~आवाज शर्मा~
घुमी रहेछ फनफनी दीवारको घडीसरी
कहाँ थियो कहाँ पुग्यो यो जिन्दगी नदीसरी
रहेछ दाग छातीमा बनेर याद बल्झियो
बढेर जान्छ घाउ झन् ऊ सङ्गको दूरीसरी
उराठ लाग्दो एकलो उदास जिन्दगी हुँदा
यी दाग घाउ लाग्दछन् अमूल्य सम्पतीसरी
सँगै हिंंडेनि लक्षमा सबै कहाँ पुगिन्छ र?
हरेक मोडको कथा भेटिन्छ जिन्दगीसरी
अझै नि तान्न खोज्दछौ समाऊ पाउ के छ र
जहाँ म ढल्छु भूल त्यै उभिन्छ सारथीसरी
नदेऊ अर्ती भैगयो जहाँ छ स्वार्थ गर्भमा
भन्यौ पत्याएँ तृप् छु, तीतो छ औषधीसरी
कुनै खुला किताब झैं यी श्लोक शेरमा सधैं
म प्राण पोख्छु शब्दमा र सुन्छु ढुकढुकीसरी