचित हुनुहुन्छ। जहां जतिसुकै वेला जो सुकैलाइ सहयोग गर्न तत्पर रहने परोपकारी गुण उहांको चारित्रिक विशेषता वन्न पुगेको छ ।
नेपालमा रेडक्रस सोसाइटी¸ परिवार नियोजन संध¸ झापाका विभिन्न साहित्यिक संस्था¸ पुस्तकालय वाचनालय¸ समिक्षालय¸ सहकारी लगायत विभिन्न संध संस्थाहरुमा सक्रिय ढकाल ’महाकवि देवकोटा स्मारक संरक्षण समितिʼ चन्द्रगढी त झन शम्भु प्रसाद ढकालको पर्याय नै वनेको छ । स्थापना काल देखि सोह्र वर्ष सम्म अनवरत वहांले यस संस्थालाइ जन्माउने हुर्काउने वढाउने काम गर्नु भएको छ ।
प्रस्तुत समालोचन संग्रह “अनुसन्धान र टिप्पणी” २०६८ मा स्वर्गीय पिता पं मुकुन्दकृष्ण ढकालमा समर्पण गरिएको छ । यस पुस्तकको प्रकाशक श्रीमति लक्ष्मी ढकाल रहनु भएको छ । जम्मा अठाह्रवटा समालोचनालाइ यस पुस्तकमा छ्यासि पृष्टमा अटाइएको छ । यस समालोचना पुस्तकको भुमिका सह-प्राध्यापक होम सुवेदीले लेख्नु भएको छ ।सुवेदीको भुमिकाले समालोचक ढकालको समालोचकीय सिप शैलीको उल्लेख गर्दै वहांको विशेषतालाइ समेत औल्याइएको छ । अत्यन्तै संछिप्त टिप्पणी आकारका समालोचनाले थोरैमा धेरै कुरा भनेको पाइन्छ ।
प्रा डा के आर खम्वुको मेरो “अनुसन्धान यात्रा” यात्रा संस्मरण ग्रन्थको समालोचना गर्ने क्रममा समालोचक ढकालले डा खम्वुको जुझारु संधर्षशील व्यत्तित्व¸ उनको योग्यता क्षमता जीवनी व्यत्तित्व जागिरे जीवनको उल्लेख गर्दै अनुसन्धान गर्ने क्रममा उनको यात्रा वृतान्तको चर्चा गर्दै नेपाली साहित्यमा पुस्तकाकारका रुपमा आएको यो कृति यात्रा साहित्यको निधि हो भन्दै यस्ले विज्ञान र साहित्यलाइ एक ठाउमा जोडेको छ भन्ने निष्कर्ष ढकालले निकाल्नु भएको छ ।देशी विदेशी प्रकृति चित्रण संस्मरणात्मक शैली भाषा भुगोल जातजाति रीति थिति संस्कृति भेषभुसा आदीको शव्द चित्र खिच्न पुस्तक सफल छ भनेर समिक्षा गरिएको छ ।
यसै गरी चुडामणी रेग्मीको पत्रकारिता भाषा साहित्य अनुसन्धान¸ सम्पादन साहित्यिक संगठन आदि योगदानको चर्चा गर्दै रेग्मी उत्प्रेरक व्यत्ति भएको र आफुले पनि प्रेरणा पाएको चर्चा गर्दै रेग्मी व्दारा सम्पादित साहित्यिक पत्रिकाहरुमा तुलो लगाउदै वहांको प्रशंसा र पारख गरिएको छ ।
अर्का प्रतिभा मधु पोखरेलका सम्वन्धमा – नेपाली गजल साहित्यको विकासक्रमको उल्लेख गर्दै गजलका लक्षण विशेषता केलाउंदै पोखरेलको “तिमी आइनौ” गजल संग्रहको समिक्षा गरिएको छ ।गजलकार पोखरेलका प्रवृति औल्याउदै¸ गजलका मर्महरुलाइ छुदै पोखरेल उच्च दर्जाका गजलकार हुन भन्ने निकर्ष निकालिएको छ
अर्को समालोचनामा झापाको साहित्यिक पत्रकारिताको अनुसन्धान समालोचक ढकालले गर्नु भएको छ ।झापावाट प्रकाशित साहित्यिक पत्रिकाहरुलाइ खोजेर एक ठाउंमा जम्मा गर्दै विभिन्न संध संस्थाहरुले प्रकाशित गरेका स्मारिका लगायत जिल्लाका समाचार पत्रहरु समेत वटुल्दै एकमुष्ठ टिप्पणी गर्ने काम गरिएको छ ।
डा तुलसी भट्टराइको “रितो घर” कथा संग्रहले पुरातन समाजका रुडीवादी परम्परा मान्यता धारणा देखाउन सफल भएको छ। तर वर्तमान समाज परिवर्तन भइ सकेको छ। यी कथाले नेपालको विगत कुनै कालखण्डलाइ देखाउन सफल भएको छ भनेर टिप्पणी गरिएको छ ।
यसै गरी भाषाशाष्त्री महानन्द सापकोटाको कवितात्मक प्रवृति केलाउने क्रममा सापकोटाको जीवनी¸ व्यातित्व र योगदानको समेत मुल्याङ्कन ढकालले गर्नु भएको छ । सापकोटा जातीय जागरण र चेतनाको दियो सल्काउने¸ राष्ट्रिय चिन्तन भएका¸ देशभक्त नैतिकवान समाज सुधारक थिए ।झ्याउरे लयमा कविता लेख्ने सापकोटाले समाज परिवर्तनको शंखघोष आफ्ना कविता मार्फत गरेका थिए भन्दै सापकोटा उत्साही संधर्षशील परीपकारी कर्मयोगी व्यत्तित्व हुन भन्ने निचोड निकालिएको छ ।
कथाकार डा नरेन्द्र चापागाइका वारेमा समालचक ढकालको टिप्पणी यस प्रकार छ –निम्न वर्गीय मान्छेका कारुणिक आर्थिक अवस्थाको चित्रण गर्न चापागाइका कथा सफल छन् ।मानवीय मुल्य मान्यताको खोजी उनका कथाहरुमा गरिएको छ ।सरल भाषामा उच्च विचार प्रक्षेपण गर्न चापागाइ खप्पिस छन् ।
भानुभत्तका फुटकर रचना शीर्षकको समालोचनामा ढकालले भानुभत्तको परिचय गराउदै विभिन्न समय र परिस्थितिमा भानुभत्तले रचना गरेका फुटकर कविताहरुको चर्चा यस्मा गरिएको छ ।कान्तिपुर वर्णन जेल जीवन हास्यव्यङ्ग्य नारी प्रतिको दृष्टीकोण आदि प्रसंगमा रचना गरिएका कविताहरुको संछिप्त टिप्पणी ढकालले गर्नु भएको छ ।
यसै गरी राधिका रायाको समीक्षा गर्ने क्रममा रायाको संछिप्त परिचय उनका कृतिहरुको उल्लेख गर्दै रायाले विभिन्न पत्रपत्रिकाहरुमा प्रकाशित गरेका रचनाहरुको खोज गरेर एकै ठाउंमा भेला पारी साहित्यकार राया नारीवादी सर्जक हुन भन्ने निष्कर्ष निकालिएको छ ।
महाकवि लक्ष्मी प्रसाद देवकोटाको तुषार वर्णन २००३ ले स्वर्ग र पृथ्वीलाइ एकाकार वनाएको टिप्पणी एकातिर गरिएको छ भने अर्को तिर राणाकालीन नेपालमा राजनीतिको तुषारोले नेपाली जनता कक्रिएको अर्थ ध्वनित भएको छ ।तुषारो हटाएर घाम लगाउने क्रान्तिकारी संन्देश यस काव्यले दिएको छ भनेर ढकालले निष्कर्ष निकाल्नु भएको छ ।
समालोचक ढकालले यस पुस्तकमा गोधुली पत्रिकाको चिनारी लु स्युन (१८८१) को परिचय जीवन व्यात्तित्व र सास्कृतिक क्रान्तिमा उनले पुर्याएको योगदानको वारेमा विशद चर्चा गर्नु भएको छ ।भविलाल लामिछानेका मुत्तकहरुको समिक्षा¸ मोहन दुलालको योगदान¸ चुडामणि रेग्मीको झर्रो शैली¸ कपिल लामिछानेको कथाकारिता र झापावाट प्रकाशित स्मारिकाहरुको विवेचना मिही मसिनो ढंङ्गले ढकालले गर्नु भएको छ।
अनुसन्धान र टिप्पणी समालोचना संग्रहका आधारमा समालोचक शम्भु प्रसाद ढकालका केही समालोचकीय विशेषताहरु फेला पर्दछन् ।
निर्भीकता समालोचक ढकालको पहिलो विशेषता हो । कृतिको अध्यायन पछि आफुलाई लागेका कुरा स्पष्ट भाषामा सोझै कृतिकेन्द्री भएर¸ निर्भीक भएर ठ्याक्क राख्न सक्नु ढकालको विशेषता हो ।आफ्ना समालोचनामा प्रगतिशील कृतिहरुको छनौट गर्नु ढकालको दोश्रो विशेषता देखिन्छ ।ढकालले समालोचनाका निम्ति चयन गरेका कृति र कृतिकारहरु अधिकांश प्रगतिवादी विचारका छन् । अधिकांश झापाली सर्जकहरुका कृतिको समिक्षा ढकालले गर्नु भएको छ । आफ्नै गाउं ठाउं क्षेत्र जिल्ला र आफ्नै वरिपरिका साहित्यकारहरुका कृतिको विवेचना समिक्षा टिप्पणी गरिदिएर साहित्यकारहरुमा उत्साह भरिदिने काम समालोचक ढकालले गर्नु भएको छ। प्राय सवै जसो कृतिको विवेचना गर्दा समालोचकले कृतिको प्रभावका आधारमा मुल्याङ्कन गर्ने काम गर्नु भएको छ। ढकालले यस पुस्तकमा विभिन्न विधाका सिर्जनाहरुको समालोचना गर्नु भएको छ ।गजल¸ कविता¸ निवन्ध¸ यात्रा संस्मरण¸ उपन्यास कथा¸ भाषा अनुसन्धान जस्ता सिर्जनामाथि समालोचकीय आंखाले हेरेर मुल्याङ्कन गर्नु भएको छ। कुनै कृतिमाथि समालोचना गर्दा कुनै प्रकारको अलमल¸ धरमर दुविधा छैन । कृतिलाइ सिध्दान्तको कसी घोट्ने काम पनि गरिएको छैन । कृतिले समालोचकलाइ पारेको प्रभावका आधारमा निसंकोच निर्विध्न ढङ्गले समिक्षा गरिएको छ । अलिक हतारको लेखन जस्तो लाग्ने समालोचनाहरु अत्यान्तै संछिप्त छोटा छन् अथवा टिप्पणी आकारका छन् । निर्भिक निष्पक्ष र विवेकीपनले गर्दा समालोचक ढकालका समालोचनाहरु न्यायलयका फैसला जस्ता छन् । सवैले सजिलै ग्रहण गर्न सक्ने सहज सरल भाषाको प्रयोगले यस समालोचना संग्रहको वजन तथा महिमा वढाएको छ ।
अन्त्यमा समालोचना गर्ने जस्तो कठिन कार्य गरी पुस्तक प्रकाशन गर्न सफल हुनु भएकोमा समालोचकज्युलाइ हार्दिक वधाइ दिदै अन्य यस्तै पुस्तकहरु प्रकाशित गरिरहन सफलता मिलोस शुभकामना अर्पण गर्दछु
मेची वहुमुखी क्याम्पस
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )