~दिलिप पौड्याल~
ऊ कैयौँ पल्ट फिनिक्स झैँ
आफ्नै विगतबाट बौरियो
ऐठनले घॉटि थिच्दा
खुट्टा तन्काएर ब्युँझ्यो
मूर्ख सिंहले झैँ आफ्नै छाया नचिन्दा
आफैलाई कैयौपल्ट हत्या गर्यो
पुन आफ्नै अस्तुबाट टाउको उठायो
र शिखन्डि झैँ
लिङ्ग परिवर्तन हुने आशामा
भिष्मपितामहहरू मरेको हेर्दछ।
लब्जावती झार झैँ चुम्रियको उसको अनुहार
एकान्तमा आफैसँग खिस्स हॉस्छ
खिया लाइसकेका दाँतहरूको बिचमा
सिन्को छिराएर आफ्नै विगत कोट्याउँछ
ओइलाइसकेका ऑखाका ढकनि खोल्छ
चाउरिएका गालामाथि खस्रा हत्केलाले सुम्सुम्याछ
तर छोड्दैन ऊ शकुनि पासा हान्न
र हराइरहने छ कैयौँ युधिष्ठिरहरूलाई।
लिगलिगे दौडमा बलिष्टहरूलाई हराउँदै
राज्यरोहणको उत्सव मनाइरहेको ऊ
इतिहासको भर्याङबाट गर्ल्याम्म ढलेको बेला
दुर्योधन बनेर कर्णहरूलाई साथ लिँदै
दिनदहाडै सभागृहहरूमा
सयौँ द्रौपदीहरूको चीरहरण गर्दैछ
र यो देशका अर्जुन र भीमहरू
मूकदर्शक बनेर
द्राव्परयुगको कृष्णअबतार कुरिरहेछन्।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )