~बिपिन शर्मा~
रात ढल्दैछ प्रिय!
आउ दियौ बालौं
एउटा दियो तिमी बाल
अर्को म बालौंला
र यहि सृजित उज्यालोमा
दुबै मिली बालौं
सबै मिली बालौं,
सयौं दियो बालौं
आउ, हजारौं दियो बालौं
रात ढल्दैछ प्रिय
आउ दियो बालौं
अँध्यारो यो क्यानभासमा
घामका किरणहरु पोतिनु अघि
उज्यालो हामी सृजन सक्छौं
एउटा दियो तिमी बाल
अर्को म बालौंला
र अरु हामी मिली बालौं
अँध्यारो पृष्ठभूमी यो
कति उर्बर छ
उषाकालिन नवजात घामले
खेति गर्नु अघि
हामी मिली दियो बालौं
यो रातको अन्तिम प्रहरमा
हजारौं दियो बालौं
यो रातको बिदाईका लागि
प्रभातको स्वागतका लागि
आउ प्रिय दियो बालौं ।।
(स्रोत: तन्नेरी डट कम – Issue 9 – Bhadra, 2062)