~रमेश भट्टराई ‘सहृदयी’~
भाषिक रक्षामा उदारवादी सोच
नेपाली भाषामा असचेत भाषिक मिश्रण तथा मातृभाषाको दोहनसँगै नेपालले मौलिकता र पहिचानलाई माटामा मिलाउँदै छ । आज विकासोन्मुख अवस्थामा भएकाले कमाइतर्फ ध्यान हुनु स्वाभाविक हो तर इतिहासलाई हेर्दा सम्पन्न मुलुकले भौतिक सम्पन्नताबाट असन्तुष्ट भएपश्चात् मौलिकतातर्फ ध्यान दिन थाल्छन् तबसम्ममा ढिलो भइसक्छ । इतिहास मात्र भेट्न सकिएला । नेपालले त्यस्तो दुर्भाग्य भोग्नु नपरोस् । बेलैमा सचेत बन्नुपर्छ । समृद्धि, भौतिक सम्पन्नतातर्फ पाइला त चालिसकेको छ तर भाषाको रक्षाको विषय मामुली मानिदा लापर्वाही भइरहेको छ । विगतमा सञ्चार माध्यमले नै उचाइमा पुर्याएको भाषालाई हिजोआज धेरैजसो सञ्चार माध्यमले भाषिक खिचडीजन्य कार्यक्रममा बडप्पन शैलीलाई हाबी बनाइरहेका छन् । यसो भनिरहँदा सञ्चार माध्यम नै भाषाको जगेर्ना गर्ने शक्तिशाली आधार थियो र आजसम्म पनि सञ्चार नै मुख्य आधार हो अनि भोलि पनि रहिरहनेछ । सवाल, राष्ट्रियताको रक्षाको हो । नेपालका सबै भाषा राज्यका हरेक नागरिकका सम्पत्ति हुन् । यिनको रक्षा गर्नु भनेको नेपालको अमूल्य निधिको रक्षा गर्नु हो ।
भाषा बचाउँदा, भाषा जोगाउँदा पहिचान मात्र होइन तिनको रैथाने ज्ञान, सिप, कला, विज्ञान लगायतका मूल्यवान् पाटाहरू जोगिन्छन् । भाषाको इतिहासलाई कोट्याउँदा अशोकचल्लकालीन दुल्लुको शिला अभिलेख जुन वि.सं. १३१७ देखि १३२७ सम्मको अड्कलसम्म पुग्नुपर्छ । शिलापत्र, ताम्रपत्रमा भाव सम्प्रेषण गर्ने माध्यम खोज्दै मान्छेले विकास गरेको भाषाजस्तो अमूल्य निधि आज आएर धराशायी बन्नु भनेको मानव आर्जनको विनाश हुनु हो । प्रसिद्ध भाषाविद् चूडामणि बन्धूले नेपाली भाषा सङ्गोष्ठी–२०६७ मा उल्लेख गर्नुभए अनुसार भाषा चित्रात्मक लिपिबाट भावात्मक लिपि हुँदै आजका अक्षरात्मक र वर्णात्मक लिपिसम्म आइपुगेका हुन् । यसका साथमा भाषाका कुशल अध्येता कृष्णप्रसाद आचार्यले आफ्ना पुस्तकहरूमा उल्लेख गर्नुभएका अभिलेखकालीन इतिहासलाई नियाल्दा अशोकचल्ल लगायत अक्षयमल्लको देवल अभिलेख (वि.सं. १३३७), आदित्यमल्लको ताघवाइ गुम्बाको ताम्रपत्र (वि.सं. १३७८), पृथ्वीमल्ल राईको कनकपत्र (वि.सं. १४१३) र निरयपालको ताम्रपत्र (सं. १४१९) पुगेर नेपाली भाषाको विकासलाई हेर्न सकिन्छ । यसको अर्थ एउटा भाषा जन्मिन, विकसित र विस्तारित हुन त्यसका लागि ध्वनि, वर्ण, रूप, वाक्यगत व्याकरणिक अवस्थाका साथै लिपि, वाङ्मय, शब्दकोश, साहित्यको विकास र विस्तार, प्रयोग चलनको फैलावट जस्ता विविध जटिल पक्षले प्रत्यक्ष प्रभाव पारेको हुन्छ । एउटा भाषालाई जन्माएर लिपिदेखि साहित्यसम्मको विकास गरी विस्तार गर्नु कुनै चानचुने काम होइन । कैयौँ समय घोत्लेर अनुसन्धान गरेर, खोजेर एउटा व्यस्थामा विकसित भाषालाई हाम्रा पुर्खाले नाशोका रूपमा अर्पेका छन् तर हामी कति लापर्वाहीका साथ बेवास्था गर्दै आधुनिकताको बडप्पन देखाउनतिर अन्धो बनेका छौँ ।
भाषाले समाजसँग प्रत्यक्ष साइनो गाँसेको हुन्छ । संस्कृति उसको मेरुदण्ड हो । मानिस सामाजिक प्राणी भएकाले उसका लागि समाज र समाजलाई जोड्नका लागि संस्कृति चाहिन्छ । भाषाले मानव सभ्यताको साइनोलाई कसिलो बनाउन समन्वयकारी भूमिका खेलेको हुन्छ । यसर्थ सामाजिक संरचनामा भाषाको जगेर्ना अनिवार्य सर्त हो । भाषासँग साहित्य र साहित्यसँग ज्ञान तथा जीवनको वास्तविक आनन्द लुकेको हुन्छ । यसर्थ भाषासँग आनन्द लुक्छ । चिकित्साको कुरा गर्दा वि.सं. १७७३ तिर लेखिएको मानिने ज्वरोत्पत्ति चिकित्सामा ज्वरोका प्रकारदेखि औषधी विज्ञान लुकेको रहेछ । उपचार विधि रहेछ । भाषा जीवन र जगत्को गहन तत्त्व लुकेको वाङ्मय रचनाको माध्यम हो । अतः यो मान्छेको अपूर्व सक्षमताको उपज हो ।
नेपाली भाषालाई स्तरीय तथा मानक बनाउन बेलाबेलामा विविध भाषिक आन्दोलनहरू भए जसरी नै अब बहुसङ्ख्यक नेपालीहरू (४४.६४ %) को मातृभाषा तथा माध्यम भाषा नै नेपाली भाषा भएकाले बौद्धिक र प्राज्ञिक जमातले शुद्धीकरणको अभियानमुखी जागरणमा चासो देखाउनुपर्छ । विगतमा हलन्त वहिष्कार आन्दोलन (१९६५), झर्रोवादी आन्दोलन (२०१३), वर्णविन्यास सुधार आन्दोलन (२०३४) जस्ता भाषासम्बन्धी आन्दोलनहरू भएका हुन् । यतिखेर भाषा शुद्धीकरण तथा मातृभाषा बचाउ आन्दोलनको खाँचो छ । यो समाजलाई बदल्ने हो भने स्थानीय सम्भाव्यता केलाएर होमस्टे सञ्चालनसम्मको सोचमा भाषिक विकासको खाँचो छ । हामीले मरिमेटी अङ्ग्रेजी घोक्ने मात्र होइन हाम्रा भाषा पनि सिक्ने र सिकाउने वातावरणतर्फ पनि सोचौँ । पाश्चात्य समाजलाई हाम्रा कुरा पनि त सिकाउनेतिर सोचौँ । अर्थतन्त्रको जगलाई बलियो बनाउन स्थानीय सरकारले त्यहाँका भाषा र संस्कृतिको समेत जगेर्ना गर्नतिर ध्यान देओस् । नेपालका भाषाको रक्षा गरियोस् । हिजो हलन्त वहिष्कार आन्दोलनका अग्रणी व्यक्ति राममणि आ.दी.ले वि.सं. १९६५ मा माधवी पत्रिकामार्फत् हलन्त बहिष्कार आन्दोलनलाई चर्काए जसरी आजको सञ्चार माध्यमले यो पुनित कार्यमा कदम बढाओस् । कथ्य भाषाको अनुशासनमा मूलतः सञ्चार माध्यममा नियम बनाइयोस् । भाषा परिवर्तनशील त हुन्छ नै तर लेख्य भाषाको शुद्धीकरणका लागि हरेक कार्यालयमा संघ तथा प्रदेशको भाषाको लेखाइमा शुद्धता अनिवार्य सर्त होओस् । यसलाई नियन्त्रित शैली र बोझिलो भनेर कसैले मान्छ मात्रै भने भोलिको भाषिक अपक्षयको जिम्मेवार त्यो समूह वा व्यक्ति हुन्छ । भाषिक मृत्युको जोखिम न्यूनीकरण गर्दै भाषागत अस्तित्व रक्षा गर्न भाषिक न्यायसम्मत भाषानीति तथा योजनालाई भाषा आयोग मार्फत् कार्यक्रम तय गरियोस् । सवारी साधनदेखि पसलका विज्ञापन, सूचना बोर्डमा कमसेकम नेपाली भाषा अनिवार्य प्रयोग गर्नुपर्ने, अङ्ग्रेजीमा लेख्नुपर्छ भने कोष्ठकमा नेपालीको तल्तिर लेख्नुपर्ने तथा स्थानीय क्षेत्रमा प्रादेशिक भाषा, नेपाली भाषा र अङ्ग्रेजी चाहिए तेस्रो स्थानमा लेख्ने विज्ञापन बोर्डको परिकल्पना गर्नुपर्ला कि भन्ने सुझाव पेस गर्न सकिएला ।
भाषा आयोगको प्रतिवेदन २०७४ अन्तर्गतको परिच्छेद : ६ अन्तर्गतको आयोगले सरकारी कामकाजको भाषाको सम्बन्धमा संविधानसम्मत हुने गरी सरकारी कामकाजीको भाषाको प्रयोगका बारेमा जस्ताको तस्तै नियाल्दा उल्लेख गरिएको छ–
नेपालको संविधानको धारा ७ (१) मा “नेपाली भाषा सरकारी कामकाजको भाषा हुनेछ” भनी उल्लेख भएको छ । तर, सरकारी कामकाजमा यसको पूर्ण पालना भएको देखिँदैन ।
सिफारिस : सरकारी कार्यालयमा अभिलेख राख्दा, शैक्षिक वा अन्य प्रमाणपत्र तयार पार्दा, पत्राचार गर्दा, पत्रमा कार्यालयको नाम र विवरण उल्लेख गर्दा वा छाप प्रयोग गर्दा, कार्यालयको नामाकरण गर्दा, औपचारिक समारोहमा सम्बोधन गर्दा, यातायातका साधन वा सार्वजनिक सरोकारका विषयमा भाषाको प्रयोग गर्दा, सार्वजनिक सूचना वा विज्ञापन गर्दा, सञ्चारका माध्यमबाट सरकारको आधिकारिक जानकारी सम्प्रेषण गर्दा, नेपाल राज्य पक्षको तर्फबाट नेपालभित्र वा मुलुकबाहिर प्रतिनिधित्व हुने गरी संविधानसम्मत नीति तर्जुमा गर्दा नेपाली भाषाको प्रयोग अनिवार्य गर्न राज्यका तर्फबाट संविधानसम्मत नीति तर्जुमा गर्नु आवश्यक देखिन्छ । नेपाली भाषाका साथै प्रदेशको सरकारी कामकाजको भाषा वा राष्ट्रभाषा वा अन्तर्राष्ट्रिय भाषाको प्रयोगका लागि द्वैभाषिक एवम् बहुभाषिक नीति लागु गर्नु अपरिहार्य देखिन्छ ।
