पुस्तक समीक्षा : सान अवसानः एक दृष्टिकोण

~होम सुवेदी~

यादवप्रसाद अधिकारी (२०१०) २०५० कै दशकदेखि नेपाली साहित्यमा प्रकाशनहरु लिएर देखिएका एक साधकको नाम हो जसलाई हामी ‘झाँक्रीखोले’ साहित्यिक उपनामबाट परिचित भइसकेका छौं । चारखोलाको रहर नामक कवितासङ्ग्रहबाट २०५९ सालमा उनको नेपाली साहित्यमा प्रकाशन लिएर उदय भएको हो । पौने दर्जन कृतिका रचनाकार झाँक्रीखोलेको साहित्यिक यात्रा अझ २०७० को दशकका चारै वर्षमा चार चार कृति लिएर अघि आएको देखिएकोले उनको साहित्यिक यात्राको यो समय उर्बर र सशक्त बनिरहेको छ भन्ने आधारहरु पर्याप्त देखिएका छन् । निबन्ध कथा र काव्यमा उनको दखल भए पनि उनको सामथ्र्य कवितामा नै बढी देखिन्छ । फुट्कर कविताबाट यात्रा गरेका झाँक्रीखोलेले महाकाव्यसम्म आइपुगेर यो कुरामा प्रमाण जुटाइदिएका छन् । ‘चारखोलाको रहर’बाट आरम्भ भएको प्रकाशन यात्रामा अज पन्ध्र वर्षमै ‘शान अवसान’ नामक महाकाव्य लिएर देखिनुले यो कुरा सिद्ध गर्दछ । म यहाँ उनको पछिल्लो कृति ‘शान अवसान’कै बारेमा प्रवेश गर्न चाहन्छु ।

२०७४ सालको आरम्भमा दमकको साहित्य कला सङ्गमद्वारा प्रकाशित यो कृति मेची अञ्चलका महाकविहरुका महाकाव्यहरुमा कुम जोर्ने हैसियत राख्ने प्रकृतिको छ भनेर म फेदैमा यसको एकै वाक्यमा मूल्याङ्कन गर्दै अघि बढ्न लाग्दछु ।

यस भन्दा यता पनि मेचीबाट महाकाव्यकार हरिप्रसाद नेउपानेको ‘हाम्री फुपू’ नामक महाकाव्य पनि आइसकेको छ । हाल सक्रिय झापाका महाकाव्यकारहरुमा पुरुषोत्तम सिग्देल, मित्रप्रसाद दाहाल, रघुनाथ रिमाल, आनन्द घिमिरे, कोमलप्रसाद पोखरेल, झाँक्रीखोले र हरिप्रसाद नेउपाने नै हुन् । यिनमा आनन्दप्रसाद घिमिरे मित्रप्रसाद दाहाल र रघुनाथ रिमाल एक कित्ताका हुन् भने पुरुषोत्तम सिग्देल हरिप्रसाद नेउपाने कोमलप्रसाद पोखरेल र झाँक्रीखोले अर्को कित्ताका हुन् । काव्यात्मक स्तरीयता र गरिमाका आधारमा तथा महाकाव्योचित गुण गरिमाका आधारमा हेर्ने हो भने पनि यी दुई कित्ताका महाकाव्यकारहरुमा पछिल्लो कित्ताका महाकविहरुका महाकाव्यहरु अघिल्लाको तुलनामा शक्तिशाली देखिन्छन् बलवान् र प्रभाविला देखिन्छन् । एक समीक्षकको हैसियतको अध्ययनका अधारबाट नियाल्दा पछिल्लो कित्तामा परेकाहरुकै महाकाव्यहरु गरिमामय देखिन्छन् ओजिला र काव्यात्मक शक्तिसन्तुलन भएका देखिएका छन् । यस पाटोमा रहेर अझ विशद अध्यन गर्ने हो भने ता यसका लागि सबै महाकाव्यहरुलाई अघि राखेर तुलनात्मक अध्ययन नै हुनु आवश्यक छ । अहिलेलाई यो विषयमा यति नै भनिराखौं ।

अहिले म झाँक्रीखोलेकै महाकाव्यतिर लाग्छु ।

१००० प्रति छापिएको झापाको दमकमा विमोचन गरिएको कर्ण लिम्बूले तयार पारेको आकर्षक अग्रभागको कलात्मक आवरण पृष्ठ रहेको २५० मूल्य निर्धारण गरिएको ‘शान अवसान’ महाकाव्यमा महाकवि मोदनाथ प्रश्रितद्वारा भूमिका लेखिएको छ । त्यसपछि साहित्य कला सङ्गमको प्रकाशकीय छ । अनि लेखक्यौली छ । त्यसपछि महाकाव्यको सर्गसर्गहरुको कथावस्तुको सङ्केत स्वरुप निर्धारित शीर्षक उपशीर्षकहरुसमेतलाइ जनाउ दिने गरी तयार गरिएका शीर्षकहरुसहित महाकाव्यका सर्गहरुको विषयसूची छ । मङ्लाचरणबाट यसको आरम्भ हुन्छ र यसको कलेवर फैलन थाल्छ । निकै लामो मान्न सकिने यसको कलेबर छ । २७४ पृष्ठमा यसको फैलावट छ । २८ सर्गमा यसको आयतन फैलेर समापन भन्ने शीर्षक रचनाबाट ‘शान अवसान’ महाकाव्यको अवसान हुन्छ ।

मेचीदेखि पूर्व्तिर भारतीय भूमिमा बसेका वा भारतबाहिर भुटान, बर्मा लगायत अन्य मुलुकमा समेत बसेका एवम् गोर्खालीका रुपमा चिनिने नेपालीहरुको प्रतिनिधि कथा छ यस महाकाव्यमा । आफ्नै बाहुबलले आवाद गरेर बसेका भूमिबाट विदेशीको दर्जा पाएर खेदाउमा परेर आफ्नै पितापुर्खाहरुको मुलुकमा उल्टै शरणार्थीका रुपमा आएर वस्न विवश भएकाहरु खास गरी भुटानीको कथाव्यथा यस महाकाव्यभित्र छ । आफ्ना पितापुर्खाको देशका शरणार्थी हुनु पर्दाको भुक्तमानले आहत मुरारि नामक पात्र कथाको केन्द्रीय पात्र हो । ऊ एकमात्र पात्रको प्रमुखता यसमा छ । उसकै परिधिमा महाकाव्यको कथावस्तु परिभ्रमित छ ।

नेपालमा आएर बसेको मुरारि नामक पात्र यस महाकाव्यको सानो लहरो जस्तो माध्यम पात्र मात्र हो । मुरारिको माध्यबाट नेपाल र छिमेकतिर बसेका नेपालीहरुको आर्थिक राजनीतिक र सांस्कृतिक अवस्थाको पहरो नै तानेका छन् । लहरो तानेर पहरो गर्जिएको छ । परम्परागत रुपमा महाकाव्यमा हुने तपसिलहरुका आधारमा हेर्दा यो अलग प्रकृतिको संरचना भएको काव्य देखिनेछ र कतिले यसलाई परम्परागत ढाँचामै हेरेर महाकाव्य नै हैन भन्न पनि बेर नलाउलान् । तर यो कलम यति खेर किटानीका साथ के भनिरहेको छ भने यो महाकाव्यको कोटीको निख्खरो र तिख्खरो निख्खरो र सग्लो कृति हो ।

