~शरद् छेत्री~
छोरो तन्नेरी भइसकेको थियो। त्यससित कुन प्रकारमा बरताव गर्नुपर्ने हो, त्यसको निर्णय ठीकसित गरिने स्थितिमा म नपुग्दै, एक दिन छोरोले सोध्यो, “बाबा! त्यो बलियो फ्रेमभित्रको तस्बिर तपाईंकै हो?”
अत्यन्त गम्भीर मुद्रामा प्रश्न गरिएको थियो। तर, मैले सधैँजस्तै थोरै शब्दहरू चुनेर भनें, – “सधैँ नै भन्दैछु त,… यो मेरै पुरानो तस्बिर हो, चरम-युवाकालको!”
“बाबा!, तर युवाकालको तस्बिर पनि किन यस्तो टीठ्लाग्दो?” छोराले प्रश्नसूचक टिप्पणी गऱ्यो।
बढ़ेको छोरो थियो त्यो। र मैले अत्यन्त कम्पित स्वरमा भनें – “छोरा! पीर – व्यथा – आक्रोश सबै नै आफ्नो छातीको पर्खालभित्रै गुम्स्याएर राख्नुपर्ने समय थियो त्यो!”
मेरो कुरो सुनेपछि छोरोले धिक्कारेको जस्तो प्रकारमा तत्कालै भनिहाल्यो – “आगोको लप्को जतिसुकै ठूलो र असाध्यै पोल्ने भएर मात्रै के पो हुन्छ र? – गुम्स्याउनाले त निभिहाल्छ झ्याप्प त्यो!”
मैले सानो स्वरमा भनें – “तर, … तर त्यस तस्बिरमा त्यो प्रकट भएको छैन वत्स!”
छोरोका गालाहरू रनक्क रन्किएर रक्तिम बनिएका थिए। र, ठूलो हुङ्कार लिँदै त्यसले भन्यो – “तस्बिरमा हेरे नै मैले कुरो गरेको हो त्यस्तो! – उफ्!… रङ्-रोगन मेटिएको नभए तापनि त्यो कस्तो नमिटो संशोधन!…”
“कुनै त्रुटि छ त्यस तस्बिरमा?” – मैले छोरोलाई धाप मार्दै कुरो काटी प्रश्न गरें।
एकाएक कुनै विस्फोट गरेझैं, छोराले कराएर तत्कालै भन्यो – “माफ कसै गरी नसक्नुको त्रुटि छ त्यसमा।… कस्तो तस्बिर हो त्यो, अनुहारमा कुनै पनि ओठ नै नभएको?”
त्यसको पलभरमा नै, तथा छोरोको टिप्पणीको जवाफमा मैले उचित व्याख्या गर्ने शब्दहरू सङ्ग्रह गरिसक्दा – नसक्दै, उत्तेजित छोरो कोठाबाट निस्केर गइसकेको थियो।
निधारको पसिना कम्पित हत्केलाले पुछ्दै मैले आफैसित क्लान्त वाणीमा भनें –
“उफ्!…कस्तो ठूलो दुर्भाग्य थिएछ त्यो, – युवावस्थामा समेत ओंठहरू त्यसरी हराएका!”
(“समय र बाँसुरीको धुन” कथासङ्ग्रहबाट साभार)
(स्रोत : रचनाकार डट कम)