यसका अतिरक्ति भाषा आयोगले भाषाको संरक्षण, संवर्धन र विकासका सम्बन्धमा, मातृभाषा शिक्षाका सन्दर्भ लगायतका विभिन्न आधारलाई अनुसन्धानात्मक विकास र सहयोगका लागि नेपाल सरकार समक्ष पेस गरेको देखिन्छ । तर, सरकाले नेपालका नीति तथा कार्यक्रमहरूमा, बजेटमा देशको भाषिक विकासलाई पनि एउटा महत्त्वपूर्ण एजेन्डा मान्न नसकेको आजसम्मको अभ्यासलाई देख्न सकिन्छ ।
खुसी मान्ने या दुःखी– नेपाली भाषाको पहिलो व्याकरण लेखक जे.ए. एटन हुन् । उनले ई. १८२० मा ग्रामर अफ नेपाली ल्याङ्ग्वेज भनेर लेखिदिए । हामी आफ्ना कुरामा ध्यान दिँदैनौँ विदेशीले लेखिदिनुपर्यो । जगाइदिनुपर्यो । हामीलाई लाज हुनुपर्छ । नेपालमा संविधानको धारा २८७ बमोजिम २०७३ भदौ २३ गते बल्ल भाषा आयोगको आवश्यकतालाई बोध गरिएको अवस्था हो । हाल भाषा आयोगले कमसेकम भाषिक उन्नयनमा कोसिस गरिरहेको छ तर राज्यले भाषा कुन चराको नाम हो सोच्ने फुर्सद पाएको देखिँदैन । अन्ततः नेपाली भाषाको मानकीकरणमा झर्रोवादी आन्दोलनदेखि नेपाली भाषाको निजत्वका विषयमा आवाज उठाई मानकीकरणमा योगदान पुर्याएका सन्दर्भको स्मरण गर्दै अब भाषाको विशेष अध्ययन, अनुसन्धान तथा नीति र योजनाको आवश्यकता छ । नेपालमा लुप्तप्रायः भइसकेका भाषालाई चलन चल्तीमा ल्याएर स्तरीकृत र मानकीकृत गर्ने, लेखन पद्धतिमा सरलीकरण र नियमगत सुस्पष्टता प्रदान गर्नेदेखि भाषाविद्सँगको राय अनुसार देशले भाषिक जागरणमा ध्यान देओस् ।
बिट मार्दै गर्दा, अब त कार्यालयमा काम गर्ने कर्मचारीहरूमध्ये कम्तीमा एकजना नेपाली शुद्ध पढलेख गर्न जान्ने कर्मचारी र त्यहाँको स्थानीय भाषा जान्ने कर्मचारी राखियोस् । यदि कोही जनकपुरमा काम गर्न जान्छ भने विदेश जानका लागि कोरियन, हिब्रु, जापानिज भाषा सिके जसरी मैथिली भाषा सिकेर मात्र जागिर खान पाउने नियम बनाए के हुन्छ ? हरेक मातृभाषीले आफ्नो भाषालाई माया गर्न थालौँ । सबैले सबै भाषाको कदर गर्न सिकौँ । यसो भनिरहँदा भाषिक अन्तद्र्वन्द्वको सङ्कीर्णताले भाषाको विकासमा राजनीति हुनुहुन्न । सबै जातिले आफ्नो भाषाको रक्षार्थ आफ्ना भाषिक समुदायलाई प्रेरित गर्नुपर्छ । नवीन पुस्तामा भाषिक ज्ञान हस्तान्तरण गर्ने अभियानको खाँचोलाई महसुस गर्नुपर्छ । यसर्थ अबको भाषिक आन्दोलन नेपाली भाषाको शुद्धता र मातृभाषाको रक्षातर्फ केन्द्रित बनोस् ।
Ramesh Bhattarai
Lecturer
Adarsha Multiple Campus
Gajuri 1, Dhading
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )