“बिन्देसरजी ! ओ मधेसीजी !! ”
पछाडिबाट आएको आवाज बिन्देसरको कानमा ठोक्कियो र फर्केर हे¥यो । भारती रहेछ , कमलेश । उसैलाई पछ्याउँदै आउँदै रहेछ । सडकबाटो लगभग सुनसानै थियो ,फाट्टफुट्ट मान्छेमात्र हिँडेका देखिन्थे ,त्यो पनि डराई डराई । कर्फ्यु लाग्दैखुल्दै गरेको थियो, अहिले दुई घण्टाका लागि खुलेको थियो ।
दशगजामा धर्ना थियो आन्दोलनकारी मधेसीहरूको । कफर््यु शुरु हुन्थ्यो । पथराउ गर्दै पारिपट्टि भाग्थे,भोजननास्ता गर्थे । कफर््यु खुल्नासाथ चटाइ ओछ्याएर धर्नामा बसिहाल्थे । धेरै दिनदेखि यस्तै चलिरहेको थियो । बाटोमा बौएलाल पनि भेटियो । साइकलमा अगाडिपछाडि ददस लिटर पेट्रोल भरेको चारवटा ग्यालन झुण्ड्याएर पारिबाट आउँदै रहेछ । उसको धन्धा पनि यतिखेर खुबै फस्टाएको थियो । कमाइको दसौंद मोर्चाको स्थानीय नेतालाई बुझाउँथ्यो । दस्तुर नबुझाउने फकिर मियाँको मोटरबाइक हिजो पनि जलाइदिएका थिए । ठाउँठाउँमा आन्दोलन चर्केकै थियो । कहिले लाठी जुलुस निस्कन्थ्यो त कहिले धोती जुलुस । सहभागिता बढाउन सहिदको मोल पनि यसपालि त दश लाखबाट बढाएर एकैचोटी पचास लाख पु¥याइदिएका थिए नेताहरूले । पचासौं सहिद भइसकेका थिए यो आन्दोलनमा पनि ।
“होटल जयहिन्दमा नेताजीले खासखासलाई बोलाउनु भएछ आन्दोलनको आगामी कार्यक्रमबारे कुरा गर्न । हुलाकी मार्गको अस्तिको मानवसाङलोपछि आन्दोलन नयाँ चरणमा प्रवेश गरेको छ , एकपछि अर्को उचाइ प्राप्त गरिरहेछ आन्दोलनले तर सरकार टसमस भइरहेको छैन । आजतक, जीन्यूज, दूरदर्शन सबले आन्दोलनको पक्षमा राम्रो कभरेज दिइरहेछ ।” भारती निकै उत्साहित देखिन्थ्यो ।
“जेलाई उचाइ ठानेको छौ त्यो डिल्लीकोे दादागिरी हो ! हेरन,मधेसमा कति ठाउँमा सीमा मिचिएको छ , सीमामा बाँध बनाइदिएर डुबानमा सालैपिच्छे हामी नै पर्छौं.. डिल्ली त अक्टोपस हो जसका विषालु सँुडले पालैफेर सबलाई आफ्नो जकडमा पार्ने गर्दछ । डिल्लीका मान्छे मधेसमा मात्र होइन,पहाडमा पनि छन,काठमान्डुमा पनि छन,सब पार्टीमा छन,कर्मचारीमा छन,नागरिक समाजमा छन, कहाँ छैनन ! भारतीजी, ढाका,इस्लामाबाद र कोलम्बोको न्यूज पनि सुन्नु भएछ ? तिनीहरू त डिल्लीको घाँटी अँठ्याइरहेछ । भनिरहेछ—आफ्नो स्वार्थका खातिर गरिब र कमजोर छिमेकीलाई दुःख दिनु डिल्लीले आफ्नो बहादुरी सम्झिरहेछ । राष्ट्रसंघले पनि त बिना अवरोध पारवाहन भूपरिवेष्ठित राष्ट्रको अधिकार हो भनिरहेछ ..” बिन्देसर बोल्यो,“आफैं बिरुद्धको नाकाबन्दीमा रमाएर के गर्नू ? आफ्नो घर जलाएर आगो ताप्ने काम न हो ।”
“बिन्देसरजी,हामीले पटकपटक आफ्नो अधिकारको लागि आन्दोलन ग¥यौँ..तर हाम्रो अवस्था उस्ताको उस्तै ! त्यसैले नेताहरू भन्दैछन—अभी नही तो कभी नही । डिल्लीले हामीलाई घरिघरि साथ दिँदैन..।” भारतीले कूम उचाल्दै भन्यो ।
“डिल्लीले साथदिएको ठान्या ? त्यो भ्रमबाट मुक्त होऊ । साथ दिएको भए बहिष्कार गरेको जलाएको संविधानअनुसार हुने चुनावमा भोट हाल्न पठाउँथ्यो त ? डिल्लीको मनसुवा बेग्लै छ..उसलाई आफ्नो ठानिरहेछौं तर उसले हामीलाई गोटी बनाएको छ गोटी । यो कुरो बुझ्नु जरुरी छ..उ त नेपाललाई गलाएर कमजोर देखाएर सुरक्षाबन्दोबस्त गर्न हतारिएको छ , हाम्रो कोशीकर्णाली ताकिरहेछ , सीमांकनको जोड त्यही हो । अनि जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्रको निर्धारण भनेको चाहिएको बेलामा फिजी वा सिक्किम बनाउने दाउ हो ।” बिन्देसरले भन्यो ।
“यो सिक्किम र फिजी भनेको के हो ?” कमलेश भारतीले सोध्यो ।
“कमलेश भाइ, मधेसी आन्दोलनकारीले विस्तारवाद,उपनिवेशवाद अनि सिक्किम र फिजीको अर्थ अनिवार्य रुपमा बुझ्नै पर्दछ । यो कुरो नबुझिकन आन्दोलनमा लाग्नु भनेको डिल्लीले हाँकेको टाँगाको घोडा बन्नु हो । बुझेर लागेको छौभने देशप्रति अपनत्व छैन हामीमा..”मधेसीले भन्यो, “भुटानै भनौं न । देख्नलाई स्वतन्त्र तर आफ्नो इच्छामा केही पनि रहँदैन,अहिलेको हाम्रै कुरो हेरन ।”
“के भन्छौ बिन्देसर भाइ तिमी पनि ! सिक्किम बनोस वा फिजी,भुटान, त्यसले त हामीलाई फाइदै छ ..यस्तो हेपिन त पर्दैन नि । डिल्ली त मलाई एकदम आफ्नोजस्तो लाग्छ । डिल्लीले हामीलाई सँधै साथ दिएको छ ७ सालमा,४६सालमा अनि ६३ मा पनि । ”
“के भन्दैछौ तिमी ? यस्तै बोलीले त हामीउपर राज्यको विश्वास उठिरहेछ । डिल्लीको नाकाबन्दीको विरोध गर्दा प्रतिकारमा हामी वेलकम डिल्ली र अनि हाम्रो दःुखमा चिनले सहयोग गर्दा प्रतिकारमा हामी ब्याकअफ चाइना भन्छौ । अनि त आफ्नो पनि कसरी ठानोस ?”
कमलेशले भन्यो,“साथीहरू सबैजना तिमीलाई पहाडेखस सामन्तको घोडा भनिरहेछ..। मकर आन्दोलनमा त कति सक्रिय थियौ तिमी ! ”
“भन्छ नि उल्टे चोर कोतवालको डाँटे !” भन्यो बिन्देसरले ।
भन्न त त्यसो भन्यो तर साथीहरूबाट एक्लिई रहेको थियो । छन त उ साथीहरूसँग आन्दोलनमै थियो र पनि उदास थियो । डिल्ली धाप मारिरहेथ्यो । त्यो धाप थापेर नेताहरू मैमत्त बनेका थिए मानो तिनले जगत नै जितेका होउन तर बिन्देसरको सानो मथिङ्गललाई भने देश हारिरहेको अनि मधेसको चिरहरण भइरहेकोजस्तो लागिरहेथ्यो । मधेसमा अचेल पहिलेको जस्तो प्रेमसद्भाव थिएन । पहाडेमात्र होइन मधेसीहरू पनि बिस्थापित भइरहेका थिए । यसपालि न त दुर्गापूजामा रमाइलो भयो न त सामाचकेबामा,दिवाली र छठ पनि नरमाइलै भयो । आन्दोलनले बालीनाली खेतिकिसानी पनि चौपट, न त बेलामा सिचाइ हुन सक्यो न त मलखादको व्यवस्था । लामो आन्दोलनले पहाडमधेस सबैतिर जनजीवन लस्तपस्त भएको थियो । भँुइचालोले थिलथिलो पारेको पहाडको जनजीवनलाई मधेसको आन्दोलनले घाटमा पु¥यादिएजस्तो भएको थियो र पनि मान्छेले सहिरहेका थिए, कतिले त हामीलाई देशद्रोही पनि भन्न थालिसके ।
अगाडिबाट जुलुस आउँदै थियो । जुलुसमा उ पहाडे अनुहारहरू पनि देखिरहेको थियो । अस्ति त हो धनबीर मगरले भनेको थियो कि हेर्नु न बिन्देसरजी आन्दोलनमा आउँदैनौभने मधेस छाडेर जाओ भनेर धम्काउँदै छन..। “घरैपिच्छे एक जना त अनिवार्यै छ नगए एक हजार जरिवानासहयोग ! बडा मुसिबत छ ,महिनौं भइसक्यो आन्दोलन र नाकाबन्दीले गर्दा काम छैन !” रामतपेसरको गुनासो पनि उसको कानमा गुञ्जिरहेको थियो ।
तपेसर र धनबीरको गुनासोले बिन्देसरलाई दशकपहिलेको मकर आन्दोलनको मैदानमा उतारिदियो —
लगभग दस फिट लामो भाटामा उनिएको झण्डै डेढमिटर बाई डेढमिटरको वर्गाकार कालोध्वजा हावामा बत्याउँदै फहराउँदै बिन्देसरले भट्यायो — ‘मधेस आन्दोलन —जिन्दाबाद, जिन्दाबाद ।’
“जिन्दाबाद, जिन्दाबाद ”—वरिपरि झुम्मिएको समूहले साथ दियो ।
माघको कुहिरोले डम्म ढाकिएको धरतीमा दुईतीन लग्गी परको केही कोही देखिँदैनथ्यो तर पनि उनीहरूको आवाज परपरसम्म पुग्यो र उता रहेको समूहले पनि उत्तेजित उद्वेलित हँुदै भट्यायो—“मधेसी मधेसी — एक होँ, एक होँ ।”
त्यसैबेला प्वाँऽऽपँुऽ प्वाँऽऽपँुऽ साइरन बजाउँदै सशस्त्र प्रहरीको भ्यान त्यतैबाट हँुइकियो । पुलिसको आउजाउले र उतापटिबाट आएको आवाजले पनि बिन्देसर मधेसीको टोली झन उत्तेजित र उत्साहित भयो र नारा उराल्यो, “मधेसी अधिकार —लेकर रहेँगे, लेकर रहेँगे ।”
उनीहरूको चर्को स्वर सुनेर होला जाडोले कक्रक्किएर घुर छेउमा गुँडुल्किएर बसेको कुकुर पनि उनीहरूतिरै फर्केर भुक्न थाल्यो । चिया पसलको एकचारीमा बसेको कागको जोडी पनि काँऽकाँऽ गर्दै कराउन थाल्यो । चिसो भगाउन उनीहरूले वरपरको झ्यासझुस बटुलेर छेउकै घुरमा धुनी जगाए । पुलिसको आउजाउ रोक्न बीच सडकमा टायर पनि बालिदिए र ‘राजमार्ग ठप्प’ को ऐलान गरिदिए । स्थानीय नेता नन्दकिशोरले ट्राफिक पोस्टमाथि उक्लेर भाषण ग¥योे— उपस्थित सज्जनवृन्द र नौजवान साथी, जनआन्दोलनले ल्याएको परिवर्तनको फलबाट मधेसी जनतालाई वञ्चित गर्ने षडयन्त्र भइरहेको छ …अन्तरिम संविधान त्यसैको प्रमाण हो । यो हामीलाई कदापि मान्य हुने छैन । मधेसी जनतालाई राज्यले बर्षौदेखि शोषण गरिरहेको छ । संविधानले मधेसीलाई सम्बोधन नगरेसम्म हाम्रो आन्दोलन जारी रहने छ.. ।
परर्र ताली बज्यो र एक छिनसम्म बजिनै रह्यो । बिन्देसरले कालो झण्डा हावामा फहराई रह्यो । अरुहरूले पार्टीका झण्डा पनि फहराए । आआफ्नो पार्टीका पक्षमा नारा पनि लगाए । बिन्देसरले भन्यो , “कुनै पार्टीको नारा लगाउने होइन । यो सबको साझा कार्यक्रम हो । एकताको मोर्चाको कार्यक्रम हो । त्यस्तो नारै लगाउने हो भने मधेसी मोर्चा जिन्दाबाद भन्नुस,बस..” त्यसपछि समूह बनाएर राजमार्गमा गस्ती गर्न लागे—आन्दोलन गस्ती । छेउछाउका बासिन्दालाई आन्दोलनमा सहभागी बनिदिने उर्दी पनि जारी गर्दैथिए उनीहरू —आमाबा, दिदीभाइ, दाजुबहिनीहरू, आफ्नो हकअधिकारका लागि आन्दोलनमा सरिक होऊँ, पहाडे सत्ताको बिरुद्ध एक जुट भएर लडौं ।
आन्दोलन लम्बिँदै गयो । जाडो र शितलहरले मौसम कठ्याङ्ग्रिदो भए पनि आन्दोलनको जोशले र अधिकार प्राप्तिको रन्कोले उनीहरूलाई तताइराखेको थियो । संघीयता,समावेशीताबाट उक्लेर अब उनीहरू मधेस प्रदेश र अलग मधेसी राज्यको माग गर्न थालेका थिए । ठाउँठाउँका सरकारी अड्डाका साइनबोर्डमा लेखिएको नेपाल शब्दलाई कालोले पोतेर मधेस राज्य लेख्ने अभियान पनि चलाइसकेका थिए । मधेसी आन्दोलनकारीहरू राज्य आफूहरूप्रति सम्वेदनशील नभएको आरोप लगाइरहेका थिए भने केन्द्रको राज्यसत्ता उनीहरूको मागलाई अतिवादी र बिखण्डनकारी भनिरहेको थियो । शायद त्यसैले पनि होला, आन्दोलनमा ठाउँठाउँमा चर्को दमन पनि भइरहेको थियो । आन्दोलनमा आम मान्छेको सहभागितालाई उत्प्रेरित गर्न मरलपरलमा राज्यले दिने गरेको एक लाखको सट्टा पाँच लाख दिने भनी आन्दोलनकारी नेताहरू कबोल बढाबढ पनि गरिरहेका थिए ।
“हिजो लहानमा गोली चल्यो ,एक जना ठहरै भयो ।” बोल्ने राजेन्दर महतो निकै आक्रोशमा थियो ।
“इनरुवामा त तीन जनाको एउटै चिहान भयो ” ढोढनाको प्रमोद सदाले आत्तेस मान्दै भन्यो ।
“अब माग पुरा नहुञ्जेलसम्म आन्दोलन रोक्नु हुँदैन ।” महदेवाको सहनीले राय दियो ।
“यै बात पर जोरसे कहु,” बिन्देसर मधेसीले शिरमाथिको कालो ध्वजा बत्याउँदै नारा लगायो , “एक मधेस —एक प्रदेश ।” अरुले साथ दिए— एक मधेस एक प्रदेश ।
गाउँको गोपाल पहाडी पनि त्यही समूहमा थियो ,भन्यो ,“मधेसको एक प्रदेशमात्र कसरी हुन्छ ? वास्तविक अर्थमा संघीयताको कुरो गर्ने हो भने त मधेसमा त कोचिला ,मिथिला, भोजपुरा,अवध,थरुहट,खसजस्तो धेरै प्रदेश पो हुन्छ । पहाडको पनि थुप्रै प्रदेश हुन्छ —लिम्बुवान,तमुवान,मगरात,नेवा,ताम्सालिङ,खसान,.. ”
“किन नि ..? पूर्वदेखि पश्चिमसम्म सबै मधेस हो ,अनि मधेस प्रदेश भइहाल्छ नि ।” सदानन्द मेहताले एक मधेसमा जोड दिँदै भन्यो ,“डिल्लीको बिचार पनि त्यस्तै छ ।”
“अनि हामी मुसलमानहरूको प्रदेश खोई त ?” असरफ मियाँ अन्सारीको असन्तुष्टि पोखियो ।
“पहिले हामीले मधेस प्रदेश लिने हो ,त्यसपछि त आफूआफू सल्लाह गरेर मिलाए भै गो नि ।” बिन्देसर मधेसीले भाँडिन लागेको मतलाई मिलाउने प्रयास ग¥यो ।
“अनि हामी थारुदनुवार त मधेसी होइनौं नि । हामी त आदिवासी धरतीपुत्र हौं ।” मेघरोलको लखन चौधरीथारुले भन्यो,“हाम्रो भाषा बेग्लै छ , पहिरन बेग्लै छ ,संस्कृति बेगल छ र हामी देशैभरि छौं ।”
“मधेसमा बस्ने हामी सबै मधेसी नै हौं ,जस्तो पहाडमा बस्ने सबै पहाडी हुन्छन ।” गोपाल पहाडीले भन्यो,
“मामाघर जाँदा मलाई सबैले मधेसी नै भन्दछन ।”
गोपाल पहाडीको कुरोले बिन्देसर मधेसी गम्भीर भयो । उसले गोपाललाई मधेसी ठानेको थिएन । गोपालको भनाइ अनुसार त गाउँका गोरे रानामगर, खडका, थापा, घिमिरे र पौडेलबाजेहरू सबै मधेसी नै भए । तर त्यहाँ भेला भएका कोहीकोहीले भने ,“हैन, तिमीले भनेका मान्छेहरू पहाडे कुरा बोल्छन त्यसैले पहाडी नै हुन ।”
“त्यसो भए त हाम्रो यता मैथिल बोल्छन , बीरगञ्जतिर भोजपुरी, भैरहवातिर अवधी, नेपालगञ्जतिर बृज्जी,अझ उता खडीबोली अनि पर खस..,थारु दनुवारको आफ्नै भाषा छ ,हामी मुसलमान उर्दूअरबी बोल्छौं,मधेसमा पनि छौं पहाडमा पनि .अनि सबै कसरी मधेसी भए त ? यिनै जातजाति र भाषाभाषी भारतमा पनि छन , त्यहाँ ती मधेसी भनिँदैनन .. ” मौलवी साहेबले मुख खोले । मौलवी साहेब मुसलमान समाजका गुरु हुन । गाउँको मदरसामा ज्ञानगुन बाँडने गर्दछन । पह्रारसाल सरकारी खर्चमा हज गर्न मक्कामदिना पनि गएर आए । बिन्देसरले देखेदेखि उनी गाउँमै छन ।
“त्यसैले मधेसमा बस्ने सबै मधेसी र पहाडमा बस्ने सबै पहाडी । जस्तो कि पाण्डे, पाठक,त्रिपाठी, तिवारी , कायस्थ, ओझा,मिश्र जस्ता थरकाहरू पहाडतिर पनि छन् मधेसतिर पनि छन । थर त उही हो तर पहाडमा बस्ने पहाडे भनिए र मधेसमा बस्ने मधेसी । नेपालमा बस्ने नेपाली र भारतमा बस्ने भारती भए ।” समाजशास्त्रका निवृत्त प्राध्यापक रामानन्द नेपालीले भने ,“तर केही थरहरू देशकै नाममा रहेका छन् ,जस्तै हाम्रो छिमेकी कमलेश भारती हो । यै बिन्देसरको भनन राख्न त उसले उपनाम राख्यो तर अरुले हेर्दा थर नै मधेसी बुझ्ने भए । मैले नै नेपाली लेख्ने गरेको छु ।”
“यी पोरफेसरका कुरामा अलमलिएर नबसौं है भाइ हो..” भन्दै नेता नन्दकिशोरले बिन्देसरलाई एकान्तमा लगेर साउती गर्दै भन्यो,“यिनी त पहाडिया टोपीवालका एजेन्ट हुन, त्यसैले सावधान रहनू । तीसँग बहस गरेर साद्दे हँुदैन । आन्दोलनका मान्छे भडकेलान भन्ने डर । ”
रामानन्द राम । धेरै भयो, विद्यार्थीकालदेखि नै होला, राम नलेखेर नेपाली लेख्छन । तर नेपाली उनको थर होइन जसरी बिन्देसरको थर मधेसी होइन । बिन्देसरलाई मधेसप्रति प्रेम पलाएर मधेसी भएको पनि होइन । प्रेम त पछि पलायो तर उ पहिल्यै नै मधेसी भन्नलेख्न थालिसकेको थियो । स्कुल पढदाकै कुरो हो । उ छात्राबासमा बस्थ्यो । कोठाको साथी थियो अच्छेलाल कायस्थ । अच्छेलाल पुगीसरी हुने धनीमानी थियो । उ श्याम वर्णको थियो र निकै सफा र शुद्ध नेपाली बोल्थ्यो, त्यसैले स्कुलका शिक्षकलगायत अरु साथीहरू पनि उसलाई पहाडे ठान्दथे । बिन्देसर गरिब थियो अनि थियो गहँुजस्तो गोरो , नेपाली त उ पनि राम्रै बोल्थ्यो तर पनि साथीभाइका माझमा अच्छेलाल उसलाई बेला न कुबेला मधिसे भनेर हियाउने र जिस्क्याउने गर्दथ्यो । साथीभाइहरूमा पहाडे पनि थिए र मधिसे पनि । उति उतिजस्तै । कहिले मधिसेले पहाडे भनेर उल्याउँथे त कहिले पहाडेले मधिसे भनेर । तर त्यो क्षणिक हुन्थ्यो ,पछि फेरि सबमा मेलजोल हुन्थ्यो,फुटबल खेल्थे,भलिबल खेल्थे,क्यारम खेल्थे । सबै मिलेरै बसेका थिए । तर अच्छेलाल भने उसलाई जतिखेर पनि मधिसे भनेर जिस्क्याउने , हियाउने र खिसिट्युरी गर्ने गर्दथ्यो । पहाडेलगायत सबै साथीहरूले जतिखेर पनि मधिसे—पहाडे भनेर झोसिरहनु राम्रो होइन भनेर उसलाई हकारे पनि । तर अच्छेलाललाई त्यसो भन्दा के आनन्द आउँथ्यो कुन्नि ,उसले बिन्देसरलाई मधिसे भन्न छाडेन । साह्रै चित्त दुखेर बिन्देसरले एक दिन भन्यो ,“हेर साथी, हुन त तिमी पनि मैजस्तो मधेसी नै हौ तर तिमीलाई मलाईमात्र मधेसी भन्नमै आनन्द आउँछ भने म मेरो नाम नै मधेसी राखिहाल्छु , अनि त तिमीलाई झन मज्जा आउला । ” पुरानो उखान सम्झ्यो — कायथ मरलोमें खायत ! नभन्दै बिन्देसरले कक्षा शिक्षकलाई निवेदन दिएर आफ्नो थर रायअधिकारीका सट्टामा मधेसी लेखायो । त्यसैबेलादेखि उ मधेसी भयो । तर मान्छेले सोध्दा उ बडो सहजतासाथ भनिदिन्थ्यो, ‘म मधेसी हँु र मधेससँग मलाई निकै प्रेम छ । त्यसैले मैले आफ्नो नामको पछाडि ‘मधेसी’ टाइटल राखेको हँु र यो टाइटल मेरो सन्तानको नाममा पनि राखिदिनेछु ।’
आन्दोलनमा पनि बिन्देसर निकै उत्साहका साथ लागिरहेको थियो । त्यसैले पनि विभिन्न दलका नेता उसलाई आफ्नोतिर तान्न निकै मिहिनेत गरिरहेका थिए । कुनै बेला सदभावनाका सिंहजी उसँग एकान्ती गरिरहेका हुन्थे त कुनै बेला फोरमका फेकनजी । गाछी छापका गोबर्धन त उसको पिछै छोडदैनथे, देशको सबै आन्दोलन गाछी पार्टीकै अगुवाइमा भएको छ , त्यसैले मधेसीलाई अधिकार पनि यै पार्टीले दिलाउँछ भन्थे । मौका छोपेर पासवानजी पनि वर्गीय मुक्तिको कुरो गर्न भ्याइहाल्थे , मधेसका मेहनतकस मजदुर र किसानको हक दिलाउने र त्यसको रक्षा गर्ने पार्टी सुरज छापको पार्टी नै हो भन्थे । सुरज छापले नै लगभग सबैजसो घरपरिवारमा उपेक्षित रहेका वृद्धवृद्धालाई वृद्ध भत्ताको व्यवस्था गरेको अनि आफ्नो गाऊँ आफैें बनाऊँको बिकासे नारा दिएर गाउँगाउँमा पाँच लाख दिएर बिकासको लहर ल्याएको पनि भन्न भ्याए । हँसियाहथौडाका रामबृक्ष भन्थे, “जनतालाई अधिकारसम्पन्न बनाउन दस बरससम्म जनयुद्ध लडेको पार्टी हो,हाम्रो पार्टी नभएको भए अहिलेको परिवर्तन हुन्थ्यो ? मधेसीलगायत सबै जातजातिप्रति अपनत्वभाव बोकेको र तिनको मुक्ति र अधिकारप्राप्तिको लडाइ हाम्रो पार्टीबाट मात्र सम्भव छ । ” सिंहजी र फेकनजी सोध्थे , “ठूलाठूला कुरा गर्ने ती ठूला पार्टीको नेतामा कुनै मधेसी छ ? अहिलेसम्म कति जना मधेसीलाई ती पार्टीले यो देशको प्रधानमन्त्री बनायो ? जबसम्म सत्तामा मधेसी पुग्दैन तबसम्म न त मधेसको बिकास हुन्छ न त मधेसीले अधिकार पाउँछ ।” ‘सत्तामा मधेसी नपुगेको हो र ? अहिले आन्दोेलन हाँक्ने सबै नेताहरू पटकपटक सत्तामा रहेका हुन ,सत्तामा रहँदा कमाएर निहाल भएका हुन् । सत्तामा रहँदा कहिल्यै यिनले जनताको पुछारी गरे त ?’ सोध्थे अरु दलका नेताहरू । बिन्देसर गम्थ्यो — कुरा त दुबै थरीको बेठिक थिएन तर मधेसी नेताले भनेजस्तो मधेसमा बिकास नै नभएको पनि उसलाई लाग्दैनथ्यो । राम्रा र नाम चलेका स्कुलकलेज पनि मधेसमै थियो, कलकारखाना पनि मधेसमै थियो, सडकबाटो मधेसमै थियो ,रोजगारीको अवसर पनि मधेसमै थियो ,जनसंख्याको चाप पनि मधेसमै थियो । जग्गाको हदबन्दी पनि मधेसमा पहिले २५ बिघा थियो ,अहिले पनि १० बिघा छ भने पहाडमा ७५ रोपनी अर्थात् लगभग ६ बिघामात्र । तराईको जमीन उब्जाउ छ भने पहाडको उरस । पहाडमा सेवासुविधा धेरै थोरै छ , दःुख धेरै छ ,पहाडको दःुख अकल्पनीय छ । त्यहाँ सुख भएको भए किन मधेसमा आउँथे तिनीहरू ? मधेसीहरू मन्त्री नभएका पनि होइनन ,सरकारी जागिरमा नरहेका पनि होइनन , अँ प्रधानमन्त्री चाहिँ अहिलेसम्म बन्न पाएका छैनन । किन मधेसी अगुवाहरूले त्यो हदको विश्वास जित्न सकेनन् ? किन कुनै मधेसी कुनै राजनीतिक दलको अध्यक्ष वा सभापति हुन सकेन ? राज्यले, दलहरूले के कमजोरी देख्यो मधेसी जनतामा ? बेलायत र भारतले नेपालका पहाडेलाई आफ्नो सेनामा भर्ना लिएको छ तर साह्रै माया गर्नेगरेको मधेसी जनतालाई किन लिँदैन आफ्नोे सेनामा ?’
चेोकमा आमसभा भइरहेको थियो । नेता नन्दकिशोर भाषण गर्दै थियो — ..पहाडे सरकार हाम्रो मागको सुनवाइ गरिरहे छैन ..त्यसैले अब हामी मधेसमा कुनै पनि पहाडेलाई बस्न दिने छैनौं ..हाम्रो पहाडे खदेडो अभियान आजैदेखि लागु ..
“आयँ आयँ कि कहैछइ इ..” भाषण सुन्दासुन्दै आपत्ति जनायो बिन्देसरले । उसको चित्त नबुझेपनि भीडका धेरैले परर्र ताली बजाइसकेका थिए । तर पनि उसले चित्त बुझाउन सकेन र नेता नन्दकिशोरलाई भेटन मञ्चतिर गयो । तर नन्दकिशोर त्यहाँबाट हिँडिसकेको थियो ।
नभन्दै मधेसका ठाउँठाउँमा पहाडियाहरू कुटिन थाले,चेलीबेटीको इज्जत लुटिन थाल्यो, रातबिरात तिनको घरगोठ र खेतखलोमा लुटपाट हुनथाल्यो,बलजफ्ती चन्दा असुली हुनथाल्यो । मधेसी आन्दोलनकारीहरूको सास्ती र कहर खप्न नसकेर कौडीको मोलमा आफ्नो पुख्र्यौली जायजेथा लुकीलुकी बेच्न बाध्य बनाइए । गोपाल पहाडीसमेत तिनचार घर पहाडेले गाउँ छाडेछन..। मधेसमा रहेका अड्डाअफिस,स्कुलकलेज,अस्पतालआदिमा कार्यरत पहाडिया कर्मचारी,शिक्षक, प्राध्यापक, डाक्टर आदि पनि खेदिएर रातारात काज सरुवा हुन बाध्य भए । ती उपरको घाउमा मलम लगाउन राज्यले पटक्कै चासो देखाएन । बिना अभिभावकका टुहुरा बचराझैंं चिहिलबिहिल गर्दै गच्छेअनुसारको आश्रयस्थल खोज्दै बिचराहरू भगोडाको पगरी गुथ्दै शरणागत भए ।
तिनको बिजोक बरु चुरेभावरलाई असह्य भयो तर सरकार चँुइक्क नि बोलेन । यो सब बिन्देसरकै आँखाअगाडि नै भयो । एकदिन त असह्य भएर भन्यो उसले, ‘ पहाडेमाथिको आक्रमण सरासर अन्याय हो । वर्षौदेखिको हाम्रो भाइचारामाथिको आक्रमण हो । यस्तो कारवाहीले हाम्रो समाजको शान्ति बिथोलिन्छ ।
मधेसीलाई पहाडेले विभेद गरेको होइन,ठूलाठालूको राज्य सत्ताले गरेको हो ।’ तर साथीहरूले उसको कुरो मानेनन ,उल्टो उसैको सातो टिप्दै सोनफी सिंह राजपुतको ज्वाईँले दपेट्यो,“यो पहडियाको पक्ष लिरहेको छ । यो हामी मधेसीको दुश्मन हो ।” सोनफीको ज्वाईँ तिनचारसालदेखि गाउँमै बसिरहेको थियो । उसको घर त दरभङ्गाआसपासको कुन गाउँमा हो तर पोहोरसाल आएको टोलीले उसलाई नागरिकता पनि दिइसकेको थियो । आजकाल गाउँको स्कुलमा मास्टरी गथ्र्यो । यसरी गाउँले उसलाई बेटी , रोटी र धरती पनि दिएको थियो । गाउँको र त्यसमा पनि सोनफीको ज्वाईँ भएकोले उसको बोली ठूलै हुन्थ्यो । खुला सिमाना नभएको भए पारिबाट जथाभावी मान्छे आउन सक्दैनथे र हाम्रो रोजीरोटी आज यसरी खोसिदैनथ्यो सोच्थ्यो उ ।
आन्दोलन लम्बियो । झण्डै डेढ महिनापछि बल्लतल्ल सम्झौता भयो । आन्दोलनका नेताहरू माथिमाथि पुगे,मन्त्री भए । सम्पति कमाए,घरबंगला ठड्याए ,गाडी किने । काठमाडौं ,दिल्ली,पटना,लखनऊ सयर गर्छन । थरीथरीका मधेसी पार्टीहरू पनि खुलेका छन । देशमा राजनीतिक परिवर्तन आएको छ तर देशमा बदहाली पनि बढिरहेको छ । यो बदहालीको शिकार मधेसी पनि बनेका छन र पहाडी पनि । गाउँसमाजमा शान्ति छैन ,न मधेसमा न त पहाडमा । पोहोरसालको चुनावमा धेरै मधेसी नेताहरूको जमानत जफत भयो , हारका मजा सबको चखाएँगे भन्दै रन्थनिँदै दिल्ली दौडिएथे ।
उ सोच्दैछ किन हामी मधेसीहरू आफ्नो माटोलाई आफ्नो मान्न तयार भइरहेका छैनौं ? किन हामी आफूलाई नेपाली ठान्नमा गर्व गर्नुको साटो अङ्गीकृत नेताको उक्साहटमा बाक्लो दाल खान बल गरिरहेका छौं ? आन्दोलन अचेल उग्र र हिंस्र बनिरहेको थियो । हिजो सिमापारीको बजारमा किनमेल गर्न गएको पहाडे ब्यापारीलाई रगतपच्छे पारेर कुटेछन । सिकिस्त बिरामी बोकेर ठूलो अस्पताल गइरहेको एम्बुलेन्स पनि तोडफोड गरेछन,बिरामी र चालकलाई पनि भक्कुमार गोदेछन ।
“समाजको मान्छेको शत्रु हो अज्ञानता । त्यसैबाट फाइदा उठाएर समाजको बल र एकालाई केही बलशालीहरूले गुमराह गरिदिएका छन अनि हामी कस्तुरी कुण्डल बसै मृग ढुँढे बनमाहिँ गरिरहेका छौं । हामी मदिसेको शञु पहाडिया वा खस होइन, गरिबी हो ,अज्ञानता हो र यो हामीले हाम्रै गाउँका गुमस्ताबाट पाएका हौं । तिनलाई त्यो हुनर देशबिदेशका गुमस्ताहरूले सिकाइदिएका हुन । गुमस्तागुमस्ताको जँुगाको लडाइले हामी जनता र देशले दुःख पायो ..!” भन्दै थियो रामानन्द । अचानक दुई जना किशोर हस्याङफस्याङ गर्दै आइपुगे र भन्नथाले,“रामननका,सुपारी लिएको एकजनाले बिनेसरकालाई खोजिरहेछ..”
चमारटोलबाट बिन्देसरसँगै उनीहरू सुपारीबालाको खोजीमा निस्के तर उ हिडिँसकेको रहेछ । नभेटिएपनि बिन्देसरका बिरुद्धमा सुपारी दिइएको कुरो सबैतिर फैलियो —टोल,गाउँ र इलाकाभरि । सुपारी दिनेलाई आमा र दुलही मिलेर सराप्न थाले —बजर खसोस नेताको टाउकोमा । भोकप्याससमेत नभनी आन्दोलनमा लाग्नेउपर उल्टो सुपारी दिने ? हे बर्हम बाबा, रात काट्न नपाओस त्यसले !
गाउँमा यो घटनापछि थरिथरिको कुरो चल्न थाल्यो । कोही भन्थे,‘आन्दोलनमा बेठिक मान्छेहरूको घुसपैठ भएको छ ।’ कोही भन्थे,‘आन्दोलनकारीको नियत ठिक छैन ।’ नन्दकिशोरले भन्यो,‘आन्दोलनलाई बदनाम गर्ने सरकारको चाल हुनु पर्छ ।’
आन्दोलन चलिरहेको थियो ,वार्ता पनि चलिरहेको थियो । धरपकड पनि भइरहेको थियो । कतिपय नेतालाई मुद्दापनि चलाइँदै थियो । लामो भएर हो कि माग साझा बन्न नसकेर हो आन्दोलनप्रति समाजका विभिन्न वर्गको सदभाव घटिरहेको थियो । प्रकटमा त मानिसहरू समर्थनै जनाउँथे तर परोक्षमा आन्दोलनको विरोध गर्थे । एकदिन डिल्लीले ‘योभन्दा किफायत लगानीमा सब दण्डवत गर्न आउँछनभने किन लगानी बढाउने ? तिमीहरू आफ्नो व्यवस्था आफैं गर’भन्योभन्ने हल्ला पनि चल्यो । नेताहरू राजधानी दौडिए र देख्दादेख्दै लटरपटरमै आन्दोलन सेलायो ।
“बिन्देसरजी, अपनत्वबोकेको नयाँ ढङ्गको आन्दोलनले मात्र मुलुक र मधेसको अनुहारमा कान्ति ल्याउँछ । अब हामी त्यसको तयारीमा लाग्नु पर्छ ।” गम्भीरता ओढदै रामानन्द नेपालीले भन्यो ।
“ठिक भन्नुभो ,सर ।” बिन्देसरले सहमति जनायो ।
(स्रोत : कथाकार इस्मालीको कथा सङ्ग्रह “श्रीको खोजि” बाट सभार)