~कालूसिंह रनपहेंली~
दिव्याले फेरि आमासित पैसा मागी, मोबाइल रिचार्ज गर्न अनि एयरपोर्ट जान। नेट प्याकको पैसा तुरिनु भनेको कहिल्यै नबिसाउने छटपटी छातीमा कस्नु भएको छ दिव्यालाई। आमाले कराइन्, “तैंले म धाई काम गर्ने आमाबाट कस्तो आशा गर्छेस्? म यसरी दुइ-दुइ दिन वा तीन-तीन दिनमा तँलाई पैसा दिइरहन सक्तिनँ।”
“आमा प्लीज्! आज मेरो एकजना साथी दुबईबाट आउँदैछन्। उसलाई भेट्न एयरपोर्ट जानैपर्छ। अनि नेटप्याक नभए उसलाई कसरी कन्ट्याक्ट गर्ने?”
“को अरे? को आउने अरे?” आमाको जिज्ञासा।
“आमा प्लीज् नसोध्नुहोस्न! म पनि त त्यति चिन्दिनँ।”
“अरे बढ़ेकी छोरी-चेली कोसित बात गर्छे जान्नुपर्दैन?”
“होइन आमा, मैले सोचेर सम्झेर नै उसित सम्बन्ध जोड़ेकी हुँ। मलाई मेरी आमाको लुङ्गीको भाग्य साड़ीमा परिवर्तित गर्नु छ। मेरी आमाको हवाई चप्पलको खुट्टालाई स्यान्डलमा अनुवाद गर्नु छ। मेरी आमाको फुटेको भाग्यलाई दुबईको फेविकोलले जोड्नु छ। त्यसपछि मेरी आमाका आँसुहरू उनेर म मोतीको हार बनाइदिनेछु। आमाको कलेंटी परेको ओठको क्यान्भसमाथि लिपस्टिकको कुची नचाएर रङ्गीन पोट्रेट बनाउनेछु अनि त्यहाँ हाँसो र मुस्कानको गाढ़ा चित्र स्थापित गर्नेछु।”
“छोरी, म जे छु त्यतिमै खुशी छु। मेरो लागि तँचाहिँ सधैँ खुशी भएको हुनुपर्छ। त्यति भए पुग्यो।”
“होइन आमा, तपाईंले महाजनकहाँ धितो राखेको जमीन उकास्नैपर्नेछ अनि हामी आफ्नै जमीनमा घर उठाउनेछौं र मेरी आमालाई आनन्दको जीवन आफ्नै आँखाले छाम्न दिनु छ।”
“होइन छोरी, यो कता-कता कुरा गर्दैछेस्? म सब खुलेर जान्न चाहन्छु। को हुन् यी सपना जोड्ने कलाकार? उनको क्षमता के हो? उनको ल्याकत के हो? उनका बाबुआमा कता छन्? सब मलाई साफ-साफ बता।”
“हुन्छ आमा, बताउँछु। तपाईं पनि मसित एयरपोर्ट जाऔं उसलाई रिसीभ गर्न। बाटैमा नेट प्याक भरौंला अनि उनका सबै कुराहरू तपाईंलाई बताउँला।”
“ठीक छ म जानेछु। मेरी छोरीको रुचिको पुतली आफ्नै आँखाको हातले छोएर हेर्नेछु। त्यसको सौन्दर्य र क्षमताको चमक म नजीकबाट हेर्न चाहन्छु।”
दिव्याले आमालाई तयार हुन लगाई। आमाले बाकसबाट भयेलको खराने साड़ी निकालेर लगाइन् अनि अघि लगाइराखेको लुङ्गीलाई गुण्टा पारेर कुनातिर फ्याँकिन्।
छोरीले भनी, “हुनसक्छ आजदेखि उता तपाईंले अब त्यो लुङ्गी उठाउन पर्नेछैन अनि हेर्ने आवश्यकता पनि पर्नेछैन। तपाईंको जीवनले अब हरेक दिन नयाँ-नयाँ साड़ीहरूमा बसाइँ सर्न पाइला उठाइसकेको छ।”
आमासित घरबाट निस्केर दिव्याले नगिचैको रिचार्ज दोकानमा पसेर नेट प्याक भरी। आमालाई डेढ़ सय रुपियाँ दोकानेको हातमा दिन लगाई। त्यसपछि एयरपोर्टको दिशातिर गइरहेको एउटा अटोलाई दिव्याले रोकेर सोधी, “एयरपोर्ट जाने?”
“अँ जाने। दुइ सय लाग्छ।”
“हुन्छ, तर हामीलाई छिट्टोभन्दा छिट्टो एयरपोर्ट पुग्नु छ।”
“हुन्छ बस्नुहोस्।”
आमा-छोरी अटोभित्र पसे। अटो आफ्नै हिसाबले गुड़िरहेको छ। दिव्याको अनुहारको मञ्चमा एउटा दिव्य चमक आज नाचिरहेको छ।
“लु भन् छोरी तेरो किस्मतको कहानी।” सोधिन् आमाले नै।
“ठीक छ आमा, म भन्नेछु। सुन्नुहोस्…।”
दिव्याले मोबाइल खोलेर जाँच गरी कतै कुनै मेसेज छ कि? अहँ छैन। त्यसले पारि डाँड़ाका थुम्का-थुम्कामा पानीको अण्डा पार्न बसेका सेता हाँसहरूजस्ता बादललाई हेर्दै भनी, “आमा, तपाईंले अस्तिको वर्ष बोनस पाउँदा छोरीको रहर भनेर यो मोबाइल किनिदिनुभयो। म खुशी भएँ, आनन्दित र प्रफुल्लित बनें। किनकि मैले राम्रो मोबाइल पाएकी थिएँ। साथीहरूबीच पनि मेरो मोबाइल सेटको चर्चा भयो। सामसुङको साधारण तर अब्बल सर्विस दिने सेटले सबैलाई लोभ्यायो। मलाई साथीहरूले मोबाइलमा नेट प्याक हालेर फेसबुक हेर्न सिकाए। फेसबुक हेर्न थालेपछि मेरो संसारै अर्को भयो। मैले जताततै फ्रेन्ड रिक्वेस्ट पठाएर साथी बनाउन लागें। यस्तैमा दुबईका एक युवक फिलिप मेरो साथी भए। मलाई फिलिपको प्रोफाइल फोटो पनि मनपर्यो। त्यो हट्टाकट्टा शरीर, हँसिलो अनुहार, आधुनिक पोशाकको पहिरन, हातमा गिटार अनि पाखुराहरूमा ट्याटू झन् आकर्षक लाग्यो। उसित मेरो घनिष्ठता बढ्दै गयो। फिलिपसित म च्याट गर्न लागें। बिस्तारै फ्रेन्डको सम्बन्ध प्रेमको सम्बन्धमा जोड़ियो। मैले फिलिपलाई असाध्यै मन पराएँ।”
“को हो फिलिप? कस्तो छ त्यो भित्रबाट? कस्तो मान्छे हो त्यो जान्दछस्?”
