~रामेश श्रेष्ठ~
“रामेशजी, तपाईंलाई चीन भ्रमणको सांस्कृतिक निम्तो छ है, साहित्यिक हुनुको नाताले”, रामबाबु सुवेदी सरको फोन आयो एक बजे राति।
“साहित्यिक मात्र होइन सङ्गीतकर्मीलाई पनि निम्तो दिने सोच बनाउनुपर्छ रामबाबुजी”, भन्दै पाँच साथीको नाउँ दिएको थिएँ, केही दिनपछि तीनजनाको मात्र मिलाउन सकेको कुरा गर्नुभयो।
जानुभन्दा केही दिनअघि चिनियाँ राजदूतले जडिबुटी-चियाले स्वागत गर्दै भन्नुभएको थियो, “चीन ठूलो देश छ, विकास त गर्दैछ तर भनेजति गर्न सकेको छैन। कमी कमजोरी प्रशस्तै हुन सक्छन्। गएर आउनुभएपछि तपाईंहरूबाट धेरै सुझ्ावको आशा राखेको छु। तपाईंहरूको यात्रा सुखद् र सफल रहोस्।”
एकैघण्टामा हामी चिनियाँ जहाजबाट ल्हासा पुग्यौं। बादलुको समुन्द्रमाझ् टापुजस्तै उठेका कति सुन्दर र मनोहर हिमाली टाकुराहरू! चीनतिरबाट पनि हेर्यौं सगरमाथालाई। तिब्बती पठार अनि नाङ्गा डाँडाहरूको लस्कर देख्यौं।
भोलिपल्ट बिहान यसअघि फोटोमा देख्ने गरेकोे पोताला दरबार चढ्यौं। ल्हासाको सुन त यहाँ पो थुपारेका रैछन् दलाइ लामाहरूले। पोतालाको टाकुराबाट देखियो― ठूलो उपत्यकामा फैलिएको नयाँ ल्हासा शहर। नेपाली सानो-दूतावासमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको शतवार्षिकी समारोह मनायौं, कविता पढ्यौं, गीतहरू गायौं अनि सालिकमा सेतो खादा चढायौं। ५२०० मिटर बढी उचाइको रेलयात्रा अपूर्व भएको हाम्रोे समूहले एकसाथ अनुभव गर्यो। नजिकै नीलो आकाश, टक्टकाउँदो अनौठो सेतो घाम, छेउछाउमा हिउँचुचुरीहरू। एउटा पनि रूख नभएको सपाट नागीमा हाम्रो रेल करिब २४ घण्टा कुदिरह्यो। अर्को बिहानदेखि मात्र देखिन थाले― रूख, मान्छे अनि स-साना गाउँका साथै पहाडै पहाड छेडेर बनाइएका अनगिन्ती सुरुङ। सुरुङको रेलो छिचोलेपछि शुरु भयो शहर, घन्टौंघन्टा रेलको झयालबाट हेरिरहँदा पनि नसिद्धिने। हामी पुगेका चीनका प्रायः सबै ठाउँमा आठ-दश तले पुराना घर भत्काएर ५०-६० तले नयाँ घर निर्माण भइरहेका थिए। साथीहरू भन्थे, “एउटा घरमा एउटा गाँवै अट्ने रैछ!” एक ठाउँमा हाम्रा चिनियाँ गाइडले भने, “अबको २० वर्षमा हरेक चिनियाँ नागरिकका लागि सरकारले सम्पूर्ण आवासको व्यवस्था गर्ने घोषणा गरेको छ।”
बुद्धः चीनमा पनि भ्रम
संसारको नयाँ आश्चर्यमा दर्ता भएको, केही वर्षअघि मात्रै पत्ता लागेर उत्खनन् गरिएको टेराकोट्टा योद्धाहरूको पुरातात्विक स्थल हेर्न जाँदा चन्द्रागिरि डाँडोमुनि पुगेेजस्तो लाग्यो। पत्रिकाहरूमा हेरेको हजारौं चिनियाँ योद्धाहरूका ऐतिहासिक आदम मूर्ति आँखैसामुन्ने देख्न पाइयो। जङ्गली हाँस नाउँको बुद्धको पगोडा हेर्न जाँदा गाइड बहिनीले “बुद्ध भारतका हुन् र बुद्धिज्म भारतबाटै संसारमा फैलिएको हो” भनेपछि नेपालीहरूको दिमाग सन्किहाल्यो। कसैले सम्झ्ाए, कोही रनक्क रिसाए। के गर्नु उनलाई त्यस्तै पढाइएको थियो।
बुद्धका मूर्तिहरू चीनमा खुबै छाएका देखिए, जबकि बुद्ध आफैं मूर्तिपूजाको विरोध गर्न भन्थे। ल्हासाका बुद्ध भोटवासीजस्ता र सियानका बुद्ध चिनियाँ अनुहार परेका थिए भने अरनिकोले बनाएकोे बुद्ध मात्र नेपाली हिस्सीका थिए। बेेइजिङको सेतो पगोडामा आफूले मिहिनेतले बनाएको अरनिकोको मूर्ति जतन र इज्जतसाथ स्थापना गरेको देखेपछि के.के. कर्माचार्य बडो भावुक हुनुभयो। उहाँसँगै हामी सबैले सम्मानित भएको अनुभव गर्यौं। बुद्धको विषयमा छाएको भ्रमबारे बुझन खोज्दा रात्रिभोजमा राजदूत टङ्क कार्कीबाट बुद्ध खाँट्टी नेपाली हुन् भारतीय कदापि हैनन् भन्ने कुरा संसारले थाहा पास् भनेर युद्धस्तरमा एउटा अभियान चलाउने तयारी हुँदै गरेको थाहा भयो।
जडिबुटीबाट गरिने आयुर्वेदीय उपचार, चक्लेट र फलफूलको सुकुटी पसल, लम्पिक चराको गुँड, समुन्द्री सफर, मोती र जेड पत्थरको पसल, पानीको फोहोरा-नाच, सर्कस, रेसमी कीराबाट धागो निकाल्ने कारखाना, आदिम युगको परिचय दिने सङ्ग्रहालय, हाँसको मासु खाने रेस्टुराँ― कहाँ कहाँ लगनेन् चिनियाँ साथीहरूले हामीलाई। अचम्म त पाँच हजार किलोमिटरभन्दा लामो चीनको ग्रेटवाल बनाउने युद्धभोगी राजाहरूको सपना र योजना त्यही पर्खालजस्तै अकल्पनीय लाग्यो। मात्सेतुङको शरीर जस्ताको तस्तै संरक्षित गरेर राखिएको थियो― गोरो, भव्य र तेजस्वी मुहारमा। दुईपल्ट लाम बसेर हेर्यौं रायन र मैले। आहा, हाम्रो जीवनको कति गौरविलो र अविस्मरणीय क्षण रह्यो त्यो! थोरै दिनमा धेरै जानकारी र अनुभव भयो यो यात्रामा, जसको विस्तृत वर्णन गरेर किताब नै प्रकाशित गर्ने प्रयत्नमा छु म।
तीब्र उन्नति, म्लेच्छ संस्कृति
साँच्चै चीनको उन्नति, प्रगति यति द्रूत छ, चिनियाँहरू आफैं विश्वास गर्दैनन्― ६ महिनामै आफ्नो ठाउँ कसरी फेरियो भनेर! तर पनि अमेरिकी डलर बलियो भएकोमा नमीठो मान्छन् र झ्न् बढी काममा खिपिन्छन्। उनीहरूको चेहराको भावले भनिरहेझ्ैं लाग्थ्यो― कुनै समय एक युआन किन्न पाँच अमेरिकी डलर खर्च गर्नुपर्ने दिन आस्।
चीनको जमिन टेकेदेखि नछोडेसम्म पाहुनाप्रति चिनियाँहरूको व्यवहार र व्यवस्थापन उत्कृष्ट थियो। हामीलाई तिब्बत, सियान, बेइजिङ, साङ्घाई, सेनजेन्, गुवान्जा, हङकङका साथै अरू स-साना शहरमा पनि पुर्याइयो र हरेक ठाउँमा वर्तमान चीनको वस्तुगत परिचय दिने प्रयत्न गरियो। पहिला चीन आएका साथीहरूले वर्तमान चीनमा मात्सेतुङप्रति आदरभाव बढेको बताएका थिए। “माले विशाल चीनको निर्माणमा असाधारण योगदान नगरेका भए आजको चीन कहाँ यस्तो हुन्थ्यो? अनि तेन सिया पिङको बुद्धिमत्तापूर्ण दृष्टिकोण र नीति नभएको भए विश्वमा आजको समृद्ध चीनको स्थान कहाँ हुन्थ्यो?” चिनियाँ गाइडहरू यो कुरा बारम्बार दोहोर्याइरहन्थे। जुन सत्य पनि थियो।
तर सिद्धान्त र विचारमा हिजो जुन उच्चता र पकड थियो चीनको, त्यो आज पनि त्यत्तिकै उचाइमा छ त? अहिले हाम्रो कुनै कुरामा ध्यान छैन, आर्थिक रूपमा समृद्ध हुनबाहेक …। लाग्थ्यो, सम्पूर्ण चीनको बोली यही छ। “तर हैन, हाल चिनियाँ नेतृत्व निकै गम्भीर बनेको छ यो सवालमा। वर्तमान चीनको नीतिमै छ― विद्यालयमा तलैदेखि मार्क्सवाद-लेनिनवाद-मा विचारधारालाई पाठ्यक्रममा समावेश गर्ने र नयाँ सन्ततिहरूलाई कम्युनिष्ट सिद्धान्तले शिक्षित-दीक्षित पार्दै लैजाने …” हाम्रै माझ्का एक विद्वान् साथीले भन्नुभएको यो कुरा सत्य हो, होइन त्यो त मलाई थाहा छैन, हो भने विश्वका मार्क्सवादीहरूका लागि शुभ-सन्देश हुनेछ।
हामी चीनका ल्हासा, सियान, बेइजिङ, साङ्घाई, हङकङलगायत जुुन जुन ठाउँमा गयौं, त्यहाँका साहित्यिक संस्था र समूहहरूले हाम्रो सम्मानमा सौहार्दपूर्ण कार्यक्रमको आयोजना गरे। सांस्कृतिक अनुभवको आदानप्रदान गर्दै चिनियाँ साहित्यका प्रतिनिधि लेखक, कवि र कलाकारहरूसँग हाम्रो निकै गहिरो अन्तरक्रिया भयो। सांस्कृतिक क्रान्तिले चीनको कला, संस्कृति र साहित्यलाई बोदो पारेको कुरा प्रायः सबै ठाउँका कला-प्रतिनिधिले व्यक्त गरे। एक किसिमले अधमरै पारेर छाडिएको विचार तीतो ढङ्गले पोखेका थिए उनीहरूले।
१९८० को दशकपछि जब मैदान खुला भयो; अनि मात्र साहित्य, कला र संस्कृति बौरियो चीनमा। तर यही समय सँगसँगै आफ्नो भव्य सांस्कृतिक पहिचान, ऐतिहासिक विरासत र विश्वव्यापी प्रभावलाई मूर्च्छा पार्दै क्षणिक रमाइलो र सस्तो मनोरञ्जनको उपभोक्तावादी पश्चिमा कला-संस्कृतिले पनि चीनको बजारलाई पिटेको छ। नयाँ पुस्ता त पप, रक, र्याप, हिप्, ब्यागी, खैरा, झयापुल्ले र चुच्चे कपाल र; भेट्टाए कालो पदार्थमा समेत मस्त देखिए; बौलाए जस्तैगरी। केही चिनियाँ साथीहरूले खुलेरै भने, “साहित्य पढ्न मन छैन, खुला चीनको नयाँ पुस्तालाई; बरु इन्टरनेटमा छोटा कथा र रमाइला कविता पढ्ने सोख पलाएको छ।” अलि अप्ठेरो मान्दै उनीहरूले थपे, “किताब छापेर बिक्न र पैसा उठ्न अप्ठ्यारै छ, बरू सङ्गीतको क्षेत्रमा पैसा बर्सन्छ। अझ् पश्चिमा खैरा, काला नाम चलेका पप गायक-गायिकाहरू आउँदा त हजार युआनका टिकट एकैदिनमा खत्तम भएका उदाहरण कति छन् कति!”
कुनै सपना, योजना, विचार, लक्ष्य, सिद्धान्त र स्तरीय सीप-शिल्प नभएजस्ता चीनका यी नयाँ सन्तानहरू म्लेच्छहरूका सांस्कृतिक दास त हुने हैनन् र कतै थाहै नपाई तिनैलाई आफ्ना मालिक सम्झ्ेर आफ्नो देशको परिचय र पहिचानलाई धूलो पार्न लागिपर्ने त हैनन्? एशियाका देशहरूले गम्भीर भएर सोच्ने समय आएको छ, जसमध्ये चीन पनि पर्ला कि?!
देशको मुहार फेर्ने अभियान
मिङसानमाथि फैलिएको हिउँलाई कुल्चँदै
पौरखीहरू अगाडि बढ्छन् आनन्द छर्कंदै
बेरोकटोक अगाडि बढ्छन् यी राता मानिस
लक्ष्यमा आफ्नो पुगेरै छाड्छन् यी ज्यँूदा मानिस
निकै नै टाढा पुग्नुछ राता सिपाहीहरूले
गाह्रो र साह्रो भन्दैनन् आँटी छोराछोरीले …
माको देशमा माको लङ्गमार्चको अभियानमा रचिएको यो गीतसँगै हामी सङ्गीतका साथीहरू ३६ वर्षदेखि नेपालको सुपरिवर्तनका लागि एकनासले गाइरहेका, जनता र जनआन्दोलनबाट स्थापित जनताको राष्ट्रगान गाउँथ्यौंः
गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ
यो देशको मुहार, फेर्नलाई उठ …
गाउँदा-गाउँदै मेरो अन्तर्मनले भन्थ्यो― देशको मुहार फेर्न गाउँ गाउँबाट चीन उठेको छ, वस्ती वस्तीबाट चीन उठेको छ। नेपालमा हामीले पनि उठेर राजतन्त्र फ्याँकेकै हौं, तर गणतान्त्रिक नेपाल नेपालीको भएन। अहिले सारा नेपाली र शहीदको सपना रोएको छ। तर रोएर केही हुनेवाला छैन। नेपालीहरू फेरि सङ्घर्षको अर्को चरणमा पस्नुपर्ने हो कि भनी गम्भीरतापूर्र्वक सोचिरहेका छन्। त्यसैले नेपाली जनता फेरि गर्जेर गाउने तरखरमा छन्― “यो देशको मुहार फेर्न अब अन्तिम पल्ट उठ …”
प्रायः कार्यक्रमको समापनमा चिनियाँ भाषामा गाउँ गाउँबाट उठ, वस्ती वस्तीबाट उठ गाउँदा चिनियाँहरू पनि हामीसँगै मुख चलाएर गाइरहेका देखिन्थे र यस्तो लाग्थ्यो हामी सबै आ-आफ्नो देशको मुहार फेर्न जीउज्यान तेजेर गम्भीरतापूर्वक लागिरहेका छौं र गाइरहेका छौंः
छुन् च्च छुन् च्च चान् छि लाई, चुचाइ चुचाइ चान् छि लाई
वाइल्याउ काइप्येन चुक्वो त म्येनमाउ, ताच्या तौ छिलाई …
(स्रोत : हिमाल खबरपत्रिका – १६-३१ भदौ २०६६ – पूर्णांक २४९)