मङ्गलाचरणहरु, सर्गसर्गको विभाजन, सर्गान्तमा कथाका सूचनात्मकता, अनि अग्र सर्गको सूचनात्मकता, छन्द वितरण प्रकृतिको चित्रण मानव र मानवजीवनजगत्का नानाथरि उहापोह आदिको चित्रण गरेका आधारमा पनि यो काव्य महाकाव्योचित छ महाकाव्यको कोटीमा छ । यसमा दुविधा गर्ने काम छैन । यो सन्दर्भ म कोट्याउन चाहन्न । बरु यसको काव्यात्मकताका बारेमा केही कुरा प्रकाश पार्नतिर लाग्दछु ।

कविको सद्कर्म काव्य हो । उहिले सबै विधामा कलम चलाउनेलाई कवि भनिए पनि अहिले कवि भनेको खास गरी कविताको कर्ममा लागेको वा कविता रचना गर्नेलाई कवि भनिन्छ । कविताका अनेक रुपहरु छन् ।

आकार रुप स्वभाव धर्म आदिबाट कविता वितरित हुँदै र विभाजित गरिंदै आएको छ । कविताकै एक रुप हो महाकाव्य पनि । महाकाव्य भनेको काव्यको पनि महान् रुप हो । काव्यको औसत रुपभन्दा विभिन्न आधारबाट उच्च रुपको काव्यिक रचना नै महाकाव्य हो । महत् काव्य नै महाकाव्य हो । त्यसमा यो यो कुराको खाँचो पर्छ त्यो यस्तो यस्तो हुनु पर्छ भनेर सीमाङ्कन गर्ने काम नै महाकाव्यको सिद्धान्तको कुरा भयो । अब आजका महाकाव्यहरुमा उनै पुराना प्राइबेट लिमिटेड कसी लगाएर मूल्याङ्कन गरिनु हुन्न । यस काव्यलाई पनि उही कसीमा राखेर हेरिनु हुन्न । यसलाई आजको परिवर्तित सन्दर्भको दृष्टिकोणबाट हेरिनु पर्ने देखिन्छ । तिनमध्ये कुनै एक रस प्रमुख हुनु पर्ने राजा महाराजाको नायकत्वमा कथा हुनु पर्ने लगायतका तपसिलहरुलाई अबका कविहरुले पालना गरिरहनु भनेको आजका समाजबाट विमुख हुनु हो । यसैले आजका कविहरु आजको अवस्थासँग कुनै न कुनै रुपमा गाँसिएका देखिन्छन् । यस आधारमा झाँक्रीखोले पनि आजको नेपालमा साइनो राखेर आफूले टेकेकै भूमिबाट कथावस्तु टिपेर अनि आफ्नै आँखाले देखेका कुरा टपक्क समाएर कथा उचालेर काव्य बनाउनमा रिपु छन् । साथै उनी आजको नेपाल र आजकै नेपालका छिमेकीहरु नेपालको समाज संस्कार र नेपालको राजनीतिका साथै आजकै जीवनशैली जीवन भोगाइहरुमा जोडिएर महाकाव्य लेख्ने महाकवि हुन् । यसमा कतै दुविधा छैन । एक पात्रकेन्द्रीयतामा रचिएको यो महाकाव्य सायद यही नै पहिलो हुनु पर्छ नेपाली महाकाव्यको इतिहासमा । बहुपात्रीयता यसमा छैन । नायकप्रधान नायिका रहित रहेर पनि अरु धेरै कुरामा शास्त्रीयताका नजिक छ । पुराना सिद्धान्तका सबै कुराको फेहरिस्तहरु यसमा यथातथ्य रुपमा नभए पनि काव्यको महत् पक्ष भने यसमा गम्भीर रुपमा बहन भएको छ ।

यसमा काव्योचित गुणका हिसाबले ऋणात्मकता देखिन्न । धनात्मकता मात्र देखिन्छ । कतिपय काव्यहरु सिलोकले भरिएका र कविता कम भएका पनि पाइन्छन् । तर यो त्यस्तो हैन । यसमा कविताको रसमयता हरेक पङ्क्ति पङ्क्तिहरुमा पाइन्छ । सरमय भावमय र प्राञ्जल चित्र यसमा उपलब्ध हुन्छ । नेपाली शब्दहरु यसमा चमचमाएका छन् । यदाकदा केही कसरमसर देखिए पनि बडो सुमधुर रुपमा छन्दहरु प्रबाहशील भएका छन् । कविता लालिमायुक्त र सुकोमल छ । लालित्ययुक्त पदविन्यास छ । व्युत्पत्ति र अभ्यास भन्दा पनि कविको प्रातिभ शक्ति नै आभाषित भएको छ ।

विषयवस्तुका रुपमा हेर्दा यो काव्य नेपालको अहिलेको समाजको सम्पूर्णतालाई दर्साउने हो । नेपालको शान अहिले अवसानको अवस्थामा छ । यसै कुरालाई अघि राखेर कविले यस काव्यको नामाकरण गरेको अनुभव पनि हुनु र विषयवस्तुले पनि मेरो बुझाइमा यही मर्मतिर सङ्केत गरेको छ ।

यसलाई प्रगतिवादी ढाँचा र दृष्टिमाथि अडेको रचनाका रुपमा पनि लिन सकिएला । अनि आलोचनात्मक विधानबाट तयार गरिएके तथा नेपालको अहिलेको समग्र पक्षको आन्द्राभुँडी केलाउने छिन्किने काम गरेको महाकाव्यको रुपमा पनि लिन सकिएला ।
यसबाहेक पनि यस काव्यका कुरा धेरै छन् । बरु ‘शान अवसान’ काव्यका केही श्लोकहरु उद्धृत गर्दै म यस भनाइलाई यही अवसान दिने पक्षमा छु ।

नेपाली मूलका विभिन्न थर हुन् पर्देश नाघ्दै गए
के हो देश र राष्ट्रभक्ति नबुझी मुग्लानवासी भए
वर्मा चीन सिलाङ भारत भरी फैलेर बढ्दै गए
अस्थायी पर वासमा दिन बिते नाता बिराना भए ।। १÷४२

आजै सिन्दुर खोसिएछ वनिता मारिन्छ लोग्ने कतै
नानी रुन्छ अनाथ बाल टुहरो हत्या बढेको जतै
चल्छन् काज क्रिया दिनानुदिनका अन्त्येष्टि को गन्छ र
बार्दैछन् कवि देशमा छ किरिया बारेर के हुन्छ र ? ११÷५०

त्यस्ताले पहिचान राष्ट्र र धुरी माटो कहाँ पाउला
जन्मेकै घरबाट बाहिर सरे न्यानो कहाँ आउला
पेन्टागन्स्थित व्यक्ति हो मुलुकमा खै बास तिम्रा सरी
भेट्लान् के निजपुत्रले घरधुरी संघर्ष यात्रा भरी ।। १२÷७१

डाँडा वारि झमक्क साँझ नपरी झुल्किन्न पारी रवि
मैलो भेल समुद्र वादलविना सङ्लिन्न गङ्गाछवि
हुन्नन् जून पवित्र राहु नभए नक्षत्रको के भर ?
सुक्तै जान्छ मसी कलङ् युगको देखेर के हुन्छ र ?११÷८९

उद्योगी सिप छैन यो मुलुकमा मेलो न मानो भयो
अर्काको करिया बनेर जिउँदै व्यक्तित्व डुब्दै गयो
सामन्ती मुठीमा कुचुक्क जनता खुम्चिन्छ सुम्पी श्रम
प्रौढा पौरख छैन देश छ जहाँ बन्दो छ वृद्धाश्रम ।।१२÷७२

स्वतन्त्रको जग भाँडिएको
निरङ्कुशी शासन लादिएको
सत्ता उसैको गुणगान गाई
नाचेर बस्थ्यो नगरा बजाई ।। १८÷२१

समाप्त

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.