“जान्दछु आमा, उनले मलाई सब बताएका छन्। उनी दुबईमा काम गर्न गएका अमेरिकाका नागरिक हुन्। उनीहरूको अमेरिकामा ठूलो बिजिनेस पनि रहेछ टेक्सटाइलको, तर उनलाई दुबईमा गएर काम गर्नु मन लागेछ।”
“कस्तो अमेरिकाको मान्छे दुबईमा गएर काम गरेको? दुबईको मान्छे पो अमेरिका जानुपर्ने! मान्छे ठीकै छ?”आमाका आँखीभौंहरू केही उचालिए।
अटोमा ठोक्किन आएको एक झोंका तीब्र हावाले दिव्याको केशराशिलाई केही अव्यवस्थित बनाएर उड़ाउन खोज्यो। दिव्याले केशहरू सम्हाल्दै भनी, “होइन आमा, मान्छेको रुचि हजार हुन्छ। अमेरिकामा बाँच्ने शैली अर्कै छ। हाम्रो जस्तो कहाँ हो? उनीहरू अनुभवको निम्ति पनि दुःख गर्न टाढ़ा जान्छन्। जीवनमा दुःख अनुभव गर्दै केयरफ्री भएर बाँच्न उनीहरूले नै त हिप्पी संस्कृति पनि विकास गरेका हुन्! उनीहरू आफ्नो इच्छा पूरा गर्न कता-कता पुग्छन्।”
हावाको झोंकाले आमाको मजेत्रो केही बाहिरतिर उड़ायो। आमाले मजेत्रो सम्हाल्दै सोधिन्, “दिव्या, के तँलाई विश्वास छ उसले तँलाई राम्ररी सम्हाल्ला जीवनभर?”
दिव्याले पनि आमाको मजेत्रो मिलाइदिँदै भनी, “मेरो इच्छाको निम्ति उनी सबै कुरा गर्न तयार छन्। आमा, उनलाई मैले मेरो बारेमा सबै सत्य बताएकी छु। सबभन्दा बेसी तपाईंको सपना-जपना हाम्रो धितो रहेको खेतबारी बारेमा बताएको छु। उसले म सब उकासेर आमालाई नयाँ जीवन दिन्छु भनेको छ।”
आमाले छोरीको हावाले उड़ाइरहेका केशहरूबीच खाली सिउँदोमा हेरिन्। त्यहाँ बस्न आउनेले मेरी छोरीको कतिको सुरक्षा गर्ला भन्ने सोच्दै आमाले मन शब्दहरूमा निकालिन्, “मेरो निम्ति होइन तर तेरो निम्ति चैं के गर्छु भनेको छ उसले?”
उताबाट वेगमा आएको एउटा ट्रकले झण्डै अटोलाई हिर्काइदियो। अटो चालकले अटोलाई शीघ्र देब्रेतिर तर्काएर अघि कुदायो। यसरी अटो तर्काउँदा आमा-छोरी अँगालो मार्नपुगे। दुवै सम्हालिएपछि दिव्याले भनी, “मसित बिहेको निम्ति कुरा गर्न नै आज उनी यहाँ आउँदैछन्। उनले तर एउटा कुरा नढाँटी बताएका छन्। त्यो के भने उनले पहिले पनि बिहे गरेका रहेछन् तर उनीसित डिभोर्स भइसकेपछि फेरि अर्को बिहे गर्न चाहेका रहेछन्। हुन त उनका आमा-बाबाले अमेरिकामा स्वीटी नामकी एउटी अर्की डिभोर्सीसित उनलाई फेरि बिहे गर्न कर लगाइरहेका भए ता पनि ती सब नमानेर उनी मेरै निम्ति इन्डिया आइरहेका छन्।”
आमाका आँखामा तैरिरहेको कल्पनाको त्यो सुनौलो नौका एकैचोटि उल्टिएर नदीमा डुबेजस्तो भयो। आमाको मनको हताशा आफै फुटेर निस्कियो, “हे भगवान् के भन्छ यो दिव्या! हाम्रो संस्कार र संस्कृतिमा बिहे एकैपटक हुन्छ। तैँले त्यसरी डिभोर्स गर्ने मान्छेलाई कसरी आफ्नो जीवन दिन सक्छेस्?”
दिव्याले तुरुन्तै भनी, “आमा, एड्भान्स्ड सोसाइटीमा यो चल्छ। अमेरिकामा गएपछि यो कुरा त मोस्ट कमन। हुनसक्छ उसले मलाई पनि तीन-चार वर्षपछि डिभोर्स दिनसक्छ। तर मैले पनि अर्को जीवनसाथी खोज्न सक्नेछु।”
आमा अहिले दावाग्निमा परेको वनजस्तै भइन्। मनमा लागेको आगोले उनका शब्दहरू पनि बले, “अरे छोरी तँ के भन्दैछेस्? म चाहन्नँ मेरी छोरी त्यस्ता मान्छेको पासमा गएर जीवन बर्बाद गरोस्। तँ पढ़ेकी छस्, तेरो विद्या त यो देशलाई बनाउनुमा पो खर्च गर्नुपर्छ त छोरी। हुँदैन, तँलाई म जान दिदिनँ। चालक भाइ, अटो फर्काऊ…।”
“किन आमा?”
“मैले तैँलेभन्दा धेरैवटा शिशिर-बसन्तहरू देखिसकेकी छु। मेरो अनुभवले धेरै कुराहरू सिकाएको छ मलाई। हुँदैन त्यस्ता मान्छेसित तैंले सम्बन्ध राख्नु। अटो चालक भाइ, फर्काएर हामीलाई अघि चढ़ेकै ठाउँमा पुर्याऊ।”
दिव्याले आमाको कुरालाई काट्दै भनी, “अटो चालक भाइ, सीधा एयरपोर्ट हिँड़।”
आमाले दिव्याको हात झड्कालेर गालामा एक चड़्कन लगाइन् अनि अटो चालकलाई भनिन्, “म जसो भन्छु त्यसो गर।”
घुम्यो अटो। आमाले भनिन्, “यो चड्कन मैले तँलाई मोबाइल किनेकै दिन लगाउनुपर्ने थियो। हिँड़् अब घरतिर। अब हामी आफ्नोे बाटो फर्कनेछौं। अघि हिँड़ेको बाटोको ठीक विपरीत दिशातिर जानेछौं। अघि तेरो कुरा मैले सुनें। अब मेरो कुरा तैँले सुन् बाटोभरि दिव्या! तँलाई म एउटा कथा सुनाउँछु। तेरो बाबु र मेरो प्रेम विवाह होइन, मगनी बिहे भएको हो। मैले पनि देखेको थिइनँ उनलाई बिहेअघि। न त उनले मलाई नै देखेका थिए। हामी एकअर्कामा विवाहपछि घनिष्ठ भयौं। जति मैले उनलाई बुझ्दै गएँ त्यति महान् लाग्नथाल्यो। उनी देशका रक्षक एक कर्मठ सिपाही थिए। सिमानाको कर्तव्यमा उनी जसरी समर्पित बनेका, मेरो खुशीको रक्षा गर्न पनि उसरी नै जुटेका। देशको सिमाना रक्षा गर्दागर्दै उनी एक दिन शहीद भए। त्यतिबेला तँ मात्र दुइ वर्षको थिइस्। मृत्युपछि पनि उनको कत्रो सम्मान! देशले सम्मानसित उनलाई बिदा दियो। उनले देशलाई कहिल्यै विश्वासघात नगर्नू भनी गएका छन्। तैँले देश र संस्कृतिलाई विश्वासघात गर्न लागेकी रहिछस्। तँलाई म तेरो जीवनमा सुखीभन्दा बेसी खुशी देख्न चाहन्छु। यसैकारण बाबुको पेन्सन र मेरो सीमित तलबले तँलाई पढ़ाएँ, बढ़ाएँ, कलेजको शिक्षा दिलाएँ अनि तँलाई विश्वविद्यालय पढ़ाउनको निम्ति तेरो बाबुले किनिराखेको जमीन पनि मैले धितो राखें। यी सबै गर्नुको पछि मेरो एउटै इच्छा हो तँलाई सदैव खुशी र आनन्दी भइरहेको हेर्न चाहनुु। यसकारण तैँले त्यो मान्छे जसले पहिलेबाटै तँजस्तै एउटी नारीलाई डिभोर्स गरिसकेको छ, उसित नाता जोड्नु हुँदैन। हाम्रो संस्कार र विश्वासमा त मृत्युपश्चात् पनि पति-पत्नीको भेट हुन्छ भन्छन्। हाम्रो यस्तो महान् सोचको विपरीत डिभोर्स गर्ने मान्छेसित तेरो घरबार हुँदैन। मैले देखिसकें दिव्या, तँ जीवनमा सुखी र खुशी बन्न सक्तैनस्। तेरो बाबुले तँलाई सधैँ खुशी र सुखी राख्नू भन्नुभएको छ। म कसरी एउटा कसाईको हातमा तँलाई सुम्पन सक्छु? बरु हामी गरिबी झेलौंला, निर्धनता सहौंला, तर यस्तो उड़न्ते सपनामा लाग्नु हुँदैन। तँलाई आफ्नै गाउँको पाठशालामा भोलन्टियर शिक्षकको रूपमा काम गरिदिनका लागि भनेको भनेकै छन्, बरु त्यहीं काम गर्। गाउँका नानीहरूलाई शिक्षाको उज्यालो दे। तेरो बाबुको आत्मा रमाउनेछ। तेरो उड़न्ते सपना फेसबुकको एकाउन्टसितै डिलीट गरिदे।”
यतिबेला अटोको दैलोबाट पसेको एक झोंका हावाले उड़ाएर ल्याएको धुलोको एउटा कण दिव्याको आँखामा स्वाट्ट पस्यो। दिव्याले रुमाल निकालेर आँखा माड्न लागी। त्यसलाई रुन मन लाग्यो। त्यो साँच्चै रोई। यसरी रुँदा निस्केका आँसुले त्यसका आँखाको कसिङ्गर बगाइदिएपछि त्यसलाई केही सञ्चो भयो।
अटो रोकियो घरतिर जाने दोबाटोमा। आमा-छोरी अटोबाट उत्रेर घरतिर बढ्न लागे। हठात् दिव्याको मोबाइलमा म्यासेज आएको ध्वनि सङ्केत बज्यो। वाट्सएपमा एउटा समाचार आयो। दिव्यालाई लाग्यो, फिलिपको फ्लाइट ल्यान्डिङ भएर मलाई नै खोज्दै होला। मलाई नभेटेर उसले म्यासेज गरेको होला। दिव्याले मोबाइल निकालेर वाट्सएप खोली, त्यहाँ साँच्चै नै फिलिपको म्यासेज थियो। दिव्याले पढ़ी-
प्रिय दिव्या,
तिमीलाई भेट्न म दुबईबाट हवाईअड्डातर्फ हिँड़्न लाग्दा अमेरिकाबाट मेरा मातापिताको फोन आयो। उनीहरूले मेरो र स्वीटीको बिहे ठीक गरिसकेछन्। आउँदो हप्ता वेडिङको तयारी पनि भइसकेछ। यसैले मैले इन्डिया आउने टिकट क्यान्सल गरेर अमेरिकाको फ्लाइट-टिकट लिएर उता जान बाध्य भएँ। तर तिमी धन्दा नमान दिव्या! म छः महीनापछि यसलाई पनि डिभोर्स दिएर तिमीलाई भेट्न अवश्य आउने नै छु। फेसबुकमा हामीले त्यति सुन्दर-सुन्दर सपनाहरू सजाएका छौं, तिनीहरूलाई त्यसै मर्न म कहाँ दिन्छु र?
तिम्रै ‘फिलिप’
दिव्याले आँखा देख्न छोड़ी। त्यसलाई त्यो मोबाइलको म्यासेजसित पनि घृणा लाग्यो। त्यसले हातको मोबाइल झटारो हानेर उँधोतिर कट्टाइदिई। फ्याँकेको मोबाइल गएर एउटा रूखको हाँगामा ठोक्कियो। हाँगामा बसेका एक जोड़ ढुकुर अत्तालिँदै उड़ेर गए।
***
28 जुलाई 2019 को दिन ‘हाम्रो प्रजाशक्ति’ समाचारपत्रमा प्रकाशित)
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)