समालोचना : “बसोकसेकिका” कविताकी प्रथम प्रयोक्ता- कल्पना सुबेदी

~होमनाथ सुवेदी~

उत्तर अमेरिकाको नेपाली साहित्यमा “बसोकसेकिका” को प्रथम प्रयोक्ता कल्पना सुबेदी हुन् र यो जापानी वाकाको एक प्रकारको कविताको पुस्तक “निः शब्द जल तरङ्ग” बसोकसेकिका सङ्ग्रह हो ।

बसोकसेकिका र हाइकुको सेतु बनाउने प्रथम प्रयोक्ता कल्पना सुवेदी हुन् । हाइकु लेख्न जानेर वा न जानेर पनि मान्छेले २,४ हरफ पनि कोरेका छन् । जब कि हाइकु २ हरफको पनि हुन्न ४ हरफको पनि हुन्न, यस्तो पनि लेख्न मान्छेलाई लाज लाग्दैन अनि उनीहरू नै बजारमा जान्ने भएर हिडेको पनि निर्लज्ज भएर हेर्नै परेको छ । यो ३ हरफको मात्र हुन्छ भन्नेसम्म ती भाइलाई थाहा छैन। यता कल्पनाले एक दिन मै एक सय हाइकु बनाएर सुनाएको पाएर जिल्ल परेको थिएँ । धेरै दिन पछि उनले ताङ्का समेत रचना गरी हाइकु र ताङ्काको संग्रहको पुस्तक तयार भो । त्यसमा केही दिनमा नै कल्पनाको फोन आयो बसोकसेकिका पनि यौटा पुस्तक हुने लेखिसके । मलाई यो बसोकसेकिका कसैले लेखेको मैले पढेको लागेन र यहाँ यही पनि यसको कतै प्रयोग भएको याद भएन । त्यसैले मैले कल्पनालाई सोधें “के हो यो बसोकसेकिका ?” कल्पनाको जवाफ थियो – हजुरले नै भूमिकामा लेख्नु भएको छः हाइकु, ताङ्का, सेडोका, बसोकसेकिका र चोका ।

के मा ?
पार्थमणी भट्टराईको ‘पायस’ हाइकु सङ्ग्रहको भूमिकामा।

भूमिका मलाई याद आयो तर बसोकसेकिका याद आएन । याद न आए पनि मैले पुत्रबधूसित अझै अनजान भएर सोध्न लाज लाग्यो अनि जाने जस्तै गरी ‘ए’ भनेर कुरो टुङ्ग्याएँ । उनले फेरि भनिन्- यो “बसोकसेकिका” को भूमिका कसलाई लेखाउने होला ? मैले तुरुन्त भने – वाकाका ऐलेका प्रवक्ता पुस्कर लोहनी नै हुन् । ऐले उनी यही मिजौरी, अमेरिकामा नै छन्, लेख्नको लागि अनुरोध गरे हुन्छ ।

त्यसपछि मैले आफैले लेखेको पार्थमणिको ‘पायस’ को भूमिका हेरें । हो, लेखेको त रहेछु । त्यसको पाद टिप्पणी पनि दिएर चार्ट नै राखेको रहेछु । मलाई थाहा भो बिर्सेको रहेछु । अनुसन्धान पनि यस्तै हो । पाद टिप्पणी राखेर अध्ययन गरियो । ती अर्काको शास्त्रबाट उतारेर आफ्नो रचना वा भूमिकामा राखियो । केही दिन पछि त्यो भूमिका लेखेकै बिर्सियो अनि त्यस भित्रको हाकाहाकी चोरेका अभिक्षणहरु कसरी सम्झने ? बसोकसेकिका कसैले लेखेको पनि छैन, आफूले लेखेको पनि छैन, अरु बढी चर्चा पनि छैन । मैले कल्पनालाई सोधें— कल्पना यो बसोकसेकिका लेख्ने विचार कहाँबाट कसरी आयो ? उनले भनिन्—
“मैले हजुरले भूमिकामा भएका वाका विधाका हाइकु, ताङ्काका अभिक्षण हेरेर हाइकु, ताङ्का लेखे अनि यौटा विचार प्रवाह आयो ३ हरफको हाइकु हुन्छ ५ हरफको ताङ्का हुन्छ भने यो ६ हरफको लेखे त बसोकसेकिका भैहाल्छ । किन नहुने? लेखे किन नहुने ? भै हाल्ला भनेर लेख्न थालेको, यो पुस्तक नै तयार भो ।”

यो सुनेर म दङ्ग परें । वास्तवमा हो त स्रष्टा उनले सिर्जना गर्दै थिइन् । त्यसवेला समालोचनाले केही गरेको छैन, थिएन । समालोचना त कल्पनाले बसोकसेकिका लेखेर सिर्जना गरे पछि मात्र हामीले त्यस बारेमा सोच्यौं र केही छलफल पछि पुस्कर लोहनीले भूमिका लेखे ।

बसोकसेकिका कुरा सरल नै थियो— अक्षर ५–७–५ नै हो, जता घुमाए पनि भाव भाषा र प्रविधि उस्तै हो, बिम्ब विधान वाकामा सबैमा चाहिन्छ । के कविता र गजललाई पनि वाण जस्तो व्यङ्ग्य अर्थ अभिव्यञ्जना गर्न सके उत्तम काव्य सिर्जना हुन्न र ? त्यस्तै हो बिम्बाधान गर्न सके बसोकसेकिका जस्तो सुन्दर कविता अर्को हुदो रहेन छ । सूत्र हो ५–७–५, ७७७ । अर्कोको भूमिका लेख्नु पर्दा पनि सिकिदो रहेछ । आफै मात्र जान्ने छु भन्ने घमण्डीहरुसित मलाई रिस उठ्छ । हेर्नुन पार्थमणिको भूमिका लेख्न नेपालदेखि अमेरिकासम्म मलाई अनुरोध आउँदा सीधै मैले भनेको थिएँ— हाइकुको विज्ञ त ऐले पुस्कर लोहनी नै हुन् । उनैसित लेखाउनु भनें तर उनीहरुको मलाई लेखिदिने नै भन्ने मनसायको कुरा बुझे पछि लेख्न स्वीकार त गरें । त्यसपछि आफैले वाकाका प्रकार हाइकुहरू पढ्नुपर्ने भो पढें, सोचें, लेखें भूमिका त्यो बेलामा । तर कल्पनाको पालोमा पुस्करजी यही मिजौरीमा थिए र दुवैले बसोकसेकिका के हो ? यसको बारेमा टुङ्गो लगाई अध्ययन गरेर पुस्कर लोहनीले भूमिका लेखे। “बसोकसेकिका”को फर्मुलामा कुनै विवाद थिएन। वस्तुको व्याख्यामा भूमिका देखे पछि त्यो भूमिका कल्पनालाई मन परेन । फ्रायडियन ब्याख्या उत्ताउलो भो भनिन् । केही दिन यो त्यसै बस्यो । म बीचमा परेको थिएँ । भूमिकाकारले भूमिका लेख्यो, लेखकलाई त्यो वाद मन परेन । विवाद गर्न पनि मिलेन । फसाद पर्यो । केही दिन पछि कल्पनाले भनिन्— “विद्वान् लाई भूमिका न लेखाउनू, लेखाइसके पछि कुनै पनि कुरा विवाद नगरीकन छाप्नुर्छ ।“ मैले भनेँ— फ्रायडवादी न भएर माक्र्सवादीलाई लेखाऊँ त ? निनु, अशोक, आनन्ददेव, देवता नै किन चाहियो ? ऐले त आधिकारिक हुन पर्दैन, लोकतन्त्र भन्छन् जोजसले पनि जे पनि गरिराख्या छन् । यस्तो बेलामा शिक्षा मन्त्री भनेको त कम्तिमा मन्त्री त हुन् । उसो त कविता र प्रवन्ध विधाका स्रस्टा नै हुन् । अंग्रेजी साहित्यका हेड मास्टर पनि हुन् । तिमीहरुलाई अमेरिका र अग्रेजीकै भने पछि केकानै लाग्छ । उनले पनि लेखिदिन्छन् । कसलाई लेखाऊ त तिमी नै भन ।” उनले भनिन्—त्यसो भए पुस्करको नाम किन सिफारिस गरेको त ?” म पक्रिएँ र फुत्कन भनेँ “त्यो त वादको लागि हैन, वाकाको शैलीको लागि भनेको ।” उनले भनिन् “मलाई त्यो कुनै वाद विवादमा जानुछैन ।” मैले भनेँ– सोचेर भन के गर्ने ? एक हप्ता पछि उनले कल गरेर भनिन् “बुबा! नेपालीमा वाकाको आधिकारिक समालोचक पुष्कर लोहनीजी नै हो भने पुस्करजीको नै भूमिका राखेर छापौँ त नि । म त नेपाल नै न गएको २४ वर्ष भैसक्यो । मलाई त्यहाँको केही थाहा छैन ।” मैले भनेँ—“बाबा! तिमी स्रष्टा हौ । तिम्रो सृष्टिलाई जो जसका जस्ता दर्शनका आँखा छन् तिनले त्यस्तै त्यस्तै देख्छन् । तिम्रा बसोकसेकिका त्यस्तै पारदर्शी छन् । स्रस्टाले चिन्ता गर्नुपर्दैन ।” अर्को दिनको अर्को फोनमा आज्ञा दिइन् ‘ल ठीकै छ छाप्यौं’ भनिन् । मैले भने लुष मुद्रणालयमा गुहनाथ पौडेलजीसित नै भन । यो नरोक्नुहोला, छाप्नुहोला । यस्ता धेरै गौंडागल्छेडा पार गरेर यो प्रकाशन भएको छ । मार्कसवादीले त्यसको ब्याख्या आफ्नै किसिमले गर्छ । अर्को प्रयोगवादीले आफ्नै प्रकारले गर्ला । ब्याख्याताका प्रकारले धेरै प्रकारका अर्थ लाग्ने यी “बसोकसेकिका” छन् ।
कल्पनाका प्रकाशित कृति यी हुन् ः

१. अनामिका, कविता सङ्ग्रह
२. मधु, हाइकु र ताङ्का सङ्ग्रह
३. निःशब्द जल तरङ्ग, बसोकसेकिका सङ्ग्रह
४. अक्षर, हाइकु सङ्ग्रह

अनामिका, कविता सङ्ग्रह

अनामिका कविता संग्रह हो । यो अनेसास वाशिङ्गटन डिसी केन्द्रवाट २०७०/२०१४ मा प्रकाशित भएको हो । यसमा २ वटा भूमिका छन् । पहिलो सोमनाथ घिमिरेको ‘अनामिकामा कमनियता’ हो भने दोश्रो हो ‘शुभकामना’ लीला लुईटेलको । ‘शुभकामना’ वास्तवमा शुभकामना हो धेरै अपेक्षा गर्नै सकिन्न । सोमनाथ घिमिरेको भूमिका लामो छ र कविता सङ्ग्रहको राम्रो विवेचना गरिएको छ । यसमा जम्मा ३९ वटा कविता छन् । पहिलो कविताको नाम पनि अनामिका राखिएको छ । त्यसैको नामबाट अनामिका पुस्तकको नाम भएकोमा ‘अनामिका’ सार्थक नै छ । यदाकदा कविताको म पात्र पनि आफैमा लोप भएको पाइन्छ र त्यो कुनै एक व्यक्ति नभएर मानव मात्र भएको पाउँछ । त्यसले पनि ‘अनामिका’ नामलाई सार्थक बनाएको छ । २४ वर्ष मातृभूमिबाट दूर बसेकी, डायस्पोराकी एक एकाकी कवयित्रीका कवितामा पहिलो उद्धरणीय कविता त “मातृभूमि” नै हो । यौटा नमुना कविताः

कति गरुँ प्रतीक्षा म
प्रतीक्षा म कसको ?
अनायास यादै आयो,
आफ्नै भूमिस्थलको ।
– मातृभूमि

यो ‘मातृभूमि’ कविता १९९५ को मार्चको अन्तर्दृष्टिमा छापिएको थियो । हुन त त्यसवेला कल्पना अमेरिका आएको ५ वर्ष मात्र भएको थियो तर पुस्तकाकारमा २०१४ आएको हो । जे भए पनि यो कवितामा उनको मूल थलोप्रति आस्था मुर्तिवत् भएको छ ।
अर्को कविता ‘स्वदेश’ यसमा देश फर्कने, जाने र आमाको सेवा गर्ने तर्क छ ः

भने है आमा बाबालाई पनि नरुनु भनेर
चाँडै नै गरी आउने छे छोरी समुद्र नाघेर ।
– स्वदेश

डायस्पोरा

डायस्पोराको बसाइसराइको कथा हुन्छ, व्यथा हुन्छ । त्यस्तै इमिग्रेशनको बारेमा लेखिएका कविता हो यो अमेरिकाको । यसको एक अंश ः

ग्रीनकार्डको चक्करमा
झुठो बिहे गर्छ
झुठी स्वास्नी त ठिकै थियो
झुठो छोरो पनि पाउँछ ।
– अमेरिका

कति विडम्बनापूर्ण जीवन जिएको कथा छ मान्छेको । ऊ उपहासको पात्र भएर बाच्नु परेको त्यो उसको दोष भन्दा यो परिवेशको दोष बढी हो ।

त्यस्तै “सिटिजनसिपको जाँच” कविता डायस्पोरामा सेटल हुन कति भाषाका समस्या आउँछन् । यो कविताले त्यसको विवेचना गर्छ । जस्तै ः

भयो, छोरी, धन्दा न मान
मेहनत गरेर म पढुँला
सिटिजनसिपको जाँच पनि जसोतसो म पास गरुँला ।
– सिटिजनसिपको जाँच

भाषा सरल छ । डायस्पोरिक बिम्ब विधान छ । यो पहिलो कृति हो, आफ्नो ठाउँमा यो उच्च छ ।

कल्पना सुवेदीको दोश्रो कृति हो-

मधु, हाइकु र ताङ्का संग्रह ।

‘मधु’ कृति अनेसास केन्द्रबाट २०७०/२०१४ फरवरीमा प्रकाशित भएको हो र अनेसासको अन्तर्राष्ट्रिय महिला सम्मेलनमा विमोचन भएको हो । यसमा ३०० हाइकु र ४३ ताङ्का संग्रहित छन् । अमेरिकामा हाइकु र ताङ्का संग्रहको पुस्तक निकाल्नेहरूमध्ये कल्पना सुवेदी प्रथम व्यक्ति हुन् । प्रकाश पौडेल माइलाको भनाइमा त सम्भवतः डायस्पोरामा नै हाइकु र ताङ्काको सङ्ग्रहको पुस्तक निकाल्ने प्रथम महिला साहित्यकार होलिन् । यो पुस्तकमा होमनाथ सुवेदी, लीला लुईटेल र प्रकाश पौडेल माइलाका सार्थक भूमिका छन् ।
हाइकु जापानबाट नेपाल र नेपालबाट अमेरिका आयातित विधा हो । जापानी वाकाका विभिन्न प्रकारक मध्ये यो हाइकु हो । नेपालमा धेरै जस्तो हाइकु नै लेख्ने चलन छ ताङ्का सेडोका र चोका भन्दा । शंकर लामिछाने, क्षेत्र प्रताप अधिकारी, राम कुमार पाण्डे, पुस्कर लोहनी, विष्णु बहादुर सिंह, प्रेम छोटा अभि सुवेदी, चेतनाथ धमला, पोषण चापागाई, शान्ति नारायण श्रेष्ठ, कृष्ण बजगाई, नारायण अधिकारीहरुको साथमा कल्पनाको साहित्यको यात्रा मंगलमय हुने कुरामा बढी आशा गर्न सकिन्छ ।

हाइकु ५, ७, ५ को अक्षरको तीन हरफे हुन्छ, जम्मा १७ अक्षर हुन्छन् । यी हरफमा १ मा उठान २ मा प्रथमको प्रतिक्रिया हुन्छ र ३ मा समग्रतामा नयाँ भावविस्तार गर्नुपर्दछ । प्रकृति बिम्ब बढी हुन्छ । जस्तै ऋतु बोध, प्रकृति प्रेम, बिशिष्ट भावका हाइकुहरुले विशिष्ट स्थान पाएका छन् । यो प्रकृतिसित जीवनको नमुना ः

जुही चमेली
नागबेली कपाल
पासोको डोरी
– १३६

आर्थिक अवस्थासित गाँसिएको हाइकुको यौटा सुन्दर नमुना :
ढिँडो ओडाल्नु
घरबार बसाल्नु
औकात तिम्रो
– १३१

ताङ्का

ताङ्काको सङ्ग्रहको रुपमा पुस्तक प्रकाशित भएको छैन अमेरिकामा । ऐलेसम्म प्रकाशित भएकोमा यो पहिलो हो । ताङ्का ५, ७, ५, ७, ७ अक्षर भएको ५ वटा हरफको वाका कविता हो । यसमा जम्मा ३१ अक्षर हुन्छन् । स्वैरकल्पना प्रयोग गरेको यो ताङ्का स्वप्न बिम्बाधान गरेर लेखेको नमुना ः

कडा बतास
हुर्रिएर अँगाल्दा
झल्यास्स तर्सें
खाटबाट गुर्लुम्म
सपना पो रहेछ ।
– ३३

निःशब्द जल तरङ्ग:

‘निःशब्द जल तरङ्ग’ यो बसोकसेकिका सङ्ग्रह हो । यो अनेसासबाट २०७१/२०१४ मा प्रकाशित भएको हो । यो जापानी वाका प्रकारका कविता मध्ये यो प्रथम पटक प्रकाशित भएको हो । अमेरिकी नेपाली साहित्यमा यो बसोकसेकिकाको प्रथम प्रयोक्ता पनि कल्पना सुवेदी नै हुन् । यो विधाको आफैमा इतिहास छ । जापानमा पनि बुद्धका मूर्तिको अगाडि स्तोत्रको रुपमा लेखिएको त्यस्तो स्तोत्र जस्तो बसोकसेकिकालाई कल्पनाले आजको आर्थिक सामाजिक र यौन सम्बन्धी र प्रकृति सम्बन्धी सबै समस्यामा प्रयोग गरेकी छिन् । त्यो पनि सौन्दर्य साथ सरल र सुमधुर भाषामा यी कविता बनेका छन् । बसोकसेकिकाको अभिलक्षण कल्पना सुवेदीले उनको लेखकीयमा यसरी दिएकी छिन् ः

“बसोकसेकिका -Bussokusekika_ ५, ७, ५, ७, ७, ७ अक्षर भएको ६ हरफको कविता हो)”

यसलाई स्पष्ट गर्दै उनी लेख्छिन्:

“यो -Bussokusekika_बाह्रौं शताब्दीमा बुद्ध मन्दिरको अगाडि बुद्धको चरणको स्तूपको नजीकमा रहेको स्लेटमा लेखिएको प्रार्थनाको स्तोत्रको रुपमा लेख्न प्रयोग गरेको प्रकार वा शैली थियो । तर पछि साहित्यमा हाइकु ताङ्काहरुले जापानी वाकाको नेतृत्व गरे, यो शैली वा प्रकार चाहि हराउँदै गयो । तापनि यो जिउँदो थियो ।” लेखकीयमा यो दिदै कल्पनाले न्यु वल्र्ड इन्साइक्लोपेडियाको पनि यो उद्धरण दिएकी छिन् । न्यु वल्र्ड इन्साइक्लोपेडियाले पनि यस तथ्यल।ई यसरी पुष्टि गर्दछ ।

“Bussokusekika: This form is carved on a slab of slate—
the Bussokuseki (stone silhouette of Buddha’s feet)—at the
Yakushi-ji temple in Nara, and is also recorded in Man’yōshū (the
earliest anthology of tanka poems, 600-759). The pattern is 5-
7 – 5 – 7 – 7 – 7 . ”
(http://www.newworldencyclopedia.org/entry/Waka_(poetry),
retrieved August 31, 2014)

यद्यपि आजसम्म नेपालमा मैले यो प्रयोग गरेर कविता लेखेको देखेकी छैन । जापानीमा भक्तहरूले प्रयोग गरेको र नेपाल वा डायस्पोरामा कसैले प्रयोग गरेको नदेखेको यो नयाँ विधाभन्दा पनि लेखेको न देखेको, पुनलर्खेनको प्रयोग गर्ने प्रयास मैले गरेकी छु (लेखकीय मन्तव्य)।

जापानी वाकाका नेपाली विशेषज्ञ पुस्कर लोहनीले यसको भूमिका लेखेर ‘निःशब्द जलतरङ्ग’ बसोकसेकिका सङ्ग्रहलाई महिमा मण्डित गरेका छन् । उनले “तरङ्गले भरिएको पोखरी” समीक्षा नै लेखेर भनेका छन्, उत्तम कदम हो तर अझै परिस्कार गर्दा अझ उत्तम हुन्छ । साहित्यमा परिस्कारको त सीमा नै छैन । कल्पनाको लेखनको गति तीव्र छ— एकै वर्षमा ४ वटा कृति प्रकाशित गर्नु, त्यसमा पनि हाइकु, हाइकु भन्दा पनि तान्का, यो भन्दा पनि नयाँ प्रयोगको बसोकसेकिका जस्ता वाकाको प्रकारमा । त्यो पनि नयाँ विधि र विधामा । हाम्रा लागि त्यो पनि सराहनीय कुरा हो । पुस्करको वाकाको नेपालीमा प्रवेश लेखन बारेको संक्षिप्त इतिहास भूमिकामा पठनीय छ ।

यसमा कल्पनाको भावना विस्तार भएको छ । यसले धेरै प्रकारका वस्तुहरुलाई समेटेको छ । ती मध्ये यौटा डायस्पोरिक प्रकृति सम्बन्धी बसोकसेकिकाको यौटा नमूना:

झिल्का फाले’सि
सुक्छ अस्थिपञ्जर
चिन्ताले हो कि
न जलेको चिताले
आर्यघाटको छेउ
घिड्घिडो अमेरिका ।
– २५

लिनु न छोड्नु भएको अमेरिकाको चिन्ता, चिता, अस्थिपञ्जर आर्यघाट र अमेरिकाको सम्योजन अति उत्तम छ । कल्पनाको यो विधामा ऐले एकाधिपत्य नै छ लेखनलाई निरन्तरता दिएमा बसोकसेकिकाले नेपाली माटोमा फस्टाउने मौका पाउनेछ ।

अक्षर

कल्पना सुवेदीको चौथो कृति हो—अक्षर । यो अनेसास नेपाल च्याप्टरबाट २०७१/२०१४ मा प्रकाशित गरेको हाइकु संग्रह हो । यसमा ४९९ हाइकु छन् । यौटा यौटा पुस्तकको हाइकु संख्याको गणना गर्दा नारायण अधिकारीको प्रथम स्थान आउँछ भने, यो राइटरका सबै कृतिका हाइकु गणना गर्दा कल्पनाका हाइकुहरु बढी देखिन्छन् । चौथो कृति यो ‘अक्षर’ मा उनी परिस्कृत भएर देखिएकी छिन् । यसको भूमिका डा. राम दयाल राकेशले लेखेका छन्–

“कल्पना सुवेदीको हाइकु रचना संसारमा स्वदेश र विदेशमा अँगालिएको असंख्य अनुभवको अभिनय अभिव्यक्ति पाइन्छ । यहाँ प्रेम छ, प्राकृतिक परिवेश छ दाम्पत्य जीवनको सुख दुःखको, घाम छायाको घनीभूत अनुभवको आँकलन पाइन्छ । डायस्पोराको डर लाग्दो जीवनको दर्दनाक चित्रण अत्यन्त चित्तबुफ्दो छ (राकेश, रामदयाल, पूर्वकथन) ।”

प्रकाशकीयले उद्घोष गरेको छ – “प्रस्तुत कृतिमा स्रष्टा सुवेदीले प्रेम, प्रकृति, जीवनको घामछाया डायस्पोराको जीवन लगायतका विभिन्न विषयमा आफ्नो अनुभूति पस्कदै सामाजिक विकृति र विसङ्गतिमा प्रहार गर्दै यावत समस्या र आफ्ना भोगाइलाई प्रस्तुत कृति मार्फत पस्कनु भएको छ (लेकाली राधेश्याम) ।”

प्रकृति बिम्बमा लेखिएको यौटा हाइकु कति सुन्दर छ । त्यो नमुनाको लागि प्रस्तुत छ:

नदीको भेल
माया त बगाउँला
मन त बगरै ।
– १७०

अर्को अक्षर शीर्षकसित सम्बन्धित नमुना:

अक्षर फुल
कविता लेख्ने कवि
मानवी ऐना ।
– ४३८

अर्को साहित्य सम्बन्धी नमूना ः

साहित्य विधा
उपन्यासको पात्र
पागल गिदी ।
– ४३९

‘अक्षर’ का हाइकुहरु उद्धरण गर्न थालेमा एक एक तान्नु पर्ने हुन्छ । यस्ता हाइकु, ताङ्का र बसोकसेकिकालाई निरन्तरता दिन सके अमेरिकाको नेपाली साहित्यलाई कल्पनाको योगदान उल्लेखनीय हुने कुरा यी कृतिहरुले प्रमाणित गर्दछन् ।
नयाँ विधा हुदा हाम्रो समुदायका पाठकलाई पनि नया प्रबिधिको कृति पठनको अभ्यास बढ्नुपर्छ। लेखनमा पनि अझ परिष्कृति आउनुपर्छ। त्यो न भएसम्म लेखकहरू र पाठकहरू सबैलाई केही असजिलो अनुभव हुन्छ र दुर्बोध भएको अनुभव पनि हुन् सक्छ। यसमा दुवै पक्षको मेहनतले यो विधा फस्टाउन सक्छ।

होमनाथ सुवेदी,
वुडब्रिज, भर्जिनिया, १२/१७/२०१४

This entry was posted in समालोचना and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.