~हरिप्रसाद भण्डारी~
साहिँला साहू जीवनको अन्तिम सास गन्दै थिए । आज हो कि भोलि कुनै ठेगान थिएन । त्यसैले घरका सबै परिवार र आफन्तहरू आफ्ना सबै काम छाडेर मलिन अनुहार बनाउँदै बिरामीका वरिपरि बसेका थिए । पालैपालो बिरामीलाई सुनपानी खुवाउने काम पनि जारी नै थियो ।
यसै बीच बिरामीले पिलिक्क आँखा खोले र आँखा घुमाउँदै वरिपरि हेरे । उनको त्यो हेराइ देखेपछि नजिकै बसेको माहिलो छोराले जिज्ञासा राख्यो ………।
”बुढी खोई ?” बिरामीले सासै सासमा भने ।
“म यहाँ छु ।” आँखाबाट बग्दै गरेका आँसु पुछ्दै बुढीले भनिन् ।
केही बेरपछि माहिला छोरातिर हेर्दै बुढाले फेरि सोधे– “ठूलो खोई त ?”
“बाबा म यहीँ छु ।” नजिकै बसेको जेठा छोराले पनि बाबाका अगाडि आफ्नो उपस्थिति जनायो ।
“कान्छो नि ?” केही बेरपछि बुढाले सोधे ।
“म पनि यहीँ छु बाबा ।” आँखा रसिला पार्दै कान्छाले भन्यो ।
“छोरी र बुहारीहरू पनि आएका छन् ?”
“सबै यहीँ छौँ बाबा ।” पछ्यौरीले आँसु पुछ्दै छोरीबुहारीहरूले भने ।
“हामी छोरा, छोरी, बुहारी, नाति नातिनीहरू सबै यहीँ छौँ बाबा, हजुरले कुनै पिर गर्नुपर्दैन । बरु राम ! राम ! भन्नोस् बाबा, राम ! राम !” माहिला छोराले आश्वस्त पार्दै भन्यो ।
“ए, तिमीहरू सबैजना यहाँ भएपछि दुकान कसले खोलेको छ त ?” यो बुढाको अन्तिम प्रश्न थियो ।
–२०६२/१०/११, काठमाडौं ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)