एक युवक सधै एक चिया पसलमा जान्थ्यो र आफ्नो भावी योजना त्यहाँ बसेकाहरुलाई सुनाउने गर्थ्यो। ऊ एउटा सफल व्यवसायी बन्न चाहन्थ्यो। काम सुरु गर्नको लागि ऊसंग केही पैसा पनि थियो, तर त्यसलाई बढाउनको लागि, भविष्यमा केही पर्यो भने आफ्नो सहायताको लागि अरु पैसा नभएकोले काम सुरु गर्न नसकेको गुनासो गर्थ्यो।
एकदिन त्यही चिया पसलमा सधै आउने एक वृद्धले उसलाई रकम नलेखिएको चेक दिए र भने, ” बाबु, तिमीले तिम्रो पैसाबाट काम सुरु गर। काम सुरु गरेपछि त्यसलाई बढाउनको लागि, वा केही अप्ठ्यारो परेमा यो चेकमा जति चाहिन्छम त्यति लेखेर पैसा निकाल्नु । जब तिमी त्यो रकम तिर्न सक्ने जति सफल बन्छौ, अनि म संग आउनु। तिमीले कमाउन सकेनौ भने, मलाई पैसा फिर्ता गर्नु पर्दैन।”
त्यसपछि त्यो युवकले वृद्धलाई धन्यवाद दिंदै जतनसंग चेक राख्यो र अर्को दिन देखि नै आफ्नो काममा केन्द्रित हुन थाल्यो । त्यसपछि उसले कडा मेहनत गर्यो । उसले जोखिम मोलेर काम गर्यो, किनकी उसलाई लाग्यो की, घाटा लागिहाले पनि ती वृद्धले दिएको चेक छ। उसको व्यवसाय यति माथी पुग्यो की, त्यहाँबाट मिलेको पैसाले नै व्यवसाय बढायो। उसलाई त्यो चेकको जरुरत नै परेन। आफ्नो व्यवसाय अगाडी गएपछि उसले त्यो चेक लिएर चिया पसलमा गयो। ती वृद्ध व्यक्ति नआएपछि उसले पसलेलाई सोध्यो।
पसलेले जवाफ दिए, ” ती कुनै धनी व्यक्ति होइनन् बाबु। उनको केही दिन अगाडी मात्र देहान्त भयो। उनी त एउटा वृद्धाश्रममा बस्थे। उनीसंग बैंक ब्यालेन्स थिएन। ती वृद्ध यहाँ आएका युवाहरुको कुरा सुन्थे र दुई/चार दिन युवाको कुरा सुनेपछि, उनले आफ्नो कामले अर्थ लाग्ने जस्तो लाग्यो भने तपाईंलाई जस्तै चेक दिन्थे। मैले किन यसो गर्नुहुन्छ भनेर सोद्धा उनले भन्थे, ‘यी युवामा आड, आत्मविश्वास र जोखिम मोल्ने साहसको कमी छ। यो चेकले उनीहरुलाई त्यो सबै दिन्छ र उनीहरु सफल बन्नेछन्। ”
ती पसलेको कुरा सुनेपछि युवकले त्यो चेकको गहिरो अर्थ बुझ्यो। मनमनै ती वृद्धलाई नमन गर्दै उसले त्यो चेकलाई जीवनभर आफूसंगै राख्यो।